फेल खाएका भविष्यवाणी

- सुरेश किरण

भूकम्प आउँछ भनेर भविष्यवाणी गर्ने एक ज्योतिष पक्राउ परे । उनले देशमा ठूलै भूकम्प आउनेवाला छ भनेर भविष्यवाणी गरिदिएछन् । तर भूकम्प आएन । भूकम्प नआएको आरोपमा उनी पक्राउ परे । अहिले थुनामा छन् ।

भविष्यवाणी गर्दा कहिलेकाहीँ नमिल्न सक्छ । प्रधानमन्त्रीले गरेका कति भविष्यवाणी त नमिलीकन हावामा उडेको हामीलाई थाहै छ । जस्तो, उनले एक वर्षअघि मात्रै काठमाडौँमा मोनो रेल कुद्ने भविष्यवाणी गरेका थिए, तर कुदेन । जनताको घरघरमा ग्यासको पाइप आउने भविष्यवाणी पनि गरेका थिएन, त्यो पनि आएन । टिकट लिइराख्नू, अब पानीजहाज आउनै लाग्या छ भन्ने भविष्यवाणी पनि गरेका थिए, त्यो पनि आएन । (पानीजहाजवाला भविष्यवाणी आधासम्म मिलेको थियो । किनकि जनताको घरै डुब्ने गरी पानीचाहिँ आयो, जहाज मात्रै नआएको हो ।) उनले अब देशमा भ्रष्टाचार निर्मूलै हुने भो भनेर पनि भविष्यवाणी गरेका थिए, त्यो पनि भएन ।

अब दुई तिहाइ बहुमतले सुसज्जित शक्तिशाली प्रधानमन्त्रीले गरेको भविष्यवाणी त फेल खान्छ भने यी ज्योतिष भाइ के पो हुन् र ? एउटा भविष्यवाणी फेल खायो भन्दैमा समाउनैपर्छ ? त्यसो हो भने पटक–पटक भविष्यवाणी फेल खाएका प्रधानमन्त्रीलाई कति पटक समाउने ? त्यही भविष्यवाणी दोहोर्‍याउने मन्त्रीहरुलाई कति पटक समाउने ? कसैले भन्न सक्छ ?

प्रकाशित: जेष्ठ २७, २०७६

ट्याग: परिहास