[पुस्तक समीक्षा] दलनको चित्रकथा

- प्रतीक्षा भट्टराई

बाग्लुङको अँधेरी गाउँमा बसोबास गर्ने दलित र गैरदलितको सामाजिक घर्षणबाट मैदारो उपन्यासको जग हालिएको छ । उपन्यासका मूल पात्र नदीन, मानबहादुर सार्की, आइते सार्की, उजेली, अमृतलगायतका दलित पात्र एकातिर छन् भने कला, विष्ट काइँला, दिनानाथ पण्डित, नरे खड्का, झंक थापा, हिक्मतसिंहसहितका गैरदलित पात्र अर्को छेउ छन् । राजनीतिक र सामाजिक आन्दोलनका वास्तविक पात्र सर्वजित विश्वकर्मा, परी थापालगायत केही यो घर्षणमा उनिएका छन् । हुन त भूपिन स्वयंले मूल पात्र नदीनलाई आफ्ना शिष्य तथा चित्रकार मनीष हरिजनको छाया लेखन भनिसकेकै छन् ।

कथालाई पूर्वकथनको तकनिकीबाट वाचन गरिएको छ । बेलायतबाट बिदामा पोखरा आएको स्मरण गुरुङ एक कला प्रदर्शनीमा जाँदा उल्टो गरी झुन्ड्याइएका चित्र देखेर उद्वेलित हुन्छ । आफ्नै चित्रकार दाजु आकाशको मित्र स्वर्गीय नदीन नै उक्त चित्रहरुको रचनाकार भएको थाह पाउँदा उसलाई नदीनको सम्पूर्णता जान्ने हुटहुटीले छोप्छ र हानिन्छ अँधेरी गाउँ ।

स्मरण अँधेरी गाउँ पुग्नेबित्तिकै कथावाचकका रुपमा नदीन स्वयं आउँछ र बताउन थाल्छ, आफ्नो र कलाको प्रेमकथा । तर जसै उसले आफ्नो आत्महत्याको विवरण सुनाउन थाल्छ, हरेक पाठकले सहजै अनुमान गर्न सक्छन्, नदीन खासमा मरेको छैन ।

मूल पात्रका रुपमा नदीनलाई उभ्याइए पनि उपन्यासकै शक्तिशाली र चलायमान पात्र हो कला । हाम्रो सामाजिक व्यवस्थामा दलितले गैरदलितलाई बिहे गर्नु बरु त्यस्तो क्रान्तिकारी कदम होइन, जसरी गैरदलितले दलितलाई बिहे गर्नु हो । क्षत्री जातकी कलाले दलित नदीनलाई प्रेम मात्रै गर्दिन, निर्णय गर्न बाध्य पार्छे । नदीनले एकोहोरो प्रेम गरिरहँदा प्रेमको प्रस्ताव नै कलाले राख्छे, बिहे गर्न कातर भएर उभिएका बेला कलाले नै नदीनलाई भागेर बिहे गर्न बाध्य पार्छे ।

देशमा सशस्त्र द्वन्द्वको ज्वार उम्लिएका बेला नाबालक सन्तान र निर्णय–क्षमताविहीन लोग्नेलाई छाडेर ऊ युद्धमा होमिन्छे र सहादत प्राप्त गर्छे । बदलामा नदीनले कलाको वियोग सहन नसकेर आत्महत्याको बाटो रोज्छ । नदीनले गरेको एक मात्र आत्मनिर्णय आत्महत्या हो, जसबाट उल्टिएर आएपछि मात्रै ऊ सुल्टो भएर बाँच्न सकेको छ । क्रान्तिको आँखाले हेर्दा नदीनले रोजेको आत्महत्याको बाटो खासमा कलाको त्याग, समर्पण र बलिदानप्रतिको अपमानजस्तो लाग्छ ।

कथामा पुनर्जीवनको मिथकीय प्रयोग सुन्दर छ । कला खाल्डोमा पुरिएर पनि बाँच्छे, नदीन भीरबाट हाम फाल्दा पनि बौरिएर आउँछ । सर्वजित विश्वकर्माको छाया भँडुवा सार्कीमा जीवित देखिन्छ भने लोककथामा वर्णित बाहुनी र दलित हलीको वियोग स्वयं नदीन र कलामा दोहोरिन्छ । प्रधानपञ्च हिक्मतसिंहजस्ता अवसरवादी, परी थापाजस्ता दोहोरो आदर्श देखाउने राजनीतिकर्मी, झंक थापाजस्ता आडम्बरी र परम्परावादी मान्छे कथाका यस्ता चरित्र हुन्, जसले कसरी अनेकौँ परिवर्तनका बाबजुद पनि हाम्रो समाज जहाँको तहीँ किन छ भन्ने प्रश्नको सटिक जवाफ दिन्छन् ।

दलनको चित्र कस्तोसम्म अमानवीय र आडम्बरयुत्त हुन सक्छ भन्ने कुराको केही किस्साले जोकोहीको मन चुँडाल्छ । स्त्री–पुरुषको प्राकृतिक आकर्षण पनि जात मिल्दो भए प्रेम कहलिन्छ, नमिले वासना । नदीनसँग प्रेमबिहे गरेकी कला जब सम्झनाले सताएर माइतीको आँगनमा पुग्छे, उसलाई ‘एउटा फुल फुट्यो’ भनेर गलहत्याउँदै आफ्नै बाआमाले तगारोबाट निकाल्छन् । दलितकै घरमा डेरा बसेको नदीन ‘तल्लो जात’ को रुपमा अपहेलित भएर निस्कनुपर्छ । आडम्बरी दिनानाथ पण्डित बरु कालीमा हेलिएर मर्न तयार हुन्छ, तर दलितसँग छोइन तयार हुँदैन । अरु त अरु स्वयं कलाले पनि एक पटक नदीनलाई ‘जात जनाउँछ’ भन्ने प्रकारको वचनवाण हान्छे ।

भूपिनले मैदारोमा निबन्धको सुवास आओस् भन्ने चाहनासाथ विवरण पेस गरेको बताइरहे पनि कतिपय ठाउँमा त्यो झ्याउलाग्दो देखिन्छ । सामान्य ज्ञानका किस्सा भइसकेका भ्यानगग, लियोनार्दो दा भिन्ची वा मार्टिन लुथर किङका विवरणले उपन्यासको कथा र पात्र निर्माणमा कुनै योगदान गरेका छैनन् । लामालामा संवाद र व्याख्याका कारण कतैकतै निबन्ध नै पढिरहेको भान हुन्छ ।

त्यसो त जातीय छुवाछूतजस्तो ऐतिहासिक दलनको पीडालाई गैरदलित लेखकले हुबहु महसुस गरेर उपन्यास लेख्नु सजिलो काम होइन । भूपिनले त्यो जिम्मेदारी पूरा गरेका छन् । तथापि कविता र निबन्धमा झैँ भूपिनको आफ्नै वजन आख्यानमा कायम भने छैन ।

पुस्तक :  मैदारो  | कथाकार : भूपिन | प्रकाशक : बुक हिल | पृष्ठ : ३६८ | मूल्य : ४५६ रुपैयाँ |

प्रकाशित: जेष्ठ २७, २०७६