रौनक छैन लुम्बिनीमा

- मनोज पौडेल/लुम्बिनी

प्रदेश ५ सरकारले ०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णयका साथ ४ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो, २३ फागुन ०७५ मा । तर न परिणाममुखी कार्यक्रम बनाइयो, न त राम्रो तयारी नै भयो ।

मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित प्रदेश सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष वैशाखपूर्णिमा एक महिना ढिलो सुरु भयो, ४ जेठमा । लुम्बिनी भ्रमण वर्षबारे प्रदेश सरकारले न स्थानीय व्यवसायीसित छलफल गर्‍यो, न त जनप्रतिनिधिसित नै । “पाहुनालाई कसरी आकर्षित गर्ने भन्नेमा सरोकारवालासँग सल्लाह/सुझाव लिइएन,” लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्य फखरुद्दिन खाँ भन्छन्, “बिनायोजना काम भएकाले भ्रमण वर्षप्रति स्थानीय उदासीन छन् ।” बुद्ध सर्किट वरपरका सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहसँग समन्वय गरेर जानुपर्नेमा त्यस्तो हुन नसकेको उनको कथन छ ।

लुम्बिनी भ्रमण वर्ष मूल समिति अध्यक्षमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । कार्यकारी समिति संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी छन् । प्रदेश सरकारका प्रवक्ता तथा लुम्बिनी भ्रमण वर्ष मूल समिति सदस्य बैजनाथ चौधरीको दाबी छ, “सबै बुद्धस्थल समेटिने गरी कार्यक्रम तयार गरिएकाले राम्रो प्रभाव पार्छ । नसोचिएको परिवर्तन हुन्छ ।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीका अनुसार धेरैजसो पर्यटकको भ्रमण रोजाइमा लुम्बिनी परे पनि बसाइ अवधि लम्बिन सकेको छैन । बसाइ लम्ब्याउने योजनासँगै यसको महिमा र आध्यात्मिक गरिमा बढाउने कार्यक्रम समेटिनुपर्ने सरोकारवालाको तर्क छ । “भ्रमण वर्षको मुख्य उद्देश्य बसाइ लम्ब्याउने हुनुपर्छ,” होटल व्यवसायी किरणचन्द्र पौडेल भन्छन्, “त्यसले सबैलाई रोजगारीसँग जोड्छ ।”

लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराई पनि भ्रमण वर्षले पर्यटक भुलाउने कार्यक्रम बनाउनुपर्ने धारणा राख्छन् । भन्छन्, “पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिस्ट मुलुकबाट लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केही बेर लुम्बिनी घुमाएर तत्काल उतैतिरै फर्काएर लैजान्छन् ।”

भ्रमण वर्ष मनाउने विषयमा लुम्बिनीमा सामान्य छलफलसमेत भएन । “प्रदेश सरकारले लुम्बिनीको गरिमा र महत्त्व बढाउन ०७६ लाई लुम्बिनी घुम्ने वर्ष मनाउनु राम्रो हो,” सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्मा भन्छन्, “तर लुम्बिनीलाई केन्द्र मानेर गरिने कार्यक्रमबारे स्थानीय नै बेखबर छन् । प्रदेश मन्त्रालयमा योजना बन्छ, हामीलाई थाहा हुँदैन ।”

सन् २०१७ भन्दा २०१८ मा लुम्बिनी आउने आन्तरिक पर्यटक संख्यामा ६ प्रतिशत कमी आयो । सहज अवस्था र राजनीतिक स्थिरता हुँदा पनि पर्यटक आगमन बढ्नुपर्नेमा त्यसो हुन सकेन । संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागिरहेका बेला त्यसलाई सहयोग पुग्ने गरी प्रदेशमा पनि लुम्बिनी भ्रमण वर्ष मनाइएको प्रदेश सरकारको दाबी छ ।

लुम्बिनी केन्द्रित गरेर भ्रमण वर्ष मनाइरहँदा भैरहवाबाट लुम्बिनी जाने मुख्य बाटोको बेहाल छ । त्यस्तै अवस्था छ, पश्चिमतिर तौलिहवाबाट लुम्बिनी जाने बाटोको । दुवैतिर स्तरोन्नतिको काम भइरहेकाले यो बाटो भएर आउजाउ गर्न निकै सास्ती खेप्नुपर्छ । खाल्डाखुल्डी उस्तै छन् । धूलो–धूवाँले बाटो हिँड्नेहरू पहेँलिन्छन् । खोकी र श्वासप्रश्वासका बिरामी हुन्छन् । “पर्यटक उक्त बाटो भएर आउजाउ गर्न गाह्रो मान्छन् । त्यसकारण सक्दो छिटो सुधार गर्नुपर्छ,” पर्यटन उद्यमी हेमबहादुर विष्ट भन्छन्, “नभए अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याउनुपर्छ । बाटोको अवस्था सुधार नभए भ्रमण वर्ष प्रभावित हुन्छ ।”

 

प्रकाशित: जेष्ठ २६, २०७६

ट्याग: प्रदेश ५