कृष्णगण्डकीको कायाकल्प

- प्रतीक्षा काफ्ले/स्याङ्जा

हेर्दै डरलाग्दो अनि कोप्चेरो, साँघुरो र अनकन्टार भीर । भित्रभित्रै कताकता कालीगण्डकी सुसाएको आवाज । पैदल हिँड्दासमेत लडिने त्रास ।

०४५ मा कालीगण्डकी ‘ए’ परियोजनाको सर्भे गर्दा कालीगण्डकी गाउँपालिका–५ बेलटारीका दयाराम पाण्डे ४१ वर्षका थिए । नेपाली कर्मचारीसँगै विदेशीले मिर्मिदेखि सेतीवेणीसम्म कालीगण्डकीको छालमा उत्रिँदै पानी नापिरहेको हिजैजस्तो लाग्छ उनलाई । जिल्लाकै विकट मानिने श्रीकृष्णगण्डकी गाउँ पञ्चायतमा यति ठूलो परियोजना बन्ला भन्ने कत्ति पनि विश्वास थिएन ।

कालीगण्डकी–७ मिर्मिमा नदी थुनेर ड्याम र बेलटारीमा विद्युत् उत्पादन गृह बनाउन सर्भे गरेलगत्तै विश्व बैंकको ऋण सहायतामा ०४८ बाट निर्माण थालनी भयो । सदैव कालीगण्डकीकै त्रासमा बाँच्नुपर्ने पीडा र भारतमा मजदुरी गर्न नगए बिहान–बेलुकीको हातमुख जोड्नसमेत धौ–धौ हुने यहाँका बासिन्दाको जीवनस्तर त्यही परियोजनाले बदलिदियो ।

“आयोजना निर्माण सुरु हुँदा मैले पनि त्यही नै मजदुरी गरेँ,” पाण्डे सुनाउँछन्, “घाँस काट्न जानसमेत नसकिने भीरको १७ लाख मूल्य पाएँ ।” उनले आयोजना निर्माणपछि पनि कर्मचारीको रूपमा काम गर्दै आइरहेका छन् ।

पाण्डे मात्र होइन, उनका दाजुभाइ, छरछिमेकलगायतले पनि जग्गा अधिग्रहणबापत उचित मुआब्जा मात्र पाएनन्, आयोजनाकै कारण मोटरबाटो, शिक्षा, खानेपानी, स्वास्थ्य सुविधा पाए । स्थानीयले आयोजनाका कामदारलाई तरकारी र गाईभैंसी पालेर दूध बेच्ने नयाँ इलम पाए । निबुवाखर्कका चन्द्रबहादुर राना आयोजना निर्माणपछि व्यवसाय गर्ने मनसायले मिर्मिस्थित आँधीमुहान बसाइँ सरेको सुनाउँछन् ।

विस्तारै निजी तथा सरकारी विद्यालय, क्याम्पस, वित्तीय संघसंस्था खुल्दै गए । आयोजना निर्माण गर्दा स्थानीय विस्थापित हुनै परेन । स्थानीय समाजसेवी लोकेन्द्र थापामगर भन्छन्, “त्यतिबेला हामीले एउटा ढुंगासमेत निःशुल्क दिनुपरेन । सिद्धार्थ राजमार्गदेखि हालको आयोजनास्थलसम्म पुग्न १८ किलोमिटर आफैँले जग्गा किनेर दायाँबायाँ १० मिटर छाडेर पक्की सडक बनायो ।”

परियोजनाको ड्याम खन्दा झन्डै ९ किलोमिटर लामो पर्यटकीय आकर्षणको ताल बन्न पुग्यो । आयोजनामा कुल रोजगारीमध्ये ८० प्रतिशत स्थानीयले पाएका छन् । आयोजना प्रमुख राजेश पाण्डेका अनुसार १ सय ७ कर्मचारीमध्ये ७० जना कर्मचारी स्थानीय छन् । १ सय ४४ मेगावाट विद्युत् उत्पादन हुने कालीगण्डकी आयोजना नेपालकै हालसम्मको ठूलो हो ।

२ चैत ०५८ देखि विद्युत् उत्पादन सुरु गरेको आयोजनाले ३ हजार रोपनी क्षेत्रफल ओगटेको छ । आयोजनाको ड्याम वरपर बोटे समुदायलाई ७ वटा नयाँ घर बनाएर स्थानान्तरण गरिएको परियोजना प्रमुख पाण्डे बताउँछन् । बोटे समुदायका महिला अझै पनि माछा मारेर आम्दानी गर्छन् । कतिपय बोटे ड्याममा सञ्चालन गरिएको स्टिमरमा चालक बनेका छन् । यहाँ साना–ठूला गरेर १० वटा स्टिमर सञ्चालनमा छन् । स्थानीय हर्कबहादुर माझी भन्छन्, “कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था छैन । घरदैलोमा परिवारले नै राम्रो आम्दानी गर्ने अवसर मिलेको छ ।”

कालीगण्डकी परियोजनाका कारण पाखापखेराको पानी पिउन प्रयोग गरिएको छ भने ड्यामबाट छानिएर फालिएको पानी सिँचाइका लागि प्रयोगमा आएको छ । “सिँचाइको राम्रो व्यवस्था भएपछि यहाँको कृषि उत्पादन पनि उत्कृष्ट छ,” स्थानीय केशव न्यौपाने भन्छन्, “हिउँद–बर्खा बाह्रै महिना खेती गरिन्छ । नगदे तथा खाद्यान्न बालीको पनि उत्पादन उत्तिकै राम्रो छ ।”

परियोजनाका कारण ओझेल परेका धार्मिक क्षेत्र पनि चम्केका छन् । एसियाकै ठूलो मानिने शालिकराम स्याङ्जाको सेतीवेणीमै पर्छ । स्वदेशी मात्र नभएर भारतीय धार्मिक पर्यटक शिला हेर्नैका लागि आउने गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापा बताउँछन् । भन्छन्, “विगतमा बसाइँ सरी गएका पनि अहिले गाउँमै फर्किन थालेका छन् ।”

प्रकाशित: जेष्ठ २६, २०७६