ताजनवादी क्रान्ति

- लक्ष्मण गाम्नागे

इटहरी सरकार प्रमुख द्वारिकालाल चौधरीले संघीय कानुनलाई निलम्बन गरेर आफ्नो राज्यमा महान् ताजनवादी क्रान्ति सुरु भएको घोषणा गरेका छन् । उनको सिद्धान्त छ, भ्रष्टाचारीजस्तो अनुहार परेको कर्मचारी देखियो भने तुरुन्तै समातेर ताजन दिने । कर्मचारीलाई ताजन दिएरै आफ्नो राज्यबाट भ्रष्टाचार निर्मूल गर्ने । उनले केही कर्मचारी र आफ्नै पार्टीका कार्यकर्तालाई समेत भ्रष्ट ठहर गरी कठालो समाती थप्पड हानेर र यस विषयमा प्रश्न गर्ने पत्रकारलाई लोपारेर यस अद्भुत सिद्धान्तको शुभारम्भ गरे ।

इटहरी सरकार प्रमुखले बताएका छन्, लोपारेर थप्पड हान्नु त भ्रष्टाचार निर्मूलीकरणको प्रारम्भिक चरण मात्र हो । यसपछि पनि कर्मचारीले भ्रष्टाचार गर्न छाडेनन् भने भुत्ल्याउने, कान निमोठ्ने, नङ्ग्य्राउने, चिथोर्ने, घुस्साले हान्ने र लात्तैलात्ताले खाँद्नेजस्ता अनेकौँ चरण लागू हुँदै जानेछन् । यसो गर्दा पत्रकार वा कसैले पनि प्रश्न गरे त्यसलाई मेयरसाबका आफ्नै हत्केलाद्वारा तीन पटक हावामा र चौथो पटक नाक नै भाँचिने गरी तत्काल लोपारिनेछ ।

इटहरी सरकार प्रमुख एवं ताजन सिद्धान्तका प्रवर्तक श्री चौधरीलाई पत्रकारहरुले कुटपिट तथा लोपारेको विषयमा प्रश्न उठाउँदा उनले आफ्नो सिद्धान्तको सरल व्याख्या गर्दै भनेका छन्, “भ्रष्टाचारीलाई हात मात्रै होइन, लात्तैलात्तले हान्छु । लात्तले हान्दा खुट्टा दुखेमा कटबाँसले हान्छु । भाग्न खोजे ढुंगाले पनि हान्छु । म यस्ता भ्रष्टाचारीलाई गोली नै हान्नुपर्नेबारे विचार गर्दैछु । भ्रष्टलाई भकुर्ने समयमा म कुनै नियम, कानुन वा नैतिकताको ख्याल गर्ने छैन । अख्तियार, सतर्कता, प्रहरी, प्रशासन, कुनै निकायको भर पर्ने छैन । भ्रष्टहरुलाई स्वविवेकले थुनिन्छ, कुटिन्छ, ठोकिन्छ, हातखुट्टा भाँचिन्छ । इटहरी राज्यमा संकट आइलाग्यो भने यहाँका शासकले अर्थात् मैले नियम–कानुन, संविधान सब निलम्बन गर्न सक्छु । सीसीक्यामेरा अफ गरेर, कोठामा थुनेर कसैले नदेख्ने गरी भ्रष्टलाई भकुर्दा पनि पार नलागे खुलेआम लोपारिनेछ, चुटिनेछ, कठालो समातेर गोबरमाथि लडाइनेछ, पोखरीमा चोपलिनेछ । यो थारुको छोरालाई कसैले रोक्न सक्ने छैन ।”

सरकार प्रमुख मेयरसाबले आफ्नो निष्पक्षताबारे प्रस्ट पार्दै भनेका छन्, “मैले आफ्नै पार्टीको भ्रष्टाचारी रामप्रसादलाई कुटेँ, दधिराजलाई चड्काएँ, विश्वेश्वरलाई भकुरेँ, विनोदलाई जगल्ट्याएँ । म अब सबै वडाका कर्मचारी र वडाध्यक्षलाई पनि दोक्च्याउँछु । थाहा पाइसकेँ, मबाहेक यहाँ सबै भ्रष्टाचारी छन्, तिनीहरुलाई ठोक्छु । भ्रष्टाचारविरुद्धको यस महान् क्रान्तिको समयमा इटहरी राज्यमा नियम–कानुन र परम्परागत निकाय निलम्बनमा परिसके । संघीय सरकार, प्रदेश सरकारले मलाई बाधा नगर्नू । जे गर्छ, अब इटहरी सरकारले गर्छ । कुनै अवरोध आए वर्तमान सरकार भंग गरेर नयाँ निर्वाचनसमेत हुन सक्छ, ख्याल गर्नू ।”

इटहरी नगरपालिका सरकार प्रमुखले यसरी अचानक अद्भुत ताजनवादी क्रान्ति सुरु गरेपछि यहाँका कर्मचारी एकदम अनुशासित भएका छन् । त्यो क्षेत्रका पत्रकारहरु पनि सतर्क र सरकारप्रति पूर्ण वफादार भएका छन् । नगरका वडाध्यक्ष र सदस्यहरु पनि एकदमै अनुशासित र सदाचारी भएका छन् । यहाँका जनता भन्छन्, “मेयरसाबको लोपारी सरकारले इटहरी राज्यबाट भ्रष्टाचार निर्मूलै गरिसक्यो । सुखी नेपाली समृद्ध नेपालको नाराले यहाँ सार्थकता पाइसक्यो । सबै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि इटहरी सरकारबाट यो अद्भुत ताजनवादी क्रान्ति सिकेर मुलुकभर लागू गरुन्, भ्रष्टाचार सिध्याऊन् ।”

प्रकाशित: जेष्ठ २६, २०७६

ट्याग: झटारो