झेल्नै मुस्किल (फिल्म समीक्षा : भारत)

फिल्म : भारत | रेटिङ : १.५/५

- गोकर्ण गौतम

बलिउडमा राष्ट्रवादको मसला खुब बिक्छ । भारत–पाकविवाद र द्वन्द्व अझ बिकाउ विषय हो । सलमान खानको नयाँ फिल्मको नामै भारत छ । फिल्ममात्र होइन, फिल्मभित्र सलमानको पात्रको नाम पनि भारत नै । अब अनुमान लगाउन दकस पर्दैन, देशभक्ति महिमागान कति होला ? लेखक/निर्देशक हुन्, अलि अब्बास जाफर । अब्बास–सलमानले यसअघि सुल्तानटाइगर जिन्दा हेमा सहकार्य गरेका थिए । ती फिल्मको केन्द्रमा राष्ट्रभक्ति नै थियो । नाम र दाम दुवै कमाए । तर भारतचाहिँ फिक्का र हल्का लाग्छ । मुख्य पात्र र उसको भोगाइलाई नै आत्मसात् गर्न सकिन्न । यो फिल्मकोरियन मेलो ड्रामा ओड् टु माई फादरबाट प्रभावित छ ।

सन् १९४७ अर्थात्भारत–पाक विभाजनबाटै फिल्म सुरु हुन्छ । त्यतिबेला भारत (सलमान) आठ वर्षका हुन्छन् । दंगा चर्कंदै गएपछि ज्यान जोगाउन मुस्लिम बाहुल्य क्षेत्रबाट उनको परिवार भारत आउँछ । एउटी बहिनी र बाबु (ज्याकी श्राफ) उतै छुट्छन् । छुट्ने बेला बाबुले भारतलाई भन्छन्, ‘जुनसुकै हालतमा आमा र भाइबहिनी जोगाउनू ।’ बाबुको यही बोली पूरा गर्न अनि बहिनी र बाबुको प्रतीक्षामा भारतले गरेको संघर्षको फेहरिस्त छ, फिल्ममा ।

फिल्म युनिटको नारा थियो, ‘एउटा मान्छे र देशको सँगैको यात्रा ।’ सरसर्ती हेर्दा, लाग्छ पनि त्यस्तै । अंग्रेज उपनिवेशबाट मुक्त र पाकिस्तानसँग विभाजनपछि भारतको विकासक्रम र त्यसले एउटा सामान्य व्यक्तिको जीवनमा परेको प्रभावलाई एकसाथ अगाडि बढाइएको छ । तर अविश्वसनीय प्रस्तुतिले पात्रको पीडा अनुभूत गर्न सकिँदैन । जस्तै, सानै छँदा कम्बल चोरेर बेचेको, राधा (दिशा पटानी)सँगको भेट, भारत र राधाको रोमान्स, भारतको सर्कस प्रवेश र बिदाइ आदि–इत्यादि । खासमा सलमानका फ्यान रिझाउने लोभमा मसला घोलघाल गर्दा फिल्मको स्वाद बिग्रिएको हो । सलमानले सर्कसमा बाइक उडाउने मार्का दृश्यसँग मूलकथाको खास सरोकार छैन । फुच्चे भारत यति छिटो ‘सलमान खान’ हुन्छन्–बाबु र बहिनीसँगको विछोड दर्शकले बिर्सिसकेका हुन्छन् । यही डरले हुनुपर्छ, निर्देशकले मुख्यपात्र र उनको साथी बिलायती खान (सुनील ग्रोबर)को मुखबाट बाबुको अन्तिम वचन सम्झाउँछन्, घरि–घरि ।

फिल्ममा कैटरिना कैफ पनि छिन् । भारतजस्तै उनको भूमिकासमेत फिक्का छ । सरकारी जागिरे हुन्छिन्, तर कामदार भारतप्रति मोहित हुन समय लाग्दैन । सलमान–कैटरिनाको अबुधाबीका दृश्यले टाइगर जिन्दा हेको झल्को आउँछ । त्यस्तै, हराएका आफन्त टेलिभिजन कार्यक्रमबाट भेट्ने दृश्यले पीकेका अनुष्का शर्मा र सुशान्तसिंह राजपुतको याद दिलाउँछ । यद्यपि भारतको भावुक दृश्यमध्ये पर्छ यो । पानीजहाजभित्र अपहरणकारी र भारतको टिमको नृत्यले निर्देशक अब्बासको नियत प्रस्ट पार्छ । ७० वर्षका सलमानले गुन्डालाई भकुर्ने पारा पनि दबंगझैँ छ । फिल्ममा यस्ता दृश्य सायदै छन्, जसमा प्रत्यक्ष/अप्रत्यक्ष राष्ट्रवादको वकालत गरिएको नहोस् । यो कुरा भिन्नै हो, ती दृश्य आँखाले हेर्छन्, आँखामै सकिन्छन् ।

पर्दामा २४ वर्षका सलमान र ७० वर्षका सलमानबीच तात्विक अन्तर देखिन्न, सेतो कपाल र दारीबाहेक । ९ वर्ष कान्छी सोनाली कुलकर्णी आमा र २७ वर्ष कान्छी दिशा पटानी सलमानकी प्रेमिका बनेकी छन् ।‘स्लो मोसन...’, ‘चास्नी...’जस्ता गीतले कथाप्रतिको मोहभंग गर्न थप भूमिका खेलेका छन् । भारतका एकाध पक्ष उल्लेखनीय पनि छन् । जस्तो, भारत–पाकिस्तानबीच अहिले पनि काटमारको अवस्था छ । तर फिल्मले दुई देशबीचको मानवीय पाटो र प्रेम उजागर गरेको छ । विभाजन दौरान आफन्त हराएकाहरुको पीडा र ठूल्ठूला राष्ट्रिय घटनाक्रमले भुइँमान्छेको जीवनमा पर्ने विपद् पोखिएको छ । तर बजार निर्देशित कमेडी, रोमान्स र गीतको चर्को दबदबाले यिनलाई ओझेल पारेको छ ।

भारतको भूमिकामा सलमान ‘फिट’ छँदैछैनन् । सुल्तान, बजरंगी भाइजानमाजस्तै पात्रमा आफूलाई ढाल्न उनको मिहिनेत र इमानदारी देखिँदैन । हरेक दृश्यमा ‘सलमान’ नै लाग्छन् । कैटरिनाको भूमिका पनि कामचलाउ मात्र हो । त्यसो त प्रियंका चोपराले ‘धोका’ दिएपछि कामचलाउकै रुपमा कैटरिनालाई लिइएको थियो । सुनील ग्रोबरको योगदान हँसाउनमै सीमित छ । हिरोको मिल्ने साथीवाला पात्र आफैँमा अति ‘क्लिसे’ भइसक्यो । ज्याकी श्राफ, दिशा पटानी, सोनालीजस्ता सहायक कलाकारको उपस्थिति पनि उतिविघ्न चहकिलो छैन । अब्बासको करिअरको सबभन्दा फितलो फिल्म हो यो ।

कथालाई मूर्त र विश्वसनीय ढंगले पस्कन नभई राष्ट्रवादको एकोहोरो सवाइ गाउन जोडबल गरिएकाले भारत हेर्दा मन भरिँदैन । नेपाली दर्शकले त अझ आत्मसात् गर्नै सक्दैनन् । सलमान मात्र हेरे पुग्ने हो भने त अलग कुरा । नत्र पौने तीन घन्टा झेल्न मुस्किल पर्छ ।

प्रकाशित: जेष्ठ २४, २०७६