घर बेचेर क्यामेरा

- गोकर्ण गौतम

भर्खर ११ वर्ष टेक्दै थिए, जगदीश तिवारी, ५६ । तनहुँ, चुँदीरम्घास्थित उनको घरमा एक अमेरिकी नागरिक पाहुना आए । ती अमेरिकी स्थानीय स्वास्थ्य चौकीमा स्वयंसेवक थिए । उनीसँग दुई क्यामेरा थिए । फोटो खिच्दै हिँड्थे, साथमा हुन्थे जगदीश । ६ महिनापछि अमेरिका फर्कने बेला एउटा क्यामेरा उपहार दिए, प्लास्टिकको कोडाक ११० । जगदीश भन्छन्, “त्यसपछि अब म सोकल्ड फोटोग्राफर भएँ । क्यामेरामा रिल थिएन, सीप थिएन, तैपनि खिच्दै हिड्थेँ । रमाइलो लाग्थ्यो ।” तर उनी आफैँलाई थाहा थिएन, यहीँबाट जागृत क्यामेराप्रेमले कुनै दिन ‘भेट्रान’ फोटोग्राफर बनाउँछ भन्ने । नेचर फोटोग्राफीमा जगदीश जति उचाइ सायदै अरु कुनै नेपाली फोटोग्राफरको छ । दुई दशकअगाडि नै सगरमाथा क्षेत्रको चार तस्बिरको एउटा सेट ७ लाख २५ हजार रुपैयाँमा बेचेका थिए उनले ।

कोडाक ११० हात परेकै बेला जगदीशलाई बलेसीमा पानी दर्किएको फोटो खिच्न मन लाग्थ्यो । घरि आकाशतिर क्यामेरा सोझाउँथे । कल्पनाशीलतामा डुब्थे । प्रकृतितिर विशेष झुकाव थियो । झन्डै साढे चार दशकअघिको समाजमा फोटोग्राफी पेसा बन्छ भन्ने सोचाइ आफैँमा असम्भव थियो । त्यसमाथि उनी परे, किसानका छोरा । आम मानिसमा पनि फोटोको महफ्वबारे ज्ञानै थिएन । जगदीश सम्झन्छन्, “तर म अति महफ्वाकांक्षी भएछु । फोटो खिचेरै जीवन बिताउँछु भनेर प्रण गरेँ ।”

उनले कहिल्यै फोटोग्राफीको औपचारिक तालिम लिएका छैनन्, न कसैलाई गुरु माने । भोगाइ र लगनशीलता नै उनका गुरु हुन् । १७ वर्षको उमेरमा राजधानी छिरे । यहाँ आउँदा उनीसँग जम्मा दुई कुरा थिए । एउटा, त्यही प्लास्टिकको क्यामेरा । अर्को, फोटोग्राफर बन्ने सपना । तर सहर बिरानो थियो । न उनलाई कसैले चिन्थे, न त उनी कसैलाई चिन्थे । कतिसम्म भने गाडी देख्दा पनि डराउँथे । मान्छेको भीड देख्दा आतेस लाग्थ्यो ।

गाउँमा त्यही क्यामेरा सबथोक लाग्थ्यो । यहाँ आएपछि थाहा भयो, त्यो त कमसल रहेछ । थरीथरीका आधुनिक क्यामेरा हुँदा रहेछन् । अब कसरी क्यामेरा चलाउन सिक्ने ? भौतारिन थाले । एक दिन दिमागमा बत्ती बल्यो, वसन्तपुर, पाटन, भक्तपुर चहार्ने, त्यहाँ पर्यटकले फोटो खिच्छन् । त्यही हेरेर सके केही सिक्ने, नसके हेरेरै चित्त बुझाउने । “बोल्ने आँट थिएन, पर्यटकको पछिपछि हिँडेर लेन्स र फिल्म परिवर्तन हुन्छ भनेर थाहा पाएँ,” जगदीश आफ्नो भोगाइ सुनाउँछन्, “क्यामेरा छोएर होइन, हेरेरै अभ्यास गरेँ ।” यत्तिकै दुई–चार वर्ष बिताए उनले ।

फोटोग्राफीप्रतिको भोक अझ घनीभूत हुँदै थियो । दगुर्दादर्गुदै एक दिन महाकालको एउटा पुस्तक पसल पुगे । फोटोग्राफीसम्बन्धी किताब त कत्ति हो कत्ति ! कुवाको भ्यागुता समुद्र पुगेजस्तो भएछ उनलाई । पर्यटकको हातमा देखेका क्यामेरा र लेन्सबारे खोजीखोजी पढ्न थाले, नोटबुकमा टिपे । सुरुमा पसलेलाई लागेछ, किताबप्रति यत्रो रुचि रहेछ, पक्कै किन्छ । जगदीश भन्छन्, “पैसा भएको भए किन त्यहाँ धाउँथे, किनेर घर लगिहाल्थेँ नि । जब पसलेलाई मैले किन्न सक्दिनँ भन्ने थाहा भयो, मलाई ढिम्कनै दिएनन् ।” फोकस, सटर स्पीड, अपार्चरजस्ता फोटोग्राफीका आधारभूत ज्ञान सिक्नै चार–पाँच वर्ष लाग्यो । त्यसैले अहिले उनलाई लाग्दो रहेछ, त्यो समय कसैले गाइड गरेको भए अझ माथि पुगिसक्थेँ ।

ठमेलमा भेटेको नेपाल हिमालय नामक फोटोकिताब जगदीशको जीवनमा ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो । त्यस पुस्तकमा नेपालका सबै हिमालका तस्बिर थिए । अनि थियो, फोटोग्राफरले प्रयोग गरेको क्यामेराको जानकारी । फोटोग्राफर रहेछन्, जापानी नागरिक सिरो सिराहात । ती क्षण यसरी सम्झन्छन्, “जापानदेखि आएर कसैले यस्तो गर्न सक्छ भने म किन सक्दिनँ भन्ने भाव पलायो ।” वास्तविकता भने अलग थियो । खाजाको पैसा बचाएर क्यामेरा भाडामा लिन्थे । देशभरका हिमालको फोटो खिच्ने ल्याकत कहाँ हुनु र ! तर इच्छाशक्तिसामु कसको के लाग्छ ? उनी निरन्तर डटिरहे ।

उनले १७ वर्षकै उमेरमा नेपाली सेनामा जागिर खाएका थिए । काम उही, फोटो खिच्ने । जीवन धान्न जागिरले पक्कै सहज बनाएको थियो, तर मन फुरुंग थिएन । कारण यस्तो रहेछ, “म परेँ प्रकृतिप्रेमी, स्वभावले पनि प्रकृतिकै फोटो खिच्न खोज्थ्यो । तर सेनामा युद्धकलाका फोटो खिच्नुपर्ने ।” यसबाट छुटकारा पाएर स्वतन्त्र ढंगले उड्न पाउने एउटै विकल्प थियो, राजीनामा दिने । उनले त्यही गरे । र, स्वच्छन्द भएर फोटोग्राफीको यात्रा सुरु गरे ।

जागिर मात्र छाडेनन्, काठमाडौँमा भर्खरै बनाएको घर बेचिदिए, पत्नी र दुई सन्तानलाई डेरामा सारे अनि आफू जर्मनी उडे । उद्देश्य एउटै थियो, अत्याधुनिक क्यामेरा किन्ने । र, किने पनि, लिनहफ मास्टर टेक्निका । त्यतिबेला यो एनालग क्यामेराको मूल्य १७ लाख रुपैयाँ थियो । घर बेचेर क्यामेरा, दुस्साहस हैन ? तर यही निर्णयले उनलाई फोटोग्राफीमा अनुपम सफलता चुम्न भूमिका खेल्यो । क्यामेरा भिरेर देशका कुनाकाप्चा दौडिए । आफ्नो रुचिअनुकूल हिमाल, ल्यान्डस्केप, पानोरामा फोटोग्राफी गरे । जगदीशको क्यामेरामा सजिन सायदै कुनै हिमाल बाँकी छन् नेपालका । सबै जिल्ला पुगिसके ।  २५–३० देश पुगेर प्रकृति र ग्रामीण भेगका फोटो खिचेका छन् । भन्छन्, “जहाँ गए पनि प्रकृतिले तान्छ, मानिसले बनाएका वस्तुले मलाई खास तान्दैन ।”

जब हिउँ परेर मनाङदेखि बाटो बन्द हुन्छ, उनी त्यही बेला तिलिचो लेक जान्छन् । जब हिउँपहिरो जान थाल्छ, उनी अन्नपूर्ण पुग्छन् । यो बानीले उनलाई कैयौँ पटक मृत्यु नजिक पुर्‍याएको छ । भन्छन्, “तर डर लाग्दैन, त्यसमै रमाउँछु ।” यही विशिष्ट गुणले हुनुपर्छ, जगदीशका हरेक खिचाइले जोकोहीको मन तान्छ । भिन्न र कलात्मक शैलीको फोटो खिच्नु उनको चिनारी हो । डेनमार्कका फोटोग्राफर सोरन लौरिड्क्सनसँग मिलेर पासिङ बाई नेपाल नामक फोटोकिताब प्रकाशन गरेको १५ वर्ष बित्यो । तर आफैँले फोटो प्रदर्शनी भने गरेका छैनन् । अहिले साढे ७ लाख मूल्य पर्ने फुजीको जीएफएक्स ५० एस चलाउँछन् । भन्छन्, “महँगो क्यामेरा हुँदैमा राम्रो फोटोग्राफी हुँदैन । फोटोमा मस्तिष्क जोडिनुपर्छ । फोटो त्यत्तिकै राम्रो हुन्छ ।”

जगदीशकै शब्दमा फोटो खिच्नु प्रेम हो, फोटो बेच्नु बाध्यता । किनभने बाँच्नकै लागि पनि उनीसँग फोटोबाहेक अर्को स्रोत छैन । खिच्दा  बजारले कस्तो रुचाउँछ भनेर सोच्दैनन् । जस्तो दृश्य आँखामा नाच्छ, त्यस्तै क्यामेरामा सजाउँछन् । र, निर्धक्क भनिदिन्छन्, “सबै त्याग्न सक्छु, तर फोटोग्राफी त्याग्न चाहन्नँ । फोटो खिचेरै मर्न चाहन्छु ।”

प्रकाशित: जेष्ठ २२, २०७६