कम्युनिस्ट किल्लामा पानी हडताल

- हरिराम जोशी

विद्यार्थी आन्दोलनको आँधीबेहरीपछि राजा वीरेन्द्रले १० जेठ ०३६ मा जनमतसंग्रह घोषणा गरे । अब बालिग मताधिकारका आधारमा सामयिक सुधारसहितको पञ्चायत र बहुदलीय व्यवस्थामध्ये एक विकल्प रोज्न पाइने भयो ।

जनमतसंग्रहलाई निष्पक्ष रुपमा सम्पन्न गर्न राजाले नै भूतपूर्व न्यायाधीश भगवतीप्रसाद सिंह अध्यक्षताको १५ सदस्यीय राष्ट्रिय चुनाव आयोग गठन गरे । आयोगले नेपालको इतिहासमै पहिलो पटक राष्ट्रव्यापी जनमतसंग्रह गरायो, २० वैशाख ०३७ मा । मतदानमा पञ्चायतलाई पहेँलो रङ र बहुदललाई नीलो रङ छुट्याइएको थियो । त्यो निर्वाचनमा नेपालभर १० हजार ६ वटा र विदेशमा गरी १९ मतदान केन्द्र राखिएका थिए ।

त्यतिबेला म सञ्चार मन्त्रालयमा काम गर्थें । आयोगले मलाई निर्वाचन अधिकृतका लागि पाटन सुवहाल केन्द्रमा खटायो । त्यहाँ पहिले नै निर्वाचन अधिकृत खटिएका रहेछन् । तर उनीहरु कम्युनिस्ट किल्लामा ज्यानको सुरक्षा खतरा रहेको भन्दै अन्यत्र गएछन् । निर्वाचन अधिकृतबिना चुनाव गराउनु कानुनी रुपमा वैध हुने थिएन ।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी थिए, विष्णगोपाल ब्याँजु । सीडीओ र पुलिस प्रमुखले पहिले नै सुवहालमा निर्वाचन गराउन नसकिने रिपोर्ट सरकारलाई बुझाएका रहेछन् । सबै कर्मचारी फिर्ता गएपछि स्थानीय ठानेर मलाई त्यहाँ खटाइयो । सरकारले खटाएपछि नुनको सोझो गर्नैपर्‍यो ।

दलीय राजनीति निषेध रहेका बेला पाटनलाई कम्युनिस्टको किल्ला मानिन्थ्यो । पाटनको सुवहाल नेपाल कम्युनिस्ट पार्टीका नरबहादुर कर्माचार्य समूहहरुको गढ थियो । मनमोहन अधिकारी, पाटन मंगलबजारका कम्युनिस्ट नेता देवेन्द्रलाल श्रेष्ठ (काइँला बा), सिद्धिलाल सिंहलगायतसँग मेरो निकट सम्बन्ध थियो ।

तुलसीलाल अमात्य, निरञ्जन गोविन्द वैद्य पनि पाटनमै क्रियाशील थिए । तर उबेला उनीहरुको कार्यक्षेत्र रौतहट, बारा, पर्सा थियो । त्यसैले कम्युनिस्टबाट चुनावमा गडबडी हुँदैन भन्ने लागेरै सरकारले स्थानीयका रुपमा मलाई त्यहाँ खटाएको रहेछ ।

जनमतसंग्रहमा नेपाल कम्युनिस्ट पार्टीले भाग लिए पनि सरकारलाई असहयोग गर्ने रणनीति अख्तियार गरेको थियो । त्यसैकारण सुवहाल क्षेत्रका बासिन्दाले निर्वाचनका बेला पानी पनि खान दिएनन् । हामीले पाटन सुन्धाराको पानी लगेर खानुपर्‍यो । सुरक्षा बन्दोबस्तीका लागि अन्यत्रभन्दा पाटन सुवहाल केन्द्रमा प्रहरी उपस्थिति बाक्लो थियो ।

सुवहाल केन्द्रमा निर्वाचन पक्षधर कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरु र स्थानीयले भोट खसाले । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो करिब १२ बजे नै सकियो । हामीले सीडीओ ब्याँजुलाई फोन सम्पर्क गर्‍यौँ । सीडीओले बेलुकी ५ बजेसम्म निर्वाचन केन्द्रमा बस्नैपर्ने आदेश सुनाए । त्यसपछि प्रहरीको कडा सुरक्षाबीच मतपेटिका लिएर हामी पञ्चायत प्रशिक्षण केन्द्र जावलाखेल पुग्यौँ । अधिकृतको हैसियतले मतपेटिकामा अन्तिम सहीछाप लगाएर म बाहिरिएँ । तर मतगणनामा सामेल भइनँ ।

१ जेठ ०३७ मा घोषित नतिजाअनुसार त्यो जनमतसंग्रहमा नेपालभर कुल मतदाता ७१,९२,४५१ रहेकामा ४८,१३,४८६ (६६.९२ प्रतिशत) ले मताधिकार प्रयोग गरेका थिए । यसमा ३,७२,०६९ अर्थात् ७.७३ प्रतिशत मत बदर भए । सामयिक सुधारसहितको पञ्चायती व्यवस्थाले २४,३३,४५२ मत प्राप्त गर्‍यो भने बहुदल पक्षले २०,०७,९६५ मत ।

दरबार र प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सम्पूर्ण राज्यसंयन्त्र पञ्च पक्षमा परिचालित भए पनि जनमतसंग्रहमा २० जिल्ला बहुदल पक्षले जितेको थियो । निर्वाचनको मतगणना सकिएपछि ललितपुरका सीडीओ ब्याँजुले मलाई मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराएको भन्दै गोरखा दक्षिणवाहुका लागि सिफारिस गरेको जानकारी दिए । त्यसका लागि तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठसँग सम्पर्क गर्न आग्रह गरे । तर मैले कुनै पहल गरिनँ ।

 प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: जेष्ठ २२, २०७६

ट्याग: स्मरण