निद्रा

- फूलमान वल

 

 

बोकेर आँखाभरि कचेरा समय

हो, म त निदाएकै रहेछु दिनदहाडै 

सपना डम्म सुनिएछ– आँखीभौँनेर

कपालभरि सकुनी साँझले

बुनिसकेको रहेछ षड्यन्त्रको सेतो गुँड

 

अराजक यामहरूको उष्ण राप

झेलेरै पनि यो आदिम माटोमा

ठिंग उभिँदै

अविचलित फक्रेको गुराँस देखेपछि

लाग्दैछ–

म त साँच्चिकै निदाएकै रहेछु सिंगो युग

र, फुल्नै पो बिर्सेछु

 

फुलेँ कि त म सायद– अर्कैको बाल्कोनीमा ?

छरेँ कि त सुवास– अर्कैको डालीमा ?

बनेर बुके एक हातबाट अर्कोमा सर्दै–सर्दै

मैले गरेको यात्रा त

फगत एक गोलचक्कर रहेछ

अहो ! कसले खन्यायो लौ–

मन्द–मन्द विष मेरो तन्द्राजस्तो गमलामा ?

जसकारण, बिर्सिदिएँ मैले आफ्नै बास्ना

र, भइदिएँ उत्तरआधुनिक कस्तुरी ? 

 

शीतलहरले सोहोरी लगेको

यो बोसोरहित करङजस्तो डिहीमा पनि

निर्धक्क हाँसिरहेको भुइँफूल देखेपछि

लाग्दैछ–

म त साँच्चिकै निदाएकै रहेछु सिंगो युग

र, उठ्नै पो बिर्सेछु

 

आज,

हो ठीक आज, 

गाउँ फर्केपछि थाहा भयो–

आफू फुल्ने सपना त मैले

धेरैअघि

हिँड्दा–हिँड्दै सहरको कुनै अनाम गल्लीमा

थाहै नपाई

खसालिसकेको रहेछु !

प्रकाशित: जेष्ठ २२, २०७६

ट्याग: कविता