हिमाल भोगेका बेला

- अग्रिम

जीप हिँडेको थियो, काठमाडौँ हुँदै नौबिसेको बाटो । गन्तव्य थियो, पोखरा । मेरो चौथौपल्टको भ्रमणमा पोखरालाई पानीले नमीठोसँग चुटेको थियो । लोभ्याउने वातावरणले मलाई पोखराप्रति नयाँ धारणा यसबेला मात्र खडा गर्न सक्ने थियो । पछिल्ला यात्रामा पोखराले मलाई कहिले पनि प्रभावित गर्न सकेन । कहिले नमीठोसँग पानी परिदिन्थ्यो त कहिले काममा हिँड्नुपर्थ्यो ।

अहिले सम्झिन्छु, दुनियाँले धेरै राम्रो भनेको त्यो पोखराले मलाई किन प्रभावित गर्न सकेन । किनकि मैले कहिल्यै पनि पोखरा घुमेकै छैन, पुगेको छु मात्रै । फेवातालको असीम सौन्दर्यले मलाई कतातिरको अनूभूति दिने प्रयत्न गर्ला ? त्यसको खोजीमा म पुगेँ, फेवातालको पुछार अर्थात् लेकसाइड ।

म केही दिन पोखरा बसेँ । थुप्रै घुम्नलायक ठाउँले म त्यहाँ जानुअगाडि नै आफ्नो अस्तित्व बनाइसकेको थियो । फेवाताल, तालबाराही, विन्धवासिनी– यी सबै मेरा निम्ति नयाँ थिए । यी ठाउँमा नयाँ धारणालाई आत्मसात गरेर पोखरा घुमियो ।

यतिबेला पोखरालाई बिदा माग्ने मेसोमा पुगिसकेका छौँ । यस पटकको भ्रमणमा भने मैले स्वीकार्न जरुरी ठानेँ, पोखरा वास्तवमै निकै रमणीय र पर्यटकीय छ । तर मेरो स्वीकारोक्तिमा किन हो, सुस्तीको मात्रा प्रबल थियो । किनभने पोखरा जस्तो छ या जस्तो बनाउन सकिन्छ, त्यसो कदापि गरिएको छैन । यो खोटलाई कतै माछापुच्छ्रेकै पुच्छरमा छाडेर म लम्किएँ बागलुङतिर । जानु थियो, हिमाल दर्शन गर्न । लाग्थ्यो, उपल्लो मुस्ताङतिरको कुनै राजा यतिबेला पर्खाइमा ठूलो थालीमा स्याउ र त्यसका फूलगुच्छा लिएर मेरो बाटो हेरिरहेको छ ।

जब बाटो आकाशको दिशातिर नजिकिन थाल्थ्यो, तब मुस्ताङको राजाको पर्खाइ घट्न थाल्यो भन्ठान्थेँ । मलाई थाहा छैन, किन आफू यति ठूलो लाग्थ्यो तर भइरहेथ्यो । कल्पनाको हिमचुलीमा धेरै उक्लिन नपाउँदै मलाई म्याग्दीको विकट गाउँठाउँको हावाले हिर्काउन थाल्यो । एक घुम्ती यता र एक घुम्ती उता भए मेरो जीवन नै धरापमा पर्न सक्ने बाजा बजिरहेको थियो । मानौँ, मेरो जीवन बेहुली भएको थियो र कुनै पनि समय तातोपानीतिरको सडकले अन्माउने थियो ।

त्यही कुरालाई साक्षी राखेर म हिडेँ, त्यही म्याग्दीको बाटो । मलाई डरको मात्रा चढिरहेको थियो । कतै छिट्टै अन्माई नै पो हाल्छ कि भन्ने डरको मात्रा थियो । सोच्दासोच्दै आइपुगिसकेको थियो, तातोपानी । बेलुकी ५ बजेको थियो । यो मेरो अनुमानको समय थियो । त्यतिबेला घामले हामीलाई छाड्ने प्रयत्न गर्दै थियो भने रातले समात्ने । यही भूमरीबीच र सोचको भागदौडमा आइपुगेको थियो ओल्ड कमला होटल । यसका साहू रहेछन्, अनिल हिराचन ।

मूलतः यस हिमाली भेग पाइने मुख्य उपनाम यिनै हुन् । हिराचन, ग्वारचन, शेरचन आदि/इत्यादि । यसरी समयले फड्को मार्ने क्रम जारी नै थियो । हामीले सम्पूर्ण भारी बिसायौँ । भारी बिसाउँदाबिसाउँदै विदेशी मित्र कट्नीले चिसो कोकाकोला मगाइसकेकी थिइन् । क्यानडाको सुपर मार्केटमा डाइट कोकको चुस्की लिएकी कट्नीलाई के यो नेपाली भूगोलमा पाइने कोकले प्रभावित पार्ला त ? यही प्रश्न मेरो मनको कुनै कुनामा गुन्जिरहेको थियो । यसरी कुनै जटिल प्रश्नले मलाई हिर्काउँदा मुहार हेर्नलायक हुन्छ । त्यो एउटा जटिल प्रश्न नै थियो । त्यसले कुनै एउटा विदेशीको मानचित्रभित्र नेपालको कोकसम्बन्धी वैचारिक धारणाको विकास गर्ने थियो ।

हाम्रो कोकाकोला आइपुग्यो । तृप्त भएको भन्को उडाउँदै हामीले खाजा मगायौँ । खाजामा धेरै थरीका चीज थिए । मलाई अचम्मित पार्ने परिकारका नाम पनि राखिएका थिए, ओल्ड कमला होटलमा । त्यो होटल मलाई प्रभावित पार्ने मेसोमा थियो । तर जब मेरा आँखाले त्यसको मूल्यसूचीमा हेर्‍यो, प्रभावित हुन सकिनँ । लाग्यो, जसले डलर कमाउँदैन, यो त्यसका लागि होइन ।

पकाएको चाउचाउको मूल्य थियो, २ सय रुपैयाँ । यति मात्र नभएर मलाई यसका नचाहिँदो ‘सोअफ’ ले साह्रै रिस उठाएको थियो । सेवाको नाममा लुटिएको थियो । कमजोरीको फाइदा पनि उठाइएको थियो किनभने त्यस ठाउँमा अरु कुनै पनि होटल थिएनन् । त्यहाँ बास बिसाउनेलाई ओल्ड कमलामै बस्नुपर्ने बाध्यता थियो । यही बाध्यताको फाइदा उठाएको थियो होटलले ।

हामीले खाना मगायौँ । खालि टिप्पणी गर्ने काम नभए पनि मेरो दिमागले गरिरहेको थियो । कुराको लम्बाइ बढ्न थाल्यो । यसबीच हाम्रो खाना पनि आइसकेको थियो, चिकेनसहित । खाना राम्रो थियो, तर तारिफयोग्य भने होइन ।

डेटोलले हात धोइसकेपछि म पहाडलाई गहिरो आँखा लगाउँदै अवलोकन गरिरहेको थिएँ । ‘वाट आर यू लुकिङ, अग्रिम ! विदेशी आवाजले मलाई सोध्यो । सामान्य रुपमै उत्तर दिएँ । मन नभए पनि मेरै मातृभाषीलाई मनको विचार सुनाउने निधो गरेको थिएँ । मेरो मानसपटलले हिमाली भेगको परिकल्पनामा खटाइदिएको थियो ।

बिहान ५ बजे हाम्रो जीप पर्खाइमा थियो । रुकस्याक बोकेर म ओर्लिएँ तलतिर । मामाको थकान मेटिएको अनुहारले मलाई ऊर्जा थपिदिएको थियो । ऊर्जालाई आत्मसात गरेर म यतिबेला जीपको अगाडि सिटमा बसेको छु ।

जीप तातोपानीबाट हिँडेको छ । अहिले हामी नेपालको निकै डरलाग्दो बाटो तातोपानी–मार्फा सडकमा गुडिरहेका छौँ । तल कालीगण्डकी अथकित बगिरहेको छ । हामीले नदेखे पनि कालीगण्डकीले यही बहावमा देखेको छ मार्फालाई । वरिपरि मेरो आँखा पुग्दा पहाड चिसो हावाले उजाड भएको देखिन्छ । मात्र केही हरियो भाग देखिन्थ्यो पहाडमा, काठमाडौँको पीच सडकको छेउछाउ देखिएझैँ । हामी मुस्ताङ छिरिसकेका थियौँ । म कल्पनाको बादलमा उड्न व्यस्त थिएँ ।

घासा अर्थात् मुस्ताङको प्रवेशद्वार । अलिकति अगाडि पुगेपछि मैले केही बासिन्दालाई देखेँ । तत्कालै चालक दाइलाई त्यहाँ रोक्ने मेसो मिलाएँ । मामाहरुले किन रोकेको भनी प्रश्न गर्ने अनुहार बनाइसकेका कारण एकछिन हिँड्ने प्रस्ताव गरेँ । हामी बाहिर निस्कियौँ । बाहिर सानो नाङ्लोमा मकैका दाना केलाइरहेकी एक वृद्धा बसिरहनुभएको थियो । मलाई देखेर उहाँले गौर गर्न थाल्नुभयो । मानौँ, हिन्दी सिनेमामा मेलामा हराएको छोरासँग लामो समयको अन्तरालपछि भेट भएझैँ । “चिया खान मिल्छ, आमा ?” मैले प्रेमपूर्वक सोधेँ । उहाँ शेर्पा समुदायबाट हुनुहुन्थ्यो सायद । केही बोल्नुभएन । फेरि सोधेँ । “उहाँले नेपाली बुझ्नुहुन्न”, घरभित्रबाट कुनै शेर्पा आवाजले जवाफ दियो । शेर्पा पोसाकमा एक दिदीले भन्नुभयो । “चिया खान पाइन्छ कि !” मैले नेपाली बुझनेलाई सोधेँ यसपल्ट ।

सबै चिया खान बस्यौँ । केही बासिन्दाको हूल जमेको थियो त्यसबेला । ठूलो गाडीमा आएको, क्यामेरा झुन्डयाएको जमातले त्यहाँ खासै गाडी नरोक्दा रहेछन् । त्यसैले होला, हामी त्यो माहोलमा ‘रहिज फोरेनर’ भएका थियौँ । “काठमाडौँबाट आउनुभएको ?” ४/५ जनामध्ये कुनै एकले सोधेको प्रश्न थियो त्यो । “हजुर हजुर”, हामीसँग यात्रामा आएकी दिदीले भन्नुभयो । ”कस्तो छ काठमाडौँ ?” कुनै एउटाको प्रश्न थियो । यो प्रश्नले मलाई अत्यन्तै गहिरो हान्यो । मामाले ‘ठीकै छ, सहर हो’ भनेर त्यसलाई साधारण रुपमा उत्तर दिए पनि मलाई त्यो प्रश्न असाधारण लाग्यो । पछि फेरि थाहा पाएँ, त्यहाँका कोही पनि काठमाडौँ टेकेका रहेनछन् । यति सानो भूगोलमा देशकै एउटा कुनाबाट अर्को कुनासम्म मान्छे नपुगेको देख्दा मलाई उराठ लागेको थियो । त्यसको एक मात्र कारण थियो, विपन्नता ।

बाटो उराठ र डरलाग्दो भएर । यस्तै–यस्तै जीवनको कहानी थाहा पाएँ । यतिबेला मेरो मनभित्र हिमाल हेर्ने रहर धेरै कम भएको थियो । एउटै प्रश्नले मलाई हिर्कायो, प्राकृतिक रुपमा मात्रै सम्पन्न भएर के गर्ने यदि त्यसको फाइदा उठाउन सकिँदैन भने ।

बिदा मागियो, सम्पूर्ण हिमाली मनलाई । गाडी चढ्यौँ । अगाडिको सिटमा बसिरहेको मलाई बारम्बार त्यही एउटा प्रश्नले हानिरहेको छ । हिमालको दृश्य धमिलो हुन थालेको छ । एकपल्ट पछाडि घुमी हेरेँ । टाउकामा अड्याएको चस्मा आँखामा ल्याएँ । यसबेला हिमाल फिक्का देखियो ।

प्रकाशित: जेष्ठ २२, २०७६

ट्याग: अनुभूति