गिरिवर

- कुमार नगरकोटी

प्रिय गिरिवर !

चाकुपाटको सन्ध्याकालीन दारुमहल मेरो मनको मोनास्ट्रीझैँ शान्त थियो । म पेग–आफ्टर–पेग दारुको चुस्की लिइरहेको थिएँ, विदाउट आइस् एन्ड स्न्याक्स । टीभी स्क्रिनमा एक जना बूढा मानिस ननस्टप बोलिरहेका थिए । जीवन जगत्का कुरा गरिरहेका थिए । यस्तो लाग्थ्यो, तिनको वाणीमा झेन फकिरको आत्मा प्रवेश गरेको छ । मलाई ती मानिस निकै प्रेमिल लाग्यो ।

जगतका इमोर्टल प्रेमीहरु यस्तो खालको अनुभव र अनुभूतिलाई ‘लभ एट फस्ट साइट’ भन्न रुचाउादा हुन् । दारुमहलका स्वामीलाई मैले सोधेँ, “साहूजी, गुलजारजस्ता यी प्रेमिल मनुवा को रहेछन् ?” उनले भने, “प्रदीप गिरि । आम्मै चिन्नुभा’ छैन ?”

कसरी चिन्नु ! स्वयंलाई नचिनी मदिरामा भुलेको रोगी एवं भोगीले ज्ञानका तपस्वी जोगीलाई कसरी चिन्नु !

प्रिय गिरिवर, यसरी तिमीसँग मेरो एकसरो चिनापर्ची भएको थियो । एउटा दारुमहलमा । यो त्यो समय थियो, जुन समय मैले भर्खरै मात्र पिता गुमाएको थिएँ । तिमीलाई देखेपछि दिवंगत पितासित साक्षात्कार भएको आत्मीय अनुभूति भयो ।

तिमीलाई लाग्न सक्छ, यो एक अवैध अनुभूति हो । किन्तु पोइन्ट टु बी नोटेड गिरिवर, मेरो मन त यस्तै अवैध अनुभूतिहरुको संग्रहालय हो, जहाँ जोगी–साधु–फकिरका आत्माहरु बसोबास गर्छन् ।

तिमीलाई मैले जम्माजम्मी ३ पटक देखेको छु, ३ ठाउँमा । अब ३ कै चर्चा गरुँ क्यारे ।

लिटरेचर फेस्टिभल, पोखरा । दर्शकमाझ म कतै थिएँ । तिमी महाभारतको व्याख्यानमा निमग्न थियौ । महाकाव्यमाथि तिम्रो एकालाप सुन्दा मलाई लाग्यो, मञ्चमा स्वयं भीष्मपितामह बोलिरहेछ । र, दर्शकदीर्घामा बसिरहेका हामी कौरवहरुलाई सम्बोधन गरिरहेछ– ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत, अभ्युत्थानंधर्मस्य तदात्मानं श्रीजाम्यहम् ।’

तिम्रो प्रवचन ध्यानमग्न श्रवण गरिरहेको छेवैको पाण्डुपुत्रलाई मैले कानमा भनेँ, “यी मनुवा कंग्रेस नामक राजनीतिक दलका भीष्मपितामह हुन्, कसो ?”

पाण्डुपुत्रले भन्यो, “तपाईंले ठीक भन्नुभयो । प्रदीप गिरि कंग्रेस पार्टीका भीष्मपितामह नै हुन् ।”

नेपाल आर्ट काउन्सिल, बबरमहल । सन्ध्या बेला थियो, मन अल्बेला थियो । ग्यालरीको कोर्टयार्डमा सिमसिम वर्षा भइरहेको थियो । मानिसमाझ तिमी घेरिएका थियौ । केही दूरीमा म तिमीलाई हेरी मुस्कुराइरहेको थिएँ । तिमीले पनि देख्यौ, र मुस्कुरायौ । लाग्यो, मुस्कुराहटले हामीबीचको दूरी मेटाइदियो ।

शिल्पी थिएटर, बत्तीसपुतली । तिमी बाथटब नाटक हेर्न आएका थियौ । प्रेक्षालय खचाखच भरिएको थियो । र, म भीडमै थिएँ । तिम्रो उपस्थितिले प्रेक्षालय पवित्र भइगएको थियो । तिमी आउँदा –एज् अ प्लेराइट– मैले स्वागत गरिनँ । तिमी जाँदा गुडबाई पनि गरिनँ । तिमीलाई औपचारिक शिष्टताको कैदी–बन्दी बनाउन चाहिनँ । एक उन्मुक्त साधुलाई बन्दी नै कसरी बनाउन सकिन्छ ? यत्ति हो, तिमीले नाटक हेर्‍यौ । र, मेरो सिर्जनालाई मेरो मनको झ्यालखानाबाट मुक्त गरिदियौ ।

प्रिय गिरिवर !

अन्त्यमा एक प्रसंग उल्लेख गरी बिदा हुन्छु । प्रसंग हो, ०६३ भदौको । मेरो विवाहलाई लिएर आमा चिन्तित हुनुहुन्थ्यो । एक दिन विवाहकै निम्ति दाजुभाउजूले कन्या दर्शन गर्न भनी मलाई एउटा घरमा पुर्‍याए । यताउतिका अनेक गन्थन भइगए । एकान्तमा कुराकानीका क्रममा मैले कन्यासित बिनाप्रसंग सोधेँ, “प्रदीप गिरिलाई चिन्नुहुन्छ ?”

अकस्मात् यो गिरिको प्रसंग कहाँबाट आयो ? कन्यालाई यस्तै लाग्यो, सायद । अक्क–न–बक्क पर्दै उसले चिन्दिनँ भनी ।

“कार्ल मार्क्स र ओशो पढ्नुहुन्छ ?”

“पढ्दिनँ । पढ्या छैन,” कन्याले भनी ।

यो त घोर उदेकलाग्दो कुरा भइगयो । यस्तो पनि कहीँ हुन्छ ? ओशो र मार्क्स नै नपढ्ने ?

कन्या दर्शन समाप्त भयो । पछि आमाले केरकार गर्न थालेपछि मैले बताउनुपर्‍यो, “आमा, प्रदीप गिरिलाई नचिन्ने युवतीसँग कसरी लगनगाँठो कस्न सकिन्छ ? त्यस्ती युवतीसँग कसरी जुनी काट्न सकिन्छ ?”

“लौ न नि !” आमाको शोक व्यक्त भयो, “मेरो छोरो गिरि बन्ने भयो । जोगी सन्न्यासी हुने भयो ।”

यो घटनाको केही दिनपछि कन्या पक्षबाट गजबको सन्देश आयोः विवाह क्यान्सिल । केटो अलि ठिस् टाइपको रहेछ ।

प्रिय गिरिवर ! यसरी तिमी मेरो जीवनसँग जोडिएका छौ । आ’राम छु । आ’राम चाहन्छु । अस्तु !

प्रकाशित: जेष्ठ २१, २०७६