राष्ट्रवादका मुखौटा

- प्रेम फ्याक

मूलधारको मानसिकताले सीमाक्षेत्रको संस्कृति बुझ्न सक्दैन भन्ने बोध गराउँछ, बोर्डरल्यान्ड्स ला फ्रोन्तेराले । सीमाक्षेत्रका मानिसलाई मूलधारमा आएर स्थापित हुनुपर्ने दबाब अनि आफ्नो जरालाई जोगाएर लैजानुपर्ने बाध्यता पनि हुन्छ । कतिपय सन्दर्भमा डायस्पोरा र सीमाक्षेत्रका अनुभव पनि मिल्दाजुल्दा हुन्छन् ।

ग्लोरिया एन्जाल्डुयाको आत्मपरक शैलीमा लेखिएको यस किताबमा सीमालाई भौगोलिक अर्थमा माक्रै लिइएको छैन, दुई लिंग र दुई संस्कृतिको बीचमा हुर्केका व्यत्तिको चिन्तनमाथि व्याख्या गरिएको छ । हाम्रो बहुभाषी, बहुसंस्कृतियुक्त देशका जनताको पहिचानलाई गहिराइबाट बुझ्न यो किताबले मद्दत गर्छ ।

ग्लोरिया स्वयंले अनेक परिभाषाको सिमानामा आफूलाई उभ्याएर बटुलेका अनुभूति पस्केका छन् । मानक अंग्रेजी बोल्न नसक्ने स्पेनी तेस्रो लिंगी हुनुको नाताले अनेक समस्यासँग उनले जुधे का मात्रै छैनन्, नयाँ अनुभूति र शक्ति पनि प्राप्त गरेका छन् । नेपालमा विशेषगरी मधेस विद्रोह र आदिवासी–जनजाति आन्दोलनसँग यस किताबमा पाइने अनुभूतिको सघनतालाई जोडेर हेर्न सक्छौँ । गैरमानक भाषा बोल्नेहरुमा एक किसिमको डरले डेरा जमाएको हुन्छ, जसलाई ग्लोरियाले भाषिक आतंकवादकै संज्ञा पनि दिन्छन् । एकबाट अर्को समुदाय/भाषा र राष्ट्रमा जाँदा पर्ने अप्ठेरा र आनन्दलाई शक्तिशाली ढंगले लेखेकाले संस्थापनप्रतिको विद्रोह–प्रतीकका रुपमा पनि लिन सकिन्छ, यस किताबलाई ।

भाषाले कसरी सामाजिक, राजनीतिक र सांस्कृतिक शक्ति आर्जन गर्छ भन्ने व्याख्या छ, फ्रान्सेली समाजशास्त्री पियरे बोर्द्युको ल्यांग्वेज एन्ड सिम्बोलिक पावरमा । अरु भाषिक वक्ताले आफ्नो देशको राष्ट्रियतालाई प्रतिनिधित्व गर्दैन भन्ने सोच फ्रान्सेली क्रान्ति वरिपरि थियो । सरकारी कामकाज मान्यताप्राप्त भाषाले सामाजिक पुँजीको रुप लिने भएकाले आर्थिक प्रतिष्ठा पाउने माध्यमसमेत बन्छ भन्ने ऐतिहासिक अध्ययन गरिएको छ यसमा ।

राजनीतिक शक्ति आर्जन गर्ने बलियो माध्यम भाषिक ‘एकीकरण’ रहेको तथ्यलाई गहन ढंगले विश्लेषण गरिएको छ । शासकले प्रयोग गर्ने भाषा सर्वस्वीकार्य भए पनि यो तटस्थ हुँदैन, यसले कुनै न कुनै वर्ग–समुदायको पक्षपोषण गर्छ भन्ने तर्कलाई लेखकले बलियोसँग राखेका छन् । एउटै विचार पनि राष्ट्रभाषामा बोल्दा स्वीकार्ने र त्यही विचार अर्को भाषामा बाहिरिँदा अस्वीकार गरिन्छ, जसले बहुभाषीका धेरै भाषा मर्दै जाने खतरा बढेर जान्छ । विविध भाषामा रहेका ज्ञान परम्परालाई बेवास्ता गर्दै जाँदा भाषिक तानाशाही स्वरुप लिन्छ । कालान्तरमा यसले समाजमा अनेक रुपका विभेद र उत्पीडनको डरलाग्दो संस्कृति पनि मौलाउँदै जान्छ । विभिन्न भाषा राज्यको सांस्कृतिक पुँजी बन्न नसकेपछि ती भाषी जनतामा हीन भावना जागृत हुँदै जान्छ ।

भाषिक शुद्धताका नाममा अन्य भाषिक वक्ताको मनोविज्ञानलाई निषेध गरेपछि वर्ग जन्मिन्छन् । जब समाजमा वर्गबीच खाडल पर्छ, तब समाजमा विखण्डनसमेत पैदा हुन्छ । लाक्षणिक शक्ति गुम्दै गएको भाषाको संस्कृतिलाई हेय भावले हेरिन्छ । सामाजिक संरचनाले कतिपय भाषा बोल्नुलाई अपराधको रुपमा हेरिदिँदा समृद्ध परम्परा पनि ओझेल पर्छन् । यस्ता विभेदलाई भाषिक र राजनीतिक संरचनात्मक रुपमा जोडेर अध्ययन गरिएकाले यो किताब उपयोगी छ ।

बेनेडिक्ट एन्डर्सनको इम्याजिन्ड कम्युनिटीमा राष्ट्रवादको उत्पत्ति र विस्तारबारे गहन विश्लेषण छ । एन्डर्सनले पनि भाषालाई नै केन्द्रमा राखेर राष्ट्रवादको व्याख्या गरेका छन् । राष्ट्रवाद एउटा काल्पनिक समुदाय हो, जसलाई भाषाले बाँधेर राखेको हुन्छ । एउटा राजनीतिक भूगोल र भाषामा गाँसेर रहेका मानिसबीच एक किसिमको पन निर्माण गर्छ, त्यसैलाई नै ‘चोखो’ मान्छ ।

नेपालमा पनि पृथ्वीनारायण शाहको भाषा र सोचको विस्तारित रुपलाई नै आज नेपाली राष्ट्रवादको रुपमा उत्पादन गरियो । एन्डर्सनका अनुसार छापा माध्यमले एउटै राष्ट्रवादलाई फैलाउन सक्छ । नेपाली साहित्यमा मोतीरामले भानुभक्तको राष्ट्रवादलाई फैलाउने र मानकीकरण गर्न सुरु गरे । ‘महेन्द्रमाला’ मार्फत नेपाली राष्ट्रवाद पढाउने राजनीतिक प्रक्रिया अघि बढ्यो । त्यसको बलियो पुल नेपाली भाषालाई बनाइयो । अन्य भाषाभाषीलाई सचेत ढंगले पाखा पारियो । ‘एक भाषा नीति’ को वैचारिकीबाट नेपाली राष्ट्रवाद जन्मियो, जसले शासक वर्ग र जातिलाई नै सभ्य र आधिकारिक मान्यो । यस्तो खाले राष्ट्रवादले बहुभाषिक मुलुकका भाषालाई अन्ततः निमिट्यान्न पारिदिन्छ ।

छापा पुँजीवादमा संभ्रान्त–शिक्षितहरुको उदय भयो र शासकीय चिन्तनलाई बढावा दिने राष्ट्रवाद हुर्कियो । गैरखस नेपाली भाषी जनताले पनि देशलाई उत्तिकै माया गर्छन् । तर मानक भाषा नबोल्ने मधेसीको देशप्रेममाथि शंका गरिन्छ । किनकि राष्ट्रवाद बलियो पार्ने उपकरण मानक खस नेपाली भाषालाई मानियो । संसद्मा मातृभाषा बोल्ने सांसदलाई समेत विखण्डनकारी ठानियो । राष्ट्रवादको काल्पनिकीले भाषामाथि प्रश्न गर्दा अराष्ट्रिय तफ्व ठानिदिन्छ । एन्डर्सन भन्छन्– राष्ट्रवाद सीमित कुरामा गौरव गर्न सिकाउने राजनीतिक योजना भएको हुादा यसले धेरै पाटोलाई पक्षपात गर्छ । पछिल्लो समय नेपालमा उर्लेको राष्ट्रवादलाई मिहीन ढंगले बुझ्न यो किताब पढ्नुपर्छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: जेष्ठ २१, २०७६

ट्याग: तीन किताब