वाङ्मय शताब्दी पुरुष ?

- महेशराज पन्त

हजारौँ वर्षदेखि मानिसले आफ्नो आयु बढाउन निकै प्रयत्न गर्दै आए पनि परमायु सय वर्ष नै छ । ‘सय वर्षसम्म देखौँ, सय वर्षसम्म बाँचौँ, सय वर्षसम्म सुनौँ, सय वर्षसम्म बोल्न सकौँ, सय वर्षसम्म दुःख नपाऔँ, सय वर्षभन्दा बढ्ता पनि होओस्’ (यजुर्वेद ३६।२४) भनी एउटा वैदिक मन्त्रमा लेखिएकाले जुन बेला वेद रचिए, त्यो बेला पनि मानिसहरू सय वर्षसम्म तन्दुरुस्त भएर बाँच्ने कामना गर्थे भन्ने देखिन्छ । वेदकै अर्को मन्त्रमा ‘हे देवताहरू, सय वर्षसम्म पनि हाम्रो नजिक रहनुहोस्, जुन अवस्थामा यहाँहरूले बूढो बनाइदिनुहुनेछ, हाम्रा छोराहरू बाबु भइसक्नेछन्, हाम्रो चञ्चल आयु बीचैमा ननासिदिनुहोस्’ (ऋग्वेद १।६।१०९, यजुर्वेद २५।२२) भनी लेखिएकाले मानिसको अभीष्ट आयु सय वर्ष रहेछ भन्ने बुझिन्छ ।

आफ्नो ‘बृहज्जातक’ को आयुर्दायाध्यायमा छैटौँ शताब्दीका प्रसिद्ध ज्योतिषी वराहमिहिरले जन्मकुण्डलीमा रहेको ग्रहस्थितिबाट आयुको गणना गरेका छन् । त्यहाँ मानिस र हात्तीको आयु १ सय २० वर्ष ५ दिन हुन्छ भनी उनले लेखेकाले (७।५) पनि सय वर्षको आसपासलाई नै परमायु मानिने चलन भएको बुझिन्छ ।

सय वर्षसम्म बाँच्ने मानिस प्राचीनकालमा पनि अपवादमै पर्थे । गौतम बुद्धको महापरिनिर्वाण पनि ८० वर्षको उमेरमा भएको हो । ‘हाम्रो जीवन ७० वर्षको हो, बलको कारणले ८० वर्षसम्म पनि लम्बिन सक्छ’ भनी बाइबलमा यसै लेखिएको (हिब्रू बाइबल, साम ९०।१०) होइन ।

मानिसको परमायु सय वर्ष वा त्यसको आसपास भएकाले त्यतिसम्म बाँच्ने मान्छे भेट्टाउनु सजिलो छैन । त्यसैले हामीकहाँ ७७ वर्ष नाघेपछि एक थरीले र ८४ वर्ष नाघेपछि अर्का थरीले ठूलो आयु मानी त्यसलाई धार्मिक रूप दिने चलन चलेको देखिन्छ ।

दुर्भाग्यवश, हाम्रो पछिल्लो वाङ्मयमा महापुरुषका सबै लक्षण विलक्षण देखाउने चलन चल्दा हजारौँ वर्ष आयु हुने मानिस पनि भएको कुरा प्रचारमा आयो । संस्कृतका महाकवि कालिदाससमेत यस्तो लेखाइबाट अछूता रहन सकेनन् भन्ने छोराहरूको जन्म नभएकै अवस्थामा राजा दशरथले राज्य गरेको १० हजार वर्ष अलि भएको थिएन (रघुवंश १०।१) भनी उनले लेखेकोमा देखिएको छ । विश्वामित्रले राक्षसहरूलाई मार्न भनी दशरथसँग रामचन्द्रलाई माग्दा साठी हजार वर्ष पुगिसकेको मसँग बल्लबल्ल जन्मेको छोरालाई छुट्ट्याउने कुरा नगर्नुहोस्, बरु म छोरासँगै चतुरङ्गिणी सेना लिई आउँछु भनी ‘वाल्मीकिरामायण’ मा लेखिएको कुरा (१।२०।९–११) पनि यस्तै हो ।

यस्तै कुरा बौद्धवाङ्मयमा पनि नआउने होइन । उदाहरणका लागि, नवौँ जातक ‘मखादेवजातक’ यस प्रसंगमा अघि सार्न सकिन्छ । विदेहको मिथिलानगरमा पहिले राजकुमार अनि उपराज र त्यसपछि राजा भएका मखादेव भन्नेलार्ई ८४ हजार वर्षसम्म बाँचेपछि आफू बूढो भएजस्तो लागेछ र मेरो एउटा मात्र कपाल फुलेको देख्यौ भने मलाई भनिहाल भनी उनले आफ्नो कपाल काट्ने नाऊलाई भनेछन् । यसरी भनेको वर्षौंपछि ती नाऊले राजाको एउटा फुलेको कपाल भेट्टाई राजालाई भन्दा त्यो फुलेको कपाल टिपिहाल भनी राजाले आदेश दिएछन् । त्यसपछि नाऊले सुनको चिम्टीले त्यो टिपी राजाको हत्केलामा राखिदिएछन् । त्यसबेलासम्म राजाको आयु आधा मात्र बितेकाले अझ ८४ हजार वर्ष बाँच्नु थियो । तर उनले आफ्ना जेठा छोरालाई राज्य सुम्पेर प्रव्रजित भई अर्को ८४ हजार वर्ष बाँचे भनी त्यहाँ लेखिएको छ ।

सौभाग्यवश, झन्डै–झन्डै सय वर्ष पूरा गर्न लाग्दासम्म पनि हामीकहाँ २ जना मसीजीवी लेखपढ गर्दैछन् । तिनमध्ये एक जनालाई एउटा साहित्यिक संस्थाले उनको अवदानको कदर गर्दै विसं ०७१ मा ९५ वर्षको हुँदा ‘शताब्दी पुरुष’ घोषणा गरी त्यो उपाधिलाई सरकारी स्तरबाट पनि औपचारिक मान्यता दिइयोस्’ भन्ने प्रस्ताव राख्यो । त्यसैअनुसार २१ वैशाख ०७४ मा सरकारले उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधिले विभूषित गर्‍यो ।

यहाँनिर ‘वाङ्मय’, ‘शताब्दी’ र ‘पुरुष’ यी ३ शब्दको समन्वय कसरी गर्ने भन्ने विषयमा सूक्ष्म चिन्तकहरू बेचैन छन् । यी तीनै शब्द संस्कृत भाषाका भएकाले र नयाँ हावाले छुट्ट्याएर लेख्ने चलन भए पनि ती समस्तपद भएकाले तिनको अर्थनिष्पत्ति कसरी हुन्छ ? यस समासको विग्रह गरी अर्थ गर्दा ‘वाङ्मयको सय वर्षको पुरुष’ भन्ने बुझिन्छ । त्यसो हो भने, सय वर्षभित्रको वाङ्मयमा ठूलो अवदान भएको मानिस भनी उनलाई मानेको हुनुपर्छ ।

ज–जसले गर्दा सय वर्षभित्र परिवर्तन आयो, त्यस्ता मानिसलाई चयन गर्ने चलन हिजोआज चलेको छ । त्यसैको अनुकरण गरेर ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि दिइएको हुनुपर्छ । ‘वाङ्मय’ शब्दले ठूलो अर्थ ओगट्छ, त्यसभित्र ज्ञान–विज्ञानका सबै अंग–उपांग वा शाखा–प्रशाखा गाभिन्छन् । जसलाई त्यो उपाधि दिइयो, उनबाट वाङ्मयमा त्यत्रो अवदान के भयो भन्ने विषयमा अब विचार गर्नुपर्छ ।

सामान्य जागिर खाई बसिरहेका वर्तमान वाङ्मय शताब्दी पुरुष कांग्रेसी राजमा विसं ०१६ मा संस्कृति पनि थपेर बनेको पुरातत्त्व र संस्कृति विभागको डाइरेक्टर बन्न पुगे । राजा मानदेवले विसं ५२५ मा लाजिम्पाटमा स्थापना गरेको विष्णु विक्रान्तको मूर्ति त्यहाँबाट उखेली छाउनी म्युजियममा लगेर राख्ने काम उनको पालामा भयो । अझ अर्को काम पाटन दरबारको भण्डारखाललाई पुरातत्त्व बगैँचा बनाई ठाउँठाउँका मूर्ति र शिलालेख ती–ती ठाउँबाट उठाई कहाँ–कहाँबाट ती उठाइएका हुन् भन्ने स्रेस्तासम्म पनि खडा नगरी त्यहाँ लगेर थुपारिने काम भयो । यसले गर्दा पहिले ती मूर्ति र शिलालेख कहाँ थिए भन्ने अन्वेषकलाई थाहा नहुँदा अन्वेषण अपूरो हुने सम्भावना बढ्यो । जति ‘जब क्रिएसन’ हुन्छ, त्यति विकास हुन्छ भन्ने सिद्धान्तको अनुसरणमा होला, एउटै म्युजियममा अटाउने कुरा थरी थरीका म्युजियम खडा गरी ऐतिहासिक सामग्री छर्ने काम पनि उनकै पालामा भयो । उदाहरणका लागि वीर पुस्तकालयमा पहिल्यैदेखि रहेका, केही लेखोट पुस्तकका चित्रमय गाता भक्तपुरमा खोलिएको राष्ट्रिय चित्र संग्रहालयमा र पुस्तकचाहिँ वीर पुस्तकालयमै राखियो ।

अग्रगण्य लिपिशास्त्री गौरीशंकर हीराचन्द ओझाको शब्दमा गुप्तवंशी राजाहरूको समयका लेखमा सारा उत्तरभारतमा यस लिपिको प्रचार भएकाले यसको नाउँ ‘गुप्तलिपि’ भनी राखिएको हो । यसैले भगवान्लाल इन्द्रजी र गेओर्ग ब्युलरले विसं १९३७ मा पहिलोपल्ट लिच्छवि–शिलालेख छपाउँदा ती शिलालेखका लिपिलाई ‘गुप्तलिपि’ भने । यसै गरी सिल्वीँ लेवीले पनि यी शिलालेखका लिपिलाई ‘गुप्तलिपि’ भनेरै व्यवहार गरेका छन् ।  लिच्छविकालका पुराना–पुराना शिलालेखमा प्रयोग भएको लिपिलाई नेपाली विद्वान्हरूले ‘गुप्तलिपि’ र अलि पछिल्ला शिलालेखमा प्रयोग भएकोलाई चाहिँ ‘गुप्तलिपि’ बाटै विकसित भए पनि अक्षर, खासगरी अक्षरका मात्रा, अलि कुटिल आकृतिका भएकाले ‘कुटिललिपि’ भन्ने गरे । विदेशी विद्वान्ले चाहिँ लिच्छविकालका शिलालेखमा प्रयोग भएका लिपिलाई एकनासले ‘गुप्तलिपि’ नै भनी व्यवहार गर्दै गए ।

भारत र नेपालमा धेरै कुरा फरक छ भनी देखाउने राजा महेन्द्रको इच्छाअनुकूलको काम गरेर रिझाउन वर्तमान वाङ्मय शताब्दी पुरुषको पालामा विसं ०१७ देखि पुरातत्त्व विभागले अंशुवर्माभन्दा अगाडिको लिपिलाई ‘पूर्वलिच्छवि लिपि’ र अंशुवर्माको पालादेखिको लिपिलाई ‘उत्तरलिच्छवि लिपि’ भन्न थालेको हो । शास्त्रीय ढंगले भन्ने हो भने ‘पूर्वलिच्छवि लिपि’ र ‘उत्तरलिच्छवि लिपि’ नाउँको कुनै तुक छैन ।

‘वाङ्मय शताब्दी पुरुष’ का प्रकाशित पुस्तकको संख्या ७० भन्दा बढी छन् । तिनमा नेपाली सजिलो वर्णमाला, राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा प्रकाशित राजमुकुट र राज्याभिषेकदेखि लिएर उनको सम्पादनमा निस्केका महाकाव्य, नाटक र शोधग्रन्थ पर्छन् । राजा महेन्द्रको प्रशंसामा लेखिएका रचनाको संग्रह श्री ५ महेन्द्र अभिनन्दन ग्रन्थ र महेन्द्रस्मृति ग्रन्थसम्म पर्छन् । यो सानो लेखमा उनका जम्मै कृतिको विषयमा लेख्नु त सम्भव छैन तैपनि इतिहाससम्बन्धी उनका केही पुस्तकको विषयमा छोटकरीमा लेख्नैपर्छ ।

उनको बहुप्रशंसित कृति कर्णाली लोक संस्कृति खण्ड १ इतिहास (२०२८) हो । त्यसका पाँचै खण्डलाई कमल दीक्षितले नेपाली भाषाका उम्दा–उम्दा २५ पुस्तकमध्ये एक गने पनि कमसेकम ‘वाङ्मय शताब्दी पुरुष’ ले तयार गरेको इतिहासखण्डचाहिँ त्यति गतिलो छैन भनी भन्नैपर्छ । विसं २०२२ मा पूर्णिमा ६ पूर्णाङ्कमा छापिएको, धनवज्र वज्राचार्यको कर्नाली प्रदेशको इतिहासको एक झलकमा भएजति तथ्य पनि त्यस पुस्तकमा समेटिन सकेको छैन । यस विषयमा मैले प्रसंगवश पटक पटक लेखिसकेकाले यहाँ दोहोर्‍याइरहनु आवश्यक छैन ।

उनको कलाकार अरनिको (२०४४) लाई शोधग्रन्थका रूपमा तारिफ गरी पत्रपत्रिकामा बरोबर चर्चा भइरहन्छ । गढेर हेर्ने हो भने त्यो पुस्तक शोधग्रन्थको परिधिभित्रै पर्दैन । अरू त के कुरा, जसको विषयमा त्यो कृति लेखियो, उनकै नाउँको वर्णविन्याससम्म त्यस पुस्तकमा मिलेको छैन । चिनियाँ भाषा र लिपिबाट मात्र पराङ्मुख नभई तात्कालिक नेपालमा चलेका लिपि र भाषामा पनि दक्खल नभईकन द्वैतीयीक, तार्तीयीक, अझ तलतलका र अखबारी लेखका आधारमा तयार गरिएको यो कृति पण्डितराज जगन्नाथको कटु शब्दमा पामरग्राह्य बन्न पुगेको छ । यस्तो कृतिको प्रशंसा मूल स्रोत छुनसम्म पनि आँट नगर्ने, उन्नत आधुनिक भाषामा लेखिएका कृति पढ्न पनि नसक्नेहरूबाटै हुन्छ ।

उनको पछिल्लो पुस्तक नेपाली कलाको रूपरेखा (२०७३) को विषयमा २३ महिना जतिअगाडि झन्डै चौबीस सय शब्दमा राजधानी दैनिकमा लेखिसकेकाले अहिले फेरि लेखिरहनुको कुनै तुक छैन । त्यस समीक्षामा मैले निष्कर्षमा लेखेका २ वाक्यको उद्धरण भने यहाँ गर्नुपर्छ, ‘नेपाली कलाको इतिहासको खोजीले निकै फड्को मारिसकेको अहिलेको अवस्थामा नेपालमा पुराविद्याको इतिहासको पनि इतिहास र मसीजीविताको इतिहास लेख्न कच्चा सामग्रीको रूपमा यस पुस्तकको उपयोग गर्नुबाहेक नेपाली कलाको इतिहासमा नयाँ खोजी वा नयाँ व्याख्याका लागि यसको प्रयोग गर्न सकिँदैन । ग्रन्थकर्ताको उमेरको लिहाज राखेर उनको अध्यवसायको चाहिँ प्रशंसा नगरी बस्न सकिँदैन ।’

वाङ्मयको कुनै पनि शाखामा यस्ता कृतिबाट ज्ञानवृद्धि नहुने हुनाले उपाधिमा ‘वाङ्मय’ शब्द जोड्दा त्यस शब्दको अर्थापकर्ष हुन गएको छ भनी अन्त्यमा विवश भई भन्नुपरेको छ ।

प्रकाशित: जेष्ठ २०, २०७६