निराशाको निशानामा आफन्त !

- गोकर्ण गौतम

भोजपुर सदरमुकामस्थित पानी ट्यांकीमा २२ महिने बालकलाई आमा सम्झना थापाले हत्या गरिन्, १४ जेठमा ।  । उनले घरको छतमा लगेर खुकुरीले छोरो सम्बोधनको घाँटी छिनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लघुवित्त कम्पनीमा जागिर खाने उनका पति सूर्यबहादुर घरमा थिएनन् । यही बेला सम्झनाले आफैँ सन्तान चुँडिन् ।

पर्साको जिराभवानी गाउँपालिकामा भाइले आफ्नै दाइलाई मारे, २ जेठमा । जिराभवानी–१ बलुवा टोलका शेख सेरामुद्दीन, ३८, ले दाइ शेष फारुक, ४८, लाई गोली हानी हत्या गरे । उनीहरूबीच सामान्य घरायसी विवाद थियो । यो घटनापछि परिवार मात्र होइन, गाउँ नै चिन्तित छ ।

भर्खर २५ वर्ष टेक्दै थिइन्, ललितपुरकी अञ्जना लामा महत । बाहिरबाट हेर्दा परिवारमा खास समस्या थिएन । तर उनै अञ्जनाको हत्या भयो, वैशाख अन्तिम साता । त्यो पनि अरूबाट होइन, आफ्नै जेठाजु उज्ज्वल महतबाट । खुकुरी प्रहारबाट अञ्जनाको शरीर छियाछिया भएको थियो ।

पाँचथरको मिक्लाजुङमा दुई परिवारका ९ जनाको हत्या भयो, ७ जेठमा । कान्छा ज्वाइँ मानबहादुर माखिमले सबैको हत्या गरेको दाबी प्रहरीको छ । कारण उही घरायसी विवाद । ९ जनाको ज्यान लिएपछि मानबहादुरले आत्महत्या गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

व्यक्तिका लागि परिवार छहारी हो । सन्तान त बाबुआमाका प्यारा । तर तीन साताको बीचमा भएका माथिका चार घटनाले यो पारिवारिक प्रेम कति भयभीत दिशातिर जाँदै छ भन्ने प्रतिविम्बित गर्छ ।

आर्थिक वर्ष ०७२/७३ मा आफन्तबाट मारिनेको संख्या १ सय ५७ थियो । यही संख्या ०७४/७५ मा २ सय ६ पुग्यो, (हेर्नुस् इन्फो) । त्यसमा पनि जघन्य र आततायी ढंगले मार्ने क्रम देखिन थालेको छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, “हाम्रो परिवार र समाजभित्रको संस्कारमा एकाएक विचलन आयो । सद्भाव र प्रेम खल्बलियो । नैतिक आचरण क्षय भयो । जसले जे पनि गर्ने अवस्था सिर्जना भएको छ ।” व्यक्तिवादी सोच हाबी हुनुलाई पनि परिवारभित्रको हत्याको एउटा कारण मान्छन् पोखरेल ।

चाहे प्रविधिको चरम प्रयोगले होस्, चाहे अभाव र गरिबीले । वैदेशिक रोजगारी, देशभित्रका अन्य अव्यवस्थाले पनि निराशा बढाइरहेको छ । नेपालमा करिब ८ लाख मानिस डिप्रेसनबाट पिल्सिएको विभिन्न अध्ययनले देखाएका छन् । तनावले डिप्रेसनसम्म पुर्‍याउँछ । डिप्रेसन बढ्दै गएपछि आत्महत्या हुन सक्छ भन्ने आम बुझाइ छ । सत्य यति मात्र होइन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा सरोज ओझा भन्छन्, “निराशाले मर्नुअगाडिको प्रतिशोध जन्माउँछ ।”

उनका अनुसार डिप्रेसनबाट पीडितले आफूलाई बाँच्नुको बेकार मान्छ । पृथ्वीको भार ठान्छ । भित्रभिक्रै जल्छ । जब कुनै व्यत्तिका कारण आफू पीडामा फसेको शंका हुन्छ, तीमध्ये अधिकांश अपराधकर्मतिर मोडिन्छन् । ओझा भन्छन्, “यस्तो अवस्थामा कमजोरले आत्महत्या गर्छ, अलि कठोर स्वभावको छ भने अरूलाई मार्छ र आफू पनि मर्छ ।” यहाँसम्म पुग्नमा पारिवारिक आदर्श र अनुशासनको भारी गिरावट भएको तीतो नियति कारक त छँदै छ ।

आफन्त हत्यामा संलग्नको पृष्ठभूमि केलाउँदा प्रायः कुनै न कुनै तनावबाट गुज्रिएको देखिन्छ । जस्तो, बुहारी हत्याको आरोप खेपेका ललितपुरका उज्ज्वल डिप्रेसनबाट पिल्सिएका थिए । यस्ता व्यक्ति सानै निहुँमा आक्रोशित हुन्छन्, तर रिस नियन्त्रण गर्न सक्दैनन् । कतिपयमा प्रेम र पारस्परिक सद्भाव नै समाप्त भएको छ ।

दोलखाबाट सुन्दै आङ सिरिंग हुने घटना बाहिरिएको थियो, वैशाख पहिलो साता । सैलुङ गाउँपालिका–४ का चूडाबहादुर रेग्मी, ४४, छोरा हत्या अभियोगमा पक्राउ परे । २२ वर्षीय छोरा वेदबहादुर हिँड्न सक्दैनथे । घस्रँदै जताततै दिसापिसाब गर्थे । कारण यत्ति हो, चूडाबहादुरले छोराको ज्यान लिनुको । उनले वेदबहादुरलाई टाउकोमा हथौडाले हानेर हत्या गरी कम्बलमा पोको पारेर खहरे खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

०७५ मंसिरमा विराटनगर–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको ज्यान गयो । २२ वर्षका चुनु मण्डलले बुबा शशी मण्डलको हत्या गरेका हुन् । छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भए । सामान्य मनमुटावमै कात्तिक ०७५ मा गुल्मीको मुसीकोट–७, इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले आफ्नै पत्नी लालीलाई चिर्पटले हिर्काएर मारे । मनोविश्लेषक वासु आचार्य प्रश्न गर्छन्, “मानसिक अवस्था ठीक भएको मान्छे बित्थामा यति क्रूर हुन सक्छ ?”

आचार्यका अनुसार यस्ता घटना कति योजनाबद्ध ढंगले हुन्छन्, कति क्षणिक रिसकै परिणाम हुन्छन् । कहिलेकाहीँ सामान्य रूपमा तर्साउन खोजेको हुन्छ, तर स्थिति विकराल बन्छ, हत्या नै हुन सक्छ । किन ढिला सुतेको भनेर सोध्दा पनि हत्या प्रयास भएको घटना बाहिरिएका छन् । “चिन्ता, शंका र दिक्दारीको चरम सीमामा पुगेकाले अरूलाई घात गर्न खोजिन्छ । जसले जे बोले पनि शत्रुझैँ लाग्छ,” आचार्य भन्छन्, “त्यसैले सहजताका लागि हत्या गरेर समाधान खोज्छन् । तर सबै मानसिक समस्या भएकाले अपराध नै गर्छन् भन्नेचाहिँ होइन ।” निराशाको दलदलमा फसेकालाई आफ्नै जीवनसँग प्रेम हुन्न, विरक्ति मात्र हुन्छ । अनि अरूप्रति कसरी आत्मीयता पलाओस् ?

परिवार भनेको एउटै घरभित्र बस्नु मात्र होइन, एकाअर्काको व्यवहार र मनोदशालाई नजिकबाट नियाल्नु, आफ्नोपनको आभास गराउनु पनि हो । तर व्यक्तिवादी प्रवृत्ति कति हाबी हुँदै गएको छ भने एकअर्काप्रति कसैलाई वास्तै हुन्न । खासमा डिप्रेसनको अहं कारण भनेकै प्रेम अनुभूत नहुनु हो । जब मेरो कोही छैन भन्ने चिन्ताले सताउँछ, तब सानै समस्याले पनि धेरै पिरोल्छ । यसको मात्रा बढ्दै गएपछि अपराधकर्मतिर प्रेरित गर्ने मनोविज्ञहरूको भनाइ छ । यस्ता अपराध नियन्त्रणमा प्रहरीको परम्परागत कार्यशैली नै प्रभावकारी हुँदैन ।

प्रहरी प्रवक्ता पोखरेलका शब्दमा यस्ता घटनाको पृष्ठभूमिमा विपन्नता, विभेद, अभाव र अशिक्षाले भूमिका खेल्छ । कलिला छोराछोरीको हत्या गर्ने अधिकांश आमाले कि सन्तानलाई चाहेजस्तो पढाउन सकेका हुँदैनन् कि पतिको प्रेम पाएका हुँदैनन् । पोखरेल भन्छन्, “गरिबी र वितृष्णाले बच्चाप्रति प्रेम हराउँछ । न आफैँप्रति संवेदनशील हुन्छन् । त्यसपछि मारेरै मुक्ति खोज्ने प्रयास गर्छन् ।” संगठितभन्दा यस प्रकृतिका परिवार र आफन्तभित्रै हत्याका घटना बढेकाले प्रहरी आफैँ अचम्मित छ । प्रहरी प्रवक्ता भन्छन्, “प्रहरीले मात्र यस्ता अपराध नियन्त्रण गर्न सक्दैन । परिवारका सदस्य वा नागरिक समाजलाई नै अगुवा बनाउनुपर्छ ।”

एकातिर व्यक्ति आफैँ तनाव र निराशाको रापमा हुन्छ । अर्कातिर त्यस्तो बेला रक्सीमा सहज पहुँच हुन्छ, कति त लागूपदार्थको दुर्व्यसनमै फसेका हुन्छन् । मस्तिष्क थप विचलित र अस्थिर हुन्छ । सही र गलत छुट्याउनै सक्दैनन् । कुलतले अपराध गर्न उक्साउँछ ।

मनोविज्ञका अनुसार यस्तो नियतिबाट गुज्रिएकाले ढिलोचाँडो अपराध गर्छन् नै । नियमित उठबस हुने भएकाले परिवारका सदस्य ज्यादा निशानामा पर्न सक्छन् । तर परिवारले कुनै सदस्य डिप्रेसनमा फसेको र उसलाई परामर्श/उपचार जरुरत रहेको भन्ने भेउ नै पाएका हुँदैनन् । बरु पढाइ वा करिअरमा सफल नभएको, फलानोले जति प्रगति नगरेको भन्दै टोकसो सहनुपर्छ ।

यस्तो रुखो व्यवहारले पीडितमा भित्रभिक्रै आक्रोश थपिँदै जान्छ । मनोचिकित्सक ओझा भन्छन्, “निराशाको विकल्प मर्नु र मार्नु होइन, यसको उपचार छ । मनोसामाजिक स्वास्थ्यसम्बन्धी यति ज्ञान आम मानिसमा भए पनि पारिवारिक हत्या र आत्महत्या न्यून हुने थियो ।”

प्रकाशित: जेष्ठ २०, २०७६