दुःखजति महिलालाई

पुस्तक  :  सयौँ पुतली  | कथाकार : उमा सुवेदी | प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : १८२ | मूल्य  : २९५ रुपैयाँ |

- नेहा शर्मा

समाज र अन्तर्मनको आवाजबीच फसेका, आफ्नो वैवाहिक जीवनमा एक्लोपन र नैराश्य महसुस गरिरहेका नेपाली नारीको जीवन र अनुभवमा केन्द्रित छ, सयौँ पुतली । सबै कथामा मुख्य पात्र महिला नभए पनि भएजतिमा उनीहरु मध्यमवर्गीय, बुद्धिमान् तर आत्मविश्वासहीन छन् । पुरुष पात्रभन्दा महिला मुख्य पात्र भएका कथा धेरै समस्याले भरिएका र कठिन छन् । सायद नेपाली समाजमा पुरुषभन्दा महिलाले धेरै दुःख पाउने प्रवृत्ति भएर होला । उमा सुवेदीका महिला पात्र पुरुषजति जटिल छैनन्, तर सबै दुःख उनीहरुकै भागमा पर्छ ।

प्रायः कथासंग्रहको अकथित नियमझैँ सयौँ पुतलीमा पनि सबैभन्दा सशक्त कथा पहिलो छ । पुरुषका निम्ति आफ्नो अस्तित्व परिवर्तन गर्न बाध्य महिलाबारे लेखिएको पहिलो कथा ‘उर्दी’ पढिसक्दा मनमा प्रश्न उठ्छ, समाजमा अझै कति महिला होलान्, जो पतिका लागि आफ्नो अस्तित्व भुलेर वैवाहिक सम्बन्धमा बाँधिइरहेका छन् । उनीहरु सबैले पढ्नैपर्ने कथा हो ‘उर्दी’ । महिला मुख्य पात्र भएका कथा धेरै भएका कारणले पनि ‘गोपे’, ‘कथा वाचक’ र ‘बेसुरा’ जस्ता पुरुष मुख्य पात्र भएका कथा पढ्दा रमाइलो र स्वाद फेरिएजस्तो लाग्छ ।

शीर्षक कथा ‘सयौँ पुतली’ काठमाडौँमा सयौँ पुतली पाइन्छ भनी फकाएर ‘सौतेला’ बाले गाउँबाट काठमाडौँ ल्याई विवाह गरिदिएको कर्किनी आमैको कथा हो । जीवनमा धेरै पीडा भोगेकी कर्किनी आमै आफ्नो हिंसात्मक जँड्याहा बूढो मरेपछि स्वतन्त्र महसुस गर्छिन् । आफू संसारबाट बिदा लिनुअघि लोग्नेका लुगाफाटा च्यातेर त्यसबाट सयौँ पुतली बनाएर मात्र उनी जान्छिन् ।

अन्य कथा नेपाली राजनीति र द्वन्द्वसँग सम्बन्धित छन् । लेखकले कुशलतापूर्वक आफ्नो देशको अतीत र वर्तमानबाट धेरै कुरा झिकेकी छिन् । त्यसलाई ‘हँसिया’ र ‘अर्को देश’ जस्ता कथामा परिणत गरेकी छिन् । ‘हासिया’ माओवादी लडाकू बनी आन्दोलनमा लागेपछि छोरी गुमाएकी आमाको कथा हो भने ‘अर्को देश’ मा निर्मला पन्तजस्तै चेली बलात्कार भएर कसरी दण्डहीनताको माहोल बन्यो भनी विश्लेषण गरिएको छ ।

आफू जन्मे–हुर्केकै पूर्वी नेपालबाट मानिसलाई टिपेर उनले आफ्नो पात्रको रुपमा सजाएकी छिन् । सुवेदीका कथामा महिलाभन्दा पुरुष असन्तुष्ट छन् । उनीहरु जागिर, नेपालका नेताहरु, भ्रष्टाचारको स्थिति, यहाँको प्रदूषण, सबै कुराबाट असन्तुष्ट देखिन्छन् । महिलाले पुरुषभन्दा बढ्ता दुःख पाए पनि उनीहरुलाई कहिल्यै असन्तुष्ट चित्रण गरिएको छैन, जसका कारण महिलालाई महान चित्रण गर्न खोजिएजस्तो महसुस हुन्छ । उनको लेखकीय दुनियाँमा ‘पर्फेक्ट महिला’ हुन सक्लान्, तर ‘पर्फेक्ट पुरुष’ बिरलै भेटिन्छन् । ‘बेलुन’ मा बलात्कारी बाउलाई जेलबाट निस्कने दिन विष खुवाउन सक्षम छोरी, ’प्रश्न’ मा बाहुनकी छोरी भएर राईसँग प्रेमविवाह गर्ने आँट भएकी ‘ठूली’, ‘उर्दी’ मा हुनेवाला श्रीमान्‌ले आफ्नो अस्तित्व मेटिन लागेको बोध भएपछि उसलाई त्यागेर आफूलाई नबदल्ने निर्णय गर्न सक्षम ‘प्रीति’ जस्ता सशक्त महिलाले भरिएको छ, सयौँ पुतली ।

लेखकको लेखनशैली सरल र मीठो छ । कथा भन्न त्यति गाह्रो भएजस्तो देखिादैन । कथा लेख्दा गीत गाएझैँ लेख्छिन् । उनका कथा पढ्दा पाठक संगीत सुनेझैँ आनन्द महसुस गर्छन् । उनको लेखन सामाजिक र राजनीतिक टिप्पणीले भरिएको छ । सयौँ पुतलीमा उनले समाजका महिलाको अनुभवका लागि मुखपात्रको रुपमा आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिएको देखिन्छ । घटना, विषयवस्तु र प्रस्तुति सरल भए पनि उनको लेखाइ पूर्वानुमेय छ । पाठकलाई अब त पक्कै केही नराम्रो हुनेवाला छ भन्ने भान हुन्छ, प्रायः दुई पृष्ठ पढेपछि । पाठकलाई हरेक दुई पृष्ठमा विस्मय दिने लेखक नभए पनि उनका कथा पढ्न अल्छी लाग्दैन ।

कथा निरस छैनन्, तर ’बेलुन’, ’हासिया’ र ’अर्को देश’ जस्ता लगातार तीन वटा कथामा बलात्कारका प्रसंग छन् । यसरी एकपछि अर्को कथामा बलात्कारबारे पढ्दा पाठकलाई अलि धेरै नैराश्य महसुस हुन सक्छ ।

संग्रहका १७ कथामा संरचनागत त्रुटि भेटिँदैनन् । अर्थात्, कुनै पनि कथा निष्कर्षमा नपुगी त्यत्तिकै अकस्मात रोकिँदैनन् । अझ कथाले थ्री–एक्ट संरचना–सेटअप (परिस्थिति निर्माण गर्नु), राइजिङ एक्सन (पात्रका लागि परिस्थिति अझै अप्ठेरो बन्दै जानु) र अन्त्यमा चरम बिन्दुमा पुग्नु, रिजोल्युसन (समस्याको समाधान अथवा परिस्थिति विश्लेषण गर्नु) अनुसरण गरेको देखिन्छ । आफ्नो लेखनद्वारा समाजका कुरीति र नियमलाई चुनौती दिने सामर्थ्य राख्ने सुवेदीलाई कथाकारका रुपमा पढ्ने पाठक पक्कै निराश हुने छैनन् ।

 

प्रकाशित: जेष्ठ १९, २०७६