[सम्पादकीय] मानार्थ पीएचडीको पिरलो

- बसन्त बस्नेत

ज्ञानका बारेमा प्रधानमन्त्री केपी ओलीसँग मिश्रित विचारहरू छन् । औपचारिक डिग्री लिन सकिने हदैसम्म सम्भावना भएको उर्वर उमेरमा उनी आन्दोलित थिए । पठन र अनुभवको ठूलो हिस्सा काराबासले खायो । उनका कमरेडहरू बुर्जुवा शिक्षा बहिष्कारको अभियानमा लागेर आफूसँग भएका एक–एक प्रमाणपत्र पनि जलाउँदै थिए ।

केही वर्षअघि एमाले सांसद महेश बस्नेतको आत्मकथा विमोचन क्रममा ओलीले एउटा गम्भीर प्रश्न उठाइदिए, ‘बुद्धले कति पढेका थिए ?’ ओलीको भनाइ थियो, ‘आज बुद्धका ज्ञान सर्वत्र फैलिएका छन् । उनका बारेमा पीएचडी गर्नेहरू अनगन्ती छन् ।’

ओलीकै तर्क पत्याउने हो भने ज्ञानका लागि डिग्री नभए पनि हुने रहेछ ।

यस्तो सवाल गर्ने हाम्रा प्रधानमन्त्री आफैँ भने पछिल्ला वर्षहरूमा एकपछि अर्का मानार्थ विद्यावारिधिबाट विभूषित हुन व्यग्र देखिन्छन् । १५ जेठ, गणतन्त्र दिवस र बजेट भाषणको भ्याइनभ्याइबीच उनी चौथो पीएचडीको टोपी र गाउन लगाउन फुर्सद निकाल्दै थिए । ईश्वरको ‘पवित्र आत्मा’ जगाउने, प्रभुका सुसमाचार अन्यत्र प्रचार गर्ने उद्देश्यस्वरूप खुलेको कोरियाली काङ्नाम युनिभर्सिटीले हाम्रा प्रधानमन्त्रीलाई घरैमा आएर पीएचडीको प्रमाणपत्र थमायो ।

ओली यसअघि सन् २०१० मा अमेरिकी ग्रीनफोर्ड इन्टरनेसनल युनिभर्सिटीबाट मानार्थ डाक्टर भइसकेका छन्, जुन विश्वविद्यालय कालान्तरमा नक्कली हो भन्ने खुल्न गयो । उनले भारत भ्रमणका क्रममा ०७४ चैतमा अर्को विद्यावारिधि लिए, गोविन्दवल्लभ पन्त युनिभर्सिटी अफ टेक्नोलोजी उत्तराखण्डबाट । तेस्रो पीएचडी थियो, असोज ०७५ मा यूएन युनिभर्सिटी फर पिस कोस्टारिकाबाट ।

विद्यावारिधि । मानार्थ । त्यसमाथि विवादित । त्यसो त राष्ट्रिय/अन्तर्राष्ट्रिय जीवनमा योगदान गर्ने व्यक्तित्वलाई यस्ता विशिष्ट उपाधिले सम्मान गर्ने चलन अन्यत्र पनि छ । चिन्ता जाहेर गर्नुपर्ने कुरा के छ भने हाम्रा प्रधानमन्त्रीले ग्रहण गरिरहेका उपाधि एकपछि अर्को गर्दै विवादको फन्दामा पर्दै गएका छन् । यसरी आफूलाई मानार्थ ज्ञानी बनाउने विश्वविद्यालयको प्रोफाइल कम्तीमा जाँच गर्नुपर्ने हो । यसो नगर्दा आफू, प्रधानमन्त्री संस्था, आफ्नो पार्टी र सिंगो देशको बदनामी भइरहेको छ भन्नेमा ओलीमा पर्याप्त सावधानी देखिएन । न त उनको सचिवालय नै यसमा काबिल देखियो ।

मानिस आफैँमा नाम हो, विशेषण होइन । तर प्रधानमन्त्री मात्रै नभएर प्रधानमन्त्री कार्यालयका सदस्य, नेकपा नेतृत्व र कतिपय दल, क्षेत्रका मानिसको होड पाएजति उपाधि थाप्नेमै छ । यही बेला सत्तासीन मन्त्री, कर्मचारी, नेता आदिले संविधान बनाएकामा विभूषित भएको पनि देखियो । सजावटी उपाधिका लागि लालायितहरूले कहाँबाट प्रधानमन्त्रीलाई सल्लाह दिन सक्नु !

हाम्रा नेताहरूले एकातिर ०६२/६३ को परिवर्तनको जगमा बनेको संविधान कार्यान्वयन गर्नुपर्नेछ, जहाँ धर्मनिरपेक्षताको मान्यता अभिलिखित छ । त्यस मान्यतामा दखल पुग्ने गरी प्रधानमन्त्रीबाट ग्रहण गरिएका यस्ता उपाधि धार्मिक प्रोजेक्टमा संलग्नहरूबाट दिइएको हो । यसअघि नै  ‘होली वाइन कूटनीति’ मा फस्ने हुँदा ओली, माधव नेपाललगायत ‘वामपन्थी क्रान्तिकारी’ हरू बदनाम भइसकेका छन् । यस्ता घटना अरू पनि छन् । दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवा तिब्बती धर्मगुरु लोब्साङ सांगेसहित भारतको एक कार्यक्रममा सहभागी भएको घटना यस्तै विवादको विषय बन्न गयो ।

ज्ञानले मानिसलाई विनम्र बनाउनुपर्ने हो, आडम्बरी होइन । प्रधानमन्त्री, नेताहरू र सबै खाले सार्वजनिक जीवनमा बाँचिरहेका अगुवाहरूले आफैँलाई प्रश्न गरून्, कतै मानार्थ उपाधिको खोजीमा भौतारिँदै गर्दा हाम्रा क्रियाकलापले आफ्नै पुर्खाहरूको मानमा दाग लगाइरहेका त छैनन् ? आखिर प्रधानमन्त्रीले भाषणपिच्छे भन्ने गरेझैँ हामी ‘ऋषिमुनिका सन्तान’ जो पर्‍यौँ ।

प्रकाशित: जेष्ठ १९, २०७६