प्रजातन्त्रका लागि हरेराम समूह

- हरिराम जोशी

विसं १९६२ मा पूर्वसैनिक लखन थापाले ‘अत्याचारी जंगबहादुरको नाश गरी नेपालमा सत्य युग फिराउनू भन्ने वरदान गोरखकाली भगवतीबाट पाएको हुँ’ भन्दै अनुयायी बटुली खुकुरी, भाला, बन्चरो आदि शस्त्रअस्त्र सुसज्जित एक ठूलो पल्टन खडा गरे, राजनीतिक स्वतन्त्रताका लागि । त्यो नै नेपालको पहिलो विद्रोह थियो । तर त्यो विद्रोह केन्द्रबाट गएको श्री ३ जंगबहादुर राणाको फौजले लखन थापालगायत सात जनालाई पक्राउ गरी बाँसको पिँजडा (खोर) मा काठमाडौँ चलान गर्‍यो । हातहतियार कब्जामा लियो । लखन थापाहरु संगीन राजद्रोहको आरोपमा मृत्युदण्ड भागी भए । यो आन्दोलन आँधीहुरीसहित आयो, सेलायो ।

विसं १९३४ मा दाजु जंगबहादुरको निधनपछि प्रधानमन्त्री बनेका रणोद्वीपसिंह सरल र धर्मप्राण भएकाले सत्तामा टिक्न सकेनन् । फलतः यिनकै समय १९३८/१९४२ काण्ड रचिए, राजनीतिक विरासतका लागि । ०४२ को काण्डमा खड्गशमशेरबाट हत्या गरिएको भनिए पनि खासमा वीरशमशेरले नै आफ्नै काका रणोद्वीपलाई मारेका हुन् ।

काका मारेको प्रायश्चित्तस्वरुप वीरशमशेरले ब्राह्मण वटुकलाई खुवाउन काठमाडौँ तीनधारा पाकशाला स्थापना गरे । तीनधारा बस्ने विद्यार्थी संस्कृत पाठशाला पढ्थे । त्यही पाकशालामा खान्थे, बस्थे ।

संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले सुरु गरेको जयतु संस्कृतम् आन्दोलन नै नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कोसेढुंगा हुन पुग्यो । संस्कृत पाठशालाका विद्यार्थीले अंग्रेजी, इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र पनि पढ्न पाउनुपर्ने, संस्कृत शिक्षालाई अंग्रेजीसरह मान्यता दिनुपर्नेलगायतका माग राखेर १५ जेठ २००४ मा शिक्षा विभागसमक्ष माग पेस गरे ।

पद्मशमशेर धर्मभीरु थिए । ब्राह्मण विद्यार्थीप्रति कठोर हुन सकेनन् । संस्कृत पाठशाला सञ्चालन जिम्मा लिएका माइला गुरुज्यू हेमराज पाण्डेले प्रहरी सहयोगमा विद्यार्थीलाई थानामा बुझाए । पछि उनीहरुलाई नेपालमा पढ्न नपाउने गरी छात्रावासबाट निष्कासित गरियो ।

विद्यार्थी आन्दोलनले राजनीतिक रंग लिँदै गयो । यिनै विद्यार्थीले ३ असार २००४ देखि काठमाडौँ, पाटनका सहरमा जयतु संस्कृतम् नारासहित घर फिर्तीका लागि भिक्षा माग्दै जनतासँग न्याय प्राप्तिको लडाइँमा सहयोग मागे । त्यस आन्दोलनमा लागेर उपत्यकाको चार भन्ज्याङ कटाइएका ३८ विद्यार्थी थिए । यिनैमध्येका श्रीभद्र शर्मा, गोकर्णराज शास्त्री, अच्युतराज रेग्मी, कुलमणि देवकोटा, कमलराज रेग्मी, पूर्णप्रसाद ब्राह्मणलगायत सुरुमा नेपाली कांग्रेस (रेग्मी) र नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाए ।

००४ अघिका सबैजसो राजनीतिक आन्दोलन आए, गए । राजनीतिक उद्देश्य प्राप्तिमा सफल भएनन् । भीमशमशेरको समयमै खड्गमान सिंहले राजनीतिक विद्रोह गरे, प्रचण्ड गोरखा परिषद्मार्फत । २२ वर्ष जेल बसे । उनी पनि आए, गए । त्यसले खासै प्रभाव परेन । प्रजातन्त्रकै लागि विसं १९९७ मा पनि चार जना मारिने गरी सहिद काण्ड रचियो ।

राणातन्त्रविरुद्ध १७ वैशाख २००४ देखि सुरु भएको इन्कलाबको नारा ००७ मा आएर टुंगियो । ००५–००७ मै प्रजातन्त्रका लागि हरेराम समूह जन्मियो । नेताबिनाको त्यो समूहमा सहभागीले बिहानदेखि बेलुकीसम्म काठमाडौँ, पाटनका टोलटोलमै ‘हरे राम हरे राम’ भजन गाएर जनतालाई जागरुक बनाउँथे । त्यही आन्दोलनकै कारण कार्यान्वयनमा नगए पनि पद्मशमशेरले नेपालको वैधानिक कानुन दिनुपर्‍यो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको मूल समय ००४ देखि ००७ सम्मलाई मानिन्छ । ००७ मा प्रजातन्त्र आयो । तर जनतामा राजनीतिक सचेतना दिन नेता पूर्णतः असफल रहे । सामान्य जनताले प्रजातन्त्र आयो–आयो भने । तर के आयो ? उनीहरुले भेउ पाउन सकेनन् । प्रजातन्त्रको मनसाय बुझाउने झन्झट नेताहरुले लिएनन् । नेताहरु सत्ता छिनाझपटीमै अलमलिए ।

नेपालमा राजनीतिक क्रान्तिको इतिहास लामो नहुँदा प्रजातन्त्रले गति लिन सकेन । जनतामा चेतना नहुँदा प्रजातन्त्र जहिल्यै धर्मराइरह्यो । भारतीय स्वतन्त्रता संग्रामका लागि त्यहाँका नेताहरुको बलिदानी गौरवमय छ । भारतीय नेताहरुका कठोर संघर्षकै कारण त्यहाँको स्वतन्त्रता कसैले खोस्न सकेको छैन । भारतमा ब्रिटिस उपनिवेश समाप्त हुन मात्रै १ सय ९० वर्ष लाग्यो । तर नेपालमा क्रान्ति सुरु भएको तीन वर्ष पनि नबित्दै प्रजातन्त्र आयो ।

००७ मा आएको शिशु प्रजातन्क्रलाई राजा महेन्द्रले बिनारत्तपात सिध्याइदिए, ०१७ मा । जनताबाट कुनै बाधा–विरोध भएन । बीपी कोइरालाको मन्त्रिमण्डलका तुलसी गिरी, कांग्रेसका महामन्त्री विश्वबन्धु थापा पञ्चायत पसे । कम्युनिस्ट पार्टीका संस्थापक नारायणविलास जोशी, कमलराज रेग्मी आदि पनि आफ्नो आस्थामा टिकेनन् । प्रजातन्त्र आउने/जाने घनचक्करले अहिलेसम्म छाडेको छैन ।

 प्रस्तुति  : गोकुल अर्याल

प्रकाशित: जेष्ठ १६, २०७६

ट्याग: स्मरण