क्यानबेराको युद्ध सङ्ग्रहालय

- मुकुन्द पोखरेल

ससाना पहाडी हरिया थुम्कामा भेडा चरिरहेका थिए । केही सुनौला रङका, केही काला विविधताका दृश्यमा ती भेडा पनि आए । यसरी म सुरम्य दृश्यमा रमाउँदै थिएँ । मेरा नयन डाँडामाथिका दूधजस्ता सेता खम्बामा ठोक्किन पुगे । ती खम्बामा फिरफिरे घुमिरहेका देखेँ ।

त्यस्तो दृश्यले मलाई आकर्षित गर्यो । मैले राममणिलाई  ‘एकछिन गाडी रोक’ भनेँ । मेरो प्रस्तावमा अरु साथीहरुको सहमति तुरुन्तै जुट्यो । गाडी घच्याक्क रोकियो । यात्राको क्रमभङ्गता गर्दै हामी ओर्लियौँ ।

हामीलाई पच्छ्याउँदै आएको लालीगुराँस रङको कार पनि रोकियो । मेरा आँखा बुर्कुसी मार्दै फिरफिरेतिरै  गए । मन पनि त्यतै पुग्यो, अनि म त्यताका दृश्य–परिदृश्य हेर्न थालेँ । अरु साथीहरु पनि त्यसकै मोहकतामा तानिए । यो फिरफिरे देख्दा किशोर वयको सम्झना ताजा हुँदै आयो ।

लामादाइ असिना हटाउन भन्दै, बाँसको फिरफिरे गाड्थे । वर्षा र तापक्रमको मिलन हुँदा झर्ने असिना, वायुको चाप अनुरुप नजिक टाढा पथ्र्यो । लामादाइ टाढा पुग्दा धान जोगाउन मैले हटाएको, नजिकै परे कुनै ग्रह रिसायो भन्थे । उनी धानको धोक्रो ठड्याउँदै, पेरुङ्गो पेट उकास्थे । तर, यो तिमिर लखेट्दै उज्यालो ल्याउने फिरफिरे हो । यहाँ दुईवटा राम्रा विश्रामस्थल रहेछन् । हामीजस्तै यात्रीका प्रतीक्षामा हुन् भन्ठानेर एउटामा आरामसँग बसियो ।

वैश्विक दृष्टिका नर्तकी आँखा नाच्दै थिए । त्यसै सडकमुनि लमतन्न सुतेको एउटा ताल रहेछ । अहिले त्यो विगत सम्झँदै सिमसारमा रुपान्तरित भएछ । प्रतीकात्मकतामा त्यसको अस्तित्व मेटिएको रहेनछ । त्यसै तालको पृष्ठभागमा एउटा लामो डाँडा बसेको छ । त्यस डाँडाभरि हाँस्दै रहेका फिरफिरे त वायुमिल रहेछन् । तीबाट उज्यालो दिने वायु–ऊर्जा सङ्कलित रहेछ ।

त्यता दृष्टिगोचर गर्दा मेरो मस्तिष्कमा विद्युतीय झड्का दियो– हाम्रो भू–भागको अधिकांश पहाडी भेग छन् । डाँडामा आवेगमा आएका वायु–ऊर्जा, यसरी सङ्कलन गर्ने हो भने कति हुन्थ्यो ! जल, वायुऊर्जा, कृषि, वन, सांस्कृतिक वैभव र पर्यटकीय क्षेत्रको विकासले नै हाम्रो नेपाल, हङकङ, सिंगापुर एवं स्वीट्जरल्यान्डजस्तै बन्थ्यो । युवा जनशक्ति मन, मस्तिष्क भड्काउँदै, भौँतारिएर किन विदेशिनु पथ्र्यो !

अस्ट्रेलियाको राजधानी क्यानबेरातिरको यात्रा लक्षित, नियमित गर्न खोज्दाखोज्दै आकस्मिकता हुन आयो ! समयको व्यवस्थापनले । भौगोलिक अनेकतासँगै हामी रोमाञ्चकारी, एकता जोड्दै गयौँ । यात्री त हो, विविध दृश्यमा मेरो मन खरायोको बच्चाझैँ खेल्दै गयो । सिड्नी (अस्ट्रेलिया) को अलवापार्कबाट बिहान ७:४५ तिर यात्राको आरम्भ गरेका थियौँ । कथाले पात्र झैँ समय र स्थानको माग अनुरुप, हामी आराम गर्दै गयौँ ।

समयको केही अन्तर्यमा, त्यताबाट गन्तव्यतिर लाग्यौँ । मुकेशले चलाएको लालीगुराँसजस्तै कारलाई एकछिन पर्खियौँ । उत्साहित मनमा हुइँकिँदै जाँदा, केहीपछि  अस्ट्रेलियाको राजधानी क्यानबेरा मुस्कुराउँदै आयो । त्यहाँको प्राकृतिक छटाले मन रमाउन मात्र थालेन, प्रशासनिक, विश्वविद्यालयजस्ता अग्ला र सुन्दर भवनका बान्कीहरुले पनि हामीलाई स्वागत गर्दै आए । भू–संरचनाका दृष्टिमा त्यो सानो उपत्यकाजस्तै लाग्यो । त्यहाँबाट हामी संसद् भवनतिर गयौँ । त्यो शान्त, सौम्य, शुभ्र भवनको प्राङ्गणमा सिङ्गमरमर चम्किँदै थियो । त्यहाँ भवनको बायाँ सानो पोखरी रहेछ । जहाँ मनोरम झरना प्रवाहित थियो । त्यसले जादुमय हुँदै मलाई मात्र लट्ठ्याएन, अन्य यात्रीहरुको मन पनि तान्यो ।

संसद् भवनभित्र जानको लागि प्रवेशद्घारमा, पर्यटकहरुको लामै पङ्क्ति देखियो । त्यो देख्दा मलाई किन यस्तो भीड भन्ने लाग्यो । सुरक्षाकर्मीले आफूसँग भएका घडी, मोबाइल, पेटी, पर्सजस्ता सामान घोषणा गर्न एउटा किस्ती दियो । ब्यागहरु स्क्रीनबाट जान्थे । त्यसरी सामान घोषणा गराउँदा र लिँदा समयका केही अवयव खर्लप्पै खाँदो रहेछ ।

माथि गएर संसद् भवनको अवलोकन गर्दा निकै रमाइलो लाग्यो । ऐतिहासिक, पुरातात्विक दृष्टिले सुरक्षित मात्र थिएन, यो भवन सिँगारिएको पनि रहेछ । पर्यटकहरुको स्वागतका लागि ठाउँठाउँमा, काला रङका रेक्जिनका सोफाहरु राखिएका थिए । अलग्गै चिटिक्क परेको विश्राम–कक्षको, व्यवस्था पनि थियो त्यहाँ । सिनेटकक्षमा ५५-६० जति मेचहरु रहेछन् । गोल बैठकको ढाँचामा कक्षको व्यवस्थापन गरिएको छ । कतै दृष्टि लगाउँनै गारो संसद् । यहाँ मन अघाउन्जेल बस्न पाइयो ।

अनभूतिको क्षण अत्यन्त अप्रतिम भयो । महारानी एलिजाबेथ, पूर्वप्रधानमन्त्रीहरु, सिनेटको अध्यक्षता गर्ने व्यक्तित्वहरुको तस्बिर पनि सजाइएका छन् । राजनीतिक दल, प्रधामन्त्री, मन्त्रीहरुको गरिमामय कार्यहरुको झलक दिएको छ । यस्ता झलक सिसाको टेबलभित्र सुरक्षित छ । संसद्को कौसीमा गएर हेर्दा, युद्ध स्मृति सङ्ग्रहालयको ढोका सीधै अगाडि आयो । यो संसद् र त्यो सङ्ग्रहालयको दूरी एक किलोमिटरजतिको थियो ।

यहाँबाट हामी युद्ध स्मृति सङ्ग्रहालयतिर हानियौँ । युद्ध जित्ने सैनिक, अधिकृतहरुको तक्मा र पुरस्कारको गाथा मात्र छैन, देश एवं जनताका लागि वीरगति पाउनेको नामाङ्कित तस्बिरहरु पनि भवनका भित्तामा राखिएका छन् । कतै बालुवाका बोराहरुको मिनी धरहरा छ । कतै सुरक्षित हुन बङ्कर खनेका छन् । कतिपय सेना प्राकृतिक बुट्यान, रुखको छेको लागेर युद्ध लडिरहेका देखिन्छन् । शत्रुपक्षले हात उठाउँदै, आत्मसमर्पण गरेको दृश्य आँखामा आयो । त्यस्तै समरभूमिका कमाण्डरले दिएको आदेश, तोप, गोलीको लयमा कराएको आवाज जीवन्तझैँ आउँथ्यो । कतिपय सेना बम, गोलीको निसानामा ढलेका मर्मस्पर्शी युद्ध इतिहास आयो । यस्ता शब्द-दृश्यले एक जोडी गोरा युवायुवती झसङ्ग मात्र भएनन्, यतैबाट कान थुन्दै, आँखा छल्दै गन्तव्यविहीन यात्रीजस्तै भएर फर्के ।

हेर्दा सबै मान्छे उस्तै लाग्छन्, मन, मस्तिष्क, मुटु उस्तै हुँदैनन् । यीबाट उत्पादित, वितरित विचार, बुद्धि, विज्ञान, दर्शन र विवेक पनि वैविध्य हुन्छन् । त्यसैले यी जोडीले यो परिस्थिति एवं घटना खप्न सकेनन् । यस्ता शब्द-दृश्यले मलाई पनि मुटु ताक्दै तिर मारे । मान्छेकै मन, त्यसमा पनि सिर्जना गर्ने ।

त्यस विशिष्ट सङ्ग्रहालयमा लडाकु विमान, हेलिकप्टर, पनडुब्बी, राडार मात्र छैनन्, जहाज,  डुङ्गाजस्ता युद्धपोतहरु पनि सजाइएका रहेछन् । तीमध्ये केही धरापमा छन् । केही लडाकु विमानहरु फलामका बिममाथि, छतमुनि हार मिलाएर राखेका छन् । यहाँ कपडाका जुत्ता, बुटसँगै यामानका परालका जुत्ता देख्दा मलाई आश्चर्य लाग्यो । साथीहरु पनि यस्ता अद्भुत सामरिक यान र सामग्रीहरु भुतुक्क हुँदै हेर्न थाले । यी देख्दा मलाई विश्वयुद्धहरु लडेर थकित मुद्रामा, आराम गरिरहेजस्ता लागे । अस्ट्रेलियाले यसरी दुर्लभ ऐतिहासिक एवं पुरातात्विक वैभव सुरक्षित राखेको रहेछ भावी पुस्तालाई हस्तान्तरण गर्न । त्यस्तो  देख्दा म ज्यादै हर्षित भएँ ।

त्यसपछि हामी प्राकृतिक बोटानिकल गार्डेन गयौँ । यो बगैँचा अलि उचाइ भागमा रहेछ । ग्रेगोरीले सङ्केत गरे अनुरुप १० जुलाई २०१६ को दिन हो यो । हाम्रो वसन्तमा यहाँ शरद आयो । फूलमा शरद चढेको बेला बगैँचाले आकर्षित गर्यो । आज बगैँचाका विभिन्न थरीका फूल, वनस्पति हाम्रो स्वागतमा प्रफुल्ल हुँदै आए । हामी पनि किन कम थियौँ र ! तिनीहरुलाई धन्यवाद दिँदै अवलोकनमा तल्लीन भयौँ । त्यसकै निकटमा एउटा रमणीय टावर पनि थियो । समयको केही पदचाप पछ्याउँदै युगल रेस्टुराँमा दृष्टि लाउँदै बाटो छोट्याउन थाल्यौँ ।

अलि वर आएर क्यानबेरा, सिड्नी जस्ता शैक्षिक ज्ञान-विज्ञान वितरण गर्दै गरेका विश्वविद्यायलहरु हेर्न लाग्यौँ । यसै क्षणमा ‘यी विश्वविद्यालयहरु सुन्दर कलेवरका छन् । आलोक कत्तिको छर्छन् ?’ भन्दै मैले स्तरीयताको प्रश्न पुष्करतिर तेर्स्याएँ । उनले ‘यी नाम बोक्न सक्ने सुविख्यात नै छन्’ भने । यिनीहरुको वातावरण, परिसरतिरको छन्दले मलाई पनि आभा छर्ने नै लाग्यो । शिक्षामा अस्ट्रेलिया यशस्वी नै मानिन्छ ।

यो क्यानबेरा कसरी भयो त राजधानी भन्ने सन्दर्भमा सटीक कुरा यस्तो छ– सिड्नी आधुनिक सभ्यतासँगै विकासका पखेटा फैलाउँदै आयो । यो भू–आकारमा विस्तृत पनि रहेछ । त्यसै परिप्रेक्ष्यमा राजधानी सिड्नीलाई बनाउने स्वर घन्किन थाल्यो । उता मेलबर्न युरोपेली हावापानी भएको सहरको आवाज आयो । त्यसरी दुवैतिरबाट छाल झैँ उर्लेका द्वन्द्वका तरङ्ग शान्त पार्न, सरकारले बीचको क्यानबेरालाई राजधानी रोज्यो । आधुनिक पर्यावरणीय दृष्टिकोणले, मानव बस्न उत्कृष्ट मानिएका विश्वमा दस सहर छन् । तीमध्ये मेलबर्न र पर्थ अस्ट्रेलियाका हुन् ।

मनमा गोदावरी फूल फक्राउँदै, हामी सिड्नी फर्किंदै थियौँ । आउँदा फराकिलो चिल्लो सडकको छेउमा, दायाँपट्टि सुनौलो रङको भेडाको प्रतिमा अगाडि आयो । त्यो ३०-३५ फिट अग्लो मात्र थिएन, सौन्दर्यात्मक पनि रहेछ त्यो । त्यसलाई हामी हेर्न थाल्यौँ । मैले विद्यार्थीकालमा अस्ट्रेलियामा सुनौला ऊन भएका भेडा पाइन्छन् भन्ने पढेको थिएँ । त्यो स्मृति वेडरवनतिर जाँदा पहिलो दृश्यमा आयो, साक्षात्कार भयो ।

अहिले यो अजङ्गको भेडाको प्रतिमाले निकै आश्चर्यचकित तुल्यायो । मलाई यो अस्ट्रेलिया मा सुनौला ऊन भएका भेडाहरुको प्रतीक हो भन्ने लाग्यो  । त्यसलाई म चारैतिरबाट नियाल्दै थिएँ । त्यो सडकतिर सवारीका साधन, मानिसहरुलाई हेरेर दंग पर्दै बसेको थियो– विम्बमा । त्यहाँ हेर्दै गरेको मझौला कदको, एक फ्रान्सको नागरिक रहेछ । त्यसलाई मैले ‘यो भेडा कस्तो लाग्यो तिमीलाई ?’ भनेँ । उसले चहकिलो अनुहारमा ‘धेरै आश्चर्यपूर्ण छ !’ भन्यो । म पनि खुसीले गदगद भएँ । यसरी यात्राको बिट मार्दै हामी गुँड फर्कियौँ ।

प्रकाशित: जेष्ठ १६, २०७६

ट्याग: नियात्रा