पाइलैपिच्छे गलफती

- गोकर्ण गौतम

पोखरा विमानस्थलको गेटबाट बाहिर निस्किएकै थिइनँ, ट्याक्सीवालाले घेर्न थाले । कहाँ जाने, भाडा कति तिर्नेसमेत सोध्दै नसोधी आफ्नो ट्याक्सीमा हुल्न तँछाडमछाड । जानु थियो लेकसाइड । चालकले भने, “५ सय रुपैयाँ ।” अर्को ट्याक्सी बोलाएँ । उनको मुखबाट झरिहाल्यो, “जुनमा गए पनि भाडा उही हो ।” हो रहेछ । ठाडै ठगिने भएपछि सोधेँ, “मिटर चल्दैन ?” नजिकैका चालकले जवाफ फर्काए, “पोखरा पहिलो पटक आउनुभएको हो ?”

ट्याक्सीले ठगेको रन्को ओइलाउन पाएको थिएन, भोलिपल्ट सैलुनमा त्यही हविगत दोहोरियो । सामान्य सैलुनमा छिरेर सेभिङ गरेँ । सय रुपैयाँ दिएँ । मेरो हिसाबमा ३० रुपैयाँ फिर्ता आउनुपर्ने । काठमाडौँमा सेभिङको ७० रुपैयाँ मात्र हो । तर ती हजामले उल्टै १ सय १० रुपैयाँ मागे । भुले होलान् भन्ठानेर सेभिङ मात्र गरेको सम्झाएँ । उल्टै मलाई सम्झाए, “अँ, सेभिङकै २ सय १० हो ।” यत्ति महँगो, के भनेको थिएँ, अचम्मित मान्दै सोधे, “पहिले पोखरामा सेभिङ गर्नुभएको थिएन ?” गलफती गरिनँ ।

त्यही दिन साँझ फेवाताल किनारा नजिकैको ठेलामा चाउचाउ उमाल्न लगाएको सय रुपैयाँ टक्र्याउनुपर्‍यो । बढी पैसा लिएको गुनासो गर्नासाथ ठेलावालाको जवाफ उस्तै थियो, “कताबाट आउनुभयो कुन्नि, पोखरामा त यस्तै हो ।”

पर्यटकसँग जति पैसा असुले पनि छूट हुने हो ? वैशाख दोस्रो साता चार दिन पर्यटकीय नगरीमा बिताएपछि लाग्यो, पोखरामा हिमाल मात्र देखिन्न, पाइलैपिच्छे गलफती पनि देखिन्छ, महँगीले । यही पाराले आन्तरिक पर्यटन प्रवर्द्धन होला ?

गौँडागौँडामा जँड्याहा

हाम्रो टोलीका आठ जना टिकट लिएर महेन्द्र गुफा छिर्‍यौँ । प्रवेशद्वारमै ह्वास्स रक्सी गन्हाएका अधबैँसेसँग भेट भयो । उनी केही आग्रह गर्न खोज्दै थिए, तर वास्ता गरेनौँ । पछ्याउन छाडेनन् । गुफाभित्र छिर्न थालेका थियौँ । राम्रोसँग उभिनसमेत नसकेका ती मनुवाले आफू गुफाको गाइड भएको खुलासा गरे । उनले बिन्ती बिसाए, “गुफा घुमाइदिन्छु, ३ सय दिनुस् ।” यत्ति मात्र होइन, आफूलाई नलगे गुफा छिचोल्न नसकिने ठोकुवा गरे । उनको ताल देखेर रिस उठे पनि विवाद गरेर के फाइदा ? नबोली हिँड्दै थियौँ, रक्सी धोकेका अर्का गाइड हाम्रो छेउ आइपुगे ।

उनको याचना पनि उही । गुफा घुमाइदिने, तर हामीहरुले नै रकम टक्र्याउनुपर्ने । उनले बाटै रोक्न खोज्दै थिए । केही बोलेनौँ । अलि पर्तिर भारतीय पर्यटकको डफ्फा नै थियो । उनीहरुलाई पनि जँड्याहा जोडीले झर्को लगाएछ । तर हामी जसरी चुप बसेनन् । भगवान्को मूर्ति भएको पवित्र गुफाभित्र रक्सी पिएर आएको भन्दै गाली गरे । धन्न ! जँड्याहा जोडीले तमासा गरेन ।

बाहिर निस्कने बेला टिकट काउन्टरमा जँड्याहाबारे जानकारी गराएँ । जवाफ यस्तो आयो, “ए, हो र ? हामीलाई थाहै छैन ।” कस्तो हेलचेक्र्याइँ ? भारतमा ‘चलो पोखरा’ अभियान चलाएर मात्र हुन्छ त, आएकै पर्यटकलाई यसरी बिच्क्याएपछि ?

खोइ सुरक्षा तयारी ?

डुंगामा सयर गरेर मज्जा लिने हो भने फेवातालभन्दा बेगनास उपयुक्त रहेछ । भीडभाड नहुने, सफा पनि । वरपर वनजंगलबाट आउने हावाको शीतलताले आनन्दित तुल्याउने । तर ढुक्क भएर घुम्न नपाइने । कदाचित भवितव्य परिहाल्यो भने उद्धार हुनै मुस्किल । त्यति ठूलो तालमा सुरक्षा तयारी शून्य । फेवातालमा चाहिँ नेपाली सेनाको टोली नै टावर खडा गरेर बसेको छ ।

कति डुंगा चालकले ‘लाइफ ज्याकेट’ लगाएका हुँदा रहेनछन् । चार जना मात्र चढ्न मिल्ने डुंगामा अलि जोडबल गर्‍यो भने पाँच जनासम्म अटिने । निगरानी छैन । तालको बीचमा पुगेपछि डुंगा खियाइरहेका दाजुलाई दुर्घटना हुँदा उद्धार कसरी हुन्छ भनेर सोधेँ । उनको जवाफ थियो, “हामी नै गर्छौं । प्रहरीलाई पनि खबर गर्छौं ।’ एक चालकले कतिलाई उद्धार गर्ने ? प्रहरी आउने बेलासम्म हालत के भइसक्ला ? मनमा यस्तै प्रश्न उठे ।

स्थानीय सरकारको दायित्व कर उठाउनु मात्र हो कि यात्रु सुरक्षाको भरपर्दो बन्दोबस्त गर्नु पनि ?

प्रकाशित: जेष्ठ १५, २०७६

ट्याग: नोटबुक