क्रसर व्यवसाय कि अपराध ?

- जगत देउजा

घर मेलम्ची भएकाले काठमाडौँ आउजाउ भइरहन्छ ।  इन्द्रावती खोलामा भइरहेको गिट्टी र बालुवा दोहन देख्दा मन चसक्क दुख्छ । सिपाघाटदेखि मेलम्ची बजारसम्मको १२ किमि पूरै क्रसरले ढाकेको छ । एऊटै नदीको यो खण्डमा १३ वटा क्रसर रातदिन चलिरहेका छन् । सयौँ ट्रकको ओहोरदोहोरले यात्रा गर्न कठिन छ । लाखौँ टन त्रंक्रिट बाहिरिए पनि बाटोका खाल्डामा भने एम्बुलेन्स गुड्न गाह्रो छ । पूरै नदीको दृश्य कुरूप छ ।

नेपालमा जनक नेपालले लेखेको ‘खोलाको दोहोलो’ रिपोर्टमा नदीको दोहनलाई मात्र उजागर गरेको छैन, तत्काल सरकारले चाल्नुपर्ने कदम पनि सुझाएको छ । यो रिपोर्ट पढेपछि केही नलेखी बस्नै सकिनँ ।

यो दोहन वर्षौंदेखि चलिरहेको छ । स्थानीय सरकार आएपछि केही व्यवस्थित होला भन्ने लाग्थ्यो । राजस्वको मात्र हिसाब गरेर अहिलेजस्तो दोहन गर्न दिने हो भने केही वर्षमै यसले ल्याउने नकारात्मक परिणामबाट पछुतो मानेर बस्नुपर्ने अवस्था आउनेछ । अहिले नै पनि स्थानीयको जीविका, स्वास्थ्य र वातावरणमा असर पर्न थालिसकेको छ ।

त्यही खोला हो, हिउँदमा कञ्चन पानी बग्थ्यो । खोलाका दुवैतर्फका फाँट हरिया र मनमोहक हुन्थे । माझी, दनुवार र तामाङ जाल खेलिरहेका हुन्थे । धूलो, धूवाँ केही थिएन । फाँटमा १२ महिना कुलोमा पानी कलकल बगिरहेको हुन्थ्यो । बगरमा गाईवस्तु चरिरहेका देखिन्थे । मेलम्ची नामले मात्र होइन, रूपले पनि सुन्दर थियो । चिसो पानीमा उत्पादित धानको भातको स्वादै बेग्लै हुन्थ्यो ।

आजको दृश्य बिलकुल फरक छ । जताततै क्रसर मेसिन, स्काभेटर, ट्रकको कर्कश आवाज । बाटो छेउमा थुपारिएका साना पहाडझैँ लाग्ने गिट्टी र बालुवाको विशाल थुप्रो । नदी गहिरिँदै जाँदा कुलोमा पानी आउन छाडेको छ । बगरका फाँट नासिँदैछन् । दशकौँपछि बनेका पुल भत्किने अवस्थामा पुगेका छन् । 

एक जना नर्वेका प्रोफेसर केही समयका लागि नेपाल आएका थिए । हेलम्बु घुम्न जाने रहर गरेकाले जिरोकिलो हुँदै गइयो । उनी नदीको दोहन देखेर आक्रोशित भए । यो क्रसर कसको ? वार्षिक कति टन बालुवा र गिटी निष्कासन गर्न पाइन्छ ? यस विषयमा अध्ययन गरिएको छ वा छैन ? यस्तो दोहनले माथिल्लो क्षेत्रमा पर्ने असरको जिम्मेवारी कसले लिन्छ ? स्थानीय सरकारले यस विषयमा के गरिरहेको छ ? यस्तै प्रश्नको उत्तर दिन नसकेर म अक्क न बक्क भएँ ।

गिट्टी, बालुवा र ढुंगाको प्रयोग नगर्ने भन्ने होइन । तर यसको प्रयोग दिगो हुनुपर्‍यो । नदीबाट सीमित मात्र स्रोत लिनुपर्‍यो । अहिलेको स्रोत दोहनमा सोह्रै आना बदमासी भइरहेको छ । यो उद्योग नभएर अपराध हो । प्रकृति, मान्छे र अन्य प्राणी सबैलाई अपराध भइरहेको छ । मेलम्ची र इन्द्रावती क्षेत्रका स्रोतसाधन चुसेर थोरैले खाइरहेका छन् । यसको लाभ सीमान्त तहका स्थानीयले पाउन सकेका छैनन् ।

भूकम्पले थला परेको, सबभन्दा बढी असर गरेको क्षेत्रमा जुन हिसाबले दोहन भइरहेको छ, यसले सिँगै क्षेत्रको पर्यावरणमा असर पार्नेछ । यसको सिरानमा काठमाडौँ फर्काउने भनिएको मेलम्चीको मुहान पर्छ । प्रत्येक वर्ष एक मिटर नदी गहिरिँदै जाने हो भने यो आयोजनाको भविष्य के हुने ? मेलम्ची क्षेत्रको जलाधार कसरी जोगाउने ? यो विषयमा कसैको ध्यान पुगेको छैन । सबै स्थानीय सरकार पर्यटन प्रवर्द्धन गर्न लागिपरेका छन् ? पर्यटक के क्रसरको दोहन हेर्न आउने ? यस विषयमा सबैले इमानदार समीक्षा गर्दै प्रकृति र प्राणी दुवैलाई न्याय हुने गरी स्रोत उपयोग गर्ने विषयमा कठोर कदम चाल्न अब पनि ढिला गर्ने हो भने केही वर्षमा पुर्पुरोमा हात राख्नेसिवाय केही उपाय हुने छैन ।

नदीको दोहन एकातिर र अर्कोतिर मेलम्ची नदी काठमाडौँ लगेपछि यो क्षेत्रको हालत के हुन्छ ? इन्द्रावती, सुनकोसी र मेलम्ची नदी भनेको सिन्धुबासीको खाद्यान्नको मूल स्रोत पनि हो । यतिखेर मेलम्चीबासी र पूरै सिन्धुबासीको खाद्यान्नमाथिको सार्वभौमिकता पनि गुम्दै छ । यसले खाद्यान्नमाथिको परनिर्भरता बढाउँदै लग्नेछ, जसको क्षतिपूर्ति अरू कुनै पनि विकास निर्माणले गर्न सक्दैन । तल बर्सेनि आउने बालुवा किसानबाट पोषित तुल्याएको माथिल्लो भेगको माटो नष्ट भएर आउने हो । तल जति खोतलिन्छ, माथिबाट आउने वा रिक्तिने त्रम पनि बढिरहन्छ । यसले कृषि प्रणाली र वातावरण अनि प्रकोपमा पर्ने असर गहिरो छ । 

नदी दोहनले कृषि प्रणालीमा असर पुर्‍याइरहेको छ । आदिवासी तथा जनजातिका सामाजिक प्रणाली खलबलिएका छन् । माझी र दनुवार माछा मारेर जीविका चलाउँथे । आज माछाको गन्ध पनि सुँघ्न नपाउने अवस्थामा पुगेका छन् । कृषिको पर्यावरण पूरै खजमजिएको छ । यसतर्फ स्थानीय सरकारको ध्यान जानैपर्छ ।

के मेलम्ची, इन्द्रावती वा सुनकोसी नदीले पर्यावरणमा पुर्‍याएको योगदानको मूल्य पैसा वा आर्थिक विकासले मात्र चुकाउन सक्छ ? यसले कृषि र यहाँको जीविकामा पर्ने असर सोचिसक्नुको हुने छैन । यसले केही सीमित मान्छे त मोटाउलान् ? तर सर्वसाधारण भने कंगाल भएर बाँच्नुपर्ने अवस्था आउनेछ । 

प्रकाशित: जेष्ठ १४, २०७६