‘सरुवा पाएथेँ, गाउँले नै लिन आए’

- प्रकाश बराल/बागलुङ

सर्लाही, सलेमपुरका राजेन्द्र महतोले काठेखोला गाउँपालिका–३ को धम्जादेउराली स्वास्थ्य चौकीमा सेवा गरेको झन्डै तीन दशक पुग्यो । आयुर्वेद र जनरल मेडिसिन दुवै विषय अध्ययन गरेका महतोको ०४९ मा पहिलो पदस्थापन बागलुङ भयो । बाबुआमाले त्यति टाढा नजान सल्लाह दिए । “अर्को जागिर खाए पनि हुन्छ भन्नुभएको थियो,” महतो सम्झन्छन्, “म बल गरेरै आएको थिएँ ।”

पोखरा–बागलुङ राजमार्ग खुल्ने क्रममै भएकाले उनी कहिले हिँड्ने त कहिले गाडी चढ्दै सदरमुकाम पुगे । धम्जा पुग्न सदरमुकामदेखि दिनभर पैदल यात्रा गर्नुपर्थ्यो । उकालो बाटो भारी खेपेर धम्जा पुग्दा बाबुआमाको वचन सम्झेर फर्कौंझैँ लागे पनि गाउँलेको न्यानो स्वागतले फुरुंग भइहाले । दुई–चार महिनामै स्थानीयको चासो र सम्मानले ग्रामीण बस्तीमै काम गर्ने जोस बढ्यो ।

छोटो समय काम गरेर सरुवा मिलाउने योजनामा आएका महतो अब भने गइहाल्ने सुरमा छैनन् । “बस्दाबस्दा घरघरका मानिस चिनेको छु, कसलाई कस्तो उपचार गर्दा निको हुन्छ भन्ने पनि जानिसकेको छु,” महतो भन्छन्, “मलाई अब मधेसमा गएर काम गर्न धक लाग्छ ।” महतोको बोली, भाषा र भेषसमेत बागलुङे पाराको छ ।

मगर, बाहुन, क्षत्री र दलित बसोबास भएको धम्जामा उनी साझा व्यक्तिका रूपमा छन् । सरुवा भएर मुस्ताङ जाँदा गाउँलेले राजनीतिक र सामाजिक दबाब दिएर फिर्ता ल्याएका थिए । “पहुँच भएकाले राजनीतिक दबाब लगाए, नभएकाहरू मुस्ताङसम्मै लिन गए,” उनी सम्झन्छन्, “एक–दुई महिना उता बस्दा पनि यहाँका मानिसकै याद आइरह्यो ।”

मधेसी मूलकै पत्नी चन्द्रकला पनि अनमी हुन् । उनी सर्लाहीमै काम गर्छिन् । “हामीले यहीको स्थानीयजस्तै मानेका छौँ, एक पटक हेरिदिए रोग निको हुन्छ,” स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष यामबहादुर श्रीष भन्छन्, “परिवार ल्याएर यहीँ बस्नुस्, घरजग्गा उपलब्ध गराउँछौँ भनेका छौँ ।’

स्थानीयले महतोलाई बस्ने व्यवस्था गराएर गाउँमै राख्ने आश्वासन पनि दिएका छन् । उनमा अहिले गाउँलेको र बाबुआमाको चाहना कसलाई पूरा गराउने भन्ने समस्याले सताएको छ । महतोको सेवा सम्झेर छिमेकी अमरभूमि र अर्गलका मानिस पनि यहीँ उपचारका लागि आउने गर्छन् ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीसमेत उनको सेवा र नेतृत्वप्रति सन्तुष्ट छन् । हेल्थ असिस्टेन्ट पदमा पोस्ट भएर आएका उनी अहिले सातौँ तहको जनस्वास्थ्य निरीक्षक हुन् । व्यवस्थापकीय र उपचार सेवा दुवै राम्रो पाएको अनमी शारदा सापकोटा बताउँछिन् । “सरुवा भएर होइन, पेन्सन निस्केर घर जानुपर्ला,” महतो भन्छन्, “त्यसपछिको सेवा उतै गर्ने योजना छ ।”

प्रकाशित: जेष्ठ १३, २०७६