मुगुको चामल हुम्लाको बास

- शब्द/तस्बिरः राजबहादुर शाही

मुगु सदरमुकाम गमगढीबाट चामल बोक्दाबोक्दै खुट्टाको पैताला खिइएका छन्, हुम्लाको सर्केगाड गाउँपालिका उनापानीकी बाँचकली रावत, ५२, को । महिनाको तीन पटक चामल लिन गमगढी धाउने बाँचकली राती खुट्टा दुख्दा ओछ्यानमै तेल, तातोपानी र नुनपानी दलेर सेकाउँछिन् ।

“घरका बालबच्चा, खेतीपाती, गाईवस्तु हेरचाह गर्ने इच्छा भए पनि भोकमरीको पीडा थेग्न नसकी पिठ्युँमा कुम्लोसहित भेडा–खसी ल्याएर मुगु आउने चामल बोकाएर घर लैजाने गरेकी छु,” बाचकली दुःखेसो पोख्छिन्, “कठैबरी भोकमरी सहन सकिँदैन । हुम्लामा चामल पाइँदैन । हुम्लाको बसाइ मुगुको चामल गरेर परिवार पाल्नु छ ।”

 मुगु खाद्य गोदाम लुक्कालमा चामल हाल्दै बाचकलीले देउडा गीतमार्फत आफ्नो पीडा यसरी सुनाइन्, “मुगु जिल्ला गाडी पुग्या । हुम्लीका पाउ दुख्या । भोकमरीले बालबच्चा रोया । महिलाका पाउ दुख्या ।”

भेडा–खसीसँग हुम्ला उनापानी गाउँदेखि मुगु गमगढी पुग्न ६ दिन लाग्छ । आउन ६ र जान ७ गरी १३ दिन लाग्ने उनापानी गाउँकै दानबहादुर रावत बताउँछन् । चामलको गह्रौँ भारी भएकाले भेडा–खसी ढिलो हिँड्ने हुँदा एक दिन बढी लाग्छ । शीतलमा भेडा–बाख्रा छिटो हिँड्ने भएकाले राती ३ बजे नै हिँड्नुपर्छ । दिउँसो ११ बजे खाना खाएर उनीहरु दिनभरि भेडा–खसी वनजंगलमा चराउँछन् । “कहिले बाटोमा खसी चोरिन्छ, झरीले झिजाउँछ, खोलाले बगाउँछ,” उनी भन्छन्, “भेडा–खसीले धेरै चामल बोक्न नसक्ने हुँदा एक पटकमा चार–पाँच क्विन्टल मात्र लैजान सकिन्छ ।”

त्यो पनि ठूलो परिवार हुनेलाई एक साता र सानो परिवारलाई दुई साता कटाउन मुस्किल हुन्छ । पुरुष पैसा जोहो गर्न जडीबुटी व्यापारका लागि घर छाडेर अन्त जाने र महिला भेडा–खसी ल्याएर चामल लिन मुगु पुग्ने गरेका छन् ।

मुगु खाद्य गोदामबाट ३० किलो चामलको प्रतिबोरा १ हजार ५ सय ८० रुपैयाँ तिरेर लैजाने गरेका छन् । ३० किलो चामल बाटोमै खाँदा सकिन्छ । मुगुमा ३० किलो चामलको १ हजार ५ सय ८० पर्छ । उक्त चामल हुम्ला उनापानी गाउँमा बेच्दा ४ हजार रुपैयाँ पर्ने दानबहादुर सुनाउँछन् ।

सर्केगाड र चंखेली गाउँपालिकाका लागि सर्केगाडमै खाद्य डिपो भए पनि पर्याप्त चामल ढुवानी नहुँदा मुगु धाउनैपर्ने बाध्यता छ । सिमकोट पुगे पनि चामल पाइँदैन । उनापानी, रिप, दुल्ली, मण्डी, बरी, रोडीकोट, दार्म, जैर, मेल्छाम, रिमी, मिमी, मेखालालगायत दर्जनौँ बस्तीका स्थानीय भेडा–खसी, खच्चर ल्याएर चामल लिन मुगु पुग्छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार हुम्लामा खेतीयोग्य जमिन ५ लाख ६५ हजार ५ सय हेक्टर छ भने वार्षिक अन्न उत्पादन हुने जमिन ८ हजार ६ सय १८ हेक्टर मात्र । हुम्लाको जनसंख्या ५० हजार ८ सय ५८ र घरधुरी ८ हजार ५ सय ७९ छ ।

विगतमा अछाम साँफेबगरबाट चामल ल्याएर पेटपालन गर्ने हुम्ली अचेल मुगुबाटै लैजान्छन् । साँफेबगरबाट चामल ल्याउन एक महिना लाग्ने हुम्लीको भनाइ छ । भोकमरीले चामल ओसार्दै एक दर्जन हुम्लीको बाटोमै ज्यान गइसकेको छ ।

तल्लो भेगका हुम्लीले मुगु खाद्य संस्थानबाट चामल बोकेर गुजारा चलाउने गरेको संस्थान प्रमुख भरतराज खनिया बताउँछन् । जन्म र मृत्युमा २० केजी चामल दिने सरकारी नियम भए पनि तल्लो भेगका हुम्लीबासी वञ्चित छन् । “जन्म र मृत्युका बेला चामल पाइन्छ भन्ने हामीलाई थाहा छैन,” बाँचकली भन्छिन्, “सरकारले गाडी पुर्‍याइदिए हामी दुखारी हुम्ली खुसी हुने थियौँ ।”

सडक सन्जाल नजोडिएको हुम्लामा सरकारी अनुदानको चामल पर्याप्त नभएको हुम्ला खाद्य संस्थान प्रमुख रामबहादुर विष्टको स्वीकारोक्ति छ । “गरिबी र भोकमरीले ढुवानी हुने चामल उपभोक्तालाई पुर्‍याउनै मुस्किल छ,” उनी भन्छन्, “हुम्लामा चामल अपुग हुँदा स्थानीय भेडा–खच्चर लिएर मुगुबाट चामल ढुवानी गर्न बाध्य छन् ।”

हवाई मार्गबाट ढुवानी हुने सरकारी अनुदानको चामल कर्मचारीलाई टोकन र स्थानीयलाई केजीको हिसाबले वितरण गर्नुपर्ने अवस्था छ । “देशमा धेरै व्यवस्था, नीति–नियम फेरिए पनि हुम्लाबासीको भोकको पीडा उस्तै छ,” हुम्ली सांसद रंगमती शाही भन्छिन्, “सरकारले खाद्य कोटा वृद्धि त गर्दैन नै, भएको कोटा पनि समयमा पुर्‍याइदिँदैन । हुम्लीले खाद्यान्नकै चिन्ता लिनु नपर्ने दिन कहिले आउला ?”

सदरमुकाम सिमकोट जोड्ने कर्णाली करिडोर सडक निर्माण आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्न नेपाली सेनाले तीव्रता दिएको छ । कालिकोट खुलालुदेखि हुम्ला सरिसल्लासम्मको १ सय ४५ किलोमिटर सडकको ट्र्याकमध्ये सेनाले ९३ किलोमिटर खोलिसकेको कर्णाली करिडोर सडक निर्माण नेपाली सेनाका कार्यदल प्रमुख मिलन कार्की बताउँछन् ।

सरिसल्लादेखि हुम्ला सिमकोटसम्मको ५१ किलोमिटर सडक निर्माण जिम्मा भने सडक डिभिजन कार्यालयले लिएको छ । कार्कीका अनुसार सडक निर्माण गर्ने क्रममा कालिकोटमा दुई, बाजुरा खण्डमा १० र हुम्ला खण्डमा १४ समूह राखेर कामलाई तीव्र पारिएको छ । सडक खण्डमा पर्ने सात बेलिब्रिजमध्ये कालिकोटका शान्तिगार्ड तथा फुगार्ड र बाजुराको जुद्धगार्डमा पुल निर्माण भइसकेको सेनाले जनाएको छ ।

चालू आर्थिक वर्षमा बाजुराको कवाडी खोलामा पुल निर्माण अघि बढाइएको छ । सडक निर्माणका क्रममा गत आव ८३ करोड खर्च भइसकेको र चालू आवमा २० करोड खर्च हुने कार्यदल प्रमुख कार्कीको भनाइ छ ।

प्रकाशित: जेष्ठ १३, २०७६