फरक स्वादका नाटक

- गोकर्ण गौतम

मधेसको कुनै गाउँमा पहाडे र मधेसी परिवार मिलेर बसेका हुन्छन् । घरका मूली त मितज्यू–मितज्यू । त्यही बेला मधेस आन्दोलन हुन्छ । दुई परिवारबीच शंका उत्पन्न हुन्छ । मितज्यूहरु मिल्न खोजे पनि छोराहरुले नमिल्न दबाब दिन्छन् । झगडा चर्कंदै जान्छ । यही अन्तरसंघर्षबीच मधेस आन्दोलन सकिन्छ । अब दुई परिवारमा पहिलेजस्तै माया मौलाउला ? 

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चित नाटक मिता आब पोना चलबले यही मर्मस्पर्शी कथा उठान गर्‍यो । नाटक देखाउनकै लागि विराटनगरबाट कलाकार काठमाडौँ आए । नाटकका लेखक–निर्देशक थिए, रामभजन कामत । नेपाली र मैथिली भाषाको यो नाटक २० वैशाखबाट १५ दिन मञ्चन भयो । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, राजपा नेता राजेन्द्र महतोसहित नेकपासम्बद्ध नेताहरु नाटक हेर्न मण्डला पुगेका थिए ।

यतिबेलामण्डला थिएटरमा अंग्रेजी भाषाकोब्रिफ क्यान्डल हेर्न पाइन्छ । यो खासमा ‘मेटा थिएटर’ हो किनभने यसभित्र अर्को नाटक हुन्छ । नाटकमा क्यान्सरका रोगी अस्पतालको बेडमा छन्, कहिले मर्ने भर छैन, तर आफैँ नाटक देखाउन लागिपर्छन् । नाटक निर्माणसँगै उनीहरुको जीवनमा आउने भोगाइमा केन्द्रित छ,ब्रिफ क्यान्डल ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आँधीको मनोरम नृत्य मञ्चन भइरहेको छ । कथावस्तु मात्र होइन, नाटकको प्रस्तुति शैली पनि रोचक छ । किशोरावस्थाको मनोविज्ञानलाई सूक्ष्म ढंगले केलाइएको नाटकलाई निर्देशन गरेका हुन्, घिमिरे युवराज र अमजेद परवेजले । किशोर–किशोरीका सोचाइ, भोगाइ, अपेक्षा र वास्तविकतालाई हाम्रो परिवेशसँग जोड्ने प्रयास गरिएको छ । हामीकहाँ किशोर–किशोरीका उल्झल्न समेटिएका नाटक असाध्यै कम मञ्चन हुन्छन् । त्यसैले पनि आँधीको मनोरम नृत्य विशेष मानिएको छ ।

नेपाली रंगकर्मीमाथि आरोप लाग्ने गरेको छ, प्रशस्त नाटक हुन्छन्, तर एकै प्रकृतिका । फरक विषय र शैलीलाई आत्मसात गर्न रंगकर्मी चुकिरहेका छन् । त्यसैले नेपाली रंगमञ्च अपेक्षाकृत समृद्ध हुन सकेको छैन । काठमाडौँमा मात्र आधा दर्जन नाटकघर छन् । त्यहाँ नियमितजसो नाटक मञ्चन हुन्छन्, तर पनि खास स्तरोन्नति भएको छैन । केही समययतासुखद संकेत देखापर्न थालेका छन् । माथि उल्लिखित तीन नाटक उदाहरण हुन् । मण्डलामै त्यसअगाडि कर्णाली भेगको वेदना बोकेको गर्भछिटा र किराँती मुन्धुम संस्कृतिसँगै सामाजिक–राजनीतिक मुद्दा उठान गरिएको जोखना मञ्चन भएको थियो । मण्डलाका सोमनाथ खनाल भन्छन्, “रंगकर्मीले नवीन शैली, विषय र भूगोलका नाटक भन्ने जमर्को गरिरहेका छन्,जुन आफैँमा सुखद छ ।”

समाजका अन्य क्षेत्रमा जस्तै रंगमञ्चमा पनि यौन दुर्व्यवहारविरुद्धको ‘मिटु अभियान’ चल्यो । पीडित महिला रंगकर्मीले यसबारे खुलेरै बोले । यो अभियानलाई थप सशक्त बनाउन नाटक प्राइभेट इज पोलिटिकलले भूमिका खेल्यो । टेकुस्थित कौसी थिएटरमा मञ्चित नाटकमा नेपाली रंगकर्मीले भोग्नुपरेको आफ्नै पीडा पोखे ।

नाटक आँधीको मनोरम नृत्य , तस्बिर : घिमिरे युवराजको फेसबुकबाट


आकांक्षा कार्कीले केही वर्षयता भजाइना मनोलग गर्दै आएकी थिइन्, जसमा यौनिकताबारेमहिलाले खुलेर बातचित गर्छन् । जब नेपाली रंगकर्मी आफैँ यौन हिंसाको चपेटामा छन् भन्ने तथ्य बाहिरियो, आकांक्षाले उनीहरुका पीडा समेटेर नाटक तयार पारिन् । हाम्रो सन्दर्भमा यस प्रकृतिको नाटक नौलो प्रयोग मात्र होइन, साहसिक पनि मान्नुपर्छ । रंगकर्मीको भोगाइ भए पनि हरेक महिलाले नाटकमा आफूलाई पाउँथे ।बाल्यकालदेखि घर, विद्यालय, कलेज हुँदै कार्यस्थलसम्मको यौन दुर्व्यहारलाई मनोवाद एवं छलफलको शैलीमा प्रस्तुत गरिएको थियो । त्यसैले त निर्देशक आंकाक्षाले प्राइभेट इज पोलिटिकललाई केवल नाटक मात्र नभई अभियानकैरुपमा बुझिदिन आग्रह गरिन् ।

प्रकाशित: जेष्ठ १०, २०७६