कोड नम्बर गरुड–मयूर

- हरिराम जोशी

मध्यमाञ्चल राप्ती, भेरी, कर्णालीका १५ जिल्ला तथा सुदूरपश्चिमाञ्चल सेती, महाकालीका ९ जिल्ला भ्रमणका क्रममा राजा वीरेन्द्रले ५२ दिनसम्म सुर्खेतलाई मुकाम बनाए । पञ्चायतकालीन समय स्थानीयका गुनासा घरआँगनमै सुन्ने मूल उद्देश्य लिई राजा सदरमुकाम भ्रमण गर्थे । सुर्खेत सवारीमा म सञ्चार मन्त्रालयको कामु उपसचिवको हैसियतमा सहभागी थिएँ ।

९ माघ ०३४ देखि २९ फागुनसम्मको सुर्खेत सवारी शिविरमा करिब १ सय ४४ जनाको डफ्फासहित हामी शाही नेपाली सेनाको जहाजबाट मुकाम पुग्यौँ । राजारानी हामीभन्दा एक दिनअगाडि सुर्खेत पुगिसकेका थिए ।

सञ्चार संयोजकका रुपमा वीरेन्द्र भ्रमणको समाचार संयोजनको जिम्मा मेरो काँधमा थियो । राजाको भ्रमणमा केन्द्रबाट दूरसञ्चार, सूचना विभाग, रेडियो नेपाल, गोरखापत्रलगायतका प्रतिनिधि पनि पुग्नैपर्थ्यो । उनीहरुले राजाको भ्रमणमा बटुलेका सूचना व्यवस्थापन मेरो जिम्मामा थियो । राजदरबारको प्रमुख संवाद सचिवालयका प्रमुख संवाद सचिव चिरन थापा र मैले समाचारलाई अन्तिम रुप दिएर मात्र प्रकाशन/प्रसारण गर्न पाइन्थ्यो ।

सुर्खेत क्याम्पको बसाइँमा राजा वीरेन्द्रको एक–दुई दिन बिताएर मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमण तालिका तय हुने गर्थ्यो । राजाको भ्रमणमा अञ्चलाधीश, स्थानीय निकायका कार्यालय प्रमुख, पञ्चायत प्रतिनिधि र गैरसरकारी कार्यालय प्रमुखलाई अनिवार्य उपस्थितिको उर्दी जारी हुन्थ्यो ।

राजा वीरेन्द्रको देशदेशाटनमा राष्ट्रिय योजना आयोगसहितका सम्पूर्ण राज्यसंयन्त्र परिचालित हुन्थे । प्रधानमन्त्री कीर्तिनिधि विष्टसहितको २० सदस्यीय मन्त्रिमण्डल सदस्य पनि भ्रमणमा सामेल थियो । भ्रमणमा सवारीमन्त्री राजाको अघिपछि लाग्नुपर्थ्यो भने मन्त्रिमण्डलका सदस्यहरु एक–दुई दिनको शिविर बासपछि काठमाडौँ फर्किन्थे ।

भ्रमणको चाँजोपाँजो राजदरबारका शाही पार्श्ववर्ती सेनानी ताराबहादुर थापा, प्रकाशविक्रम शाह तथा विवेककुमार शाह सम्मिलित टोलीको जिम्मामा थियो । विशेषगरी सेनानी थापा यसका हर्ताकर्ता थिए । त्यो भ्रमणमा प्रधानसेनापति गुणशमशेर जबरा, प्रहरी महानिरीक्षक खड्गजीत बराल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार श्यामसुन्दर सैंजु, कोषराज रेग्मी, गोपालदास, राधेश्याम विष्टलगायत आठ जना, श्री ५ को सरकारका मुख्यसचिव कृष्णबहादुर मानन्धर, पाँचै अञ्चलका अञ्चलाधीशको टोली पनि सहभागी थियो ।

राजाको दर्शनका लागि बाक्लो भीड जम्मा हुन्थ्यो । सदरमुकाम भ्रमण फिर्तीपछि सुर्खेत क्याम्पमै स्थानीयका गुनासा सम्बोधन गर्न कानुनी भए फास्टट्र्ययाक शैलीको सुनुवाइका लागि केन्द्रबाटै एक जना न्यायाधीश पनि जान्थे । खानेपानी, स्वास्थ्य, शिक्षा, यातायातजस्ता विकासे समस्या सुल्झाउन क्याम्पमै मन्त्रिपरिषद् बसेर राजाले दिएका निर्देशअनुसारको निर्णय गर्थ्यो ।

श्री ५ को सचिवालयका प्रमुख स्वकीय सचिव सुरेन्द्रमान जोशी र स्वकीय सचिव गेहेन्द्रमानसँग राजाको भ्रमणमा भएका गतिविधिबारे सञ्चार संयोजकको हैसियतले मैले पनि बुझ्ने मौका पाएँ । सवारी क्याम्पबाट राजा खासै बाहिर निस्कन्नथे । हामी क्याम्पमा बास बनाएकाहरु बाहिर निस्कनुपर्दा भने कोड नम्बर दिइन्थ्यो– गरुड–मयूर आदि । क्याम्पमा एक प्रकारले कर्फ्युको अवस्था हुन्थ्यो । राजाको सुरक्षा बन्दोबस्तीका लागि पनि त्यसो गरिएको हुन सक्छ ।

सुर्खेत क्याम्पमै खानपान, गानाबजाना हुन्थ्यो । राजाको बेलुकीको खानापछि सञ्चार संयोजकको हैसियतले सांस्कृतिक कार्यक्रम देखाउनुपर्ने जिम्मा पनि मेरै थियो । काठमाडौँ नाचघरको संयोजनमा सांस्कृतिक कलाकारको टोली जम्मा पार्थें । मैले संयोजन गरेर नेपालगन्जबाट पुगेको सांस्कृतिक टोलीले देखाएको नाच स्मरणीय रह्यो ।

सवारी शिविर सुर्खेतमा अधिकृत मेस नाइट कार्यक्रम राखिएको हुन्थ्यो । त्यसमा क्याम्पमा बसेका सबै उपस्थित हुनैपर्थ्यो । साँझ साढे ६ देखि सुरु हुने कार्यक्रममा ७ बजे राजारानी सवार हुन्थे । जलपान तथा सांस्कृतिक कार्यक्रम, रात्रिभोज, सवारी शिविर व्यवस्थापनका मुख्य अधिकृतले राजारानीलाई उपहार चढाउँथे । शिविरमा बसेका प्रत्येकले राजारानीसामु आ–आफ्ना सिर्जना सुनाउनैपर्थ्यो । चाहे रामायणको श्लोक होस् वा कुनै राजामाथि लेखिएका गीत/कविता । मैले पनि राजालाई कविता सुनाएँ ।

सुर्खेत मुकाममै रहँदा बेलुकीपख क्याम्पबाहिर निस्केको थिएँ । क्याम्प बसाइँको त्यस्तै तीन दिन बाँकी थियो । नातामा नजिकको दाजु पर्ने कृष्णमान जोशीसँग भेट भयो । सुर्खेतमा साझा भण्डारका हाकिम थिए । उनले काठमाडौँ फर्किने बेला भेटेर जानू भनेका थिए । वीरेन्द्रको दैलेख भ्रमण जाँदा अकस्मात् बाटोमै हृदयघातका कारण निधन भएछ । यसको जानकारी मैले पनि पाएँ ।

आर्थिक अवस्था कमजोर रहेका दाजुको परिवारलाई काठमाडौँमा फोन सम्पर्क गरेँ । दाहसंस्कारका लागि आर्थिक स्रोत जुटाउन राजा वीरेन्द्रसँग बिन्ती बिसाएँ । राजाबाट पाँच सय रुपैयाँ बक्स भयो । त्यही सहयोगले दाजुको राप्ती नदीको निकासमा दाहसंस्कार गरियो ।

 प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: जेष्ठ १०, २०७६

ट्याग: स्मरण