पारिजातका केही अप्रकाशित पत्र

- नेपाल संवाददाता

साहित्यकार पारिजातका रचनाले समाजका विविध आयामलाई मसिनो गरी निफनेर समाज परिवर्तन पक्षमा दृढतापूर्वक उभिएका छन् । ती लेखनको आँखीझ्यालबाट नियाल्दा देखिने दृश्यले मात्रै भने पारिजातको सिंगो जीवनलाई पर्गेल्न सक्दैन । पारिजातले जीवनलाई कुन कसीमा राखेर संश्लेषण गरेकी थिइन्, आफ्नै जीवनको भोगाइमाथिको आत्मस्वीकृति कसरी पोखेकी थिइन् भन्ने पर्दा धेरै उघ्रिएको छैन । यद्यपि डा महेश मास्केलाई पारिजातले बेलामौकामा लेखेका पत्रले केही अंश खोतल्छ । अनिँदो पहाडसँगै प्रकाशनको तयारीको र सिम्मा गीतिनाटक प्रतिबन्धित भएका बेला मास्केलाई लेखेका पत्र नेपालले प्राप्त गरेको छ । पूर्वप्रकाशित पत्रको अघिल्लो खण्डमा लेखिएका यी पत्रमा वामपन्थी आन्दोलनभित्र पारिजातले सामना गर्नुपरेका चुनौती, अप्ठेरा र षड्यन्त्रका चर्चा पनि छन् ।

यी पत्रले पारिजातको संघर्ष कथा मात्र बोल्दैनन्, सामाजिक र राजनीतिक चेतलाई सूक्ष्म रुपमा केलाउन पनि मद्दत गर्छन् । –सम्पादक

 

पौष २०३८, नयाँबजार

डा महेश,

स्पन्दन र जनमानस दुइटै पाएा । तपार्इंका कविता राम्रो लाग्यो । विशेष ‘भूपीलाई चिट्ठी’ मन पर्‍यो । धेरैले यस कविताको प्रशंसा गरेका छन् । सम्मेलनमा यसपालि पनि भाग लिन पाइनँ । व्यस्त छु र यो व्यस्तता फागुनसम्म टुंगिदैन । त्यसपछि मात्र उपचारको निम्ति समय निकाल्न पाउने भएँ । हाल उपन्यास अनिँदो पहाडसँगैमा काम गर्दै छु र पौषको २० गतेसम्ममा सिध्याउने अठोट गरेकी छु, हेरौँ । त्यसपछि महिला संघको प्रतिवेदन सुरु गर्नुपर्छ । चैत महिनामा एकपल्ट हस्पिटलाइज्ड हुन पर्ला, रायनसँग सल्लाह गर्नुपर्छ । सिम्माको चरम सफलताबारे साथीहरुबाट सुनिहाल्नु हुनेछ । ‘शो’ बढेको भए म तपाईंलाई टेलिग्राम गर्नेवाला थिएँ तर हल दिइएन । तपाईंका कविताहरु फेरि पनि पढ्न पाउने आशा राखेको छु । हवस् त..... तपार्इंको सक्रियतालाई हार्दिक शुभकामना ।

पारिजात

 

वैशाख २०३९

डा महेश,

पत्र पाएँ तर लेख तयार पार्न सकिनँ । अनिदो पहाडसँगै चाँडै प्रेसमा जाँदै छ । बाँकी कुरा अर्को पत्रमा लेख्छु । नयाँ वर्षको शुभकामना ।

पारिजात

१४ श्रावण २०३९

डा महेश,

स्पन्दन, जनमानस, अधिवेशन, गोष्ठी इत्यादिले तपार्इंलाई कति व्यस्त पारिराखेको होला भन्ने मलाई अन्दाज छ, तथापि यो बर्खामा हामीले तपार्इंको प्रतीक्षा गर्‍यौँ । खुसीको समाचार पहिले नै भनिहालौँ, प्रसिद्ध अपेरा सिम्मा यही भाद्र २ गतेदेखि हुने भयो । निश्चितप्रायः छ, थाहा पाउनेहरु खुसीले पागल छन् । तपार्इंलाई हामी टेलिग्राम गरौँला । म पनि व्यस्तताहरुबीच भूमरी हावाभित्र परेको पत्थरजस्तो उड्दै छु, घुम्दै छु । सामान्य स्वास्थ्य ठीकै छ, केही मोटाएकी पनि छु । तर मूल रोग उस्तै छ । अर्टागेन (औषधी, सं) ले ढाड भचाइसक्यो, सुकन्या ढाक्रे गिरीमा झरेको पनि त अब एक वर्ष भइसक्यो । जसोतसो काम चल्दै छ । हाल उपत्यका बाहिर जाने फिक्स्ड भइसकेको छ, तीन दिनपछि यात्रा सुरु गर्छु सायद । यात्रा पूर्वको हो । यात्रा गर्न शरीरले पटक्क मान्दैन तर म आजभोलि आफनो शरीरलाई मनले बोकेर हिँड्ने गर्छु । दिल्ली कार्यक्रमहरु भियाउँछुजस्तो लागेको छैन, किन हो आउने त्यति रुचि पनि छैन । हुन सक्छ, त्यो बेला सिम्मासँगै डोरिएर ।

दार्जेलिङ जाने योजनामा व्यस्त हुन्छु । आजभोलि मनस्थितिको उतारचढाव साधारण छैन, त्यस्तो नहुनुपर्ने हो भनी सोच्छु तर यथार्थ यथार्थ नै हो । कहिले एकदम आवेशमा आउँछु, फेरि नियन्त्रण गर्छु । हामी सुन्दर बिहानी ल्याउनको निम्ति अन्धकारमा बाटो बनाउँदै हिँड्नेहरुबीच पनि यस्तै केके हुँदो रहेछ । उठाउनु, पछार्नु, खुट्टा तान्नु, पुच्छर निमोठ्नु, प्रतिद्वन्द्विता ल्याइदिनु, सफेद झुठ बोल्नु, विवश तुल्याउन आदि–आदि चल्दो रहेछ । यहाँ पनि भयानक षड्यन्त्र हुँदा रहेछन् (पर्खालले पनि नसुनून्, नत्र मेरो खैर छैन) काम गर्नेलाई फाल्ने, नगर्नेलाई स्थापित गराउने चल्दा रहेछन्, कसो गोली ठोकाठोक हुँदैन । साधन भए त्यो पनि हुन्थ्यो होला । यहाँ पनि दादाहरु हुँदा रहेछन्, तिनीहरुको महफ्वाकांक्षाले गोटी चाल्दा रहेछन् इमानदार तफ्वहरुलाई । सायद यो देश हिरो जन्माउने देश भइसकेको छैन, व्यक्तित्व हुर्कने वातावरण यहाँ तयार भइसकेको छैन । मैले पनि कतिलाई आफ्नो आस्था र श्रद्धाको चुचुरोदेखि विस्थापित गरेर मिल्काइदिइसकेँ नाली हुँदो । यसरी मनभित्रभित्रै म आश्वस्त भएकी छु । कोहीकोही भन्छन्, यस्तो हुनु स्वाभाविक हो, पार पाउनुपर्छ यसबाट । यसरी त्यो महान दर्शन सफलीभूत हुँदै जान्छ, हेरौँ । हार त खाएको छैन, काम गर्दै छु, बस् । मलाई आफ्नो अस्तित्वको झुसिलकिरासम्म मात्र कल्पना आउँछ पुतलीको परिणति मलाई पटक्क मञ्जुर छैन । पुतली भनेको बत्तीमा ठोक्किएर घाइते हुने जात हो तर यहाँ अटेर झुसिलकिराहरुको पावर नचल्ने रहेछ । के हामीले बत्तीमा ठोक्किनैपर्छ ? दमनचक्र यहाँ पनि चलेको छ, बोल्न हुँदैन पर्खालहरुले सुन्छन् । कुरा त कता–कता पुग्यो–पुग्यो हगि, डा महेश । माइन्ड नगर्नु होला है, कहिले त एक्लै बोलेर पनि सन्तुष्ट हुन मन लाग्छ । अनिँदो पहाडसँगै बजारमा आउने बेला भयो । शिरीषको फूलको तेस्रो संस्करण बजारमा आइसक्यो । ससाना लेखहरु लेख्दै छु । अरु सबै काम–कर्तव्य यथावत् चल्दै छ । डा सरोज पनि कता छन् कुन्नि, कसैले भूमिगत गइसके भन्छन् । रायनहरु सबैलाई सन्चै छ । उनीहरु अब रिहर्सलतिर लाग्छन् होला । बीपीको अवसानले गर्दा राजनैतिक चर्चाको बजार यहाँ गर्म नै छ । एकातिर लेनिन, माओ र गान्धी भनिइँदै छ भने एकातिर ‘वखिया उधाड‘ नराम्रोसँग भइरहेको छ । हवस् त..... मेरो शुभकामना !

पारिजात

२१ आश्विन २०३९

डा महेश,

यसअघि पठाएको पत्र पाउनुभयो होला । पुस्तक काठमाडौँ आइपुगेको छैन । स्याम्पलको निम्ति दस ओटा मलाई आयो, बस् त्यति । प्रवास पूर्वमा पुस्तक बेस्कन बिक्री भइरहेको छ । काठमाडौँका पाठकहरुले मेरो टाउको खान लागिसके । यहाँ पनि बढो समस्यामा फसिरहेकी छु । पब्लिसरलाई कति वटा तार गरिसकेँ, जवाफ नै दिँदैन । पैसा पनि दिएको छैन । भारतीयको के विश्वास ? बाहिरबाट रिडर्स मेल आउन थालेको पनि एक महिना भइसक्यो तर काठमाडौँ शून्य छ । के गर्ने, कसो गर्ने भइरहेको छ । अशुद्धि यति छ भनेर साध्य छैन । मोटामोटी सच्याएर पठाइदिएकी छु । यति सशक्त उपन्यासलाई गुलसन नन्दा मार्का बजारु गेटअपमा निकाल्यो । उही पनि शिरीषको फूलको दुहाई दिएर भनी विराटनगरबाट आलोचना आयो । यस्तो आलोचना सबैतिरबाट आउँछ, मैले सामना गर्नै परेको छ । दोष पब्लिसरको हो । ऊ किताब क्याप्चर हुन्छ र पैसा डुब्ला भनी पहिले नै डराएको थियो । सिम्मा कात्तिक १ गतेदेखि हुँदै छ । जाँच नभए यतै आउनुहोला, नत्र दार्जेलिङमा ४ नोभेम्बरदेखि हुन्छ कि उतै आउनुहोला । रायनले पनि यसै भनिदिनु भनेको छ । हतारमा छु ।

पारिजात

भर्खरै प्राप्त समाचारअनुसार फासिष्टहरुले सिम्मालाई हल दिएन, म १ गते कात्तिकमा व्यवस्थापनको काम लिएर दार्जेलिङ जाँदै छु । दसैँ उतै ।

 

२५ फागुन २०३९

डा महेश,

सपनाबाट ब्युँझेजस्तो भइराखेको छ कि ? व्यस्तताबाट केही पन्छिएपछि । यो कटिङ र पत्र अस्ति नै पठाउँ भन्दै थिएँ । तर जाने बेलामा कसैसँग भेट भएन । सम्मेलन सफलतासाथ सम्पन्न भयो होला, खोइ आफूले त शुभकामना पनि पठाउन पाइनँ । हाम्रो अन्तर्राष्ट्रिय महिला दिवस पनि सफलतासाथ सम्पन्न भयो, भनौँ । कतैबाट हस्तक्षेप भएन तर पुराना महिलाहरुले भने आफ्नो सहभागिता दिएनन् । कृष्णा शिवाकोटी, प्रेम कैदी, हरिभक्त कँडेल, पम्फा र म बस् त्यति बोल्यौँ । नारायणी तिवारीले स्वागत भाषण दिइन् । अब हामी आफ्नो किसिमले काम गर्ने बुझ्नुभो । चुनौती अगुवाहरुलाई । जसले हामीलाई भत्कायो, उसलाई पनि हामी भत्काउने । हिसिला फर्कनु भएपछि हामी व्यापक रुपले काम गर्छौं । यहाँ जाडो अलि कम भएको छ । मैलेचाहिँ बिहान एकैछिन सिवाय स्वेटर लाउन छोडिदिएा । अचेल आरुबखडा सेताम्मै फुलेको छ । कोठाभरि पनि यही फूलहरु भरेकी छु । बतास चल्दा त्यही फूलका पत्रदलहरु कोठाभरि छरिन आइपुग्छन् । बेलाबेला एक किसिमको भनौँ व्यक्त गर्न नसकिने खुसीयाली अनुभव गर्छु । यसो थन्क्याउँ भन्छु, मनमा यो क्षणिक अनुभूति कता भागिसक्छ कता । फेरि काम....काम । मेरा पत्र पाउनुभयो होला । त्यस पत्रको दोस्रो भाग लेख्नु छ । अलिकति फुर्सद मिलाई । यो कटिङ तपार्इंलाई पठाउनु थियो । त्यसैले यो सानो पत्र पनि कोरिहालेँ । गएको शुक्रबार भिडियो घरमा ल्याएको थियो । हेरेँ चार वटा, रातभरि नै । प्रेम रोग, शक्ति, विधाता र उमरावजान । हवस् त ।

तपाईंलाई धेरै–धेरै शुभकामना ।

पारिजात

प्रकाशित: जेष्ठ ९, २०७६