कङ्काल

- कुमार नगरकोटी

निद्राबाट ब्युाझेदेखि मन एकतमासको भइरहेको थियो । किन–किन यस्तो लागिरहेको थियो : कोही आउँछ र मलाई कतै लिएर जान्छ । किन्तु को आउाछ र कता लिएर जान्छ, यसको भने कुनै अनुमान थिएन । यत्ति हो, म कुनै अज्ञात आगन्तुकलाई पर्खिबसेको थिएँ ।

कसैले द्वार–घन्टी बजाएपछि म चनाखो भएँ । उतै लम्किएँ ।

द्वार खुल्लै थियो । बाहिर अस्मिना रञ्जित– अ भिजुअल आर्टिस्ट– उभिएकी थिई । उसको ढाडमा एउटा नरकङ्काल थियो । मलाई लिन ऊ किन कङ्काल बोकी आएकी थिई ? सोधिनँ । गुड मर्निङ/सुड मर्निङ केही पनि भनिना । एकसुरले उसको एक्रेलिक मुहार हेरिरहेँ । सर्पिल आकारमा निधार हुँदै नाकको टुप्पासम्मै लिपिएको नाग–टीका नियालिरहेँ ।

यस्तैमा मलाई आश्चर्यचकित पार्दै नागको पुच्छर नाकको टुप्पामा चल्मलाउन थाल्यो । त्यसपछि अस्मिनाले भनी, “लेट्स गो नगरकोटी !” म चुपचाप उसैको पछि लागेँ ।

ग्रीष्म ऋतुको ग्रीष्मिल महिना । सहर भर्खरै ब्युाझेर आङ तन्काउादै थियो । हामी मौन हिँडिरहेका थियौँ । कुन्नि, कता चुपचाप गइरहेका थियौँ । अस्मिनाको कङ्काल देखेर हो या मलाई, गल्लीका कुकुर एकनासले भुकिरहेका थिए । मैले सोधेँ, “अस्मिना ! तिमीले यो कसको कङ्काल बोकेकी  ? यो कसको कङ्काल हो ?” उसले भनी, “सभ्यताको ! यो सभ्यताको कङ्काल हो ।”

सभ्यता मरिसकेछ ? कस्तो आश्चर्य ! यसको मृत्युचाहिँ कहिले भएको रहेछ ? मलाई त थाहै थिएन !

गल्लीको एउटा मोडमा एक जना भुँडेल आदमीसित जम्काभेट भयो । हाई–हेलो गर्दै निजले अस्मिनासित सोध्यो, “राजतन्त्रको कङ्काल बोकी कतातिर ?” अस्मिनाले भनी, “चिहानतिर ।” त्यसपछि भुँडेल आदमीको नजर ममाथि पर्‍यो । मलाई इंगित गर्दै अस्मिनासित भन्यो, “यो कुकुरलाई चैँ किन साथै लिई हिँडेकी ?”

निजको सोमत देखी मलाई भयंकर रिस उठ्यो । उसलाई जोडजोडले भुक्न थालेँ । टोकूँला, चिथोरुालाजस्तो गर्न थालेँ । मेरो ननस्टप भुकाइले उसको सातोपुत्लो उड्यो । दगुर्न थाल्यो । म पनि उसलाई भुक्दै लखेट्न थालेँ । अस्मिनाले बोलाएपछि पुच्छर हल्लाउँदै म लुरुलुरु फर्कें ।

चिल्ड्रेन पार्कमा कपालभाती प्राणायाम गर्ने भाँतीभाँतीका मनुवाहरु देखिए । एउटा ख्याउटे मनुवाले भन्यो, “यो कम्युनिज्मको कङ्काल होइन ?” अस्मिनाले हो भनी । एउटी नवयौवनाले यो त मलाई पुँजीवादको कङ्कालजस्तो लाग्यो भन्दा अस्मिनाले जवाफ दिई, “बिल्कुल सही भन्नुभयो । यो पुँजीवादकै कङ्काल हो ।”

दिनभरि हामी सहरका विभिन्न सार्वजनिक स्थलमा देखा पर्‍यौँ ।

कङ्काल बोकी हिँडेकी अस्मिना रञ्जितलाई हेर्ने र घेर्ने मानिसको घुइँचो जहाँ गए पनि थामी नसक्नु थियो । कोही भन्थे : कस्तो ठिस आइमाई ! राज्यको कङ्काल बोकी हिँडेकी छे ! कोही भन्थे : राज्य होइन, यो आइमाई त सरकारको कङ्काल बोकी हिँडेकी छे ।

अनेक जनमनुष्यले कङ्काललाई ऐनकेन प्रकारेण व्याख्या गरे : यो निमुखा जनताको कङ्काल हो । यो ब्युरोक्रेसीको कङ्काल हो । यो युगौँदेखि राज्यको दलनमा परेको दलितको कङ्काल हो । यो पितृसत्ताले हत्या गरेको नारीको कङ्काल हो । यो भ्रष्ट नेताहरुले चुसीचुसी कङ्गाल पारेको देशको कङ्काल हो ।

यत्रतत्र सर्वत्र कङ्कालको चर्चा थियो । एउटा टेलिभिजन पत्रकारले बुम अघि सार्दै अस्मिना रञ्जितसित प्रश्न गर्‍यो, “खासमा यो कसको कङ्काल हो ?” अस्मिनाले निर्वैयक्तिक अन्दाजमा भनी, “यो अलिकति विवेकको कङ्काल हो र अलिकति चेतनाको । यो तृष्णाको कङ्काल हो र केही मोहमायाको । यो विश्वासको कङ्काल हो र केही आस्थाको । समग्रमा भन्ने हो भने यो आधुनिक मनुष्यको कङ्काल हो ।”

साँझपख अस्मिनाले मलाई एकलास चिहानमा पुर्‍याई ।

”त्यो जंगली चिहान,” अस्मिनाले भनी, “मजस्तै लेडी चित्रकार्स विधाता केसी, सौरङ्गा दर्शनधारी, एरिना ताम्राकार तथा रागिनी उपाध्याय ग्रेला इत्यादिले खनेका हुन् ।” चिहानवरपर ती सबै लेडी चित्रकार्स गोलो घेरा बनाई उभिएका थिए ।

अस्मिना रञ्जितले अन्ततः आफ्नो ढाडबाट कङ्काल निकाली । र, चिहानमा विसर्जन गरिदिई । त्यसपछि सबै लेडी चित्रकार्सले चिहानमा माटो अर्पण गर्न थाले । चिहान क्षणभरमै  पुरियो ।

मैले अस्मिनाको एक्रेलिक मुहारलाई अन्तिम पटक हेरेँ । नागको पुच्छर नाकको टुप्पामा चल्मलायो, हेर्दाहेर्दै सुलुलुलु घस्रादै अस्मिनाको शरीरबाट भुइँमा झर्‍यो । र, चिहानको ढिस्कोमा गई बस्यो । 

ट्वीटर : @kumarnagarkoti

प्रकाशित: जेष्ठ ९, २०७६