‘कीर्तिमान तोडिए झन् खुसी हुनेछु’

- मनबहादुर बस्नेत

सबैभन्दा बढी गोल गर्ने राष्ट्रिय खेलाडी हुन्, अनु लामा, ३१ । उनको खातामा ३५ गोलको राष्ट्रिय कीर्तिमान छ । २२ वैशाखदेखि राष्ट्रिय टोलीबाट सन्न्यास लिएकी लामासँग फुटबल यात्राबारे कुराकानी :

सन्न्यासपछि फुटबलबारे के सोच्नुहुन्छ ?

राष्ट्रिय टिमबाट खेल्न छाडे पनि एपीएफ क्लबबाट खेलिरहेकी छु । म सधैँभर फुटबल क्षेत्रमै रहन चाहन्छु ।

अब नेपाली फुटबललाई कसरी योगदान दिने सोच्नुभएको छ ?

दुई वर्ष एपीएफमै बिताउँछु । त्यसपछि प्रशिक्षकको कोर्स गर्छु र प्रशिक्षणमा लाग्ने योजना छ । कोर्स गर्न सक्छु कि सक्दिनँ, त्यसमा भर पर्छ ।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्ने जिम्मा पाए के गर्ने ?

हाम्रो टोली स–सानो कुरामा चुकिरहेको छ । जस्तै, समयमै गोल गर्न नसक्ने । विपक्षीको गोल खाएपछि एकदमै निराश हुने । धेरै पहिलेदेखि हामीमा यो समस्या छ । प्रशिक्षकका रुपमा मैले यसको कारण खोजी गर्नेछु र सोहीअनुसार खेल रणनीति बनाउनेछु ।

खेलाडीका रुपमा यी कमजोरी किन भइरहन्छन् त ?

खेलाडीलाई हौसला छैन । गोल खानु नै हार होइन भन्ने मनोविज्ञान खेलाडीमा पार्न सकिएको छैन । खेलको आँखा हुँदैन । जतिबेला पनि नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ भनेर प्रेरणा दिनुपर्छ । यी कुरा नहुँदा मैदानमा मनोबल घटिरहेको छ ।

महिला पुरुष फुटबल प्रतियोगितामा किन यस्तो विभेद ?

नेपालमा महिला फुटबल खेलाउन प्रायोजक नै निस्कँदैन । पुरुषको राष्ट्रिय, क्षेत्रीय, स्थानीय खेल देशव्यापी हुन्छ । हामी त तालिम लिएर थन्किने हो । प्रतियोगिता नहुँदा आफ्नो खेल स्तर बढे/नबढेको थाहै हुँदैन । कमजोरी थाहा पाए सुधार्ने मौका हुन्छ ।

नेपाली महिला फुटबलको स्तर उकास्न के गर्नुपर्छ ?

जतिसक्दो बढी प्रतियोगिता चाहियो । अनि खेल कौशल बढ्छ । अहिले त साथीभाइले भनेका भरमा आफ्नो गल्ती थाहा पाउनुपर्ने अवस्था छ ।

सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड कसैले तोडिदियो भने ?

महिला र पुरुष दुवैमा म अगाडि छु । खुसी लाग्छ । तर म योभन्दा बढी खुसी त्यो क्षण हुनेछु, जुन दिन मेरो कीर्तिमान कसैले तोड्छ । मेरो कीर्तिमान तोडिएको दिन नेपालको फुटबल उक्सिएको प्रमाणित हुनेछ । कीर्तिमान सधैँ रहने कुरा होइन ।

प्रायः महिला फुटबलर किन केटाजस्तै हेयर स्टाइल बनाउँछन् ?

पहिलेका खेलाडी दिदीहरुको हेयर स्टाइल देखेर मैले पनि रहर गरेँ । पछि त लामो कपाल राख्दा खेल्नै असजिलो हुन थाल्यो । खेलुन्जेल काट्न थालेँ ।

प्रकाशित: जेष्ठ ९, २०७६