रोक्नुस्–रोक्नुस्

- यम बम

सार्वजनिक यातायात चढ्नुस्, सहचालक भन्छन्– पछाडिपछाडि । पछाडि मात्र कहाँ हो र दायाँ फर्केर उभिनु, बायाँ फर्कनु न त्यहाँ त्यत्रो ठाउँ छ । सिटको के कुरा गर्नु । खुट्टा राख्नेसम्म ठाउँ हुँदैन, यात्रु कोच्न छाड्दैनन् । मानौँ, यात्रु राँगाभैँसी हुन्, मःमका लागि ढुवानी हुँदै छ ।

जसोतसो सिट पाइहाले काइदै भयो । तर बीचमा हुनुहुन्छ भने कतै अडेस लगाउनुपर्दैन, उभिए पुग्छ । आखिर चारैतिरबाट खाँदिहाल्छन् । सिटमा बस्ने पनि कहाँ आनन्दित हुन्छन् र ! झर्ने बेला उस्तै सास्ती ।

पछाडिको सिटमा बसेर एकान्तकुनादेखि थापाथली आउँदै थिएँ, बसमा । कुपन्डोलदेखि नै उत्रिने सुरसार कसेँ । उभिएर यात्रा गरिरहेकालाई ठेल्दै अगाडि बढिरहेको थिएँ । मेरो गन्तव्य थापाथली इन्जिनियरिङ कलेज अगाडिको बसबिसौनी थियो । बस रोक्न भनेँ, तर रोकिएन । कारणचाहिँ ओर्लिने थुप्रै थिए तर चढ्ने थिएनन् ।

गाडी रोक्न कराउँदै थियौँ, चालकले माइतीघर पुर्‍याए । ट्राफिक प्रहरीले बसबिसौनीमा मात्र गाडी रोक्नू भन्छ । नियम पनि त्यही हो । तर हुन्छ ठीक उल्टो । तपाईं गाडी चढ्दै हुनुहुन्छ भने बसबिसौनी चाहिँदैन तर झर्ने बेला थप अगाडिको बसबिसौनी होइन, अझ अगाडि पुर्‍याइन्छ ।

पैदलेका पीडा

पैदल र साइकल यात्रीका लागि हुँदै होइन, सहरी सडक । यो त गाडीका लागि हो, सार्वजनिकभन्दा निजी । नत्र भएभरका फुटपाथ मासेर किन गाडी गुडाइन्थे ?

उपत्यकामा सहरी सडकको मापदण्ड बल्ल बनाइँदै छ । अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने फुटपाथ कम्तीमा पनि १.५ मिटर चौडा हुनैपर्छ । काठमाडौँमा चौडा, फराकिलो फुटपाथ त परै जाओस्, कतिपय ठाउँमा सडकबाटै हिँड्नुपर्छ  ।

अनामनगर–बानेश्वर सडक हिँड्नुभयो भने केही ठाउँमा मात्र फुटपाथ भेटिन्छ, नत्र सडकै प्रयोग गर्नुको विकल्प छैन । बानेश्वरको फुटपाथ जहिल्यै कब्जामा हुन्छ, फुटपाथ व्यापारीको । व्यापारीको कब्जामा के भन्नु ? काठमाडौँ महानगरकै भने हुन्छ । नत्र हिँड्नसम्म नमिल्ने गरी बानेश्वर, रत्नपार्क, पुरानो बसपार्क क्षेत्रमा सडकमै पसल थाप्न किन दिइन्थ्यो ? महानगरले पटके कर त उठाएकै हुन्छ ।

हिँड्न खोजे फुटपाथै भेटिँदैन, भएको पनि कब्जामा हुन्छ । पैदल यात्रुलाई सडकबाटै हिँडे दुर्घटनाको सिकार भइएला भन्ने त्रास । अझ सडक पार गर्न उस्तै सास्ती । ट्राफिक प्रहरी भन्छ, जेब्रा क्रसिङबाट मात्र बाटो काट्नू । जेब्रा खोज्यो भेटिँदैन, भेटिए पनि बाटो काट्दा गाडीले ठक्कर देला भन्ने पीर ।

२० वैशाखमा बानेश्वर–गौशाला सडकको बानेश्वर चोकमा त्यस्तै भयो । बानेश्वरबाट शान्तिनगर जाँदै थिएँ, जेब्राक्रसबाट बाटो काट्ने म एक्लै थिइनँ । बाटो काटिरहेका बेला गाडी पनि रोकिएका थिए । एउटा मोटरसाइकल तीव्र गतिमा आयो, झन्डै सँगै हुत्याएन । पछाडि नहटेको भए ठक्कर खाइन्थ्यो । तर मोटरसाइकल कता हुइँकियो, थाहै पाइनँ ।

माइतीघर–बानेश्वर–कोटेश्वर सडक फराकिलो छ । फुटपाथ पनि छ । बबरमहलस्थित जिल्ला अदालत र नागरिक उड्डयन प्राधिकरण भवन अगाडिको फुटपाथ पार्किङ स्थल बनेको छ । केबुल, इन्टरनेटका तार लत्रिएकै छन् । कुपन्डोलमा त पसलका सामान फुटपाथमै राखिन्छन् ।

१ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता, ०७४ मा जथाभावी सडकमा निर्माण सामग्री राख्नेलाई २५ हजारसम्म जरिवाना व्यवस्था छ । तर कार्यान्वयनको जिम्मेवारी पाएका निकायले केही कदम चालेको देखिँदैन ।

आसन ग्रहण नगराउँदा

नेपाली राजनीति आसन र भाषणकै परिधिमा घुमिरहेका बेला कर्मचारीतन्त्र पनि अछूतो हुने कुरै भएन । त्यसमा पनि विशिष्ट श्रेणी । २९ वैशाख नयाँ बानेश्वरस्थित अल्फाबिटामा काठमाडौँ महानगरपालिका, सहरी योजना आयोगले ‘सहरी सुरक्षा तथा वातावरणीय सुधार’ कार्यक्रम गर्‍यो ।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई सभापतिको आसन ग्रहण गराएसँगै उपत्यकाका विभिन्न नगरका मेयरलाई मञ्चमै राखियो । तर उपमेयरलाई एकमुष्ट यथास्थानमै आसन ग्रहण गराइयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई अतिथिका रुपमा आसन ग्रहण नगराउँदा उनी त्यहाँबाट हिँडे ।

दोस्रो चरणको कार्यक्रमका लागि मेयरसँगै पुगेका न्यौपाने राष्ट्रिय गान नबज्दै त्यहाँबाट हिँड्दा मञ्चमा बसेका मेयर शाक्य टुलुटुलु हेरिरहेका थिए । यसलाई न्यौपाने हिँडेपछि आयोजकले पनि महसुस गरेको हुनुपर्छ सायद । त्यसअघि उपमेयरलाई एकमुष्ट आसन ग्रहण गराइएकामा फेरि एक–एक गरी दोहोर्‍याइयो ।

मेयर शाक्यले भाषण ठोकिहाले, “नेपाल सरकारको तर्फबाट कार्यरत प्रमुख प्रशासकीय अधिकृतज्यूहरु ।” स्थानीय तह मातहत रहने गरी संघ सरकारबाट खटिने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको ठाकठुक के नौलो भयो र ?

प्रकाशित: जेष्ठ ९, २०७६

ट्याग: ब्लग