एक रंगकर्मीको साबिती

- गोकर्ण गौतम

राष्ट्रिय नाट्य विद्यालय (एनएसडी), दिल्लीबाट स्नातक गरेर फर्किएपछि थिएटर भिलेज स्थापना गरे, विमल सुवेदीले, सन् २०१३ मा । नाटकघरको उद्घाटन हुने भयो, साबितीबाट । जगदीश घिमिरेको यही नामको उपन्यासलाई नाट्य रुपान्तरण गरिएको थियो । ‘यो उपन्यास स्टेजमा हेर्ने ज्यादै रहर छ । मलाई मेरो प्राण यसमै रोकिएजस्तो लाग्छ,’ त्यतिबेला घिमिरेले भनेका शब्द विमलका कानमा अझै गुन्जन्छन् । सुनील पोखेरलको एकल अभिनय थियो । पहिलो सोमा घिमिरेसहित विशिष्ट पाहुना थिए । तर पोखरेलको लापरवाहीले दर्शक बीचमै उठेर हिँड्नुपर्ने स्थिति आइलाग्यो । विमल दुःखी हुँदै सुनाउँछन्, “मेरा लागि असाध्यै खराब अनुभव थियो त्यो । डिप्रेसनमै गएँ ।”

घटनाको केही महिनापछि घिमिरे बिते । विमलको घाउमा नुन–चुक छर्केझैँ भयो । घिमिरेलाई नाटक देखाउन नपाएकामा पश्चात्ताप थियो । सात वर्षपछि विमलले सन्तोषको सास फेर्न पाएका छन् । भारतको साउथ एसियन युनिभर्सिटीमा साबिती मञ्चन हिन्दीमा अनुवाद गराई देखाउन उनी सफल भए ।

सार्कका सबै मुलुकका दर्शकले नाटक हेरे । सामाजिक–राजनीतिक बेथितिमाथि लेखिएको उपन्यासलाई समकालिक बनाइएको थियो । विमल खुसी पोख्छन्, “जगदीश सरका लागि मेरो तर्फबाट ‘ट्रिब्युट’ हो नाटक ।”साबितीको दिल्ली मञ्चन विशेष हुनुको कारण यत्ति मात्र छैन ।

नाटकमा एकल अभिनय थियो, अनुराधा मजुम्दारको । एनएसडी र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) उत्तीर्ण अनुराधा नेपाली रंगप्रेमीमाझ उत्तिकै प्रिय छिन् । एक्टर्स स्टुडियोकी सहसंस्थापक अनुराधाले विमल मात्र होइन, अहिले चर्चामा रहेका धेरै रंगकर्मी/अभिनेतालाई अभिनय प्रशिक्षण दिएकी छन् । उनले बाँकी उज्यालोलगायत नेपाली नाटक खेलेकी थिइन् । हाल उनी फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, हरियाणामा अभिनय विभाग प्रमुखका रुपमा कार्यरत छिन् । विमल भन्छन्, “नेपाली थिएटरलाई असाध्यै माया गर्ने र साबितीको विषयवस्तुलाई मिहीन शैलीमा बुझेकाले अनुराधालाई अभिनय गराएको हुँ ।” नाटकमा न्यारेटरसहित आधा दर्जन चरित्रलाई आत्मसात गरेकी थिइन्, अनुराधाले । कोरसमा डाक्टर थिए । यसलाई छिट्टै नेपालमा देखाउने गृहकार्य हुँदै छ ।

नेपाली रंगकर्मीलाई आरोप लाग्ने गरेको छ, विदेशी साहित्य ‘एडप्टेसन’ गर्नमै मस्त भएको । हो पनि, हामीकहाँ औधी कम नाटक लेखिन्छ । प्रायः विदेशी नाटकलाई नेपालीकरण गरेर देखाइन्छ । विमल पनि यसबाट अछूतो छैनन् । उनलाई घरिघरि लाग्थ्यो, नेपाली साहित्यलाई चाहिँ विदेशी भाषामा अनुवाद गरेर विदेशमै देखाउन सकिन्न ? यसो गर्दा, स्वदेशी लेखकको ख्याति बढ्थ्यो, हाम्रो समाज, लेखनशैलीबारे विदेशी जानकार हुन्थे । विमल भन्छन्, “अन्तर्राष्ट्रिय मञ्चमा गर्वसाथ देखाउन र बहस गर्न सकिने दर्जनौँ साहित्यिक कृति छन् हामीकहाँ । त्यसको सुरुआत साबितीबाट गरेँ । अब हरेक वर्ष एक नेपाली कृति विदेशमा लैजाने योजना बनाएको छु ।” यो काम फत्ते गर्न उनलाई सहज पनि छ । पछिल्लो समय अन्तर्राष्ट्रिय रंगमञ्चमा उनको सक्रियताले यसमा काम गरेको छ ।

शेक्सपियरको ग्लोब थिएटरसँग सहकार्य गरेका छन् विमलले । शेक्सपियरकै हेम्लेट नाटकलाई नेपाली भर्सनमा बनाएर लन्डनको साउथ ब्यांक सेन्टरमा देखाए, बेलायती सरकारकै निमन्त्रणामा । संसारभरबाट खुला आवेदनमार्फत  विमल र उनको नाट्य संस्था छानिएको थियो । त्यस्तै, मालिनी भारतका विभिन्न राज्यसँगै पाकिस्तान, जर्मनी र बेल्जियममा देखाए । हरियाणामा हिन्दी भाषामा मन्टोको बु नामक नाटक गरे । स्वीट्जरल्यान्डको लुजान विश्वविद्यालय र एनएसडी सिक्किममा उनी अतिथि लेक्चरर छन् । थिएटर म्यानेजमेन्ट कोर्सका लागि एक वर्ष युरोपमा बिताए, जसबाट उनले युरोपको कला, साहित्य, संस्कृति बुझ्न पाए । “पहिलो विश्वले सांस्कृतिक कूटनीतिलाई प्राथमिकतामा राखेको छ । थिएटर त्यसको प्रमुख माध्यम हो,” विमल भन्छन्, “तर हामीकहाँ सरकारले नाटकको गाम्भीर्य बुझ्न सकेकै छैन । हामी रंगकर्मी पनि काल–जमानाअनुसार स्तरीय नाटक बनाउन चुकेका छौँ ।”

थिएटरका सवालमा विमल संवेदनशील छन्, उनले गरेका कामले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाएका छन् । विडम्बना ! अहिले विमलको आफ्नै नाटकघर छैन । थिएटर भिलेज तीन वर्ष सञ्चालन भएर बन्द भएको पनि तीनै वर्ष बित्यो । “नाटकघर बन्द भएपछि वित्तीय संकट आइलाग्यो । सँगै किन, केका लागि नाटक गर्ने भन्ने प्रश्न उब्जिए आफैँसँग । त्यसैले सिर्जनशील कर्ममा एकाग्र हुन सकिनँ ।”

यसबीच विदेशमा अध्यापन र नाटक मञ्चनमा भने उनी क्रियाशील रहे । फरक र अब्बल दर्जाका नाटक मञ्चनबाट चिनिएको थिएटर भिलेज अब खुल्दैन त ? विमल सुनाउँछन्, “अवश्य खुल्छ । बन्द भएको चौथो वर्षअगावै सुचारु हुन्छ ।” नाटकघर ताहाचलमा खुल्ने उनले जानकारी दिए ।

विमलले अभिनय नगरेको एक दशक बित्नै लाग्यो । जबकि अभिनयबाटै रंगकर्ममा गाँसिएका थिए । सन् २००३ मा राष्ट्रिय नाचघरमा एक वर्षे अभिनय कोर्स गरे । गुरुत्रय थिए, प्रभाकर शर्मा, वीरेन्द्र हमाल र हरिहर शर्मा । चार वर्षपछि एक्टर्स स्टुडियोमा भर्ना भए, दोस्रो ब्याचमा । रंगकर्मको भोक अझ घनीभूत भयो । त्यसैले सन् २००९ मा एनएसडी गए । त्यहाँ निर्देशन र नाटक डिजाइन पढे ।

सुनील पोखरेल र अनुप बरालपछि एनएसडी पढ्ने तेस्रो र अहिलेसम्मका अन्तिम नेपाली हुन्, विमल । एनएसडी जानुअगाडि रणदुल्लभ, पैकेलो (मीन भाम निर्देशित खस भाषाको नाटक), टलकजंग भर्सेस टुल्के, बाँकी उज्यालोलगायत नाटकमा अभिनय गरेका थिए । तिनताका वर्षमा दुई–चार नाटक हुने भएकाले पाउनै मुस्किल हुन्थ्यो । त्यसैले टिक्नकै लागि मोडलिङ र र्‍याम्प सो पनि गरे । एनएसडीबाट फर्किएपछि निर्देशनमै केन्द्रित विमल भन्छन्, “अभिनय गर्न जति तयारी चाहिन्छ, त्यो ममा छैन । त्यसैले तत्काल अभिनय गर्दिनँ । जब गर्छु, पूरापूर तयारी गरेरै ।”

बालाजुस्थित नेपाल फिल्म एकेडेमीमा अभिनय विभागका प्रमुखको रुपमा कार्यरत छन् विमल । ओस्कार इन्टरनेसनल कलेजमा पनि पढाउँछन् । फिल्ममा कास्टिङ डाइरेक्सन गर्छन्, कलाकारका लागि वर्कसप गराउँछन् । तर जता गरे पनि विमलको ध्यानचाहिँ रंगकर्ममै छ, अझ निर्देशनमा । उनी स्वीकार्छन् पनि, नाटकघर र दर्शकअनुरुप नाटकको स्तरोन्नति हुन सकेको छैन । व्यावसायिक र प्रक्रियागत ढंगबाट होइन, जुगाड गरेरै नाटक बनाइन्छ ।

रंगकर्मीमा धैर्यको खाँचो छ, नाटक गर्नै हतारो हुन्छ । अनि कसरी बनून् अब्बल नाटक ? विमल भन्छन्, “केही राम्रा नाटक पनि छन्, त्यतिले मात्र पुग्दैन ।” यसमा उनी आफ्नो दायित्वबाट भाग्दैनन् । त्यसैले त उनले लगातार दुई वर्ष १५ प्रतिभाशाली नयाँ रंगकर्मीलाई ‘डिरेक्टर वर्कसप’ गराए । गत वर्ष निकै रुचाइएको नाटक खबर हराएको चिट्ठी यसकै प्रतिफल हो । आफ्नो नाटकघर खोल्नुअगावै नाटक निर्देशन गर्ने तयारी गर्दै छन् । नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०१९ को आयोजकमध्ये एक विमल पनि हुन् । रंगमञ्चमा स्थानीय र अन्तर्राष्ट्रिय गतिविधि बढाउन आवश्यक रहेको उनी औँल्याउँछन् ।

नाट्यकर्मबाटै जीवन धान्ने स्थिति अझै सिर्जना हुन सकेको छैन । नाटक बन्छन् तर अपवादबाहेक टिकट बेचेर आर्जन हुन्न । सधैँ दाताकै भर । नाटकका लागि दुई–तीन महिना समय खर्चने कलाकारले एकाध हजार पारिश्रमिकमै चित्त बुझाउनुपर्छ । नयाँ जोश लिएर आउने धेरै  बीचमै हराउँछन् ।

अरुको के कुरा, विमल आफैँले रंगकर्म सुरु भएको दशक नाघिसक्यो तर आफूलाई अझ संघर्षरत भन्न रुचाउँछन् । उनकै भनाइमा नाटक गरेर मात्र गुजारा चलाउन धौ–धौ छ । तर हतोत्साहित छैनन् । किनभने दर्शकको रुचि र चाख बढ्दो छ । “जुन क्षेत्रमा युवाको रुचि हुन्छ, त्यो फस्टाउँदै जान्छ,” विमल आशावादी सुनिए, “नेपाली थिएटरमा युवा बाहुल्य छ, अग्रसरता छ । त्यसैले भविष्य उज्ज्वल छ । ढिलो वा चाँडो भन्ने मात्र हो ।”

प्रकाशित: जेष्ठ ८, २०७६