प्रज्ञा–प्रतिष्ठानमा वंगबन्धु

- महेशराज पन्त

विसं १६५७ मा बेलायतकी महारानी एलिजाबेथ (पहिली) बाट पूर्वमा व्यापार गर्न प्रमांगी पाएको ब्रिटिस इस्ट इन्डिया कम्पनीले विसं १६६९ मा मुगल बादशाह जहाँगीरबाट सूरतमा कोठी खोलेर बस्ने प्रमांगी पाएको हो । यसको १ सय २० वर्षभित्र यो कम्पनी एक प्रकारको राज्यको रूपमा बदलिई बम्बई, मद्रास र बंगालमा यसको एक प्रकारको शासन पनि चल्न थालिसकेको थियो । विसं १८२२ मा मुगल बादशाह शाह आलम (दोस्रा) बाट ब्रिटिस इस्ट इन्डिया कम्पनीले बंगाल, बिहार र उडिसाको दीवानी पाएपछि त्यहाँ मुगलको ठाउँ अंग्रेजले लिए । यसको सय वर्ष नपुग्दै यो कम्पनी कुनै राज्यसँग लडाइँ गरेर, कुनै राज्यसँग अनुकूल सन्धि गरेर भारतमा सबभन्दा बलियो राज्यका रूपमा परिणत भइसकेको थियो । यसरी त्यस कम्पनीले राज्य हडप्दै गएको देखेर बाँकी भएका राजाहरू एकजुट भई विसं १९१४ मा त्यस कम्पनीको विरोधमा उत्रे । त्यस संग्रामलाई एक थरीले ‘सिपाही विद्रोह’ र अर्का थरीले ‘स्वातन्त्र्य संग्राम’ भनी व्याख्या गरेका छन् । यस युद्धमा कम्पनीकै विजय भयो र भारतमा अंग्रेजी शासन झन् मजबूत भयो । त्यसपछि कम्पनीको नाउँबाट शासन नगरी बेलायत सरकारले भारतमा सोझै राज्य गर्न थाल्यो ।

भारतमा हिन्दु र मुसलमानको बीचमा तीव्र प्रतिस्पर्धा हुँदै जाँदा दुइटा भिन्नाभिन्नै राष्ट्र बनाउने कामको सूत्रपात विसं १९६२ मा वंगभंगबाट ब्रिटिस भारतीय सरकारले गर्‍यो । त्यसैको परिणति विसं २००४ मा भारत र पाकिस्तानको अलग अलग राष्ट्रको रूपमा स्थापना हुनु हो । हिन्दुबहुल भारतको प्रतिस्पर्धामा मुसलमानी राष्ट्र पाकिस्तानको स्थापना अंग्रेजले पाकिस्तान, बीचमा भारत र फेरि पाकिस्तान गरी खडा गर्‍यो । अर्को शब्दमा भन्नुपर्दा, पाकिस्तानको पूर्व भाग र पश्चिम भागको बीचमा भारत रहन गयो ।

धर्मको आधारमा भारत र पाकिस्तान छुट्ट्याइए पनि बंगाली मुसलमान भने सन्तुष्ट भएनन् । बंगाललाई धर्मको आधारमा दुई फ्याँक लाउँदा बंगाली मुसलमानले उर्दूभाषीहरूको चेपुवामा आफू परेको महसुस गरे । यसैले, पाकिस्तानको स्थापना भएको चार वर्ष जतिपछि नै बंगालीभाषी मुसलमान धेरै भएको पूर्वी बंगाल पाकिस्तानसँग छुट्टिन उद्यत भयो । यसैको परिणाम विसं २०२८ मा दक्षिण एसियाको सबभन्दा कान्छो राष्ट्रका रूपमा बाङ्लादेश उदाउन पुग्यो ।

नेताहरूको, विद्यार्थीलाई राजनीतिमा धकेल्ने नीतिअनुसार शेख मुजिबुर रहमान स्कुल पढ्दादेखि नै राजनीतिमा होमिन पुगे । मुसलमान धेरै भएका प्रदेश भारतसँग छुट्टिई पाकिस्तान बन्दा उनको पनि योगदान थियो । पाकिस्तानबाट बंगालीभाषी मुसलमान छुट्टिई बाङ्लादेश बनाउनमा उनको मुख्य हात थियो । यसैले बाङ्लादेशका लागि संघर्ष चलिरहेकै समयमा उनी ‘वंगबन्धु’ को उपाधिले विभूषित भइसकेका थिए । बाङ्लादेश खडा भएपछि उनी प्रधानमन्त्री बने, पछि व्यवस्था फेरिई राष्ट्रपति भइरहेको समयमा विसं २०३२ मा उनलाई मारी सत्ता पल्टाइयो ।

पाठशालाको ठाउँमा पाश्चात्त्य ढंगका स्कुल, कलेज र युनिभर्सिटी खुलेजस्तै, विसं २०१४ मा राजा महेन्द्रले एकेडेमीको स्थापना गरे । विदेशी परम्पराको संस्थालाई स्वदेशी जामा पहिर्‍याउने नीतिअनुसार त्यसको नाम पछि ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ राखियो । त्यस संस्थामा मसीजीवीहरूले आफ्नो प्रतिभा देखाउने मौका पाए, खुद उनीहरूका र बाहिर बसी काम गरिरहेका मसीजीवीहरूका सयौँ कृति प्रकाशित भए । राजतन्त्र सिद्ध्याई नेपालमा गणतन्त्र भित्र्याइएपछि यस विद्वत् संस्थाको नाउँबाट ‘राजकीय’ शब्द हटाई ‘नेपाल प्रज्ञा–प्रतिष्ठान’ मात्र बाँकी राखियो । त्यसपछि त्यहाँबाट प्रकाशित कृतिमध्ये वंगबन्धु शेख मुजिबुर रहमानको आत्मवृत्तान्त (सन् २०१८) पनि पर्छ । यो सानो लेख त्यही आत्मवृत्तान्तको उल्थाको विषयमा छ ।

बंगाली भाषामा लेखिएको यो आत्मवृत्तान्त त्यही भाषामा सन् २०१२ मा छापिएको रहेछ । यसको अंग्रेजी उल्था पनि त्यही साल प्रकाशमा आएको रहेछ । नेपाली भाषामा उल्था गरिएको यस आत्मवृत्तान्तको प्रकाशन नेपाल प्रज्ञा–प्रतिष्ठानले किन गर्नुपर्‍यो भन्ने प्रश्न यसको लोकार्पण भएको खबर अखबारमा पढ्नेबित्तिकै मेरो मनमा खेल्न लाग्यो । पछि बजारमा आएपछि यो किताब किनेर ल्याई हेरेँ । बंगालीबाट होइन, अंग्रेजीबाट यसको उल्था नेपाल सरकारका एक भूतपूर्व परराष्ट्रसचिव र त्रिभुवन विश्वविद्यालयका एक बहालवाला उपप्राध्यापकले गरेका रहेछन् । यस उल्थाको सम्पादन गर्ने कामचाहिँ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिले गरेका रहेछन् । ‘अभिव्यक्तिमा नेपालीपन ल्याउन प्रतिष्ठानका कुलपतिको हैसियतले म आफैँले पनि निकै प्रयत्न गरेँ’ भनी उनले लेखेकाले र ‘साथै तयार पारिएको पाठको वर्णविन्यास मिलाउने अन्तिम काम डा हेमनाथ पौडेलले गर्नुभएको छ । यसका लागि प्रतिष्ठान उहाँलाई धन्यवाद ज्ञापन गर्दछ’ भनी प्रज्ञा–प्रतिष्ठानको सदस्यमा पछि नियुक्त हुने एक जना विद्वान्को विषयमा कुलपतिले लेखेकाले वंगबन्धुको आत्मवृत्तान्त शुद्ध रूपमा बाहिर आओस् भन्ने तीव्र इच्छा कुलपतिको रहेको स्पष्ट हुन्छ ।

यही पुस्तकको मुखपृष्ठमा ‘प्रकाशक/नेपाल प्रज्ञा–प्रतिष्ठान/काठमाडौँ, नेपाल’ लेखिसकेपछि ‘सौजन्य ः नेपालस्थित बाङ्लादेशको राजदूतावास’ भनी लेखिएको विषयमा अब केही कुरा गर्नुपर्छ । ‘सौजन्य’ को शब्दार्थ ‘असल मानिसको भाव’ भए पनि अंग्रेजी ‘कर्टिसि’ को अर्थमा ‘सौजन्य’ शब्द चलेकोले आफ्नो हक नभएको कुरा कसैबाट पाउँदा त्यो शब्द प्रयोग गरिने देखिन्छ । ‘यस ग्रन्थलाई अंग्रेजी भाषाबाट नेपाली भाषामा रूपान्तरण गर्ने मौका नेपालका लागि जनगणतन्त्र बाङ्लादेशकी महामहिम राजदूत श्रीमती मास्फी बिन्ते शाम्सबाट नेपाल प्रज्ञा–प्रतिष्ठानलाई प्राप्त भएको हो’ भनी कृतज्ञता ज्ञापन गर्ने प्रसंगमा कुलपतिले लेखेकाले यो उल्था प्रज्ञा–प्रतिष्ठानको रोहबरमा गराउने अभिप्राय बाङ्लादेशकी राजदूतको भएको र उल्था गराई प्रकाशित गर्न सक्नुलाई कुलपतिले ठूलो मौका ठानेको स्पष्ट हुन्छ ।

बाङ्लादेशको इतिहासका लागि वंगबन्धुको आत्मवृत्तान्त पठनीय विषय हो । तर नेपाल प्रज्ञा–प्रतिष्ठानले त्यसको उल्था गराउने, त्यस उल्थाको सम्पादन कुलपतिले गर्ने, अनि प्रज्ञा–प्रतिष्ठानले छाप्ने विषयमा प्रश्न उठाउन नसकिने होइन । बरु बंगाली साहित्यका अरू कृतिको उल्था गराई छपाइएको भए कुरा अर्कै हुन्थ्यो । राजा महेन्द्र जीवित छँदै ४ वटा नामी बंगाली उपन्यासको उल्था र रवीन्द्रनाथ ठाकुरको आत्मवृत्तान्त प्रज्ञा–प्रतिष्ठानबाट छापिएको कुरा यस प्रसंगमा सम्झन म पुग्छु । यस आत्मवृत्तान्तको सट्टा बाङ्लादेशबाट ठूलो सम्मान पाएका कवि काजी नजरुल इस्लामजस्ताका कृतिको उल्था आएको भए साहित्यको श्रीवृद्धि हुन्थ्यो । यही आत्मवृत्तान्तको प्रकाशनलाई आदर्श मानी अरू दूतावासले पनि प्रज्ञा–प्रतिष्ठानबाट आ–आफ्ना प्रचारवस्तुको उल्था र प्रकाशन गराउन खोजे र कुलपति पनि ‘सौजन्य’ मा भुल्दै गए भने के होला ?

यो उल्था अंग्रेजीबाट गरिएको र यसको अंग्रेजी संस्करण आफूले नदेखेकाले उल्था कति विश्वसनीय छ भन्ने विषयमा म बोल्न सक्दिनँ । यस उल्थाको भाषाको विषयमा भने धेरै नै कुरा भन्न सकिन्छ, स्थानाभावले थोरै कुरा मात्र भनी चित्त बुझाउनुपरेको छ ।

उल्थामा ‘नेपालीपन ल्याउन म आफैँले पनि निकै प्रयत्न गरेँ’ भनी कुलपतिले लेखे पनि नेपालीपन नभएको उदाहरण प्रशस्तै दिन सकिन्छ । पहिले त, पुस्तकको शीर्षक ती अधुरा संस्मरणहरू कै कुरा गरौँ । विशेषणबाटै बहुवचन बुझिँदाबुझिँदै पनि हिजोआज संज्ञामा ‘हरू’ जोड्ने चलन चलेको छ, त्यो राम्रो होइन । ‘कारलाई जलाइ दिए’ जस्ता वाक्यमा ‘लाई’ को प्रयोग कति उचित छ ? निष्प्राण वस्तुमा ‘लाई’ चाहिँदैन भन्ने कुरा हाम्रो दिनदिनको बोलीचालीबाट पनि स्पष्ट हुन्छ । कर्ता र क्रियाको समन्वय नभएका ‘अनुजमान–ई–इस्मालियाजस्ता ठाउँहरू यस प्रयोजनका लागि छुट्याइएको थियो’ जस्ता वाक्य यहाँ प्रशस्त पाइन्छन् । ‘अर्को घरमा मेरो एक जना काका जो अझै जसोतसो जीवित हुनुहुन्छ, बस्नुहुन्थ्यो’ भन्ने यो वाक्य नेपालीपनको कस्तो अभिव्यक्ति हो ? ‘ढाकामा प्रजातान्त्रिक युवा लिगको बैठक भएको कुरा सुन्नमा आयो’ जस्तो वाक्य के यो नेपालीपनको अभिव्यक्ति हो ? ‘त्यसपछिका दिनहरूमा’, ‘प्रायजसो’ जस्ता शब्द नेपालीपनका कस्ता अभिव्यक्ति हुन् ?

‘प्रायसः’, ‘इर्ष्या’, ‘महानता’, ‘परिषद’, ‘सामञ्जस्यता’, ‘पैत्रिक’, ‘ शङ्कट’, ‘प्रतिस्थापन’, ‘व्राम्हाण’, ‘निस्वार्थी’, ‘आदर्शवान’, ‘बारम्बार’, ‘ प्रसस्त’, ‘सभासद’, ‘दुर्भाग्यवस्’, ‘अपरान्ह’, ‘मुर्ख’ जस्ता असंस्कृत रूपका संस्कृत शब्द यस पुस्तकमा छेलोखेलो पाइनाले सम्पादनको काम अझ बाँकी रहेको भनिरहनु नपर्ला ।

हाम्रो यतातिरका शब्द रोमन लिपिमा ढालिँदा र फेरि तिनलाई हाम्रा लिपिमा फर्काउँदा स्थाननाम र व्यक्तिविशेषका नाम–थर कति ठाउँमा भ्रामक हुन जान्छन् भन्ने दृष्टान्त जति भने पनि यस पुस्तकमा पाइएका छन् । यसैले, ‘चटगाउँ’ को ठाउँमा ‘चितगोङ’, ‘बर्दवान’ को ठाउँमा ‘बुर्दवान’ र ‘मैमनसिङ’ को ठाउँमा ‘माइमेनसिंह’ भएको छ र ‘फरीदपुर’ कहीँ ‘ फारीदपुर’ भई छापिएको छ । ‘ मौलाना’ कहीँ शुद्ध रूपमा र धेरैजसो ठाउँमा ‘माउलाना’ भएको छ । ‘सुहरावर्दी’ र ‘सुह्रावर्दी’ छ्यासमिस भएर आएका छन् ।

अरबी–फारसी लिपिको एउटा व्यञ्जन ‘काफ्’ लाई रोमन लिपिमा ‘क्यू’ अक्षरले बुझाउने चलन छ । त्यसैले ‘लियाकत’ लेख्दा ‘क्यू’ को प्रयोग गरिन्छ । यो कुरा नबुझ्दा ‘लियाकत अली’, ‘लियाक्वात अली’ वा ‘लिआक्वात अली’ भएका छन् । यसैगरी ‘कादर’, ‘कयुम’ र ‘रज्जाक’ यहाँ ‘क्वादर’, ‘क्वायुम’ र ‘राज्जाक्यू’ हुनगएका छन् । अंग्रेजी लेखाइको भर पर्दा ‘गुलाम’, ‘कम्रूद्दीन’, ‘शम्सुल’, ‘हैदर’, ‘हुसेन’, ‘उस्मान’ र ‘ शम्सुद्दीन’ क्रमशः ‘गोलाम’, ‘काम्रूद्दिन’, ‘शाम्सुल’, ‘हाइदर’, ‘होसैन’, ‘ ओस्मान’ र ‘शाम्सुद्दिन’ भई आएका छन् । अंग्रेजी शब्दको उच्चारण राम्ररी गर्न नसक्दा ‘कार्माइकल’ यहाँ ‘कार्मीचायेल’ भएको पनि भन्नुपर्छ । 

प्रकाशित: जेष्ठ ८, २०७६