नयाँ महेन्द्रमाला

- यादव देवकोटा

‘नेपाल निर्माणको नालीबेली’ उपशीर्षक राखेर सुजित मैनालीको पुस्तक शिलान्यास नेपाली इतिहास लेखनको भाष्यमाथि चलिरहेको बहसमा उठ्ने गरेका अनेकन सवाल वरिपरि केन्द्रित छ । ‘पहाडी जनजाति, मधेसी जनजाति, दलित, महिला– यी चार सीमान्तकृत समुदायलाई नेपाली राज्यले कति हदसम्म समेट्यो ? उनीहरु किन पाखा लागे ? यसबारे विवेचना गरी अहिले भइरहेको बहसमा आफ्नो दृष्टिकोण राख्ने मनसाय’ पुस्तकमा उल्लेख गरेका छन् मैनालीले । जग, अविच्छिन्न स्वतन्त्रता र विष्टको बाहुनवाद तीन मुख्य शीर्षकमा रहेर मैनालीले पुस्तकमा नेपाली सत्ता कमसेकम पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारको समयदेखि नै कसरी समावेशी, बहुजातीय, बहुनश्लीय, बहुभाषिक, बहुसंस्कृतिले भरिपूर्ण थियो भन्ने दलिल पेस गरेका छन् । इतिहासका सवालमा नेपाली समाजको एउटा पाटोबाट उठ्ने गरेको नेपाली सत्ता, संस्थापनको चरित्र हमेसा एकल जातीय, एकल धार्मिक, एकल भाषिक, दमनकारी रह्यो भन्ने सवालको प्रतिवाद गर्न मैनालीले सकेको कोसिस गरेको देखिन्छ ।

♦ ♦ ♦

खासमा, ०१७ को राजनीतिक ‘कु’ पछि महेन्द्रले वीरगाथाको एउटा नियोजित भाष्य तयार गर्ने काम अघि बढाए । त्यसमा आफ्ना सारथिका रुपमा उनले राणाकालीन हाकिम तथा लेखक बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्यलगायत अनेक लेखक, संस्कृतिकर्मी परिचालित गरे । प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनलगायत संस्थाबाट महेन्द्रका पुर्खा शासकहरुको देवत्वकरणको अभियानअन्तर्गत अनेकन पुस्तक, गीत, कविता, निबन्ध लेखाइए । त्यसमा समले नेतृत्व लिएका कारण उनले सकेसम्म आफ्ना पुर्खा र पुर्खाका नातेदार खलकको सौन्दर्यीकरणमा सकेको बल लगाए । त्यसैको सिलसिला थियो, नालापानी किल्ला छाडेर भाग्ने, नेपाली फौज छाडेर विदेशी फौजमा भर्ती नापेका बलभद्र कुँवर राष्ट्रिय विभूति बन्ने र सात दशक बढी उमेरमा लडाइँको मोर्चामा छातीमा तोपको मोहरा छोप्न जाँदा लड्दालड्दै मर्ने भक्ति थापाको अवमूल्यन गर्ने काम ।

राणाहरुका अगुवा जंगबहादुरका मावली खलक भीमसेन थापाको वीरत्वकरण र लडाइँमा लडभीड गर्ने र देश जोगाउन विदेशीले दिएका प्रलोभनसँग नगल्ने अमरसिंह थापाको उपेक्षा । राजा महान् हुन्, तिनैले देश जोगाए भन्ने भाष्य । राजा–महाराजा तथा तिनले रोजेको बाटो, सत्ताको मोर्चाबन्दी र त्यसको विचारसँग इतर मत राख्नेलाई अराष्ट्रिय तफ्व, देशविरोधी करार गर्ने भाष्य । त्यही भाष्यको जगमा महेन्द्रकै

पालाबाट विद्यालयहरुमा पाठ्यक्रममार्फत पढाइयो– वीरताको कथा । शासकहरुको एकपक्षीय भक्तिगान । ती महेन्द्रपथीय ज्ञान कलिला नागरिकसम्म ‘महेन्द्रमाला’ मार्फत वितरण भयो । त्यसरी ‘महेन्द्रमाला’ ले घोकाएको ज्ञानको ‘साइड इफेक्ट’ अझै सकिएको छैन भन्ने तथ्य मैनालीको शिलान्यासमार्फत पुनः प्रकट भएको छ । उनले पुस्तकमा केपी ओलीको ‘राष्ट्रवादी अडान’ को पनि सक्दो सौन्दर्यीकरण गरेका छन् ।

♦ ♦ ♦

आज गोरखा राज्य विस्तारका क्रममा भएका प्रतिशोधात्मक घटनाको ढाकछोप गर्नुपर्ने कुनै जरुरी छैन । पृथ्वीनारायण पनि मानिस थिए । तत्कालीन समाजको स्तर, चेतना र सिकाइका प्रतिविम्ब थिए उनी । कुनै अलौकिकता थप्नु जरुरी छैन । त्यसबखतको समाजलाई आजको समाजसँग तुलना गरेर उनी हिन्दु थिए, खस थिए, आफ्ना मानिसलाई मात्रै सत्तामा राखेका थिए भनेर विद्रुपीकरण गरिरहनुको पनि तुक छैन । तत्कालीन समयमा सबै राज्यहरु आफ्नो तागतले भ्याएसम्म भूगोल बढाउने यत्नमै थिए । त्यही यत्न, छिनाझम्टी, दाउपेचको समग्र सिकाइका उत्कर्ष थिए पृथ्वीनारायण ।

उनी घृणा र प्रतिशोधमा पनि अग्रणी थिए । पक्राउ परेका जयन्त रानालाई छाला काढेर मार्ने क्रूर हदसम्म उनी आफैँ पुगेका थिए । १२–१३ वर्षको उमेरमा आफ्नो बारीको उखु चोरेर खाएको कुरा पृथ्वीनारायणकी आमालाई भनिदिएका कारण गोर्खा दरबारका खवास केशवद्वारेलाई उनले गोर्खा दरबारको ढोका बन्द गरिदिएका थिए (आचार्य, बाबुराम–श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ ७८) । कीर्तिपुर हान्न साइत निकाल्न नसकिने मत दिएबापत कुलानन्द ढकाल गोर्खाबाट लखेटिए भने कीर्तिपुर हान्ने समय भइसकेको छैन भनेर पृथ्वीनारायणको मतमा फरक विचार राखेकै कारण काजी कालु पाँडेलाई मर्न डराएको भनेर अपमानित गरे । पाँडेको मतमा सहमत भएका हरिवंश उपाध्याय र कुलानन्दलाई ‘काल्याका मुतमा बग्याका’ भनेर तुच्छ तवरले हियाएको (आचार्य, उही पृ २५२) देखिनाले फौजी प्रतिरोधमा उत्रिएका पराजित राज्यका जनतामाथि पृथ्वीनारायण नेतृत्वको फौजले गरेको भनिएको दमन केवल विदेशी क्रिस्चियन मिसनरीले उनलाई बद्नाम गराउन अपनाएको कौशल भनेर मात्रै टकटकिने अवस्था छैन ।  के पृथ्वीनारायण त्यति मात्रै थिए त ? आफ्नो समयका कुशल फौजी कमान्डर, दूरदर्शी राजनीतिज्ञ र महफ्वाकांक्षी तर सफल शासक थिएनन् अरुको तुलनामा ? थिए । यति थिए भन्नलाई उनका कमजोरीमा जलप लगाइराख्नु जरुरी छैन ।

♦ ♦ ♦

पुस्तकमा मैनालीले नेपाली राज्य समावेशी थियो, एकल जातीय थिएन, एकल धार्मिक थिएन भन्नलाई जस्ता प्रतिनिधिमूलक पात्र र घटनालाई मापदण्ड बनाएका छन्, अर्को पानामा त्यस्तै प्रकरणचाहिँ व्यक्तिगत थियो भन्ने उदेकलाग्दो दोहोरो मापदण्ड अपनाएका छन् ।

कोतपर्वमा जंगबहादुरलाई जनजातिले समेत सघाएका थिए (पृ १२३) भनेर कुनै एक जना जनजाति समुदायको पात्रको नाम दिने मैनाली जंगबहादुरविरुद्ध त्यसरी नै कुनै जनजातिले गरेको अवज्ञालाई भने जातीय नभई व्यक्तिगत या राजनीतिक भाव रहेको उल्लेख गर्छन् । तुले रोहानी प्रकरणमा सिंगो मगर भाषामाथि नै सत्ताले लगाएको बन्देजलाई उनी न्यूनीकरण गर्छन् । राणाकालको उत्तरार्द्धमा चित्रबहादुर र गिरिराज घले कप्तान थिए (पृ १४६) भनेर राणाशासनको उत्तरार्द्धको नेपाली सत्ता समावेशी भएको तर्क राख्ने मैनाली धादिङका तामाङ, गोर्खाका गुरुङ, किराँतका राई, लिम्बूहरुले सत्ताको बलजफ्तीविरुद्ध गरेको अवज्ञालाई भने समुदायविशेषको नभई ठाउँविशेष, व्यक्तिविशेष वा समूहविशेषको थियो (पृ १३४) भनेर सामान्यीकरण गर्छन् । राणाहरुको पालामा माथिल्लो सरकारी पद सर्वसाधारणका लागि बन्देज थियो । सैनिकतर्फ पनि रोलवाला राणा बहाल हुने पदभन्दा तल मात्रै सर्वसाधारणले प्रमोसन पाउँथे । हुँदाहुँदा चन्द्रशमशेरले गोर्खा फौजमा भर्ती भएका गोर्खालीलाई अधिकृत पदमा पदोन्नति नगरिदिन र अफिसरमा भर्ना नलिइदिन अंग्रेजलाई अनुरोध गरेका थिए (राणा, प्रमोदशमशेर–राणाशासनको वृत्तान्त, पृ २१५) । यस्तो तथ्य हुँदाहुँदै तथ्यको, तर्कहरुको यति निम्छरो भ्रष्टीकरण सर्वथा दुर्लभ छ ।

♦ ♦ ♦

वैवाहिक सम्बन्धमार्फत मधेस र पहाड जोड्ने पृथ्वीनारायणको कदम अहिलेको समाज विज्ञानको कोणबाट हेर्दासमेत उपयुक्त देखिन्छ (पृ १०७) भनेर मैनालीले पृथ्वीनारायणले नै नकल्पिएको मधेस र पहाड जोड्ने श्रेय भिराउन खोजेका छन् । उनैले यी हरफ उद्धृत गरेको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ को पृ ९५ मा बाबुराम आचार्य लिखित यी पंक्तिले पृथ्वीनारायणले गोरखपुरमा गरेको विवाह मैनालीले उल्लेख गरेझैँ पहाड–मधेस जोड्ने कदम भए/नभएको संकेत गर्छ– ‘धादिङबाट गोर्खा पुग्दा यिनको दोस्रो विवाह गर्ने विषयमा चर्चा चलिसकेको थियो । सेनहरुदेखि रानी चन्द्रप्रभा अघाइसकेकी थिइन् । चौबिसी–बाइसीका गोर्खाभन्दा साना रजौटाकी छोरी डोला मगाएर विवाह गर्दा राजनीतिक वा आर्थिक लाभ केही हुँदैनथ्यो । पर्वत, प्युठान, सल्यान आदिका राजपुत्रीसँग विवाह गर्दा उनीहरु गोर्खामा डोला पठाउन तयार हुँदैनथे । पृथ्वीनारायण उहीँ जाँदा मकवानपुरको जस्तो घटना दोहोरिने सम्भावना हुँदा मधेसी राजपुतका डोला झिकाई गोर्खामा विवाह गर्नु नै उचित देखेर डोलाको तलास गर्न हलकारा र जाँचबुझ गर्ने धाईसमेत पठाइए ।’ आधुनिक नेपाल स्थापना गर्नेहरुको ध्येयलाई वैधानिकता दिलाउने नाममा अन्य राज्यका राजा र भारदारको कद छिमलेर पृथ्वीनारायण र उनका उत्तराधिकारीको उचाइ बढाउन प्रयत्न गरेको बुझ्न सकिन्छ । पछिल्लो समय बाबुराम आचार्यले यही पद (?) पछ्याए (पृ ३) भनेर लेखक मैनालीले बाबुरामलाई पनि माथ गरेर पृथ्वीनारायण र उनका सन्ततिको मिथ्या आदर्शीकरण गरेर उचाइ बढाउने प्रयत्न गरेको देखिन्छ ।

♦ ♦ ♦

पाटनका काजी धनवन्त प्रधानलाई पनि पृथ्वीनारायणले आफ्नो पक्षमा मिलाए । पृथ्वीनारायणले वीरनरसिंहमार्फत धनवन्तलाई आफ्नो पक्षमा मिलाएका थिए । काठमाडौँका राजा जयप्रकाशसँग धनवन्तको व्यक्तिगत रिसइबी थियो । यसले पनि उनलाई पृथ्वीनारायणसँग मिल्न प्रेरित गरेको थियो (पृ १०८,१०९) । यस सम्बन्धमा भाषा वंशावलीमा उल्लिखित प्रसंग यस्तो छ– ‘सर्दार २ जनालाई समाई नुवाकोट लैग्या र ती २ काजिका छोराहरुलाई तादीमा डुबाई सास्ति गर्दा यक सर्दार मरिगयो काजि धनवन्तका छोरा वीरनरसिंह मरेन र पछि वाट नेलहालि चौकि राषि त्रीशूल गंगाको साँघुमा राषी छोड्या र यस दीन नेलै सुद्धा त्रीशुल गंडकिमा फाल्हाल्दा चौकिदारहरुले यो नेपालको काजिको छोरो पर्या भाग्या भंन्या हामीलाई वीगार पर्ला भनि डराई धेरै जना गंडकिमा फालहालि समाई फेरि माथी राष्या ताहा पछि गोर्षा माहाराज वाट तेरा बाबालाई झीकाउन म पनि पत्र लेषी झीकाई पठाउछु तपनि तेरा वावालाई झीकाउन्या चीठी लेषि पठाउदै गर ञाहा हाम्रा हजुरमा हाजीर भयापछि तेरा वावा र तलाइ प्रवस्ती गरिवक्सौला..(पृ ३७१) । धनवन्तसिंह त्यसबखत सपरिवार भागेर नुवाकोट जान सम्भव नभएपछि छोरा जोगाउन पृथ्वीनारायणसँग मिले र गोर्खाली सेनाले कीर्तिपुर सर गर्‍यो । धनवन्त पृथ्वीनारायणसँग मिलेको तथ्य हो । तर भएको तथ्य लुकाएर यो वा ऊ कारणले उनी पृथ्वीनारायणसँग मिलेको कुरा तथ्यको भ्रष्टीकरण हो ।

♦ ♦ ♦

बाबुराम आचार्यको अनुमानमा जनरल अभिमानसिंह रानाले राजा राजेन्द्रविक्रमको सुझाव मानेको भए कोतपर्वको सम्भावना टर्न सक्थ्यो भनेर मैनालीले आचार्यको ‘अब त्यस्तो कहिल्यै नहोस्’ पुस्तकको पृ १३१ लाई उद्धृत गरेका छन् (पृ १२१) । यथार्थमा चाहिँ आचार्यको ‘अब त्यस्तो कहिल्यै नहोस्’ होइन ‘अब यस्तो कहिल्यै नहोस्’ पुस्तक प्रकाशित छ र त्यसको पृ १३१ मा अभिमान र राजेन्द्रविक्रमबारे कुनै प्रसंग नै उल्लेख छैन । बरु आचार्यले पृ १२३ मा भने अझिमानले राजेन्द्रविक्रमको हैन, राजेन्द्रवित्रमले अभिमानको सल्लाह नमानेको प्रसंग उल्लेख गरेका छन् । पुस्तकमा तिथिमितिमा पनि सावधानी अपनाएको देखिन्न । कहीँ इस्वी संवत् र कतै विक्रम संवत्को प्रयोग भएको छ (जस्तै पृ ७) ।

♦ ♦ ♦

‘कुनै एउटो पाटो मात्र समातेर समग्र इतिहासको अपव्याख्या गर्न खोज्नेको प्राज्ञिक धरातल शंकाको घेरामा त तानिन्छ नै । इतिहासको ‘इम्पेरिकल’ अध्ययनले मात्र पुग्दैन, यसको ‘होलिस्टिक’ अध्ययनसमेत आवश्यक पर्छ । ‘सेलेक्सन बायस’ मा रमाउने ‘रिसर्चर’ को बर्को ओढेका ‘एक्टिभिस्ट’ ले यो सत्य आत्मसात् गर्नु जरुरी छ । यसका लागि व्यक्तिमा कुनै पनि वस्तुलाई समग्रतामा नियालेर गुणदोष छुट्याउने प्रज्ञाचक्षु चाहिन्छ (पृ ९५) भनेर लेखेका मैनाली आफैँले भने पुस्तकभरि एकपक्षीय तर्क अघि सार्छन् । उनको पुस्तक खासमा इतिहास लेखनको सत्तापक्षीय भाष्यमाथि प्रश्न उठाएका लेखकको दोहोलो काढ्न केन्द्रित छ । सनातन सत्ताकै शैलीमा सत्तानिर्मित भाष्यमाथि प्रश्न उठाउनेलाई उनी सीधै सेलेक्सन बायसमा रमाउने रिसर्चरको बर्को ओढेका एक्टिभिस्ट भनिदिन्छन् । पुस्तकभर मैनाली आफैँ भने ‘वस्तुलाई समग्रतामा नियालेर गुणदोष छुट्याउने प्रज्ञाचक्षु’ को बर्को ओढेर ‘महेन्द्रपथीय चेतना’ को एक्टिभिजम खुलै तबरले प्रदर्शन गर्छन् ।

पुस्तक : शिलान्यास (नेपाल निर्माणको नालीबेली) | लेखक : सुजित मैनाली | प्रकाशक : बुक हिल | पृष्ठ : २६६ | मूल्य : ४८० रुपैयाँ

प्रकाशित: जेष्ठ ६, २०७६