आत्मीयता र आक्रोशको सम्बन्ध

- माधव बस्नेत

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले ५ साउन ०७५ मा माइतीघर/बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्यो । प्रदर्शनकारीले प्रहरीलाई इँटा प्रहार गरे । प्रहरीले दर्जनभन्दा बढी सेल अश्रुग्यास र लाठी प्रहार गर्‍यो । यस क्रममा तरुण दलका अध्यक्षसहित दुई दर्जनभन्दा बढी कार्यकर्ता घाइते भए । घाइते कार्यकर्ता नयाँ बानेश्वर एभरेस्ट अस्पताल भर्ना भएका थिए । अस्पतालमा घाइते भेटेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारप्रति आक्रोशित बनेका थिए ।

तरुण दलका एक केन्द्रीय सदस्यको भनाइमा घाइतेसमक्ष देउवाले भनेका थिए, “शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन गर्ने यो अधिनायकवादी सत्ता हो । ओलीमा अधिनायकवादको घोडा सवार छ । यो सरकारविरुद्ध थप आन्दोलन घोषणा गर्नुस् । यो सरकारलाई घुँडा टेकाउनुपर्छ ।” देउवाकै निर्देशनअनुसार तरुण दलले त्यसको भोलिपल्ट सरकारी रवैयाको विरोध गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने बताएको थियो ।

घटनाले नाटकीय मोड त्यतिखेर लियो, कार्यकर्तालाई सरकारी रवैयाविरुद्ध लड्न उक्साएर सभापति देउवा भने एभरेस्ट अस्पतालबाट प्रधानमन्त्री ओली भेट्न सीधै बालुवाटार छिरे । “ओली–देउवाबीच के–के मन्त्रणा भयो ?  बालुवाटारबाट निस्किएसँगै सभापति देउवा लज्जावती झारजस्तै देखिएका थिए,” तरुण दलका ती नेता भन्छन्, “पार्टी सभापति नै गलेपछि तरुण दलको विरोधले ठूलो रूप लिन सकेन । आन्दोलन त्यत्तिकै सेलायो ।”

प्रधानमन्त्री ओलीले २४ वैशाखमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संघीय संसद्मा जवाफ दिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको पहिलो चरणको जवाफ प्रधानमन्त्री ओलीले दिएपछि सांसदहरूलाई पुनः प्रतिप्रश्नको समय दिइएको थियो । सांसदहरूले प्रश्न राख्ने नै भए । प्रतिप्रश्नको जवाफ फर्काउने क्रमको सुरुमै प्रधानमन्त्री ओलीले ‘सम्माननीय सभामुख महोदय, प्रश्न जिज्ञासाका लागि धन्यवाद । आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’

प्रधानमन्त्री ओलीको उल्लिखित भाषा प्रयोगसँगै कांग्रेस सभापति देउवाका कट्टर समर्थक सांसद मीनबहादुर विश्वकर्माले उठेर नियमापत्ति जनाउन खोजेका थिए । तर उनले समय पाएनन् । यसपछि कांग्रेस सांसदहरूले उठेर संसद्मा विरोध गरे । देउवा स्वयं आफ्नो स्थानबाट उठेका थिए । यसलगत्तै संसद्मै प्रधानमन्त्री ओली र देउवा झन्डै एक मिनेट आमनेसामने भए । प्रधानमन्त्री ओली देउवा नजिक गएका थिए । हाउभाउ हेर्दा ओली सायद देउवासँग हात मिलाउन चाहन्थे । तर देउवाले हात अघि बढाउनु साटो तुर्लुंग झुन्ड्याइरहे । ओलीलाई पनि उनको अहंले झुक्न दिएन । त्यसैले रिसाएकै नोकझोकमा उनीहरू आ–आफ्नो गन्तव्यतिर लागे । त्यसकै भोलिपल्ट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र देउवाबीच भेट भयो । उनीहरूले तीतोमीठो त्यहीँ पोखे सायद ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाको आनीबानी, सम्बन्ध बुझ्नेहरू भन्छन्– यी दुई नेताको सम्बन्ध आत्मीयता र आक्रोशकै हो । तर यसबेला तेस्रो ‘आ’ अर्थात्, अविश्वास पनि थपिएको छ । उनीहरूबीच अविश्वास बढेको यो पहिलो भने होइन ।

पहिलो खण्ड त्यो हो, ३ जेठ ०५० पछि लामै समय ओली सडकमा थिए । चितवन दासढुंगा नजिकै नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीप दुर्घटनामा परेर निधन भएपछि सिंगो एमाले सडकमा थियो । दासढुंगा दुर्घटना छानबिन गर्न एमालेले ओलीकै नेतृत्वमा एकल छानबिन समिति बनाएको थियो ।

त्यसबेला गृहमन्त्रीका हैसियतले राज्यको प्रहरी संयन्त्रको नेतृत्व देउवाले गरेका थिए । गृहमन्त्री देउवाकै निर्देशनमा एमालेको सडक प्रदर्शनमाथि काठमाडौँका सडकमा मात्र होइन, देशैभरि दमन भएको आरोप ओलीले लगाएका थिए । देउवाको जवाफ थियो, “शान्ति–सुरक्षा प्रदान गर्न अलिअलि बल प्रयोग त गर्नैपर्छ ।”

ओलीले भण्डारीको हत्या भएको ठहर गर्दै निष्कर्ष निकाले, “रेसमी पर्दाका पछि हत्याराहरू लुकेका छन् । तिनीहरूलाई समयक्रममा हामी सार्वजनिक गर्नेछौँ ।” त्यसबेलाको ओली बोलीलाई नजिकबाट बुझ्नेहरूको भनाइ छ, उनको त्यो अभिव्यक्ति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि भन्दा गृहमन्त्री देउवाप्रति लक्षित थियो ।

उनीहरूको तिक्तताको दोस्रो खण्ड पनि उत्तिकै रोचक छ । मंसिर ०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनायो । त्यो सरकारको गृहमन्त्री थिए, ओली । साउन ०५२ मा प्रधानमन्त्री अधिकारीलगायत मन्त्री, नेता सवार हेलिकोप्टर दुर्घटनामा पर्‍यो । संयोगले सबै सकुशल रहे । त्यही बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा कांग्रेसले अधिकारी नेतृत्वको सरकारमाथि संसद्मा अविश्वास प्रस्ताव पेस गर्‍यो । प्रधानमन्त्री अधिकारीले आफू अस्पतालको बेडमा रहेकाले केही दिन पर्खिदिन आग्रह गरे । अस्पतालबाट डिस्चार्ज भएसँगै संसद्मै आएर अविश्वास प्रस्ताव सामना गर्ने अधिकारीको जोड थियो । प्रधानमन्त्री हुने लाइनमा रहेका देउवा अधिकारीको आग्रहलाई बेवास्ता गर्दै केही दिन पर्खनै मानेनन् । फलतः भदौ पहिलो साता ०५२ मा देउवा प्रधानमन्त्री बने । केही दिन नै सही, देउवा हतारोकै कारण आफू गृहमन्त्रीको कुर्सीमा रहन नपाएको ओलीले भुल्ने कुरै भएन ।

नेकपा स्थायी समिति एक सदस्यका अनुसार ओली आफू वरिपरिको जमातलाई जति संरक्षण गर्छन्, ध्यान दिन्छन्, आफूलाई दुःख दिने, आलोचना गर्नेलाई सोचविचारपूर्वक उति नै बदला पनि लिन्छन् । भनिरहनै परेन, उसबेला एमालेलाई दुःख दिँदै सत्तामा रहेका देउवा यसबेला सडकमा छन् । ओलीको व्यवहार र शैलीले संकेत गर्छ, अहिले उनले देउवासँगको पुरानो रिस बोकिरहेका छन् । ओलीजत्तिकै सत्ताका खेलाडी देउवा पनि बदला लिने दाउमा त छन् । तर छिर्के हाल्ने ठाउँ नपाएकाले हात नमिलाएरै मात्र भए पनि आक्रोश पोखिरहेका छन् ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार रहिसकेका विश्लेषक पुरञ्जन आचार्यका शब्दमा प्रधानमन्त्री ओली र प्रतिपक्षी नेता देउवामा समानता र भिन्नता बरोबरी नै छन् । एउटा सुदूरपूर्व र अर्का सुदूरपश्चिमको सामान्य परिवारबाट राजनीतिमा स्थापित भएका हुन् । दुवै सैद्धान्तिक, वैचारिक नेताभन्दा खेलाडी हुन् ।

दुई वर्षअघिको घटना मात्र नियाल्ने हो भने तत्कालीन प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिकामा लाठी नै बोकेर पहरेदारी गरी प्रचण्डपुत्री रेणु दाहाललाई मेयर निर्वाचित गराएका थिए । त्यसको मूल उद्देश्य थियो, प्रदेश र संघीय निर्वाचनसम्म प्रचण्डलाई साथमै राखेर माओवादीसँग गठबन्धन गरी आफैँ प्रधानमन्त्री बन्ने । तर देउवाभन्दा ठूलो खेलाडी बनिदिए, ओली । सत्ता स्वादका लागि लसपसिने माओवादी स्वभावलाई नजिकबाट नियालेका ओलीले ४० प्रतिशतको पासा फालेरै सही, देउवा–प्रचण्डको ‘दोस्ती’ टुटाइदिए । देउवा–प्रचण्ड दोस्ती टुटाउन नसकेका हुन्थे भने ओली यसबेला सत्ताको राजमा एकछत्र हुन्थे, हुँदैनथे ? यसै भन्न सकिन्न ।

त्यसअघिको उनीहरूको छिनाझपटी हेर्ने हो भने यी दुई नेताको चरित्रलाई अझ नजिकबाट नियाल्न सकिन्छ । देउवाले प्रचण्डलाई आफ्नो काबुमा ल्याएर ओलीसँगको साथ टुटाइदिए, असार ०७३ मा । अन्ततः जेठ ०७४ मा देउवा आफैँ प्रधानमन्त्री बने । यी दुवै नेता सामान्य कृषक परिवारका हुन् । दुवै खानदानी राजनीतिक परिवारका थिएनन् । बालवयदेखि नै राजनीतिमा होमिएर प्रतिस्पर्धाको मैदानमा आफूलाई अब्बल सावित गरेका हुन् दुवैले । यद्यपि ओली–देउवा पृष्ठभूमि एकदमै पृथक छ । बुझेर होस् वा नबुझेरै भए पनि ओली पञ्चायत र कांग्रेस दुवैले पार लगाउन सक्दैनन् भनेर कम्युनिस्ट पार्टी निर्माण प्रक्रियामा लागे । उनी अरू कसैले संगठन गरिसकेको बनिबनाउ पार्टीमा आबद्ध भएका होइनन् । आफूजस्तै समवयीहरूको सक्रियताबाट नयाँ पार्टी स्थापना गर्न जुटेका हुन् ।

देउवाचाहिँ बीपी कोइरालालगायतको प्रभावबाट स्थापनाको लामो प्रक्रिया पार गरेर दुई तिहाइ बहुमतसमेत प्राप्त गरिसकेको पार्टीमा आबद्ध हुन पुगेका थिए । त्यसैले देउवा पार्टी बनाएर आएका होइनन् । “ओलीजीमा पार्टी बनाउने मै हुँ । दुई तिहाइ पनि मेरै योजना र बलले आएको हो भन्ने बुझाइ छ । उनी पार्टीमा आबद्धताकै समयदेखि नेताकै रूपमा स्थापित भएका थिए । त्यसैले ओलीमा अहंकार देखिन्छ,” आचार्यको कथन छ, “देउवा आफैँ पार्टी निर्माण गरेर, सुरुदेखि नै स्थापित भएर आएका होइनन् । विद्यार्थी आन्दोलनमा लाग्दै ‘फाइल’ बढुवा भएका नेता हुन् । त्यसैले देउवा सम्झौतावादी देखिन्छन् ।”

०३६ को विद्यार्थी आन्दोलन आसपाससम्म ओली–देउवाको जीवनदर्शन निकै अलग थियो । ओली पञ्चायत ढालेर त्यस्तै खाले कम्युनिस्ट निर्दलीय व्यवस्था ल्याउने योजना मार्गमा थिए भने देउवा पञ्चायत ढालेर बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था भित्र्याउने ध्येयमा । ०३६ देखि ०४६ को सेरोफेरोसम्म आइपुग्दा उनीहरूको जीवनदर्शन एउटै बन्यो । कांग्रेस र तत्कालीन नेकपा (माले) दुवैले पञ्चायतलाई परास्त गर्न संयुक्त आन्दोलनको आवश्यकता देखे । ०४५ सम्म आइपुग्दा त तत्कालीन मालेसमेत संसदीय व्यवस्थामै घालघेल हुन आइपुग्यो ।

ओली–देउवाको अर्को समान पक्ष के हो भने दुवै परिवर्तनको पछिल्लो आन्दोलनप्रति उदासीन थिए । गणतन्त्र, संघीयताप्रति उनीहरुको बुझाइ खासै प्रस्ट देखिन्नथ्यो । गणतन्त्रको कुरा गर्दा ओली बयलगाडा चढेर अमेरिका पुगिँदैनजस्ता टुक्का सुनाउँदै थिए भने देउवा सुरुमा सात दलीय आन्दोलनमा सरिक हुनै अनिच्छुक थिए । दुवैले मन, वचन, कर्मले विश्वास नगर्दानगर्दै पनि देउवाको थाप्लोमा संघीयताको निर्वाचन गराउने दायित्व आइलाग्यो ।

ओली संघीयता कार्यान्वयन भएको निर्वाचनबाट दुई तिहाइको सरकारको नेतृत्व गर्न पुगे । अर्थात्, दुवैलाई जे चीजको विश्वासै थिएन, नियतिले दुवैलाई त्यही गणतन्त्र, संघीयताको नेतृत्व गर्ने जिम्मेवारी दियो । “अहिले उनीहरू दुवै गणतन्त्र, संघीयतालगायतको पितामह आफू नै भएको विश्वासमा छन् । ओलीजीमा म नभएको भए संविधान आउने थिएन, संविधान नआएको भए गणतन्त्र, संघीयता सब बेवारिस भइसक्थे भन्ने दम्भ छ,” जेलदेखि खुला संसदीय मोर्चासम्म ओली/देउवा दुवैसँग लामो संगत गरेका राजनीतिज्ञ राधाकृष्ण मैनाली भन्छन्, “देउवा पनि गिरिजाप्रसाद कोइरालाको पछि म नभएको हुन्थेँ भने गणतन्त्र आउने थिएन भन्ने सोचमा छन् ।”

ओली–देउवा दुवैले पार्टीसत्ता र राज्यसत्ता दुवै कब्जा गरेका छन् । यी दुवै नेताले लामो समयसम्म संस्थापन समूहसँग फरक मत राखेर संघर्ष गरे । देउवाले गिरिजाप्रसादसँग फरक मत मात्र राखेनन्, छुट्टै पार्टी नै गठन गरे । भलै त्यसलाई पनि लामो समय टिकाउन नसक्दा मूलघरमै फर्किए । ओलीले पनि माधवकुमार नेपाल महासचिव हुँदा होस् वा झलनाथ खनाल अध्यक्ष रहँदा, उनीहरूलाई हाराबारा खेलाए । “पार्टी होस् वा सत्तामा आफूलाई स्थापित गर्ने ओली–देउवाजीको कार्यशैली, उपयोग नीति, आफ्नो गुट/गिरोहमार्फत पार्टी कब्जा गरेपछि मनमौजी गर्न पाइन्छ भन्ने सोच एउटै छ,” आचार्य नेताद्वयको मनोविज्ञान केलाउँछन्, “हाम्रोजस्तो देशमा पार्टी, सत्ता कब्जा गर्न धेरै बौद्धिक जमात, त्याग, आदर्श मान्छे चाहिँदैन । लडाकू भए पुग्छ । ओली–देउवासँग पनि ‘एक्सन ओरिएन्टेड युथ’ बढी छन् । सत्तालाई चलाउने शैली ओली र देउवामा एकसमान छ ।”

ओली र देउवा दुवै पार्टी संगठन सञ्चालन पद्धतिभन्दा माथि आफैँ सर्वेसर्वा बनिरहेका छन् । ओलीले पार्टी एक भएको वर्ष दिन नाघिसक्दासमेत केन्द्रीय कमिटीको पूर्ण बैठक एउटा पनि बोलाएका छैनन् । सरकार सञ्चालनमा उनले आफूभन्दा अगुवा, समकालीन तथा क्षमता राख्ने कसैसँग पनि गम्भीर परामर्श गरेका छैनन् । देउवा शैली पनि त्यही छ । उनले आफू अनुकूल नहुँदा महिनौँ केन्द्रीय कार्यसमिति बैठक बोलाउँदैनन् । केन्द्रीय कार्यसम्पादन समितिलाई अहिलेसम्म पूर्णता दिएका छैनन् । पार्टीभिक्र शत्तिशाली हुँदाहुँदै पनि दुवैको खरो आलोचना भइरहेको छ । आफूमाथिको आलोचनालाई न्यून गर्न उनीहरू बेलाबेला फरक समूहसँग चोचोमोचो मिलाउँछन् । तर केही समयभित्रै फेरि आफ्नो ढिपीलाई नै केन्द्रमा राख्न पुग्छन् । “प्रवृत्तिगत रूपमा मूल्यांकन गर्दा यी दुवै नेता एउटै सिक्काका दुई पाटा हुन्,” नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, “यिनीहरूबीचको फरक के भने ओली अरूका कुरा मजैले सुन्छन्, यद्यपि अन्त्यमा आफ्नै कुरा मात्र लाद्छन् । देउवा आफ्ना कुरा सुरुमै राख्छन् । त्यो गलत हो भनेर कसैले बुझाइदिए सच्याउन वा फिर्ता लिन पनि कन्जुस्याइँ गर्दैनन् । ओली गल्ती महसुस गर्न र पछि हट्न खोज्दैनन् ।” सुरुआती स्कुलिङका कारण उनीहरूमा यो भिन्नता रहेको विश्लेषक आचार्यको बुझाइ छ ।

रोचक के भने आफ्नो जिल्लाको राजनीतिमा समेत यी दुवै नेताको एकछत्र नियन्त्रण छ । यद्यपि डडेल्धुरामा आफैँ निकट सभापति कर्ण मल्ल नै देउवाविरुद्ध थोरबहुत विमति राखिरहेका छन् । ओलीले झापामा तत्कालीन अर्जुनधारा गाउँ विकास समिति अध्यक्ष कुन्दन भट्टराईलाई सुरुमा जिल्ला समन्वय समिति प्रमुख बनाउन भन्दै वडामा लडाए । पछि जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेललाई बनाए । त्यसैले दुवैविरुद्ध आफ्नै जिल्लामा समेत असन्तुष्टिको स्वर चुलिँदो छ । ओली–देउवाबीचको समानता कहाँसम्म भने दुवै नेता पार्टी प्रमुख, प्रधानमन्त्री भइसक्दासमेत विकास, समृद्धिको विकेन्द्रीकरणमा दुवैलाई जिल्लावादीको आरोप लागेको लाग्यै छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका शब्दमा ओली–देउवा दुवैले प्रजातन्त्र प्राप्तिको लामो लडाइँ लडेका छन् । देउवाको नेतृत्वमा संघीयता कार्यान्वयन गराउने निर्वाचन सफल भयो भने ओलीले संघीयतापछि देशको नेतृत्व गरिरहेका छन् । अब उनले उदार दिलले अधिकार विकेन्द्रित गर्नु जरुरी छ । “सबै नेताका आ–आफ्ना सीमा र बाध्यता, सबल र दुर्बल पक्ष हुन्छन्,” भन्छन्, “ओली र देउवा पनि यसबाट पृथक हुने कुरै भएन । दुवैले प्रजातन्त्रका लागि ठूलो योगदान गर्नुभएको छ । यो नै उहाँहरूको ठूलो सबलता र सफलता हो ।”

जानकारका भनाइमा पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले देउवालाई ‘इन्गेज’ गरिरहेका छन् । जस्तो, प्रचण्ड वा देउवा सरकारले नियुक्त गरेका सबैजसो राजदूत फिर्ता बोलाउँदा पनि ओलीले जापानका लागि नियुक्त राजदूत प्रतिभा राणालाई फिर्ता गरेका छैनन् । थाहै छ, उनी सभापति देउवाकी सासू हुन् । देउवा पनि शक्तिकै विलासी रहेकाले ओलीलाई धेरै चिढ्याएर अघि बढ्ने पक्षमा नदेखिएको कांग्रेसका अर्का एक केन्द्रीय सदस्य बताउँछन् ।

बाहिरबाट हेर्दा ओली–देउवा सम्बन्ध जति बिग्रिएको देखिन्छ, भित्री रूपमा त्यस्तो अवस्था नरहेको उनको ठम्याइ छ । बालुवाटार जग्गाकाण्ड होस् वा वाइडबडी, हरेक काण्डमा देउवा पनि जोडिएकै छन् । यसर्थ उनले बढी गरे ‘तिमीलाई पनि मैले जानेको छु वा तिमी पनि कहाँ चोखो छौ र’ भन्ने ठाउँ ओलीका लागि छ । हरेक काण्डमा देउवा मुछिएको सार्वजनिक भएपछि त्यो ‘इस्यु’ नै मौनतामा बदलिने गरेको देखिन्छ । सत्तामै रमाउने भएकाले अख्तियार, अदालत, संवैधानिक आयोगलगायतका स्थानमा आफ्ना कमसेकम एक/दुई जना मान्छे छिराउन सकिन्छ भन्ने ध्येयले पनि देउवा ओलीसँग खासै बिच्कने पक्षमा छैनन् भन्छन्, जानकार ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइमा कार्यकर्ताको दबाब, प्रधानमन्त्री ओली कार्यशैलीले सभापति देउवा सरकारले ठीक गरिरहेको छैन भन्ने निष्कर्षमा पुगेका छन् । तर सडक संघर्ष घोषणा गरिहाल्दा त्यसको परिणाम कस्तो आउँछ भन्ने अन्योलमै छन् । “सभापति देउवा सरकारविरुद्ध सडक संघर्ष गर्ने/नगर्ने भन्ने दोधारमा भएजस्तो लाग्छ,” पौडेल भन्छन्, “प्रधानमन्त्री ओली र सभापति देउवाको पृष्ठभूमि एउटै भएकाले पनि उहाँहरू संघर्ष कम, सहकार्य बढी गरेर जाने मनसायमा हुनुहुन्छ होला ।”

आचार्यका अनुसार देउवा ओलीविरुद्ध संघर्षमा जान इच्छुक थिएनन् । कांग्रेसको ठूलो तप्काका नेता/कार्यकर्ताले दबाब दिएपछि मात्र संसद्मा ओलीविरुद्ध बोल्न बाध्य भएका हुन् । “ओलीले बुझ्न नसकेको कुरा, उनलाई मैले देउवालाई म्यानेज गरिरहेको छु भन्ने लागेको थियो । देउवा निर्मला हत्याकाण्डदेखि होलीवाइन काण्डलगायत थुप्रै घटनामा मौन थिए,” आचार्यको निष्कर्ष छ, “कि त ओली सरकारविरुद्ध बोल । नत्र विशेष महाधिवेशन बोलाऊ भनेर नेता/कार्यकर्ताले दबाब दिइरहेका छन् । आन्तरिक राजनीतिमा आएको दबाबले मात्र देउवा ओलीविरुद्ध उभिएका हुन् ।”

कांग्रेस प्रवक्ता शर्माको शब्दमा देउवाले गराएको निर्वाचनपछि प्रधानमन्त्री बनेका ओलीले अब सफल बन्ने संकल्प गर्नुपर्छ । आजको संसदीय व्यवस्थाको सफलताका लागि पनि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताबीच हार्दिक सम्बन्ध हुनु जरुरी छ । देउवा पनि त्यही चाहिरहेका छन् । शर्मा थप्छन्, “तर प्रधानमन्त्रीले प्रतिपक्ष देख्नै नचाहेपछि हार्दिकता कसरी होस् ? अहिले जे भइरहेको छ, प्रधानमन्त्री ओलीले प्रतिपक्ष देख्नै नचाहेको परिणाम हो ।”


पुरानो केमिस्ट्री

०३१ मा राजा वीरेन्द्रको राज्याभिषेक थियो । त्यो राज्याभिषेकमा गडबडी होला भन्ने त्रासले पञ्चहरूले कांग्रेसका थुप्रै नेता/कार्यकर्तालाई पक्राउ गरे । पक्राउ पर्नेमध्येमा शेरबहादुर देउवा पनि थिए । उनीहरूलाई केन्द्रीय कारागार राखिएको थियो । त्यहीँ थिए, झापा विद्रोहमा सहभागी भएबापत असोज ०३० मा रौतहटबाट पक्राउ परेका केपी ओली । रौतहटबाट उनी र मोहनचन्द्र अधिकारी पक्राउ परेका थिए । त्यसबेला केन्द्रीय कारागारमै रहेका राजनीतिज्ञ राधाकृष्ण मैनालीका अनुसार ओली–देउवाबीच पहिलो पटक सामान्य चिनजान त्यहीँ भएको हो । भलै त्यसबेला ओलीको हैसियत सानै थियो । त्यसैले देउवाले ओलीलाई खासै महत्त्व दिएका थिएनन् । देउवा र ओलीको खास रसायन मिल्न थालेको ०५४ मा पारित महाकाली सन्धिपछि हो । देउवा महाकाली सन्धि पारित गराउने पक्षमा थिए भने ओली पनि त्यही अडानमा थिए । यसपछि उनीहरूबीच सघन भेटघाट र कुराकानी हुन थाल्यो । ०५९ मा ॅगोर्खाली राजाले न्याय दिए’ भन्दै देउवा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । यही मौकामा प्रतिगमन आधा सच्चियो भन्दै तत्कालीन एमाले पनि देउवा सरकारमा सामेल भयो । त्यसबेला एमालेलाई सरकारमा पुर्‍याउन प्रमुख भूमिका ओलीले खेलेका थिए । यो समयले ओली र देउवालाई विशेष रूपले नजिक्याएको कांग्रेसका अर्का एक नेता बताउँछन् ।

तेस्रो पटक माधव नेपालले सरकारको नेतृत्व गरिरहेका थिए । प्रचण्ड र झलनाथ खनालको मिलिभगतमा सरकारको विकल्प खोज्न थालियो । यसबेला ओली–देउवा गठजोड फेरि बलियो भयो । उनीहरू दुवै नेपाल नेतृत्वको सरकारको निरन्तरतामा लागिपरेका थिए । “विगतमा राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाबीचको टक्करले मुलुकमा समस्या आएको थियो,” मैनाली भन्छन्, “अहिले पनि ओली र देउवाबीचको व्यक्तित्वको लडाइँले मुलुक भिडन्ततिर जाने हो कि भन्ने त्रास देखिँदैछ । यस्तो टकरावले ओली–देउवालाई त फाइदा गर्दैन नै, व्यवस्था नै धराशयी हुने हो कि भन्ने त्रास बढ्दो छ ।”

प्रकाशित: जेष्ठ ६, २०७६