पैसा लुटैना

- शब्द/तस्बिरः वसन्त आचार्य

थारु खानपानदेखि लिएर गरगहना र नाचगानसम्म विभिन्न सांस्कृतिक पक्ष जोडिएका हुन्छन् । यही मौलिक संस्कृतिलाई व्यावसायिक रुप दिएका छन्, दाङका थारु होमस्टेले । थारुहरुले प्रयोग गर्ने पुराना सामग्री, थारु परिकार र सांस्कृतिक नृत्यले सुसज्जित छन्, यी होमस्टे ।

संस्कृति संरक्षणमा युवा पुस्ता पनि मरिमेटेर लागिपरेको छ । त्यसैले हराउँदै गएको संस्कृतिलाई संरक्षण गरेर पहिचान मात्रै होइन, सांस्कृतिक पर्यटनमा पनि टेवा दिएको छ । “अब हामीले संरक्षण नगरे कसले जोगाउँछ थारु संस्कृति ?” १८ वर्षीया विनिता दहित भन्छिन् ।

थारु होमस्टेका आगन्तुकको मनोरन्जनका लागि थारु नृत्य अनिवार्यजस्तै छ । थारु पोसाक लगाएका महिला–पुरुष रमाइलोसँग नृत्यमा सहभागी हुन्छन् । त्यसमा पनि सखिया, छोक्रा र वड्का नाच लोकप्रिय छन् ।

थारु संस्कृतिमा गहनाको उच्च महत्व छ । खासगरी चाँदीका गहनाले छपक्कै शरीर ढाक्नु थारु महिलाको महत्वपूर्ण विशेषता हो । “गहना परम्परा थारु समुदायका लागि निकै विशिष्ट मानिन्छ,” संस्कृतिविद् अशोक थारु भन्छन्, “यो निकै पुरानो परम्परा हो ।”

समूहमा बाजा बजाउँदै नृत्य गर्नु थारु परम्परा हो । त्यसमा पनि उल्टो टाउको बनाएर मुखले जिब्रोको सहारामा पैसा तान्ने परम्परा निकै विशिष्ट र रोमाञ्चक मानिन्छन् । कुनै एक भाकामा करिब ५ मिनेटजति नाचिसकेपछि उनीहरुको अघिल्तिर राखिएको कपडा या गुन्द्रीमा नृत्य हेर्नेहरुले पैसा राख्ने गर्छन् ।

नृत्यमा सहभागी मुख्य नर्तकी बिस्तारै पैसा राखिएको ठाउातिर अगाडि बढ्दै शरीर धनुषवाणजस्तो बनाउँदै टाउको उल्टो बनाएर जिब्रोको सहारामा पैसा तान्ने गर्छिन् । यसरी मुखले तानेपछि त्यो पैसा उनीहरुले आफैँ लैजाने गर्छन् । संस्कृतिविद् थारुका अनुसार यो नृत्यकलाभित्रको निकै महफ्वपूर्ण भागलाई ‘पैसा लुटैना’ भन्ने चलन छ ।

शरीरलाई धनुषाकार बनाउन सजिलो भने छैन । नर्तकी रञ्जिता चौधरी धेरै समय लगाएर यो कला सिकेको सुनाउँछिन् । “सिक्न निकै गाह्रो भयो,” उनको अनुभव छ, “कैयौँ पटक टाउकोसमेत नचल्ने भयो ।”

दाङका भूमिपुत्र मानिने थारुहरु पछिल्लो समय सांस्कृतिक पर्यटनतर्फ आकर्षित छन् । “थारुको संस्कृति विशिष्ट छ,” प्रदेश सभासद्समेत रहेका होमस्टे सञ्चालक डिल्लीबहादुर चौधरी थप्छन्, “यसलाई बेलैमा जोगाउनु आवश्यक छ ।”

तस्बिरहरु हेर्नुहोस् : 

प्रकाशित: जेष्ठ ५, २०७६