सार्थक सिक्वेल (फिल्म समीक्षा : जात्रै जात्रा)

फिल्म : जात्रै जात्रा | रेटिङ  : ३/५

- गोकर्ण गौतम

बेतुक र बेप्रसंगका दृश्य/संवादमार्फत हँसाउन खोजिने तथाकथित कमेडी फिल्मको महामारी छ हामीकहाँ । हँसाउनकै खातिर छाडापनको सहारा लिइन्छ । सिक्वेल फिल्मको लहर उस्तै छ । तर कथाको मागभन्दा हिट फिल्मको ब्याज खान सिक्वेल बनाइन्छ । कतिले त सिरिजलाई पनि सिक्वेल भनेरै प्रचार गर्छन् । दर्शक रनझुल्ल ! यी संक्रमणबाट मुत्त छ, जात्रै जात्रा । यो पूरापूर कमेडी फिल्म हो, तर गति छाडिएको छैन । सिक्वेल हो तर ‘ब्रान्ड भ्यालु’ बेच्नेनियत मात्र छैन, कम्तीमा जात्राको ‘सिचुएसनल’ हास्यको विरासत थामेको छ । प्रशंसाको पहिलो हकदार हुन्, लेखक/निर्देशक प्रदीप भट्टराई । उनले कथा र कथ्य संरचनाको मर्म आत्मसात गर्दै हास्य सिर्जना गरेका छन् । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दयाहाङ राईजस्ता कलाकार त उम्दा हुने भइहाले ।

नक्कली नोट कारोबारको आरोपमा तीन वर्ष जेल बसेर छुटेका छन्, फणिन्द्र (विपिन), जोयश (रविन्द्रसिंह) र मुन्ना (रवीन्द्र) । अदालतले उनीहरुलाई ‘क्लिन चिट’ दिए पनि समाजले अपराधीजस्तो व्यवहार गर्छ । पहिलेझैँ पैसाको संकटले पिरोल्छ, खानेबस्ने नै टुंगो हुन्न । फणिन्द्रको हालत अझ खराब छ, पत्नी सम्पदा (वर्षा राउत)ले सम्बन्धविच्छेद गर्दैछिन् । यही रापकाबीच फणिन्द्रले १० किलो सुन भेट्छ । मालामाल हुने सपना बुन्छ । यसमै मिसिन्छन्, जोयश र मुन्ना । तर दावा (दयाहाङ राई)को हिंस्रक ग्याङले उनीहरुलाई सुन पचाउन देला ? नक्कली सुनले पहिलेझैँ फसाउने पो कि ?यस्तै सवालमा रुमल्लिएको छ फिल्म । क्लाइमेक्स शानदार मात्र होइन, अनुमानसँग मेल खाँदैन पनि ।

जात्रा जहाँ सकिएको थियो, जात्रै जात्रा त्यहीँबाट सुरु हुन्छ । मुख्य पात्रको चालढाल र पीडारोदन उस्तै छ । थपिएका छन् त दावा र उनको अवैधानिक सुन । पुराना पात्रका दुःखका नयाँ शृंखला अनि नयाँ पात्रलाई स्थापित गर्न खर्चिएको सुरुआती २० मिनेट खुकुलो छ । एकपछि अर्को घटनामा फड्को मार्न हतारिएको भान हुन्छ । ‘भ्वाइस ओभर’ अनावश्यक लाग्छ । तर विस्तारै फिल्मले लय समात्छ । सुन लुकाउन फणिन्द्रहरुको माथापच्ची, दावाका साथी र बोसको व्यवहारले रोचकता थप्छ । सुन तस्करी शैली, समूहभित्रै एकअर्काप्रतिको अविश्वास, छद्मभेषी तस्कर हामीले देखे–सुनेझैँ लाग्छ । सुनवाला प्लट ३३ किलो सुनकाण्डबाट प्रभावित देखिन्छ । भलै निर्देशकले चलाखीपूर्वक आफ्नो केन्द्रीय कथासँग जोडेका छन् ।

असनको गल्ली वरपर घुमेको थियो, जात्रा । पात्र र कथा मौलिक थिए । उनीहरुको भोगाइमा काठमाडौँका ‘आउटसाइडर’हरुले आफूलाई पाउँथे । यी गुण जात्रै जात्रामा पनि निरन्तर छन् । तर असनको गल्ली नाघेर बौद्ध क्षेत्रदेखि पोखरासम्म पुगेको छ, फिल्म । सिक्वेलको बिझाउने पक्ष भनेकै पात्र र संरचना दोहोरिन्छन् । नयाँ माहोलअनुभूत गर्न पाइन्न । सर्जकका लागि यो आफैँमा घातक हो । सीमित दायरामा खुम्चनुपर्छ । यहाँ यस्तै भएको छ । जात्राभन्दा यसपटक निर्देशक/निर्माताको लगाव बजारु तफ्वसँग अलिक बेसी छ । तर उही, जात्रा हिट भयो, अब जस्तो बनाएपनि चल्छ भन्ने मानसिकताबाट ग्रसित छैनन् । हरेक दृश्यलाई विश्वसनीय र आधिकारिक बनाउन यथासक्य मिहिनेत देखिन्छ ।जात्रामा गीत थिएन, यसमा दुई गीत छन् । तर कथा प्रवाहलाई बिथोल्ने गरी राखिएको छैन ।

जात्राको तुलनामा ‘प्रोक्डसन भ्यालु’ भव्य छ । पर्याप्त पन्चलाइन छन् । दोहोरो अर्थ दिने संवाद र दृश्य छन् । तर प्राकृतिक ढंगले पर्दामा आउने भएकाले कन्पारो तात्दैन, बरु रमाइलो लाग्छ । सुन तस्करीमात्र होइन, वर्गीय विभेद, घरेलु हिंसा, आडम्बर, धार्मिक अन्धता, चोरबाटोबाट धनी बन्नेजस्ता वर्तमान समाजका प्रवृत्तिमाथि कटाक्ष गरिएको छ । पार्श्वध्वनि अलि ककर्श लाग्छ । खिचाइ र सम्पादन प्रशंसनीय छ ।

जात्राझैँ जात्रै जात्राको केन्द्रमा विपिन नै छन् । उनको लबज, हाउभाउ र व्यवहार दर्शकलाई प्रिय लाग्छ । उनीजस्तै चरित्रलाई आत्मसात गर्ने कुशलताले भरिएका अभिनेताको खडेरी छ । यसबाट विपिनको लोकप्रियताको दायरा थप फराकिलो बनाउनेछ । निर्माता रविन्द्रसिंह बानियाँले अब्बलता पस्किएका छन् । पात्रलाई जीवन्त बनाउने मामलामा विचलित छैनन् । जात्राबाट चम्किएका रवीन्द्र झा सिक्वेलमा पनि प्रभावशाली छन् । उनको निर्दोषपनाले मन जित्छ । दयाहाङचाहिँ सिक्वेलको ‘बोनस’ हुन् । नकारात्मक भए पनि यो चरित्रले उनका फ्यान फुरुंग हुनेछन् । पुरुष कलाकारको भीडमा वर्षा हराएकी छैनन् । विपिन र उनको मौन प्रेमले आँखा रसाउँछ । शत्रुगतेमा हास्यसिनेमाको आधारभूत धर्मबाट विचलित भएका निर्देशक भट्टराई फेरि ‘ट्र्याक’मा आएका छन् । अब सिक्वेलभन्दा नवीन सिर्जना अपेक्षा छ, उनीबाट । सिर्जनशील निर्देशकको दायित्व पनि त्यही हो ।

विषयवस्तु सम्झनालायक छैन,न्यारेटिभ पनि पुरानै हो । तर कथा र पात्रअनुरुप पैदा गरिएको स्वाभाविक कमेडीले जात्रै जात्रालाई हेर्नलायक बनाएको छ । हाँस्दाहाँस्दै सवा दुई घन्टा बित्छ । यति सार्थक सिक्वेल हामीकहाँ असाध्यै कम बनेका छन् ।

प्रकाशित: जेष्ठ ३, २०७६