इतिहासकारको झैझगडा

- हरिराम जोशी

विसं ०१७ देखि इतिहास तथा धर्मसंस्कृतिबारे ३० जति पुस्तक लेखियो । ती पुस्तकमा मैले नेपालको इतिहासलाई सूक्ष्म रुपमा केलाउने प्रयास गरेँ । गोपाल, महिषपाल, किराँत, लिच्छविकाल, मल्लकाल, शाहकाल, नेपाल राज्यको स्थापना र विकासबारे पौराणिक आख्यान प्रचलित छन् । तैपनि वैज्ञानिक प्रमाणको अभावमा स्थिति स्पष्ट हुन सकेको छैन । इतिहास शिलापत्र, ताम्रपत्र, स्वर्णपत्र, काष्ठपत्र, विदेशी यात्रीको यात्रा वर्णन, साहित्यिक स्रोतजस्ता सामग्रीबाटै लेखिने हो ।

घन्टाकर्णलाई राक्षस आयो भनेर दिनभर चौबाटोमा त्रिखुट्टी राखेर ठड्याउने र राती गाली गर्दै बागमती/विष्णुमतीमा सेलाउने प्रचलन छ । खासमा घन्टाकर्ण भनेको राक्षस हुँदै होइन । पाटन कुम्भेश्वर, काठमाडौँ कमलादी गणेशस्थानमा पनि त्यसको मूर्ति छ । त्यो मूर्ति महादेव पुत्र कुमारको हो । यिनको कानमा घन्ट झुन्डिएकाले घन्टाकर्ण भनिएको हो । यसलाई मैले धर्मका नाममा विद्वेष ल्याउने प्रपञ्च ठान्दै आएको छु ।

नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्षबारे पनि इतिहासकारबीच मतभेद छन् । विरुपाक्ष महादेवको द्वादश (१२) औँ शिवलिंगमध्येको एउटा अवतार हो । यसलाई केही इतिहासकारले विरुपाक्ष भनेको आमालाई स्वास्नी बनाउने पापी हो भने पनि म त्यसमा सहमत छैन । संस्कृतमा दुई आँखा भएको स्थानमा तीन आँखा (चक्षु) विरुप भएकालाई विरुपाक्ष भनिएको हो ।

०३० मा छापिएका धनव्रजको लिच्छविकालको अभिलेख र मेरो नेपालको प्राचीन अभिलेखमा चावहिल अभिलेखबारे मतैक्य छैन । धनव्रजले चावहिल अभिलेख वृषदेवले स्थापना गरेको भनेर किटान साथ लेखेका छन् । मानदेवका बराजु वृषदेवको पालामा नभई मानदेवकै पाला (शकसंवत् ४२५) मा स्थापना भएको मेरो दाबी रह्यो । सुरुमा विवाद रहे पनि अहिले आएर चावहिल अभिलेखका केही टुक्रा शिलालेख भेटिएपछि मेरो मान्यताले वैधानिकता पायो । अरु इतिहासकारले पनि स्वीकारे ।

माहिला छोरा चक्रवर्तेन्द्रको मृत्युपछि राजा प्रताप मल्लले शोकाकुल रानीलाई खुसी तुल्याउन सन् १६६५ मा रानीपोखरी निर्माण गरेको भनिएको छ । तर मेरो दाबीमा रानीपोखरी पहिले नै प्राकृतिक रुपमा स्थापित थियो । त्यसलाई राजा प्रताप मल्लले पर्खाल लगाएर, बारबुर गरेर सिागारेको ठान्छु । प्रताप मल्लले बूढानीलकण्ठलगायतका धार्मिक स्थलबाट पानी ल्याएर रानीपोखरी निर्माण गरेका हुन् भनिए पनि यसले पुष्टि गर्दैन ।

रानीपोखरीमा पानी जाने चार स्रोत मैले पनि देखेँ । हालको सांस्कृतिक संस्थान आरसीटी बिल्डिङ छेउबाट जाने पानी, भोटाहिटी सब–वेबाट जाने पानी, तीनधारा पाठशालाबाट जाने पानी र विद्युत् प्राधिकरणनेरबाट जाने गरी चार कुनाबाट रानीपोखरीमा पानी जान्थ्यो । रानीपोखरी निर्माण प्रताप मल्लले नै गरेको अभिलेखमा उल्लेख भए पनि मैले लेखेको इतिहासलाई अहिलेसम्म कसैले चित्तबुझ्दो खण्डन गर्न सकेका छैनन् ।

रानीपोखरीमा पानी जाने सब–वेमुनि सात धारा थिए । यस सम्बन्धमा मैले त्यसलाई नेवारी भाषामा न्ह्यराहिटी नाम दिएर लेखेँ भने डिल्लीरमण रेग्मीले सप्तश्री धाराको नाम दिए । पछि यसमा रेग्मी पनि सहमत भए । रानीपोखरीबारे संशोधनमण्डलका महेशराज पन्तले मेरो उछितो काडेर लेखे ।

००७/००८ तिर नयराज पन्तले आफ्ना विद्यार्थीलाई अभिलेख, संस्कृत, साहित्यबारे ज्ञान दिएर तयार पारेको समूहलाई संशोधन मण्डल भनिन्थ्यो । संशोधन मण्डलमा रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, धनव्रज, महेशराज लगायत थिए । मण्डल प्राचीन इतिहास लेखन शिलालेखका आधारमा गरिनुपर्छ भन्छ भने मचाहिँ ‘शिलालेखले मात्र इतिहास कहँदैन, त्यसका विस्तृत तर्क, खोज, अध्ययन–अनुसन्धान हुनुपर्ने’ मान्यता राख्छु ।

अंशुवर्माको मुद्राबारे पनि इतिहासकारको एकमत छैन । बनेपाको अंशुवर्माबारे अभिलेखमा कसैले उनलाई नेपालको पहिलो महाराजधिराज ठानेका छन् । तर बनेपाकै त्यही अभिलेखमा भट्टारक महाराज शिवदेव लेखिएको छ । त्यहीमुनि अंशुवर्मालाई महाराजधिराज भनिएको छ । त्यो महाराजधिराज भनेको सामन्त पदवी हो । एउटा राजा हुँदाहुँदै अर्कोलाई महाराज भनिँदैन भन्ने मेरो तर्क छ ।

यसबाट पनि पुष्टि हुन्छ, शिलालेख, अभिलेख सबै साँचो प्रमाण हुँदै हुँदैनन् । किनभने उबेला शासन गर्नेहरुले कीर्ति फिजाउन आफैँले यस्ता अभिलेख लेख्न लगाउँथे । यदि अभिलेखलाई नै प्रमाण मान्ने हो भने अहिलेको सूचना विभागले संगृहीत गर्ने राजा/प्रधानमन्त्री, मन्त्रीहरुका त्रियाकलापबारेका विवरणलाई पनि सही ठहर्‍याउनुपर्ने हुन्छ । यसरी मेरो इतिहास लेखन कहीँ साक्षी प्रमाणका रुपमा प्रस्तुत भए पनि त्यसलाई अरु इतिहासकारले मान्यता दिइसकेका छैनन् ।

 प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: जेष्ठ ३, २०७६

ट्याग: स्मरण