उचाट

- जनकराज सापकोटा

आकस्मिक भेट थियो, त्यो । उनले निधार हल्का तन्काएर अनौठो कुरा सुनाए । खबरमा केही रहस्य, क्षोभ र अचम्मजस्ता तफ्व घुलित थिए । पशुका पति र नाथसँग जोडिएका उदेक खबर यस्ता थिए :

पहिलो, के यो पशुपति देउता बस्ने गजुररुपी घर मात्रै हो ? देव आवास अगलबगलमा मरन्च्याँसे बच्चा बोकेर बस्ने महिला छन् नि, तिनीहरुमाथि प्रेसले निगरानी राख्नुपर्ने भइसक्यो । पहिलो, के यो पशुपति देउता बस्ने गजुररुपी घर मात्रै हो ? देव आवास अगलबगलमा मरन्च्याँसे बच्चा बोकेर बस्ने महिला छन् नि, तिनीहरुमाथि प्रेसले निगरानी राख्नुपर्ने भइसक्यो । असुलेको रकमले आफ्नो चुल्हो बाल्छन् । यस्तो धन्दाबाट बर्गेल्ती सन्तान जन्माउने र अर्काको बच्चा भाडामा लिने आमाको गुजारा चलेको छ । त्यस्ता पनि आमा हुन्छन् ? निर्दयी । मन्दिरछेउमा त्यस्तो पाप भइरहँदा तपाईं पत्रकार के हेरेर बस्नुहुन्छ ?

वाक्य टुंग्याउने बेला उनको स्वर चर्को थियो र अनुहार थोरै रातो । निर्दयी भन्ने बेला त उनको मुखबाट थुकको छिटा पनि निस्केको थियो । धन्न ! मेरो अनुहारमा परेन ।

दोस्रो, यो घाट मान्छे पोल्ने ठाउँ मात्रै जस्तो लाग्छ ? घाटछेउ माग्न बस्ने जोगी संसारदेखिको वैराग्यले जोगी भएजस्तो लाग्छ तपाईंलाई ? त्यसले भेटी बटुलेर साँझ गौशालाको भट्टीमा छिरेर वस्त्र उतार्छ, दारु तन्काउँछ । र, तनक्क तन्केर परेड शैलीमा कोठातिर लम्किन्छ । भातमारा जोगी ।

अन्तिममा उनले स्वर उँचो पारे । भक्तजनको भेटीले दारु पचाउनेलाई किन दारुमारा नभनेर भातमारा भनियो भनी फिस्स हाँसेजस्तो गरेँ ।

यसपछि उनले मलाई भने, “यसरी खुलेआम तीर्थशालामा मान्छे भुट्ने काम भइरहेछ । यसबारे केही लेख्नुहुन्न । खालि के–के लेख्नुहुन्छ, लेख्नुहुन्छ ।”

उनका कुरा न पूरै असत्य थिए, न त पूरै सत्य । सही हो म ‘के–के’ लेखिरहेछु । वर्षौंदेखि ‘के–के’ लेख्ने काम त चलिरहेछ नि । देवशालाका ती दुई घटना जम्माजम्मी अनौठा थिए तर आश्चर्यलाग्दा थिएनन् । यहाँ अनेक भेषधारी छन्, राजनीतिको नाममा होस् वा समाजसेवाको नाममा । जो विधि र व्यवस्थाको केन्द्रमा बसेर वर्षौंदेखि दोहन मात्रै गरिरहेका छन् । त्यसैले उनका कुरा अनौठा मात्रै थिए ।

उनले सुनाएका कुरामा केही उदेकलाग्दा तथ्य थिए । उक्त जोगी उर्फ भोगी किन वस्त्र उतारेर मात्रै मदिरापान गर्दो हो ? त्यो वस्त्रको इज्जत राख्ने काइदा थियो वा अरु केही ? मलाई खसखस पर्‍यो । प्रत्येक दिन जोगीको भेषमा माग्नु र साँझ त्यो अभिनयबाट उत्रेर भोगीको हैसियतमा झर्नु सानो कुरा थिएन । एउटा जोगीबारे खोजी समाचार लेख्नु र त्यसलाई मनोरन्जन मानेर पढ्नुको सार्थकता आखिर के हुन सक्ला ?

आखिर त्यो जोगी समयको क्रूर खेलमा परेर सीमान्त कुनामा हुत्तिएको हुन सक्छ अथवा यस्तो पनि हुन सक्छ, बचेखुचेको इज्जत परिस्थितिको हुरीले उडाइदिएपछि पित पोसाकमा अवतरित भएको हुन सक्छ । समयको उचाट पचाउन त्यसले मदिरा पिएको हुन सक्छ । मदिराको मातले उसलाई देउतामा रुपान्तरित भएको भ्रमपूर्ण अनुभूतिमा पुर्‍याइदिएको हुन सक्छ ? ‘देउता’ को चित्त प्रसन्न पार्न भक्तजनले चढाएको द्रव्यले एउटा मनुवाको चित्त प्रसन्न पार्‍यो त के बिग्रियो ? यहाँ बिग्रिएका अरु धेरै कुरा, घटना, परिस्थिति र सन्दर्भ छन् । यतिका धेरै वृत्तान्त बताएर मैले भनेँ, “मित्र समयलाई विषयान्तर नर्गनुस् ।”

भेटी खोसिएकामा यहाँ कुनै देउताले विरोध जनाएका छैनन् । कुनै देउताले अदालतमा फिराद चढाएका छैनन् । हामीले शक्तिका प्रतीक मानेका सारा देउता वर्षौंदेखि निरुपाय छन् । तिनीहरु भक्तका प्रसाद, अक्षता र केही भेटीको भरमा चार दिवारभित्र चिसो र तातो पचाइरहेछन् । जसरी हामी भूगोलको एउटा सिमानाभित्र शृंखलाबद्ध अवसादका खबर सुन्दै च्याम्बरभित्र बाँचिरहेका छौँ । अवसादका मनै हर्ने खबर नसुनेको बहाना गरेर, नबुझेझैँ गरेर हामी आ–आफ्नो पथमा घिस्रिरहेछौँ र जेनतेन गुजारा चलाइरहेछौँ ।

त्यो जोगी को होला, जसले दिनभर निस्सासिँदो घाटछेउ बसेर केही रुपैयाँका निम्ति मूल्यवान समय दाउमा लगाइरहेछ ? ती महिला को होलिन्, जो अर्काको सन्तान भाडामा काखी च्यापेर याचना गरिरहेकी छिन् । त्यस जोगीलाई थाहा नहोला र जीवनको अन्तिम यात्रा घाटमा पुगेर टुंगिन्छ ? ती आमालाई थाहा नहोला र सन्तान हुर्काउनुको दुसाध्य बाटो ? जीवनलाई एउटा नियति ठानेर होला कि जीवनलाई एउटा दुर्घटनाबाट बचाउन तिनीहरु कुशल अभिनय गरिरहेछन् । सायद समयले तिनीहरुको भागमा त्यस्तै अभिनय गर्ने जिम्मा दिएको होला ।

समय आफैँ यति निम्छरो छ, जसका विरुद्धमा केही लेख्नु पनि फगत निम्छरो कर्म भइजान्छ । हामी बाँचेको युगमा केही मनुवाले सहमतिका नाममा वर्षौंदेखि समयको सुई एउटै राजनीतिको वृत्तभित्र घुमाइरहेका छन् । आखिर समयको मूल्य नै कहाँ छ र ? मूल्य हुन्थ्यो भने हाम्रो समय केही मान्छेको अहं र अहंकारभित्र कसरी कैद हुन्थ्यो । यस्तो निस्सासिँदो समयभित्र बाँचेको जोगीले दिनभर हात पारेको रकम किन अरु काममा खर्चोस् ! राजनीतिको उचाट पचाउन, घाटको मौलिक हरक पचाउन वा समयको दुर्गन्ध पचाउन त्यो जोगीले मदिराको सहारा लिएको हुन सक्छ । तर प्रश्नकारी मित्र, एउटा जोगीको पछि लागेर म कसरी खोज पत्रकारिता गरुँ ?

ती महिलाले बच्चा देखाएर माग्नु पनि कसरी अभिशप्त काम भयो र ? आखिर ‘देउता’ पनि मागिरहेछन् । सरकार पनि मागिरहेछ । नमाग्ने को होला र यहाँ ! कोही अरुको समय मागेर, कोही प्रेमको भीख मागेर, कोही सम्मान मागेर आफूलाई जोगाइरहेछन् । यस्तो समयमा ती महिलाले किन फरक पेसा अंगालून् ?

आखिर सबै महिला योगमायाजस्ता विद्रोही कहाँ हुन सक्छन् र ? कुरुप समयको वायुमण्डलभित्र बाँचेर गर्न सक्ने त्यति न हो । सन्तान जोसुकैको होस्, त्यो महिलाको काखमै बसाइएको छ । कम्तीमा बच्चाको कोमल अनुहार हेरेर भए पनि मान्छे दुई–चार पैसा दान गरिरहेका छन् । बदलामा ती महिला बच्चाको भाडा इमानदार भएर हरेक साँझ तिरिरहेकै छिन् । कुनै लिखित सम्झौताबिना बच्चाको असली आमा र नक्कली आमाबीच कारोबार चलिरहेछ । आखिर दुई नम्बरी भनिएको काममा पनि इमानदारी सँगसँगै चलिरहेछ ।

‘देउता’ तिनै हुन्, जो इमानदार र व्यभिचार दुवैले चढाइएको फूलबाट पुजित हुन्छन् । जो सदाचारी र दूराचारी दुवैले बालेको अगरबत्तीको बास्ना सुघ्छन् । यति कुरो नबुझेर मेरा मित्र किन जोगी र आइमाईबारे खोज समाचार लेख्न  अनुरोध गर्छन् ?

प्रकाशित: जेष्ठ २, २०७६