अतृप्त दार्जिलिङ

पुस्तक : फातसुङ | उपन्यासकार  : छुदेन काविमो  | प्रकाशक  : फाइनप्रिन्ट | पृष्ठ  : १५० | मूल्य  :  ३०० रुपैयाँ

- राजकुमार बानियाँ

पूर्वफौजी सुवास घिसिङले सन् १९८६ मा दार्जिलिङ पहाडमा अलग राज्य मात्र मागेनन्, नामै घोषणा गरिदिए, ‘गोर्खाल्यान्ड’ । १२ सयभन्दा बढीले ज्यान गुमाएको त्यो आन्दोलनले अर्धस्वायत्त दार्जिलिङ अर्थात् गोर्खा पार्वत्य परिषद्‌मै चित्त बुझायो । त्यसको दुई दशकपछि फेरि पनि पटके आन्दोलनमा होमिए, विमल गुरुङको नेतृत्वमा । तर भारतको ३० औँ राज्य बन्ने दार्जिलिङे नेपालीभाषीको रक्तरञ्जित सपना अधूरै छ ।

उत्तरी पश्चिम बंगालका दार्जिलिङ, कालिम्पोङ र डुवर्सका बासिन्दा भारतमै बस्न चाहन्छन् तर बंगालसँग छुट्टिएर । त्यसका लागि कहिले घिसिङको गोरखा राष्ट्रिय मुक्ति मोर्चाको झन्डा समाते, कहिले गुरुङको गोरखा जनमुक्ति मोर्चाको । दार्जिलिङ पहाडबासीका तिनै दुःख, पीडा र सुस्केरालाई छुदेन काविमोले दिएको आख्यान कलेवर हो, फातसुङ ।

बालसखा रिपदेनको मृत्युको खबरसँगै गोर्खाल्यान्ड योद्धा नोर्देनको त्रासद कथा उधिनेको छ उपन्यासले । पहिरोमा घर बगाउँदा लासै नभेटिएको रिपदेनको आप्पा थियो, नोर्देन । स्कुले उमेरमै पढाइ छाडेर बन्दुक समातेको नोर्देनले न प्रेमिका रिपपन्दीलाई मुटु रित्याउन पाउाछ, न त नवजात छोराको अनुहार धीत मरुन्जेल हेर्न । स्यार्पी (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) को पहिलो बन्दुक खोस्ने नोर्देन यता लंगडो हुन्छ, उता आन्दोलन लडखडाउाछ । नोर्देनसँगै पहाडबासीका सपना बेपक्ता हुन्छन् ।

‘बिन्दुली टीका के टीका, सिन्दूरको टीका के टीका, माटोको टीका राजा टीका, माटोको टीका रानी टीका’ आम युवाले गीत गाएर के गर्नु ? व्यत्तिगत स्वार्थमा आन्दोलनमा दुई फ्याक हुन्छ, जीभीसी र एलएफ । रातो र हरियोको लडाइँ । एउटा झन्डा समाउँदा पाप, अर्को समाउँदा पुण्य ।

एनबी नामक काठचोर नै छ, आन्दोलनको अगुवा । सर्वसाधारणको घर जलाउँछ, सरकारी सम्पत्तिमा आगो झोस्छ । क्याम्पमा केटी र रक्सी राखेर मोज गर्छ । सरकारसँग मिले पनि माटोको नारा लगाउन छाड्दैन । उपन्यासले राजनीतिक छलछामप्रति ‘नोट अफ डिसेन्ट’ लेखेको छ, ‘दुस्मनसँग लडेको युद्ध पो सकिन्छ । कि जितिन्छ कि हारिन्छ । आफन्तसँगको युद्ध के सकिन्थ्यो ? न जितिन्छ, न त हारिन्छ ।’

गोर्खाल्यान्डजस्तै त थियो नेपालको १० वर्षे माओवादी विद्रोह । ‘ गोर्खाल्यान्ड भए सुँगुरले पनि नुनियाँ चामल खान्छ, घरघरमा स्वीमिङ पुल बन्छ’ आदि सस्तामस्ता नारा पत्याएर व्यक्तिहत्यालाई नै आन्दोलन ठान्ने सूर्य दाहरु यता थिएनन् र ? सहिदको अर्थ नै थाहा नहुने बुढाथोकीका छोरी छैनन् र ? संगठित भएर हिँड्न नपाउने संविधानको धारा १४४ लाई पानीको लाइन सम्झने बोजुहरुले गाउँको टिठलाग्दो अनुहार देखाउँदैनन् र ?

सलाईको सिन्कामा जस्तो टाउकोमा बारुद बोकेर हिँडेका बालसेनाहरु यहाँ पनि थिए । अबोध विद्यार्थीका हातमा बन्दुक थमाउन नहिचकिचाउने राजु सरहरु पनि थिए । प्रेमिकाको हत्याको बदला लिन बन्दुक समाएका नासिमजस्ता पात्र थुप्रै भेटिन्छन् ।

भाषिक पहिचानका निम्ति गोर्खाल्यान्ड मागिरहँदा उपन्यासमा लेप्चाको आदिभूमि दार्जिलिङलाई भुलिएको पाटो पनि छ, फातसुङमा । लेप्चा भाषामा फातसुङको अर्थ हुँदो रहेछ, माटोको कथा । लेप्चा भाषामा दार्ज्योल्याङ भनेको देवता पनि हाँस्ने ठाउँ हो, खरसाङ– सेतो सुनाखरी फूल अनि कालेबुङ– उहिले लेप्चाहरु भेला हुने ठाउँ । 

पूर्वदीप्ति शैलीमा लेखिएको उपन्यासमा आन्दोलनकारी लाछिरिङको भद्र असहमति छ, ‘गोर्खाल्यान्डको साटो दार्जिलिङ नै माग्दा के बिग्रिन्थ्यो ?... तिब्बतीहरु आएर लाप्चेहरुको लिखित कथा मारिदिए । भोटाङेहरुले लाप्चेहरुका राजा मारिदिए । ब्रिटिस आएर लाप्चेहरुको भाषा मारिदिए । अझै लाप्चेहरुले कतिचोटि मर्नुपर्ने हो ?’

राजनारायण प्रधानमार्का छोटामीठा वाक्य, चित्ताकर्षक शैली अनि सुहाउँदो संवाद छुदेनको खुबी हो । यसले नेपालीमा चलनचल्तीको व्याकरण नपछ्याए पनि साहित्यिक लालित्यका सामु वाक्यविन्यासका भुलचुक माफीयोग्य छ । तँहरु, आम्बो, अन्त, हरे नि ता है आदि ठेट लोकलवजले उपन्यासलाई डल्लै आञ्चलिक बनाइदिएको छ । कथावाचकले भाउ नदिएकी पात्र छे, टाइपराइटरवाली रिपपन्दी । चार वर्षको छोरा रिपदेनलाई उसले किन छाडेकी हो ? उपन्यासले बिट मार्दा पनि खुल्दैन ।

कथासंग्रह १९८६ मार्फत छुदेनले राजनीतिक विषयवस्तुमा पकड देखाएकै हुन् । ब्रिटिस शासनकालदेखि चर्किंदै आएको दार्जिलिङको भुइँ सन् १९८६ मा अझ देखिने र दुख्ने गरी पटपटी फुटेको विषयलाई उनले गम्भीरतासाथ आत्मसात गरेका छन् । फातसुङ त्यहााको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक समाजको छायाछवि हो ।

नेपालका एक प्रकाशकले पत्याएकामा छुदेनजत्तिको कलमबाज भजनमै उत्रिनु भने जरुरी थिएन । पछिल्लो फाल स्तरीय आख्यान नआएको स्थितिमा फातसुङ स्वागतयोग्य छ । तर यो नै आख्यानको चुचुरो होइन, औसतभन्दा माथिल्लो दर्जाको मात्र हो ।

 

प्रकाशित: जेष्ठ २, २०७६