सुम्निमाको शक्ति

- श्रवण मुकारुङ 

जीवनका विविध पाटालाई काव्यिक गद्यमा रसिलो ढंगमा लेखिएको प्रोफेटले मेरो चेतनाको ढोका खोलिदिएजस्तो लाग्छ । पाठकीय हृदयलाई तरंगित गर्ने कृति कम पढिरहेको मलाई सरल र बोधगम्य सूक्तिले आफ्नो वशमा पार्नु स्वाभाविकै थियो । अनेक प्रयोग भए पनि नेपाली कविता कमजोर हुनुको कारण खोतल्दा म खलिल जिब्रानको आध्यात्मिक काव्यत्वलाई अगाडि राखेर विश्लेषण गर्न रुचाउँछु  ।  

लेबनानमा जन्मिएर अमेरिका बसेका जिब्रानमा सायद दुई संस्कृतिको संगतले त्यो उचाइको कवित्व हुर्कियो । युवा कविले यो कृति पढ्दा जीवनलाई हेर्ने नयाँ आयाम थपिन सक्छ । आफूलाई कवि बनाउन संघर्ष गरिरहेका बेला अरुलाई जस्तै मलाई पनि बौद्धिक भोक अत्यधिक थियो । तर पठन सामग्रीको उपलब्धता कम थियो । ज्ञान उत्पादनसँग प्रत्यक्ष सम्बन्ध नभएको र भाषिक सीमाका व्यवधानका बेला जिब्रानको काव्यिक लेखनले मलाई ठूलो राहत दियो । अहिले पनि म कविता लेख्दा खलिल पढेको युवावय सम्झन्छु । जीवन–जगत्प्रति गम्भीर भएर सोच्ने आत्मबोधी शिक्षा हाम्रो विश्वविद्यालयतिर दिइँदैन । घोकन्ते विद्याको घेरामा हुर्किएका हामीलाई चिन्तन गर्ने प्रक्रियातिर जानलाई द प्रोफेटजस्ता कृतिले प्रेरित गर्छ । सपाट र यान्त्रिक जीवनदर्शनले सही मार्गमा लग्दैन । हामी प्रविधिको जन्जालमा हराएको पुस्तालाई हेरेर भन्न सक्छौँ । स्वचिन्तनको बाटोमा हिँड्दा ज्ञान–विवेकका नयाँ–नयाँ क्षितिज खुल्न सक्छन् भन्ने बलियो आधार जिब्रान हुन् । 

रेवी एल्लीद्वारा अनुवादित फोक पोयम्स फ्रम चाइनाज माइनोरिटिज पढेपछि यी कविका कविता खोजी–खोजी पढेँ । न्युजिल्यान्डका कवि तथा अभियन्ता रेवी एल्ली चीन गएर त्यहाँका कम्युनिस्ट पार्टीका सदस्य भएरै काम गरे । उनले सामाजिक काम गर्दै चिनियाँ साहित्यको अध्ययन र अनुवाद पनि गरे । यसमा चीनका सीमान्तकृतका संघर्षगाथा र लोककवितालाई उनले निकै मर्मस्पर्शी ढंगले अनुवाद गरेका छन् । पुस्तकभित्रका कतिपय पंक्ति मलाई कण्ठस्थ छन् । सरलताभित्र गहन इतिहास–दर्शन दिन सक्ने चिनियाँ कविताका हरफले मलाई हुरुक्कै बनाउँछन् र कविता लेख्न उत्प्रेरित गर्छन् पनि । इतिहास जित्नेहरुले लेख्ने हुँदा गलत पनि हुन सक्दो रहेछ भन्ने बुझेका छौँ । तर कवितामा वर्णित इतिहासचाहिँ सत्यको समीप हुँदो रहेछ । त्यसैले कविहरु युगौँसम्म पढिन्छन् । चीनमा पनि इतिहासकारद्वारा स्तुति लेखिएको हुन सक्छ । तर यो किताब पढेपछि लाग्यो– विशेष कालखण्डको सच्चा कविको रचनामा सही इतिहासबोध हुन सक्छ । रुखो र आग्रही इतिहासभन्दा पर गएर चीन, चिनियाँ जनता, सांस्कृतिक क्रान्तिजस्ता विषयमा अध्ययन गर्न मलाई नयाँ बाटो दियो, यो किताबले ।

आर्य र किराँती सभ्यताबीच सांस्कृतिक विमर्श गराइएकाले विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा मलाई रोचक लाग्छ । सुम्निमाको कथाबारे धेरै पाठक जानकार छन् । सुम्निमा जलाइयो भन्ने हल्ला चलेपछि स्रष्टाहरुको वृत्तमा ठूलो हंगामा भयो । मनोवैज्ञानिक ढाँचामा लेखिए पनि एउटा लिखुरे ‘बाहुन’ सँग आफ्नो आराध्यदेवीको सम्भोग गराइदिएकामा किराँत समुदायमा तीव्र आक्रोश थियो । सभ्यता नबुझीकन किराँतीलाई जंगली जातिका रुपमा चित्रण गरेर हियाएको आरोप लाग्यो, बीपीलाई । पुस्तक पढ्दा अनुमान गर्न सकिन्छ, बीपीलाई मुन्धुमी ज्ञान उति थिएन ।

एक व्यक्तिले जलाए पनि असन्तुष्टिको प्रतीकात्मक घटना थियो, त्यो । तर सम्पूर्ण किराँती समुदायले जलाएको होइन । हुन सक्छ, त्यो उपन्यास जलाउने व्यक्ति निर्दोष पाठक थियो या राजनीतिसचेत अभियन्ता । दिवानसिंह राईसँग जातीय वादविवाद भएपछि त्यसको जवाफमा बीपीले सुम्निमा लेखेको प्रसंग चर्चित नै छ । 

यो प्रकरणपछि सुम्निमालाई फरक–फरक कोणबाट पढ्ने पाठक जन्मिए । युवावस्थामै  मैले एक किसिमको धारणा बनाएर पढेँ । लेखकले कुनै जाति, समुदाय या संस्कृतिमाथि लेख्दा आफूलाई सर्वेसर्वा/ज्ञाता ठानेर लेख्नुभन्दा सम्बन्धित समुदायको संवेदनालाई जाँची–बुझी विचार निर्माण गर्नुपर्दो रहेछ भन्ने पाठ सिकेँ ।

लेखन र विचारकै कारण संसारमा किताबहरु जलाइएका छन् । तर सुम्निमा जलाउनेहरु पनि आफ्नो सांस्कृतिक इतिहास पढेर आफूलाई प्रतिरोधी कित्तामा उभ्याउन सफल भए । यो दीक्षित मोर्चामा जान प्रेरित गर्ने कृति बनिदियो ।

आख्यानलाई इतिहासका रुपमा नबुझ्ने हो भने बीपी आक्षेप लगाउनुपर्ने उपन्यासकार होइनन् । दार्शनिक संघर्षणका लागि उनले जसरी दुई सभ्यतालाई उभ्याएर कल्पनाको उच्चतामा पुर्‍याएर आख्यान लेखे, त्यो बेजोड नै लाग्छ । बीपीले आफ्नो उपन्यासका लागि रोजेको क्यानभास बराह क्षेत्र जाँदा अहिले पनि मेरो मानसमा त्यो दृश्यविम्ब आइहाल्छ । कुनै कृतिमा उपस्थित विम्ब, चरित्र र विचारले पाठकलाई स्वप्निल बनाउँछ झने त्यो रचनाको शक्ति हो । त्यही शत्ति सुम्निमामा भेट्छु ।

बीपीको समाजवादी राजनीतिक चिन्तनभन्दा बाहिर उनका रचना छन्जस्तो लाग्दैन । कहीँ न कहीँबाट उनको जीवनदर्शन कृतिपछाडि उभिन आइपुग्छ । यो उपन्यासमा पनि कताकता उनी संस्कृति/सभ्यता समन्वयको पक्षमा देखिन्छन् ।   

प्रस्तुति  : गुरुङ सुशान्त

प्रकाशित: जेष्ठ २, २०७६

ट्याग: तीन किताब