एक घन्टा नमस्ते

- सुनिता लोहनी

अकाफुजी दाइको नामक जापानी संस्थाबाट ड्रम बजाउने कलाकार टोली काठमाडौँ आएको थियो, केही समय पहिले । उनीहरुको कार्यक्रम अपराह्न ४ बजे होटल याक एन्ड यतीमा हुँदै थियो । अर्को कार्यक्रम सकेपछि कुर्नुपरे पनि उतै जानुपर्‍यो भन्दै म ४ बजे नै होटलतिरै लम्किएँ ।

साधारणतयाः नेपालमा औपचारिक कार्यक्रम तोकिएकै समय सुरु हुँदैनन् । अझ मन्त्री आउने कार्यक्रम त झन् ढिला सुरु हुन्छन् । आयोजक पनि तोकिएको समयमै तयारी अवस्थामा रहँदैनन् । होटल पुग्दा कन्सर्ट हेर्न आउने आगन्तुकका लागि स्वागत गर्न जापानी कलाकार दोस्रो तल्लाको बरन्डामा दुवै साइडमा दुई हात जोडी नेपाली शैलीमा नमस्ते भन्दै उभिएका थिए । आगन्तुक नमस्ते खाँदै हलभिक्र छिरे ।

कार्यत्रमका मुख्य अतिथि संस्कृतिमन्त्री थिए । परम्परा किन तोड्थे र मन्त्रीले ? एक घन्टा बितेपछि बाहिर हेर्न जाँदा जापानी कलाकार उसैगरी उभिएर प्रमुख अतिथि कुरिरहेका रहेछन् । मन्त्रीजी आएपछि बल्ल कार्यक्रम सुरु भयो । ड्रमको कन्सर्टका लागि तीन वर्षकी सानी नानीदेखि हजुरबुबासम्मको पुस्ताले मनमोहक प्रस्तुति दिए । करिब ४० जनाको जम्बो टोलीलाई कुटुम्ब ब्यान्डले साथ दियो । यसबाट दुइटा कुराका सिकाइ अविस्मरणीय रहे । पहिलो, कलाकार मुडी हुन्छन् भन्ने भ्रम । दोस्रो, अनुशासन । यति विनम्र कलाकार तीन वर्षकी बच्चीदेखि कपाल सेतै फुलेका ७० कटेका हजुरबुबासम्म त्यसरी लाइनमा घन्टौँ उभिएर सत्कार गर्नु चानचुने होइन ।

ट्याक्सीवालाको चलाखी

मलाई मध्य बानेश्वरदेखि त्रिपुरेश्वरसम्म काम विशेषले आउनु थियो । सीधा रुटको गाडी नचल्ने । छिटो पुग्नुपर्ने हुँदा महँगै भए पनि ट्याक्सी चढेँ । कार्यालय समयमा गाडीको भीडभाड त हुने नै भयो । जाममा पनि छोटो बाटो निस्कन काठमाडौँका ट्याक्सी चालक खप्पिस हुन्छन् । सरकारले ट्याक्सी चालकलाई अनिवार्य मिटर चलाउन निर्देशन दिएपछि सर्वसाधारणले पनि केही राहत पाएका छन् । तर म सवार ट्याक्सी चालकले छोटो होइन, लामो बाटो रोजे । अर्थात्, सीधै बानेश्वर । त्यसपछि बानेश्वर बीचको बाटोमा कुँदाए । अनि हामी जाममा पर्‍यौँ ।

बिस्तारै घडीले नेटो काटेको थियो । १० बजे गन्तव्य पुग्नुपर्नेमा साढे १० त्यहीँ हुन लागिसक्यो । बल्लतल्ल तीन वटा ट्राफिक जाम छलेपछि हामी त्रिपुरेश्वर पुग्न लाग्यौँ । त्यसमा पनि अरु बेला साइडमै मिलाएर रोकिदिने ट्याक्सीले त्यतिखेर ट्राफिकले चिट काट्छ भन्दै कालीमाटी साइडमा रोकिदिए । मध्य बानेश्वरदेखि त्रिपुरेश्वर आइपुग्दा मिटरमा १ सय ७० रुपैयाँ चढेको थियो । मैले २ सय दिएँ । ट्याक्सी चालकले चानचुन छैन भनेर फिर्ता गरेनन् । त्यसैगरी अर्को पटक पनि ट्याक्सी चालकले चढ्नुअगाडि नै ४०/५० थप्नुपर्छ अनि मात्र लैजान्छु भने । त्यसबेला मलाई कुपन्डोलबाट मध्य बानेश्वर जानु थियो । ट्याक्सी चालकको आम प्रवृत्ति छ, नजिकको रुटमा जानै नमान्ने । धनीमानीले मात्रै चढ्छन् भन्ने मानसिकतामा ट्याक्सी चालक भ्रममा रहेको ठानेँ । त्यसैले त मैले हिजोआज ट्याक्सी चढ्न छाडेकी छु । यसको विकल्पमा ‘पठाओ’ रोजेँ ।

ट्याक्सीबाट मजस्ता कैयौँ सेवाग्राही ठगीमा परिरहेका छौँ । एक दिन ट्याम्पो चढेर अफिस जाँदै थिएँ । ट्याम्पोका यात्रुले मलाई ट्याक्सी चालकले दिएको पीडा सुनाए, ‘सर्वोच्च अदालतबाट कालो कोट लगाएको मान्छे र पत्रकारले ट्याक्सी रोक्यो भने जहाँ जान पनि मान्छन् । हामीजस्ता सर्वसाधारणले रोके टेर्दैनन् ।’ ट्याक्सी पछाडिपट्टिको सिसामा ‘सरकार हामीलाई गरेर खान देऔ’ भनेर ट्याक्सी चालकले मिटरको विरोध गरेको जोकोहीले देख्न सक्छन् ।

छिः कार्यालय

आफू र घर सफा भए पुग्ने, नेपालीको पुरानै बानी हो ।  रिपोर्टिङका क्रममा पुलचोकस्थित नेपाल विद्युत् प्राधिकरणको अवस्था त्यस्तै देखियो । बिजुली बत्तीको बिल तिर्ने ठाउँमा झ्यालको चौकोसअगाडि भुइँभरि बिलको थुप्रो ।

कर्मचारी काउन्टरभित्र बसेर पैसा लिइरहेका थिए भने काउन्टरबाहिर कागजको बिल जथाभावी फालिएको दृश्यले कार्यालय अशोभनीय देखिन्थ्यो । त्यसमाथि सडकबाट आउने धूलोले पनि साथ दिएको । हरेक कार्यालयमा सफाइ कर्मचारी राखिन्छन् । तर पुलचोकको यो बिजुली अड्डा भने कैयौँ दिनदेखि सफा नगरिएजस्तो लाग्यो ।

कार्यालयले फोहोर फ्याँक्ने डस्टबिन कतै नराखेकाले सेवाग्राहीले बिल जथाभावी फालेका हुन् सक्छन् । डस्टबिन भए पो सेवाग्राही सचेत हुन्थे । अचम्म के भने मूर्ति थपना गरेजस्तो फोहोर गरिएकै दायाँपट्टि माथि ‘कार्यालय सफा राखौँ’ भनेर सेतो अक्षरमा सानो नीलो बोर्ड झुन्ड्याइएको देखियो । लेख्ने मात्र होइन, कार्यान्वयन पनि गर्ने कि ?

प्रकाशित: जेष्ठ २, २०७६

ट्याग: नोटबुक