‘आज जे छु, भोलि हुन्नँ भनेर बुझ्नुपर्छ’

- जनक नेपाल

नयाँ शक्ति निर्माण गर्ने भन्दै ०७२ असोजमा माओवादी केन्द्र परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ पार्टी गठन, बाम गठबन्धन र काँग्रेससितको चुनावी तालमेलका अनेक घुम्ती पार गर्दै २३ बैशाख ०७६ अन्ततः पुरानै राजनीतिमा फर्किए । राजनीतिको पुरानै नियम र खेलमा मात्र होईन, पहिलो संविधानसभामै अस्वीकृत भएको जातिय पहिचानका ११ प्रदेशको पुरानै मुद्दामा फर्किर्एका समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष भट्टराईसंग जनक नेपालका प्रश्न :

नेपालमा लामो लेखमार्फत वैकल्पिक शक्तिको वकालत गर्नुभएको थियो, अब त्यसको औचित्य सकिएको हो ?

हामी अहिले पनि नयाँ शक्ति निर्माण गर्ने अभियानकै निरन्तरतामा छौँ । नयाँ शक्ति पार्टी संविधानसभाबाट संविधान जारी भएपछि लोकतान्त्रिक आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने, सुशासनसहित समृद्धिको दिशामा जाने र अन्ततः समाजवादसम्म पुग्ने ध्येयले बनेको थियो । त्यसैगरी मधेसी जनअधिकार फोरम नेपालको एकल जातीय राज्यलाई बहुजातीय, बहुसांस्कृतिक विविधतायुक्त संघीय राज्यमा रूपान्तरण गर्नुपर्छ भनेर नयाँ एजेन्डासहित ०६२/६३ को आन्दोलनपछि बनेको शक्ति हो । संघीय समाजवादी पार्टी एमालेभित्रका संघीयता पक्षधर शक्तिले विद्रोह गरेर बनेको नयाँ शत्ति हो । यस्ता शक्तिलाई मिलाएर हामीले छुट्टै पार्टी बनाएकाले नयाँ शक्ति निर्माणकै विकसित रूप हो ।

लामो समयदेखिका साथीहरू तपाईँसँग रहेनन् नि ?

म आज जे छु, भोलि हुन्नँ भनेर बुझ्नुपर्छ । समाज, चेतना, ब्रह्माण्ड परिवर्तनशील छ । नेपालमा गणतन्त्र ल्याउँदासम्म र संविधानसभाबाट संविधान जारी गर्ने बेलासम्म प्रचण्डसँग सहकार्य गरेकै हो । त्यसमा मलाई गर्व छ । अब अगाडिको कार्यभार फरक छ । त्यो गणतन्त्रको जगमा टेकेर एउटा समुन्नत नयाँ नेपाल निर्माण गर्ने भनेको युग नै अर्को हो । 

हामीले समुन्नत संघीय समाजवाद भनेका छौँ । यो हिजोको समाजवादजस्तो होइन । प्रजातान्त्रिक समाजवाद भनेको पुँजीवादकै टेक्ने लौरो हो । साम्यवादसम्म पुग्ने खुड्किलोका रूपमा वैज्ञानिक समाजवाद भनेको हो । हामी समाजवादलाई नै नयाँ गन्तव्य बनाउन खोज्दैछौँ । व्यक्तिको निजी स्वतन्त्रता भएको र सामाजिक दायित्वको पनि उचित समन्वय भएको त्यस्तो नयाँ विचारलाई हाम्रो पार्टीले समाजवादका रूपमा परिभाषित गराउँदै छ । त्यसैले हामी समाजवादबाट दायाँबायाँ छैनौँ ।

प्रचण्ड तपाईंबीचै नयाँ पार्टी बनाउने छलफल हुँदै रहेछ एकाएक बाहिरिनुभएछ होइन ?

उहाँहरूबाट हुने भए हाम्रो आवश्यकतै पर्दैनथ्यो । मैले त्यतिबेला भनेकै हुँ । माओवादीको कार्यभार पूरा भइसक्यो । अलि अगाडि जाने हो भने नयाँ विचार चाहिन्छ । समुन्नत समाजवादको विचार लिएर एउटा नयाँ पार्टी बनाऔँ, माओवादीलाई यही विघटन गरौँ भन्ने प्रस्ताव राखेको हुँ । उहाँले मान्नुभएन । म अगाडिको यात्रामा बढेँ । उहाँ मुग्लिनमै ओर्लिएर खानपानमा लाग्नुभो । पछि एमालेको मलेखुतिर फर्किनुभयो । अहिले मधेस र जनजाति आन्दोलनको झन्डा लिएर उपेन्द्र यादव र अशोक राईसँग अघि बढ्दैछु । अब गन्तव्यमा पुग्न राजपा, विवेकशील वा अरू नै यात्रुसँग सहयात्रा हुन सक्छ ।

एकतामा राजपालाई छोड्नुभो ?

फोरमसँग नाम, झन्डा र चिह्नजस्ता प्राविधिकबाहेक सबै कुरा टुंगिइसकेका थिए । उहाँहरूसँग भर्खर कुराकानी भएकाले अलि समय लिन सक्छ । प्राविधिक रूपमा पनि महाधिवेशनको तयारी भइरहेका कारण हामी एकता गरिहाल्छौँ, त्यसपछि तपार्इंहरूसँग संवाद जारी राख्ने भनेका छौँ । महाधिवेशनसम्म संयुक्त ढंगले नै गरौँ भनेर उठेको हो । पार्टीको केन्द्रीय समिति बसेर वार्ता अघि बढाउने निर्णय भएको छ ।

तपाईंमा वैचारिक विशृंखलता आएको आरोप छ, के भन्नुहुन्छ ?

उहाँहरू पुरानो विचार समातेर बस्नुभयो, म अगाडि हिँड्दैछु । त्यसपछिका लागि अझ समृद्ध विचार चाहियो । अझ बलियो संयन्त्र चाहियो । त्यो यात्रातर्फ अघि बढिरहेको छु ।

मार्क्सवादी विचार पूरै परित्याग गर्नुभयो ?

मार्क्स त मानव जातिले जन्माएको समाजविज्ञानको सर्वश्रेष्ठ चिन्तक हुन् । उनको विचारलाई नमानेर दुनियाँमा अघि बढ्न सकिँदैन । म उनको विचार र पद्धतिलाई मान्छु । तर उनले १९ औँ शताब्दीमा जे भनेका थिए, २१ औँ शताब्दीमा पनि त्यही हुन्छ भन्नु विज्ञानसम्मत हुँदैन । मार्क्सको विचार र उनको चिन्तन पद्धतिलाई अनुसरण गर्नुपर्छ । तर त्यसैका आधारमा बनाइएका राजनीतिक र आर्थिक प्रणालीलाई समयअनुसार बदल्नुपर्छ ।

फेरि उही जातीय संघीयताको मुद्दा ब्युँताउन खोज्नुभएको ?

नेपालको जातीय, क्षेत्रीय र भाषिक विविधता सम्बोधन गर्नकै लागि संघीय अवधारणा आएको हो । संघीयता भनेकै जातीय र भाषिक विविधता भएका देशमा चाहिने हो । संविधानसभाको समिति र आयोगले विज्ञहरू राखेर दिएको प्रतिवेदनअनुसार नेपालका एक प्रतिशतभन्दा बढी जनसंख्या भाषा भएका जाति समुदाय नौ वटा छन्, लिम्बू, खम्बु, तामाङ, नेवार, गुरुङ, मगर, खस, थारु र मधेसी । यिनीहरूको ऐतिहासिक थातथलो भएका ठाउँलाई मिल्ने गरी प्रदेश निर्माण गर्नु उपयुक्त हुन्छ । कर्णाली र डोटीका खसको ऐतिहासिक बनोट, मनोविज्ञान र भाषा फरक भएकाले त्यहाँ दुई प्रदेश भनिएको हो । मरेको मुद्दा ब्युँताइएको होइन । त्यो त त्यहाँ थियो । केही मान्छेले स्याउलाले छोपेर राखेका थिए । आगो तल छ । हरियो सुकेपछि बलिहाल्छ नि । बलेर विस्फोट भएर आउनुभन्दा अगाडि नै हामीले त्यसलाई हल गर्नुपर्छ भन्ने हो ।

मुद्दा कसरी अघि बढ्छ ?

संविधानसभाले स्वीकारिसकेको राज्य पुनर्संरचनाको प्रतिवेदन छँदैछ । कांग्रेस र एमालेले आफ्नो अहंका लागि परित्याग गरे । त्यसलाई सच्याऊँ । त्यसैका आधारमा राज्य पुनर्संरचना गर्न सकिन्छ । नेपालको क्षेत्रीय, जातीय भाषिक विविधताअनुसार राज्य पुनर्संरचना वैज्ञानिक रूपमा गर्न सडक र सदनबाट हामी आवाज उठाउँछौँ । त्यसका निम्ति संविधान संशोधन गराउन प्रयत्न गर्छौं ।

समाजवादी पार्टी सरकारबाट बाहिरिन्छ ?

संविधान संशोधनलाई सघाउन फोरम सरकारमा गएको हो । त्यो सहमति एक वर्षसम्म अघि बढेन । नयाँ समाजवादी पार्टी बनिसकेपछि एक पटक फेरि संविधान संशोधनको मुद्दा हल गर्न अल्टिमेटम दिन्छौँ । त्यसपछि आवश्यक निर्णय गर्छौं ।

माओवादीमा फस्टम्यान हुन नपाएर नयाँ पार्टी खोलेको तर झन् असफल भएको टिप्पणी नि ?

एउटा कथा छ । बाबुछोरा मिलेर घोडा किनेछन् । बाबु चढ्यो भने छोरा किन हिँडाइस् भन्ने, छोरा चढ्यो भने बाबु किन हिँडाइस् भन्ने र अत्तो थाप्ने कुरा हुन् । त्यसको म जवाफ दिन चाहन्नँ । बाबुराम भट्टराई देश र जनताको सेवा तथा सामाजिक रूपान्तरण र मानव जातिको हितमा लागेको मान्छे हो । उसलाई पदले पछ्याइरहेको थियो । एउटा गोठालो जीवनबाट आएको मान्छेका लागि प्रधानमन्त्रीको सपना देख्ने कुरा पनि थिएन । काम गर्दै गएँ, जनताले साथ दिए । मैले कहिल्यै खोज्दा पनि खोजिनँ । त्यसैले त्यो वाहियात कुरा हो ।

उसो भए सेरेमोनियल परिषद् अध्यक्ष हुनुको अर्थ के त ?

सांगठानिक क्रियाशीलतासँगै वैचारिक राजनीतिक काम पनि चाहिन्छ । बाबुराम भट्टराईले यो सबैथोक गर्छ । ६५ वर्षको उमेरमा एक महिनाको यात्रा गरेँ तर हाछ्युँ पनि आएन । नेतृत्वका लागि हामी झगडा गर्दैनौँ । जिम्मेवारी लिएर जुनसुकै पदमा बसेर पनि काम गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् → विशृंखल बाबुराम

प्रकाशित: वैशाख ३१, २०७६