उही जातपातका कुरा

- स्नेह सायमि

बाल्यकालमा एक जना मेरै उमेरको साथी थियो । ऊ र म स्कुलबाट फर्केपछि अँध्यारैसम्म खेत, गोरेटा, भूतघर, पराले कुन्युमा खेल्न हिँड्थ्यौँ । मेरो भित्री भोटोमा एउटा ठूलै खल्ती हुन्थ्यो । त्यो खल्तीभरि मकै–भटमास राखेर खेल्न निस्कन्थेँ । मैदान, गाडी, मोटरसाइकल नभएकाले केटाकेटी खेल्न निस्कँदा आमाबालाई खास डर हुन्थेन । गाउँभरिका मान्छे एकअर्कासँग परिचित हुन्थे । को–कहाँ खेलिरहेछ भन्ने सबैलाई थाहा हुन्थ्यो । पूरै गाउँ एक ठूलो परिवारजस्तै थियो । एक दिन एक गाउँले दिदीले हामी दुई जना अँगालो मारेर मकै–भटमास खाइरहेको देखिन् । अनि मैले मीठो मानेर चपाइरहेको मकै–भटमास गाली गरी–गरी ओकल्न लगाइन् । मानौँ, विष नै खाएको हुँ । भनिन्, ‘तँसँग हिँड्ने साथी त कसाई हो, कसाई । उसले छोएको तैँले खानुहुन्न । लौ ! तेरो खल्तीका मकै–भटमास सबै उसलाई दे ।’ कति मजाको जिन्दगी, कति मजाको दोस्ती ! सबै तुषारापात भयो । यो समाजको नियमसँग हामी दुवै विस्मित भयौँ । कति दिनदेखि दुई जना मिलेर खाईखेली गरिरहेका थियौँ । ती दिदीले हाम्रो मनमा जात र छूत–अछूतको बीउ हालेर गइन् । तर हाम्रो मित्रता रहिरह्यो । मकै–भटमास भने लुकीलुकी खानुपर्‍यो ।

तिनै दिदीको घर र हाम्रो बाको घर सँगै थियो । उनले अलि ढिलो पढ्न सुरु गरेकी थिइन् । मैले अलि चाँडै कक्षा टपेको थिएँ । उमेर अन्तर भए पनि एउटै कक्षामा पढ्थ्यौँ । उनले मलाई आफ्नो घरमा लगेर केही न केही खुवाउँथिन् । उनको घरमा पहिलो तल्ला बैठक कोठा थियो भने त्योभन्दा माथि बुइँगल । बुइँगलमै थियो, भान्सा । भान्साबाट खानेकुरा तल ल्याएर मलाई दिन्थिन् । एक दिन उनलाई बोलाउँदै बुइँगलको भर्‍याङ चढ्न थालेँ । म आधा भर्‍याङ नपुग्दै उनी दगुरेर आइन् र रोक्दै भनिन् ‘तँ माथि नआइज । तैँले मेरो घरको भान्सा छुनु हुँदैन ।’ मैले सोधेँ, ‘किन ?’ ‘तँभन्दा हामी ठूलो जातको ।’ मलाई यस्ता ठूला–साना जात थाहा थिएन ।  त्यो दिनदेखि ती दिदीले बोलाए पनि गइनँ ।

उबेला खेती नै मुख्य पेसा थियो । अचल सम्पत्ति भन्नु जमिन थियो भने चलसम्पत्ति भन्नु अन्न । जसको उब्जनी बढी ऊ धनी । गाउँमा  घरभरिको लुगा दमाईले सिउँथे र वर्षभरिमा जबजब बाली भित्रिन्थ्यो, त्यसको निश्चित अंश दिने चलन थियो । अहिलेजस्तो सिलाएको लुगा गन्ती गरेर ज्याला दिइँदैनथ्यो । हाम्रोमा चामल र तेल पेल्ने मिल थियो, पसल थियो । नुनतेल हुने भएकाले दमाई दाइले त्यसको पनि आश गर्थे । मैले जानी–नजानी १८ वर्षको उमेरमा गाउँ पञ्चायतको चुनावमा एक पक्षमा लागेको थिएँ । चुनावमा लाग्नेको घरमा भेट्न मानिस आउने नै भए । ती दाइ पनि भेट्न आए । मेरै पक्षको प्रधानपञ्चको उम्मेदवारलाई भोट हाल्न भनेँ । कुराकानी गर्न मैले उनलाई बैठकमा लैजान खोजेँ । उनी जान अनकनाइरहे । जबर्जस्ती लगेँ । कुराकानी सकियो । उनी गए । गइसकेपछि मेरा हजुरबाले भन्नुभयो,‘दमाईलाई पनि बैठक कोठामा लाने ? अरूले देखे के भन्लान् ?’‘दमाईले छोएको, सिएको, उसको थुक लागेको लुगा हाम्रो जिउभरि छ । त्यस्तो मान्छेलाई घरको बैठकमा लगेर उनले छुँदा बिटुलिने के होला र हजुरबा ?’ मैले अलि–अलि तर्क गरेँ । हजुरबासँग खासै तर्क थिएन । उहाँ त्यति बोल्न नजान्ने । ‘पहिलेदेखिको चलन’ भन्नुभयो । मलाई के लाग्यो भने विरोध त उनको पनि होइन, तर डर थियो, अरूले देख्लान् भन्ने ।

मेरा पुराना दुई बाहुन मित्र थिए र छन् । एक, हरिगोविन्द लुइँटेल र अर्का, राजेन्द्र अधिकारी । एक दिन हरिगोविन्दजीको घरमा बिहानको खाना खाने निम्तो आयो । हरिगोविन्दजीका पिताजी काठमाडौँ पश्चिम भेग अर्थात् वाणभन्ज्याङदेखि कालीमाटीसम्म नाम चलेका, कर्मकाण्ड र रीतिथितिको व्याख्या गर्न सक्ने पण्डित हुनुहुन्थ्यो । उबेला बाहुन थरका मान्छे भेट्यो कि उनीहरूको हातका औँलाले निधारमा ढोग्ने–ढोगाउने चलन थियो । नैकापतिर त अरू जातका बूढाहरूले  (नेवारहरूले पनि) मभन्दा कम उमेरका बाहुनलाई अर्थात् मेरा बाहुन साथीको फुच्चे भाइलाई समेत ‘भाग्या ति बाज्या’ भन्थे । ती भाइले आफ्नो हातको चारऔँला फर्काएर ढोगाउँथे । सोचेँ, हरिगोविन्दजीको घरमा मलाई  छुट्टै राखेर खुवाउँछन् या भान्सामा बसेर खान अप्ठेरो हुनाले उहाँ पनि बाहिर बसेर खान आउनुहुन्छ । तर त्यस्तो भएन । उहाँको पूरै परिवार भान्सामा मसँगै बसेर खान तयार । प्रेमपूर्वक आमा र भाउजूले खाना पस्किए । दूधसहितको मीठो शाकाहारी खाना खाइयो । त्यो पण्डित परिवारमा भने छूवाछूत देखिएन । त्यही प्रेमपूर्ण व्यवहार राजेन्द्र अधिकारीको घरमा पनि थियो । उहाँको भान्सामा आमाले खुवाउनुभएको अहिले पनि याद छ । मलाई बाल्यकालमै जातपात दिमागमा छिराएपछि बाहुनहरूले सँगै खाना खाइदिएको पनि ठूलै गुन लगाएको सम्झिनुपर्ने स्थिति थियो ।

नैकाप बानियाँ गाउँको सेढाईं परिवारसँग सल्यानथानको खनाल र दाहाल परिवारसँग बुबाको अन्तरंग सम्बन्ध थियो । बुबालाई भेटेर नेपालभाषामै घरका सुखदुःखका कुरा गर्ने, घरको अन्न बेच्न, अन्न बेचेर आएको पैसाले दालतेल किन्न, गाईको दानामा मिसाउन पिना लिएर जान, तमाखु खान बाकहाँ नै भेला हुन्थ्यो । त्यहाँ तमाखुको हुक्का जातअनुसार छुट्याइएको हुन्थ्यो ।

जातका कारण हुने सेन्सरसिप र सेल्फसेन्सरसिपका धेरै घटना छन् । जानी–नजानी, त्यो अहिले पनि चलेको छ । यस विषयमा अझै नियमित छलफलको खाँचो छ ।

प्रकाशित: वैशाख ३१, २०७६