‘दाताको पैसाले अभियानको मर्म मर्छ’

- मनबहादुर बस्नेत

रंगकर्मी आकांक्षा कार्की लैंगिक समानताको अभियानमा छिन्, योनीका कथाहरुमार्फत । सोही शृंखलाको प्राइभेट इज पोलिटिकल नाटक टेकुस्थित कौशी थिएटरमा चल्यो । यसै मेसोमा नाटककी निर्देशक कार्कीसँग संवाद :

यौनिकतामाथि कसरी राजनीति हुँदोरहेछ ?

पितृसत्ताको आयाम नै यस्तो छ कि यसमा महिलालाई शारीरिक र मानसिक रुपमा कमजोर बनाइएको छ । कमजोरमाथि शक्तिशालीले राजनीति गर्छ । यो हजारौँ वर्षदेखि चलिरहेको छ । शिक्षा, चेतनाका कारण अहिले ओकलिएको मात्र हो ।

तपाईं आफैँ यस्तो राजनीतिको सिकार बन्नुभएको छ ?

यौन दुर्व्यवहारमा नपर्ने महिला सायदै होलान् । ३ कक्षामा पढ्थेँ । विद्यालय पोसाक सिलाउन जाँदा टेलरवालाले संवेदनशील अंगमा छोएको थियो । मैले कसैलाई भन्न सकिनँ । तर वर्षौंसम्म उक्त घटना सम्झेर असहज भइरह्यो ।

योनीका कथाहरुको अभियान चलाउने सोच कसरी आयो ?

भारतमा प्रदर्शित योनीका कथाहरु नाटकमा खेलेकी थिएँ, ८ वर्षअघि । त्यसक्रममा त्यहाँका प्रगतिशील सोचका महिलासँग भेट भयो । आपसमा अनुभव बाँड्थ्यौँ । त्यो प्रभावले अभियान सुरु गरियो ।

नेपालमा यौनिकताको समस्या ठूलो हुनुको कारण के देख्नुहुन्छ ?

यौनिकतालाई हामीले दबाएका रहेछौँ । यसलाई व्यक्त गर्ने शब्द एकदमै सीमित रहेछन् । महिला हिंसाको एउटा कारण यो हो ।

यो अभियान कहाँसम्म पुर्याउने ?

कहिलेकाहीँ दिक्क लाग्छ । मलाई विदेशीको नक्कलमा समाज भाँडेको आरोप लगाउँछन् । तर म यसलाई राजनीति नै हो भन्छु । त्यसैले अभियान कहाँसम्म पुर्‍याउन सक्छु, थाहा छैन । 

अभियान बन्द गर्न दबाब पनि आउँछ ?

‘अतिवादी कुरा गरेर हिँड्ने ?’ भन्दै धम्की आउँछ । सुरुमा त छाडिदिऊँजस्तो लाग्थ्यो ।  अहिले त्यस्ता धम्की बेवास्ता गर्छु ।

अबचाहिँ डटेरै सामना गर्ने ?

छाडिदिऊँ र गाउँतिर एकान्तबास बसौँजस्तो अहिले पनि लाग्छ । तर जब कोही पुरुष आएर ‘तपाईंको कामले मेरो जीवन बदलियो’ भन्छ । त्यसले फेरि काम गर्ने ऊर्जा दिन्छ ।

लैंगिक समानतामा अभियानको योगदान के छ ?

समानतासम्बन्धी संवाद सिर्जना गर्‍यो । पुरुषलाई कम्तीमा पनि आफ्नो व्यवहारबारे सोच्न बाध्य बनाएको छ ।

लैंगिक असमानता बढ्नुमा पुरुष मात्रै हिस्सेदार हुन्छ ?

पुरुष नभई पितृसत्ता समस्या हो । यो संरचनाले पुरुषलाई बलियो र महिलालाई कमजोर बनाउँछ ।  यो शक्तिको खेल न हो ।

रंगमञ्चभित्रै महिलामाथि यौन दुर्व्यवहारका घटना सार्वजनिक भए नि ?

यो समाजकै समस्या हो । रंगमञ्च पनि समाजकै एउटा अंग भएकाले अछूतो हुनै सक्दैन ।

राजधानीको रंगमञ्चले मात्रै समाजको चेतना उघार्न सक्ला ?

सकिँदैन । तर हामीसँग विकल्प पनि छैन । दाताको सहयोग लिँदैनौँ । आफ्नै स्रोतबाट पोखरालगायत केही सहरमा नाटक लैजाने विचार छ ।

दाताको सहयोगमा के खराबी छ ?

जस्ताको तस्तै नाटक स्वीकारे भने सहयोग लिन्छौँ, नत्र लिँदैनौँ । सहयोग लिएपछि अन्तरआत्माले रुचाएको काम गर्न सकिँदैन । त्यतिबेला यो अभियानको मर्म मर्छ ।

प्रकाशित: वैशाख ३१, २०७६