आत्मरतिको रोग

- गोकर्ण गौतम

वर्ष ०७५ मा ९६ फिल्म प्रदर्शन भए । छक्का–पञ्जा ३ सुपरहिट भयो । ए मेरो हजुर ३ ले घरेलु बजारबाटै नाफा कमायो । तर दुवैले सकारात्मक प्रतिक्रिया पाएनन्, खासगरी समीक्षकबाट । छक्का–पञ्जा ३ मा बिनाअर्थ र प्रसंगका कमेडीलाई प्रश्रय दिइएको छ । लाग्छ, हसाउनुबाहेक अर्को उद्देश्य छैन । ए मेरो हजुर ३ को चाहिँ कथा मात्र होइन, प्रस्तुत शैली पनि भरमार बासी छ, त्यो पनि बलिउडबाट पूरापूर प्रभावित । जबर्जस्ती घुसाइएका द्विअर्थी संवादले फिल्ममेकरको नियत प्रस्ट पार्छ ।

फिल्म मनोरन्जनको सस्तो साधन मात्र होइन । यसको विशिष्टता व्यापारले मात्र निर्धारण गर्दैन । सिर्जनशीलता, सौन्दर्य र शिल्पले खास अर्थ राख्छ । सोही कारण यी फिल्मले मिडियाबाट प्रशंसा पाएनन् । फ्लप फिल्मका निर्माता/निर्देशक त आलोचनालाई पचाउन सक्दैनन् भने छक्का–पञ्जा ३ र ए मेरो हजुर ३ त हिट फिल्म भइहाले ।

छक्का–पञ्जा ३ का निर्माता/अभिनेता दीपकराज गिरी आफूले भनेअनुकूल समीक्षा आएन भनेर बरोबर आक्रोशित भइरहन्छन् । उनको आशय हुन्छ, मेरा फिल्मले पैसा कमाउँछन्, त्यसैले सबैले नतमस्तक भएर स्वीकारी दिनुपर्छ । अवगुण औँल्याउनुपर्दैन । उनी भन्ने गर्छन्, ‘भारतमा कमेडी फिल्मले राम्रो रेटिङ पाउँछन् तर नेपालमा सौतेनी व्यवहार गरिन्छ ।’

यति मात्र होइन, उनले आफ्ना फिल्मलाई मुन्ना भाइ एमएबीबीएससँग दाँजे । भारतको चिकित्सा शिक्षामाथि तीखो व्यंग्य गरिएको यस फिल्ममा हँसाउने लहडमा पात्र र कथाको भाव तोडमोड गरिएको छैन । हेरिरहँदा आनन्दित भइन्छ, हेरिसकेपछि मनमा सवाल खडा हुन्छन् । अर्थात्, प्रभावकारी मनोरन्जन । त्यसैले यसले पैसा कमायो, प्रशंसा पनि । तर गिरी आफैँले यस फिल्मसँग छक्का–पञ्जा दाँज्नु कत्तिको शोभनीय होला ? प्रशंसा र सम्मान सर्जक आफैँले आर्जन गर्ने कि हारगुहार गरेर माग्ने ?

गिरीसँगै अधिकांश नेपाली फिल्मकर्मीले भुलेको तथ्यचाहिँ, भारतमै रोहित शेट्टीका एक्सन कमेडी फिल्मले बक्सअफिसमा धूम मच्चाउँछन् । टोटल धमाल मार्काका कमेडी फिल्मले पनि पैसा छाप्छन् । तर रोहित शेट्टीहरू कहिल्यै समीक्षा राम्रो आएन भनेर तीतो पोख्दैनन् । चेन्नाई एक्सप्रेस शाहरुखको सबैभन्दा कमाउने फिल्म भए पनि यसलाई गन्यमान्य समीक्षकले समयको बर्बादी भनेर लेखे । तर न शाहरुखले रोइलो मच्चाए, न त रोहितले । आफ्नो फिल्मको दायरा बुझेपछि यस्तै हुन्छ सायद ।

हलिउडमा पनि माइकल बेका फिल्महरूले बक्सअफिसमा कमाल गर्छन् तर समीक्षकबाट खास तारिफ पाउँदैनन् । कमाइमा रेकर्ड राखेका कतिपय फिल्मको अवार्डमा शून्य उपस्थिति हुन्छ । कतिचाहिँ बक्सअफिसमा निम्छरो सावित भएका फिल्मले प्रतिष्ठित अवार्डमा वाहवाही पाउँछन् । जस्तो, यही वर्ष ओस्कार अवार्डमा रोमा दस विधामा मनोनयनमा पर्‍यो । सीएनएनका अनुसार यसको आधिकारिक कमाइ शून्य छ । ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड चुमेको द हर्ट लकर पनि बक्सअफिसमा असफल भएको थियो । यसको मतलब हो, व्यापार सिनेमाको उत्कृष्टताको मानक होइन । कला पहिलो सर्त हो । बिक्ने सबै वस्तु विशेष हुँदैनन् ।

फिल्म परोपकार होइन, आफ्नो रोजाइअनुसार गरिने सिर्जन–कर्म हो । यसमा आफ्नै स्वार्थ हुन्छन्, सन्तुष्टि पाउने, नाम र पैसा कमाउने आदि–इत्यादि । तर हाम्रा अधिकांश फिल्ममेकर सिनेमा बनाएर ठूलै उपकार गरिदिएझैँ ठान्छन् । ए मेरो हजुर ३ की निर्देशक झरना थापाकै कुरा गरौँ । हलमा दर्शकको भीड थियो, त्यही बेला समीक्षकबाट चर्को आलोचना खेप्नुपर्‍यो । रिसले चूर झरनाले एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा लगातार १५ मिनेट समीक्षकलाई गाली गरिन् । उनको भनाइ छ, ‘मैले फिल्म बनाउन छाडेँ भने प्राविधिक र कलाकारले काम पाउँदैनन् । दर्शकले के हेर्छन् ? पत्रकारले कसरी जागिर खान्छन् ?’

भलै त्यसको केही दिनपछि उनका फिल्मका प्राविधिकले पारिश्रमिक नपाएको समाचार छापियो । त्यति मात्र होइन, आफ्नै फिल्मका कारण तिलिचो र गोक्योमा पर्यटक बढेको दाबी छ, झरनाको ।

युवास्टार प्रदीप खड्का अभिनीत लभ स्टेसन टर्किस फिल्म सेबिम्ली तेल्केली र हर से असक्तनको हुबहु कपी रहेछ । मौलिकताको बहस भइरहेका बेला चोरिएका फिल्मलाई निरुत्साहित गर्नु समीक्षकको दायित्व हो । संसारका हरेक कुनामा बन्ने फिल्ममा इन्टरनेटका माध्यम पहुँच हुने यो जमानामा चोर्नु त दर्शकमाथिको अपमान हो ।

वास्तविकता बाहिर आइसक्दासमेत लभ स्टेसनका निर्देशक उज्ज्वल घिमिरे र अभिनेता प्रदीपले गल्ती स्वीकारेनन् । घिमिरेले त एक अनलाइनमा प्रकाशित ‘चोर्नु जायज हो’ भन्ने आशयको लेख आफ्नो फेसबुकमार्फत डलर तिरेरै प्रचार गरिरहे । प्रदीपको तर्क त अझ लाजमर्दो छ । ‘समीक्षा भनेको चलचित्र चलेको एक साताको बिहीबार अन्तिम सोपछि गर्ने हो,’ उनले क्यामेरा अगाडि उभिएर भनेछन्, ‘ हलमा दर्शक कति आए, दर्शकले के भने ? फिल्ममेकरसँग सल्लाह गरेर समीक्षा गर्नुपर्छ ।’

प्रदीप पढेलेखेका अभिनेतामै गनिन्छन्, नयाँ पुस्तामा एक खालको लोकप्रियता पनि छ । तर उनको सिनेमा र समीक्षाप्रतिको यो चेतले के प्रतिविम्बित गर्छ ? ठग्स अफ हिन्दोस्तान फ्लप भयो, नकारात्मक प्रतिक्रिया पायो । तर आमिर खानले समीक्षकलाई पाठ पढाएनन् । बरु गल्ती भएको स्वीकार्दै क्षमायाचना गरे । जिरोबाट दर्शक निराश भएपछि शाहरुख खानले पटकथा चयनमा चुकिरहेको स्वीकारे । तर हामीकहाँ कि दर्शकले बुझेनन् भनिन्छ कि समीक्षकले खोइरो खने भनेर कुण्ठा पोखिन्छ ।

दालभात तरकारीको चौतर्फी आलोचना भएपछि निर्माता/कलाकार किरण केसीले आफूहरूलाई ‘दुव्यर्वहार’गरेको दुखेसो (आक्रोश ?) पोखे । उनको आशय थियो, चार दशकदेखि कलाकारिता गरिरहेको टिमले फिल्म बनाएकाले धन्य भएर हेरिदिनुपर्‍यो । फिल्म बनाएर चार सयलाई रोजगारी दिएको फुइँ हाँके । जबकि यस फिल्म छक्का–पञ्जा सिरिजबाट बनेको कमेडी फिल्मको बजारको ब्याज खाने नियतले बनाइएको बेतुक र अतिरञ्जित हास्यभण्डारझैँ मात्र हो । तर यो वास्तविकता मनन हुन्न, बरु महान फिल्म बनाएको भ्रममा मस्त हुन्छन् ।

प्रायः नेपाली फिल्ममेकर रिलिजको मुखमा भन्ने गर्छन्, ‘मेरो फिल्मको समीक्षा दर्शकले गर्ने हो, समीक्षकले होइन । मैले दर्शकका लागि फिल्म बनाएको हो, समीक्षकलाई होइन ।’ एकातिर  सर्जक समीक्षाप्रति यति तर्कनुले उसको सोचाइ स्तर झल्कन्छ । अर्कोतिर हरेक दर्शक आफैँमा समीक्षक र हरेक समीक्षक आफैँमा दर्शक हुने तथ्यबाटै बेखबर छन् फिल्मकर्मी । कतिचाहिँ दर्शक भड्कने भन्दै रिलिज भएको दिन समीक्षा नगर्न हारगुहार गर्छन् ।

सार्वजनिक मञ्चमा गइसकेको सिर्जनामाथि आउने तीखा/मीठा सबै प्रतिक्रिया ग्रहण गर्नु विवेकशील सर्जकको धर्म हो । समीक्षा बहस हो । बहसले नै सिर्जनालाई आयु दिन्छ । त्यसैले समीक्षा हुँदा फिल्ममेकर तीन बित्ता उफ्रने कि त्यसलाई आत्मसात गर्ने ? समीक्षा वा सिनेमामाथि लेखिने हरेक कन्टेन्टले दर्शकको सिनेमा साक्षरता वृद्धिमा भूमिका खेल्छ । फिल्मप्रति उत्सुकता पैदा गर्छ । यसो हुनु फिल्म हेर्ने दर्शक निर्माण हुनु हो, न कि भड्काउनु । समीक्षक पाठकप्रति उत्तरदायी हुन्छ, न कि फिल्ममेकरप्रति ।

भुल्न नहुने अर्को तथ्य, दर्शकको रोजाइको स्वादअनुरूप फिल्म बनेको छ भने नकारात्मक समीक्षाले पनि व्यापारमा खास फरक पर्दैन । फ्यानले हेर्छन् नै । शत्रुगतेको सुरुआतबाटै चर्को आलोचना भयो, तर १२ करोडमाथिको व्यापार गर्‍यो । नाईं नभन्नु ल सिरिज, छक्का–पञ्जा सिरिज, ड्रिम्स उदाहरण टन्नै छन् । हरि, सेतो सूर्य, बुलबुल, तान्द्रोजस्ता फिल्मले तारिफअनुसार व्यापार गरेनन् । पैसा नकमाउँदैमा सिनेमा निर्बल हुने होइन । हरेक उत्कृष्ट कला बिक्छ भन्ने छैन । अनि हिट फिल्मको आलोचना गर्नुहुन्न, जस्तो छ, त्यस्तै मन पराउनुपर्छ भन्नु र अहिले दुई तिहाइको सरकार छ, त्यसैले जस्तो निर्णय गर्छ, शिरोधार गर्नुपर्छ भन्नु एउटै हो ।

सुन्दा तीतो लाग्न सक्छ । तर सत्य हो, कला, सौन्दर्य, सामाजिक चेत, शिल्प र बजारको वस्तुगत विश्लेषण गर्दा नेपाली सिनेमा अझै कुवामा छ । योभन्दा दुर्भाग्यचाहिँ महासागरमा छु भन्ने फिल्मकर्मीको भ्रम । जबसम्म यो निमिट्यान्न हुन्न, नेपाली सिनेमाले खास महासागरमा डुबुल्की मार्ने छैन ।

आत्मरतिले प्रगतिलाई छेक्छ ।

प्रकाशित: वैशाख ३०, २०७६