नानीदानी चिनीमैयाँ

- भिषा काफ्ले

केही साताअघि तिलगंगा आँखा प्रतिष्ठानले आँखा प्रत्यारोपणको नयाँ प्रविधि ल्याएको छ । चलनचल्तीको प्रविधिबाट एक जना मृत व्यक्तिको आँखाको नानी दुई जनालाई मात्र प्रत्यारोपण गर्न मिल्थ्यो । पछिल्लो प्रविधिले नानीको संक्रमित निश्चित पत्र प्रत्यारोपण गरेर एकै जनाले दान गरेका आँखाबाट चार जनासम्मको गुमेको दृष्टि फर्कन्छ ।

नयाँ प्रविधि अवलोकनपछि आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वयनासँग थप जानकारी लिँदै गर्दा भित्तामा राखिएको एक महिलाको श्यामश्वेत तस्बिरले तान्यो । तस्बिर तल लेखिएको थियो, ‘नेपालको पहिलो आँखादान गर्ने चिनीमैयाँ तुलाधर ।’

पत्रपत्रिकामा उतिसाह्रो नदेखिएकी यी पात्रप्रति कौतूहल जाग्नु स्वाभाविक हो । स्थापनाकालदेखि तिलगंगासित जोडिएका व्यवस्थापक त्वयनाले डा रीता गुरुङसँगको सहकार्यमा चिनीमैयाँको आँखाको नानी निकालेका रहेछन् । आखिर चिनीमैयाँ तिलगंगाको सम्पर्कमा कसरी आइपुगिन् ?

त्वयनालाई २४ वर्ष अगाडिको त्यो फोन संवाद कण्ठ छ ।

२८ कात्तिक ०५१ । त्वयना तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकमा नानी प्रत्यारोपणका लागि पालो कुरेर बसेका बिरामीको सूची तयार गरिरहेका थिए । त्यही बेला रिसेप्सनबाट फोन रिसिभ गर्न उनलाई बोलाइयो । त्यो फोन वीर अस्पतालको मेडिकल वार्डबाट आएको थियो ।

रिसिभर हातमा लिए ।

‘एक बिरामीले आँखाको नानी दान गर्ने भन्नुभएको छ, तपाईंहरू नानी निकाल्ने गरी तत्काल आउनुहोला,’ उताबाट भनियो ।

‘कति बेला मृत्यु भएको ?’ त्वयनाले सोधे ।

‘मृत्यु त भएको छैन, अन्तिम अवस्थामा हुनुहुन्छ,’ उताबाट उत्तर आयो ।

‘जानकारीका लागि धन्यवाद । तर नानी निकाल्न मानिसको मृत्युपछि मात्र सम्भव छ । हामी सम्पर्क गरिरहन्छौँ,’ त्वयनाले सम्झाए ।

फोनबाटै उनले दाताको पूरा ठेगाना र अस्पतालको बेड नम्बरसम्म टिपेर राखे ।

नाम : चिनीमैयाँ तुलाधर

ठेगाना  :  ढोकाटोल, काठमाडौँ

जन्म मिति  : १ माघ २००६

उपचार भइरहेको अस्पताल  : वीर अस्पताल

वार्ड  : मेडिकल वार्ड

फोनमा बोल्दाबोल्दै उनी उत्साहित भइसकेका थिए । डा सन्दुक रुइतलाई खबर सुनाउने हतारो थियो उनलाई । नेपालमै पहिलो पटक आँखाको नानी दान गर्न तयार भएको अवस्था जो थियो । “फोन राख्न नपाउँदै दौडेर खबर सुनाउन डा रुइतको कोठामा पुगेँ,” उनी सम्झन्छन्, “उहाँ त झन् मभन्दा पनि उत्साहित देखिनुभयो ।”

विभिन्न संक्रमणका कारण आँखाको नानीमा असर परी दृष्टि गुमाएका नेपालीको दृष्टि फर्काउने डा सन्दुकको सपनाको दोस्रो खुड्किलो तयार गर्थ्यो त्यसले । यसअघि नेपालमै नानी प्रत्यारोपण हुने गरे पनि सबै नानी विदेशीको दान हुन्थ्यो । “कुनै देशले नानी पठाइदेला र बिरामीमा प्रत्यारोपण गरिदिउँला भनेर त्यो लिस्ट तयार पारिन्थ्यो,” त्वयना भन्छन् ।

डा रुइतको निर्देशनपछि पाँच दिन र चार रातसम्म त्वयना दिउँसोको नियमित कार्यकक्षमा काम गर्थे भने राती वीर अस्पतालबाट फोन आउला कि भनेर रिसेप्सनको सोफालाई ओछ्यान मानेर सुत्थे । रिसेप्सनमा फोनको घन्टी बज्यो कि आफैँलाई कल आएको सम्झेर दौडिन पुग्थे । सुताइ पनि कम भएको थियो त्यो पाँच दिन ।

वीर अस्पतालबाट फोन आएको दुई दिन बित्दा पनि थप खबर आएन । डा रुइतको कडा निर्देशन थियो, ‘त्यो मिस होला है ।’ त्वयनालाई उकुसमुकुस भइसकेको थियो । अनि कसैलाई नभनी उनी सुटुक्क वीर अस्पताल पुगे । नपत्याउँदो तरिकाले बिरामीको नजिक गए । बिरामी अस्पतालमै रहेको निर्क्योल गरेर फर्किए । त्यो बेला नानी प्रत्यारोपणको पालो कुरेर बसेका झन्डै ४ सय ५० बिरामी प्रतीक्षा सूचीमा थिए । त्वयनालाई चासो भयो, काठमाडौँको नेवार समुदायकी ती महिला को होलिन् ? परिवारलाई कसरी मनाउन सकिन् होला ?

उनी थप दुई रात रिसेप्सनकै सोफामा सुते ।

२ मंसिर ०५१ । फोन आएको पाँचौँ दिनको दिउँसो । वीर अस्पतालबाट पुनः फोन आयो, ‘चिनीमैयाँको मृत्यु भयो, नानी निकाल्न आउनुहोला ।’

त्वयना डा रीता गुरुङसँगै वीर अस्पताल पुगे । परिवारका सदस्यबीच रुवाबासी चलिरहेको थियो । उनीहरूले चिनीमैयाँका दाजु राजेन्द्र तुलाधरलाई भेटे । फार्मेसी पढेका उनले बहिनीको आँखादान गर्ने चाहनालाई स्वीकार नगर्ने कुरै भएन । आधा घन्टा लगाएर नानी निकालियो । त्यही रात डा रुइत आफैँले शल्यक्रिया गरेर दुई नेपालीमा त्यो नानी प्रत्यारोपण गरिदिए । उनले सुरु गरेको यो महादानको बाटोलाई पछ्याउँदै अहिलेसम्म १३ हजार ५ सयभन्दा बढी आँखाको ज्योति गुमाएकाले पुनः संसार हेर्न पाएका छन् ।

आखिर को हुन् त चिनीमैयाँ ? ढोकाटोल ठेगाना भएका फोटो पत्रकार साथी ईश्वर श्रेष्ठलाई सम्झिएँ । उनले वडाध्यक्ष शशीलाल श्रेष्ठसँग सम्पर्क गराइदिए । चिनीमैयाँको नाम लिनासाथ वडाध्यक्षले उत्सुकताका साथ सम्झिए । “हाम्रो छरछिमेकमा उहाँलाई नचिन्ने को होला र ?” शशीलालले भने, “सामाजिक काममा उहाँजतिको अग्रसर हुने महिला त्योभन्दा पहिले मैले कमै देखेको थिएँ ।”

उनले छाउनीका वडाध्यक्ष ईश्वरमान डंगोलसँग सम्पर्क गराइदिए । उनले सहजै चिनीमैयाँका दाजु राजेन्द्र तुलाधरसँग फोन सम्पर्क गराइदिए । राजेन्द्रले भोलिपल्ट दिउँसो १२ बजेको समय दिए । छाउनीस्थित सैनिक अस्पताल गेटमा पर्खिएर बसेका रहेछन्, राजेन्द्र तुलाधर, ७३ । उनले सुनाए महादानी बहिनीको जीवनी ।

गोविन्दबहादुर र पूर्णदेवी तुलाधरका सात सन्तानमध्ये एक रहिछन् चिनीमैयाँ । सानै उमेरदेखि सामाजिक काम भनेपछि अरू काममा ध्यानै दिँदैनथिन् । कसैलाई सहयोग गर्नुपर्नेछ भने न घरको काम, न पढाइ, न त जागिरकै मतलब हुन्थ्यो ।

उनले १० कक्षासम्म स्थानीय शान्ति निकुञ्ज विद्यालयमा अध्ययन गरिन् भने स्नातक पद्यकन्या क्याम्पसबाट पूरा गरिन् । नेपाल बैंकमा जागिरे जीवन सुरु गरिन् । जागिरे जीवन हुँदाहुँदै पनि उनी सामाजिक कामबाट भने कहिल्यै टाढा रहन सकिनन् ।

राजेन्द्रका अनुसार चिनीमैयाँ समस्या परेका मानिसको सामाजिक रूपमा गर्जो टारिदिने मात्र नभएर अड्डा अदालतमा पुगेर अन्याय परेकालाई न्याय दिलाउनसमेत लागिपर्थिन् । उनको हक्की स्वभाव र कसैलाई अन्यायमा परेको देखिनसहने बानीले कहिलेकाहीँ सरकारी जागिरे दाजुलाई पनि अप्ठेरो पार्थ्यो ।

“पञ्चायतको समय थियो, बहिनीको समाजसेवाको भावनामा धेरैले शंका गर्थे,” उनी पुराना पल सम्झन्छन्, “म सरकारी मान्छे भएको हुँदा कति अड्डाका हाकिमले त तेरी बहिनीलाई सम्झाएर राख है भनेर पनि तर्साउन खोज्थे ।” हाकिमहरूले जे–जे भने पनि उनलाई बहिनीप्रति पूरा विश्वास थियो, ‘बहिनीले सही कुरा मात्र गर्छे ।’ अनि सबै कुरा सुनिसकेपछि भन्दिन्थे, ‘कसैलाई सहयोग गर्नुहुँदैन र ? सहयोग गर्दा के बिग्रन्छ ?’

सामाजिक काममा मात्र होइन, आमा, आफूमुनिका बहिनी र भाइको सम्पूर्ण हेरविचार पनि चिनीमैयाँ नै गर्थिन् । कसले के खाए/नखाएको, कसलाई खर्च चाहिएको, परिवारको कुन सदस्य के गर्दै छ, सबै उनैको जिम्माजस्तै हुन्थ्यो । “ठूलै खर्च गर्नुपरे मात्र मसँग माग्थिन्,” राजेन्द्र भन्छन्, “नत्र उनैले सबै घरव्यवहार पनि चलाएकी थिइन् ।”

४०–५० को दशकमा नेपाल भाषाका पत्रपत्रिकामा चिनीमैयाँको नाम खुबै छाउँथ्यो । नेपाल भाषामा प्रकाशित हुने प्रायः साप्ताहिकमा उनका केही न केही साहित्य रचना छापिएकै हुन्थे । साहित्यसँगैको समाजसेवाले चिनीमैयाँलाई आँखादान गर्न प्रेरित गर्‍यो ।

०५० मा राजेन्द्र तालिमका लागि लन्डन गएका बेला चिनीमैयाँमा मुटुसम्बन्धी समस्या देखिएछ । वीर अस्पतालमा मुटुको शल्यक्रिया गरियो र ठीक पनि भयो । तर पछि दुवै मृगौलामा समस्या देखियो । त्यसबेला नेपालमा अहिलेजस्तो मृगौला प्रत्यारोपण सुरु भइसकेको थिएन । वीर अस्पतालमा एउटा मेसिनबाट डायलसिस सेवा प्रदान गरिन्थ्यो ।

थप केही उपचार होला कि भनेर भारतको गंगाराम अस्पताल लगियो । त्यहाँका चिकित्सकले अमेरिका लैजान सके केही होला कि भन्ने सल्लाह दिए । तर त्यहाँ लैजाँदा पनि उपचार निश्चित नभएको र आर्थिक अवस्थाले नभ्याउने भएपछि नेपाल फर्काएर वीर अस्पताल राखियो । वीर अस्पताल आइपुगेपछि चिनीमैयाँले दाजुलाई भनिन्, ‘अब म बाँच्दिनँ, मेरो आँखादान गरिदिनू ।’ आँखामा टिलपिलिएका आँसु पुछ्दै राजेन्द्र सम्झन्छन्, “उसले त जिउँदै हुँदा नै दान गर्छु भनेर जिद्दी गरेकी थिई ।”

नेपालको आँखादानसम्बन्धी कानुनमा जिउँदै मानिसको आँखा निकाल्न पाइँदैनथ्यो । त्यही भएर जिउँदो छँदै दान गर्ने उनको इच्छा तत्काललाई पूरा भएन । तर पछि इच्छाअनुसार उनको मृत्यु भएकै दिन नानी निकालेर अरूमा प्रत्यारोपण गरियो । र, चिनीमैयाँको नाम पहिलो नेपाली नानीदानीका रूपमा सधैँका लागि लेखियो । राजेन्द्रलाई लाग्छ, अझै पनि उनकी बहिनीका आँखाले कतै न कतै संसार देखिरहेका छन् । “ती आँखा लिने मानिसलाई कतै देख्न पाए हुन्थ्योझैँ लाग्छ,” उनी भन्छन्, “तर ती हेर्ने मानिसलाई भेट्न मन होला, नहोला ।”

प्रकाशित: वैशाख ३०, २०७६

ट्याग: समाज