दोकरा

- शब्द/तस्बिरः मैत्या घर्तीमगर

रुकुम पूर्वमा एक सिजनमा गहुँ पाक्छ भने अर्को सिजनमा मकै । यिनै अन्नले यहाँका बासिन्दको दैनिक गुजारा चल्छ । स्थानीयले अन्नबाली घर भित्र्याएपछि घरको छत वा आँगनमा राखेर घाममा सुकाउँछन् । सातदेखि दस दिनसम्म घाममा सुकाएपछि काँचो अन्न भित्री भागसम्मै सुक्छ । यसलाई भण्डारण गर्न निगालाबाट विशेष प्रकारको भकारी निर्माण गरिन्छ । यसलाई स्थानीय भाषामा दोकरा भनिन्छ ।

दोकरा हावा र घाम राम्रोसँग लाग्ने ठाउँमा बनाइएको हुन्छ । सुकिसकेको मकैलाई तलबाट चिसो नलाग्ने गरी दोकराभित्र चाङ मिलाएर राखिन्छ ।

हिउँपानीबाट बचाउन यसको माथिल्लो भागमा परालले छाउने गरिन्छ । यसरी भण्डारण गर्दा अन्नबालीमा घुनकिरा नलाग्ने हुँदा लामो समय टिक्ने स्थानीय बताउँछन् । घुनकिराले अन्नबाली खाइदिने समस्या पनि कम मात्रै हुन्छ । भण्डारण गरिएको मकैबाट स्थानीय आवश्यकताअनुसार जाँतोमा पिँधेर ढिँडो वा रोटी नै बनाएर खान्छन् । यस्तो खान्की स्वादिलोका साथै शक्तिवर्द्धक हुने उनीहरुको अनुभव छ ।

तस्बिरहरु हेर्नुहोस् :

प्रकाशित: वैशाख २९, २०७६