मेरो सरकार

- सुरेश किरण

सम्माननीय राष्ट्रपतिज्यूले ‘मेरो सरकार’भनेपछि यो कसको सरकार भन्ने विवाद भयंकर रुपमै उठ्यो । सडकमा, संसद्मा र सायद सरकारमा पनि यसले प्रश्न जन्माइदिएको छ । अब धेरैको बुझाइ छ, राष्ट्रपतिले यसलाई मेरै सरकार भन्छिन् भने त्यो ठीकै हो । वास्तवमा यो राष्ट्रपतिकै सरकार हो । यो राष्ट्रपतिको सरकार हो किनभने यो खड्ग ओलीजीको सरकार हो– यो कारणले होइन । यो राष्ट्रपतिको सरकार यस कारणले हो कि अहिले देशमा राष्ट्रपतिले जे भन्छिन्, त्यो मजाले चल्छ । राष्ट्रपतिले जे आदेश दिन्छिन्, त्यो क्षणभरमै पूरा हुन्छ । उनले जब १८ करोडको गाडी चाहियो भन्छिन्, मन्त्रिपरिषद्ले झटपट त्यसको तयारी गरिहाल्छ । उनले प्रहरी तालिम केन्द्र सार्नुपर्‍यो भनिन् भने त्यो सार्ने काम पनि तुरुन्तै सुरु भइहाल्छ । प्रधानमन्त्रीले नै पठाएका कति विधेयक उनले राष्ट्रपति भवनमै थन्काइदिएको हामीलाई थाहा छ । यसबारे शेरबहादुर देउवालाई अझ बढी थाहा होला । सरकार राष्ट्रपतिको हो । त्यसैले उनी प्रधानमन्त्रीले पठाएको विधेयकसमेत रोक्ने हैसियत राख्छिन् ।

यो हामीलाई थाहा भएका उदाहरण हुन् । प्रधानमन्त्री केपी ओलीलाई मात्रै थाहा भएका उदाहरण अरु पनि होलान् । के यति उदाहरण पेस गरेपछि यो राष्ट्रपतिकै सरकार हो भन्ने पुष्टि भएन र ?

♦♦♦

पहिले–पहिले राष्ट्रपतिले सम्बोधन गर्दा ‘मेरो सरकार’ भनिँदैनथ्यो । ‘यो सरकार’ अथवा ‘नेपाल सरकार’ भन्ने चलन थियो । यसपालि ‘नेपाल सरकार’ भनिएन । जहाँसम्म यसलाई ‘नेपाल सरकार’ नभनिएको प्रसंग छ, यसका पछाडि दुइटा कारण छन् ।

पहिलो कारण, राष्ट्रपतिले बारबार ‘नेपाल सरकार, नेपाल सरकार’ भन्दा यो कतै माधव नेपालको सरकार हो कि जस्तो भान पर्न जाँदो रहेछ । पहिले–पहिले माधव नेपालको सरकारलाई पनि नेपाल सरकार नै भन्ने गरिन्थ्यो । तर अहिलेको यो सरकार त माधव नेपालको होइन । यो त ओलीको सरकार हो । अब ओलीको सरकारलाई कसरी ‘नेपाल सरकार’ भन्नू ? त्यसमाथि माधव र ओलीको सम्बन्ध हाल कुन स्तरमा छ, त्यो सबैलाई थाहा छ । यस्तो अवस्थामा ओलीको सरकारलाई माधवको झल्को आउने गरी ‘नेपाल सरकार’ भन्ने त कुरै आउँदैन ।

दोस्रो कारण, राष्ट्रपति भण्डारीले किन ‘मेरो सरकार’ भनिन् भनेर प्रश्न राख्दा उत्तर आयो– भारतका राष्ट्रपतिले पनि ‘मेरा सरकार’ नै भन्ने चलन छ रे ! अब भारतमै त्यस्तो चलन छ भने हामी त्योभन्दा फरक कसरी हुन सक्छौँ ? त्यसको त कुरै नगरौँ । अब जहाँसम्म भारतका राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर जुन सरकारलाई भनेका हुन्, त्यो कुन सरकार हो ? त्यो भारतकै मात्र सरकार हो कि यता हाम्रोसमेत सरकार हो ? यो अझै टुंगो लागेको छैन । जबसम्म त्यो टुंगो लाग्दैन, तबसम्म यो सरकारलाई ‘नेपाल सरकार’ पनि भन्नुभएन । होइन र ?

♦♦♦

वर्तमान सरकारलाई राष्ट्रपतिज्यूले मेरो सरकार भनेकामा धेरैलाई डाहा वा औडाहा लागे पनि मलाई भने आनन्द लागेको छ । आनन्द मान्नेहरु सायद अरु पनि होलान् ।

आनन्द किन लाग्यो त भन्दा राष्ट्रपतिज्यूले यो सरकारलाई ‘मेरो सरकार’ भनेपछि बल्लबल्ल यो सरकारको कुनै ‘ओनर’ पनि रहेछ भन्ने थाहा लागेको छ । होइन भने त यो सरकार वास्तवमा कसको सरकार हो, त्यो नै अत्तोपत्तो थिएन । प्रधानमन्त्री केपी  ओली यो सरकारलाई जनताको सरकार हो भन्छन् । तर जनता भने यसलाई आफ्नो सरकार मान्न तयार छैनन् । जनता भन्छन्, ख्वै यो सरकार कहाँबाट आयो ? कसले सञ्चालन गर्‍यो, हामीलाई केही थाहा छैन । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि सुरुसुरुमा यो हाम्रो सरकार हो भन्दै खुब धाक लगाउने गर्थे । तर देशमा पानीजहाजबाहेक अरु कुरै आउन छाडेपछि अचेल उनीहरु पनि ‘ख्वै, यो हाम्रो सरकारै हो कि होइनजस्तो लाग्न थालिसक्यो’ भन्न थालेका छन् । त्यही पार्टीका द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहाललाई यो आफ्नो सरकारजस्तो लाग्ने त कुरै भएन ।

त्यसैले यो एउटा अलपत्र र बेवारिस सरकारजस्तो लागिरहेको थियो । तर अनायास राष्ट्रपतिज्यूले ‘मेरो सरकार’ भनेपछि यो सरकारको पनि कोही वारिस त रहेछ भन्ने बुझियो । अब बेवारिसको वारिस भेट्टाउनुजस्तो आनन्दको कुरा अरु के होला र ?

♦♦♦

योचाहिँ अपुष्ट छ । कृपया पुष्टि गरेर मात्रै विश्वास गर्न पाठकमा अनुरोध छ । भएछ के भने सदनमा राष्ट्रपतिज्यूले ‘मेरो सरकार, मेरो सरकार’ भनेर बारम्बार बोलेका कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीको घरमै पनि प्रश्न उठ्यो रे ! सदनमा सम्बोधन सक्याएर प्रधानमन्त्री बालुवाटार पुगे । बेलुकी खाना खाने बेला पत्नी राधिका शाक्यले सोधिन्, ‘राष्ट्रपतिजीले त खुबै मेरो सरकार, मेरो सरकार भन्नुभएछ । साँच्चै यो तपाईंको सरकार हो कि उहाँको सरकार  हो हाँ ?’

प्रधानमन्त्रीज्यूको मुखसम्म पुग्नै लागेको गाँससहितको हात टक्क अडियो । एकछिन ट्वाँ परे । भने, ‘के कांग्रेसीले जस्तो नचाहिने कुरा गरेकी ? प्रधानमन्त्रीकी श्रीमती भएर यस्तो कुरा सोध्ने ?’

श्रीमतीले भनिन्, ‘प्रधानमन्त्रीकी श्रीमती भएर त सोधेकी नि । आफ्ना श्रीमान्को सरकारमाथि अरुले दाबी गर्न आएपछि श्रीमती चुप लाग्न मिल्छ ?’

प्रधानमन्त्रीजीले केही बोलेनन् । तर श्रीमती पनि चुप लागिनन् । सायद श्रीमान् चुप लागेकाले होला, हल्का सुँक्कसुँक्क गर्दै भन्न थालिन्, ‘हेर्नोस् तपाईंले राष्ट्रपतिज्यूलाई धेरै कुरा दिनुभयो । पद दिनुभयो, सुविधा दिनुभयो, गाडी दिनुभयो, अब हुँदाहुँदा आफ्नो सरकारै समेत दिनुभएछ, होइन ?’

त्यसपछि वातावरण झनै गम्भीर भएछ ।

प्रकाशित: वैशाख २९, २०७६

ट्याग: परिहास