पुरानै पकवान (फिल्म समीक्षा : स्टुडेन्ट अफ द इयर २ )

फिल्म : स्टुडेन्ट अफ द इयर २ | रेटिङ :  २/५

- गोकर्ण गौतम

बलिउडमा यतिबेला दुई धार स्पष्ट देखिन्छन् । एउटा, थोत्रै सामग्रीलाई ओल्टाई–पल्टाई गर्ने । अर्को, रसिलो ढंगलेनवीन खुराक पस्कने । करण जौहरचाहिँ प्रायः बलिउडको स्थापित सूत्रमै मस्त हुन्छन्।फिल्मको आत्माभन्दा आवरण झकिझकाउ पार्नु उनको ‘ट्रेडमार्क’ हो । जस्तो कि, स्टुडेन्ट अफ द इयर २।

सन् २०१२ मा करण निर्देशित स्टुडेन्ट अफ इयरको सिक्वेल हो यो । यसपटक करण निर्मातामा सीमित छन्, निर्देशन कमान्ड सम्हालेका छन्, पुनित मल्होत्राले । यो अवधिमा युवाका चालढाल, मनोविज्ञान, भोगाइ सबथोक बदलिए तर सिक्वेलभित्रको संसारचाहिँ उस्तै छ । उक्त फिल्मबाट वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्ट डेब्यु भएका थिए, यसपटक अनन्या पाण्डे र तारा सुतरिया ।साथमा छन्, टाइगर श्राफ । कथानक पाटोमा अघिल्लो फिल्मसँग यसको कुनै सरोकार छैन ।

रोहन (टाइगर) बच्चैदेखिको साथी मृदुला (तारा) लाई मन पराउँछ । उनको सपनालाई आफ्नै ठान्छ । स्कुलपछि मृदुला देहरादुनको उत्कृष्ट कलेजमा पढ्न थाल्छिन्, रोहनचाहिँ सामान्य कलेजमा । छुट्टै पढ्नु परेकाले रोहनमा छटपटी छ । धन्न ! खेलमा अब्बल भएकाले छात्रवृत्ति पाएर मृदुलाकै कलेजमा पढ्ने अवसर पाउँछ । त्यहाँ पुगेपछि उनीहरुको बीचमा आउँछिन्, धनी र घमण्डी युवती श्रेया (अनन्या) । रोहनजस्तै उनी डान्स मन पराउँछिन् । त्यसैले नजिकिन्छन् । तर माया त मृदुलाको पनि छ । यी तिनको सम्बन्धमा आउने खटपट र न्यानोपनमै घुम्छ फिल्म ।

पटकथा फिल्मको मेरुदण्ड हो । स्टुडेन्ट अफ द इयर २ को मेरुदण्ड नै निर्बल छ । पात्र, उनीहरुको भोगाइ, पात्रबीचको द्वन्द्व मात्र होइन, केन्द्रीय कथामा समेत रत्तिभर नयाँपन छैन । प्रस्तुति शैली पनि परम्परागत छ ।

यहाँ पनि स्टुडेन्ट अफ द इयरको ट्रफीका लागि लडाइँ हुन्छ, पात्रको ध्यान पढाइझन्दा अतिरिक्त त्रियाकलापमा छ, प्रेमकै कारण मुख्य पात्रबीच प्रतिशोध छ, घरी एउटालाई मन पराउँछन्, घरी अर्कोलाई । त्यसैले पर्दामा नौलो माहोलको अनुभव गर्नै पाइन्न । भलै हरेक दृश्य ‘रिच’ छन् । हिरो–हिरोइन चकलेटी छन्, उनीहरुको रोमान्स । बीच–बीचमा गीतहरु छन् । आँखालाई राहतै हुन्छ । तर सतही चित्रणले पात्र दर्शकको दिलसम्म पुग्दैनन् । अपजसका भागीदार हुन्, निर्देशक मल्होत्रा र पटकथाकार अरसद सायद ।

मध्यान्तरसम्म तीन मुख्य पात्रको नोकझोक अनि नकारात्मक चित्रण गरिएका मानव (आदित्य सियल)का कारण तैबिसेक रोचकता पैदा हुन्छ । डान्स र कबड्डीप्रति रोहनको प्रेम घनीभूत लाग्छ । मध्यान्तरपश्चात भने फिल्मको गति अझ सुस्त हुन्छ । हरेक घटनाक्रम दर्शकको अनुमानअनुरुपै हुन्छ । कुनै ‘सरप्राइज’ छैन । न मानव र मृदुलाको वियोग विश्वसनीय लाग्छ, न तरोहन र श्रेयाबीच एक्कासि पलाउने प्रेम । कलेज पढ्ने केटाकेटीभन्दा कुनै खेलाडीको कथा हेरिरहेको भान हुन्छ ।

स्टुडेन्ट अफ द इयरको ट्रफीलाई कथामा जति महत्व दिइएको छ, दर्शकलाई अनुभूत गर्न मुस्किल पर्छ । फेरि कमेडी, एक्सन, हल्काफुल्का रोनाधोना र रोमान्समार्फत फिल्मलाई मसलेदार बनाउन सक्दो प्रयास गरिएको छ । लाग्छ, मनछुने कथा भन्न होइन, स्टुडेन्ट अफ द इयरको ब्रान्डमार्फत व्यापार गर्न यो फिल्म बनाइएको हो ।

टाइगर विद्यार्थी कम खेलाडी ज्यादा लाग्छन् । डान्स र एक्सन दृश्यमा निपुण लाग्ने उनी अभिनयको मामलामा अझै कच्चा छन् । उनका अघिल्ला भूमिकाभन्दा रोहन अलग लाग्दै–लाग्दैन । अनन्याको सुन्दरताबाट जति मोहित भइन्छ, पात्रसँग सोही अनुपातमा लगाव हुन्न । पहिलो फिल्म हुनुको नाताले उनको अभिनय सन्तोषजनक नै मान्नुपर्छ ।

ताराको चरित्र अझ फितलो छ तर सम्भावनाचाहिँ उनले पनि देखाएकी छन् । आदित्य, हर्ष बेनिवाल, समीर सोनीजस्ता सहायक कलाकारले आफूलाई दिइएको भूमिका न्याय गरेका छन् । चरित्र र कथामै दम नभएपछि कसको के लाग्छ ? गीतहरु श्रुतिमधुर छन् तर न्यारेटिभ सशक्त बनाउन प्रभावकारी छैनन् । यस फिल्ममा निर्देशक मल्होत्राको मौलिकपन देखिन्न, करण जौहरकै ऐजन–ऐजनमात्र लाग्छ ।

कथा र प्रस्तुति शैलीमा सिर्जनशीलता र नयाँपन खोज्नेलाई स्टुडेन्ट अफ द इयर २ ले निराश पार्छ । पूरापूर बासी पकवान हो यो । टाइगरश्राफको फ्यान र ‘ग्लसी’ सिनेमा पारखी हो भने चाहिँ हेर्दा हुन्छ ।

प्रकाशित: वैशाख २७, २०७६