नेवार समुदायमा छाउपडी

- नीरज लवजू

♦ हजुरबुबाको वार्षिकीमा आकृति घरबाहिर मुख निन्याउरो पारेर टोलाइरहेकी थिइन् । आफन्तसँगै परिवारका सबै सदस्य घरभित्र निकै व्यस्त रहेका बेला उनी एक्लै बाहिर बसिरहेको देखेर सोधियो, “किन के भयो ? भित्र किन नगएकी ?” असजिलो मान्दै उनले भनिन्, “म नछुने भएकी छु ।”                      

♦ मनकामना पुगेर फर्केका आमाबुबाले सबै परिवारका सदस्यलाई प्रसाद बाँडिरहेका थिए । शोभा अलि पर बसेर सबैले टीका लगाएको, प्रसादमा नरिवल लिंँदै गरेको टुलुटुलु हेर्दै थिइन् । आमाबुबाकी प्यारी एक्ली छोरी शोभा भने आधा खुसी मात्र महसुस गरिरहेकी थिइन् किनभने उनको महिनावारी भएको थियो ।

♦ कृष्णा पहिलो पटक दोलखा भीमसेन पुगेकी थिइन् । उपत्यकाबाहिर कमै यात्रा गरेकी उनी दोलखा भीमसेन पुगेपछि भने खिन्न भएर फर्किन् किनभने त्यहीँ पुगेर उनको ‘मिन्स’ भयो । मन्दिरभित्र पस्नुहुन्न भन्ने मान्यताले उनलाई बाहिर बस्नुपर्‍यो ।

प्रस्तुत घटना काठमाडौँ उपत्यकाको नेवार समुदायमा महिनावारीका बेला महिलामाथि हुने विभेदका केही उदाहरण हुन् । महिनावारी भएकी महिला अपवित्र होइन भन्ने समाजले नस्वीकार्दा आज पनि नेवार समुदायमा यस्ता कुप्रथा चलेकै छ । मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका छाउगोठमा धेरै महिलाको मृत्यु भएपछि सडकदेखि संसद्सम्म यसको विरोध भयो । स्थानीयदेखि संघीय सरकारसम्मले यस्ता कुप्रथा रोकथामका लागि पहल पनि गरेका छन् । महिनावारी हुँदा महिलामाथि विभेद गर्ने कुप्रथा भने देशका सबै जातजाति र क्षेत्रमा कुनै न कुनै रूपमा छ ।

त्यसो त मठमन्दिर र मूर्तिपूजा आफैँमा अन्धविश्वास हो । अन्धविश्वासले छाउपडी प्रथालाई अझ बलियो बनाउने काम गरेको छ । केही चलन र परम्परामा सुधार हुँदै गए पनि महिनावारी हुँदा महिलामाथि गरिने भिन्न व्यवहारमा भने कुनै प्रकारको सुधार हुन सकेको छैन । केही परिवारमा महिनावारी भएको चार दिनसम्म महिलालाई भान्छामा पस्नसमेत निषेध गरिन्छ । पूजाआजा र पर्वमा महिनावारी भएकी छोरी–बुहारीले ल्याएको फूल र पानीसमेत अपवित्र मानिन्छ ।

पश्चिमाञ्चलका महिला भौतिक छाउगोठमा बस्छन् । नेवार महिला सांस्कृतिक र मनोवैज्ञानिक छाउगोठमा । नेवार समुदायमा छोरीलाई रजस्वला हुनुअघि १२ दिन कुनै घाम नपस्ने कोठामा बन्द राख्ने परम्परा छ । यस्तो परम्परालाई ‘बारा राख्ने’ भनिन्छ । आजभोलि यसलाई ‘गुफा राख्ने’ पनि भन्न थालेका छन् । बारा राखिएकी युवतीले महिनावारी हुँदा तोकिएका हरेक निषेधको पालना गर्नुपर्ने सामाजिक मान्यता छ । शैक्षिक र सांस्कृतिक रूपमा अघि बढेका महिलासमेत महिनावारी हुँदा तोकिएका ‘अनुशासन’ पालना गरिरहेका हुन्छन् । महिनावारी अपवित्र नभई प्राकृतिक विषय हो भन्ने बुझेका महिलाले यस्ता निषेध पालना गर्नुको प्रमुख कारण समाजले देखाउने डर नै हो । महिनावारी भएकीले छोएको पूजा सामग्रीले पूजा गर्दा ‘भगवान रिसाउने’ र ‘अनिष्ट हुने’ हुने भयले कतिपयले यसको पालना गर्छन् ।

कुलदेवताको पूजा मानिने नेवार समुदायको सबभन्दा ठूलो पूजा दिगु हो । कुलपूजाको अर्थ आफ्ना पुर्खाप्रतिको आदर हो । पुर्खा र इतिहासको सम्मान गर्ने यो दिनमा महिनावारी भएकी महिलालाई सबै प्रक्रियाबाट टाढा राखिन्छ । पूजामा छाया मात्र पर्दा पनि बलिको बोको नपर्सिने मनोविज्ञानले काम गरेको हुन्छ । जबकि बोका पर्सिनु वा नपर्सिनुका आफ्नै वैज्ञानिक कारण छन् । महिनावारीको समय महिला शारीरिक र मनोवैज्ञानिक दुवै हिसाबले कमजोर बनेकी हुन्छिन् । त्यस्तो अवस्थामा उनले समाजले कोरेका यस्ता निषेधलाई तोड्ने हिम्मतसमेत गर्न सक्दिनन् । पश्चिम नेपालमा शिक्षक र एनजीओकर्मी महिला कार्यकर्ता, जनप्रतिनिधिले समेत ‘नछुने’ हुँदा छाउगोठमै बस्नुको कारण डर नै हो । महिलालाई पुरुषभन्दा कमजोर मान्ने मानसिकता नेवार समुदायमा छ ।

समाजअनुसार नै मानिसको सोच बनेको हुन्छ । समाजले बच्चैदेखि सिकाएको कुरो बदल्न निकै गाह्रो हुन्छ । सिमोन दी बुआरले द सेकेन्ड सेक्समा यही कुराको चर्चा गरेकी छन् । हाम्रो समाजले बच्चैदेखि नै महिनावारीलाई अपवित्र ठान्ने बनाइदिएको छ । त्यसैले कुपरम्परालाई चुपचाप सहिदिन्छौँ । नेवार समुदायमा व्याप्त मनोवैज्ञानिक र सांस्कृतिक छाउपडी प्रथा भत्काउने विषयमा छलफलको थालनी आवश्यक छ । तर नेपालमा लगभग सबै समुदायले महिनावारीका बेला महिलालाई विभेद गर्ने चलन छ । परिवारअनुसार कुनै समुदायमा कडा र कुनै समुदायमा केही खुकुलो हुन सक्छ । तर जहाँ जस्तो स्वरूपमा भए पनि भत्काउनु जरुरी छ । आमाहरूले छोरीहरूलाई अवैज्ञानिक चिन्तन हस्तान्तरण गर्नुको सट्टा वैज्ञानिक चेततिर डोर्‍याउनुपर्छ ।

प्रकाशित: वैशाख २७, २०७६