अभिभावकत्व सिकाउने पुस्तक

- रत्न प्रजापति

साना बालबालिकालाई काँचो माटोसाग तुलना गरिन्छ । जसरी काँचो माटोलाई जुनसुकै स्वरुपमा ढाल्न सकिन्छ, त्यसैगरी साना बालबालिकालाई पनि धेरै हदसम्म हामीले चाहेअनुसार बनाउन सकिन्छ । यसका लागि आवश्यक पर्छ, असल अभिभावकत्व अनि समाजको । बालबालिका जुन समाज, संस्कृति र परिवेशमा हुर्कन्छन्, त्यही समाज, संस्कृति र परिवेशअनुरुपकै बन्छन् । त्यसैले बाल विकासमा असल समाज, संस्कृति र परिवेशको ठूलो भूमिका हुन्छ । समाजको एउटा इकाइ घरबाटै असल संस्कृति र असल परिवेशको अभ्यास सुरु हुनुपर्छ । यही आग्रह गरिएको अनुभव स्कुल बेच्ने बालक पढिसकेपछि गर्न सकिन्छ ।

सामाजिक मूल्य–मान्यता र उत्तरदायित्व सिकाउन पनि यस पुस्तकले यथेष्ट मद्दत गर्नेछ । नैतिक शिक्षाको अभाव र नितान्त व्यावसायिक शिक्षाको कारखानाबाट उत्पादित जनशक्ति सामाजिक कम र व्यावसायिक बढी हुने गर्छ । यसो हुादा अहिलेको पुस्तामा नैतिक आचरणको अभाव एउटा जटिल समस्याको रुपमा देखिएको छ । यस्तो अवस्थामा एउटा बालक पात्रको माध्यमबाट नैतिक, सामाजिक र व्यावहारिक शिक्षाको आवश्यकताबोध गराउने लेखकको ध्येय सराहनीय छ ।

बालबालिकाका हुर्काइ–बढाइबारे अनुसन्धानात्मक पुस्तक धेरै लेखिएका छन् । तर नेपाली भाषामै नितान्त व्यावहारिक आधारमा लेखिएको यो पुस्तकबाट धेरै अभिभावकले आफ्ना सन्तानलाई हुर्काउने र बढाउने व्यावहारिक ज्ञान लिन सक्नेछन् । स्कुल बेच्ने बालक पढेपछि कनीकनी यस्ता विषयका अंग्रेजी/हिन्दी पुस्तक पढ्नुपर्ने बाध्यता कम भएको छ भन्दा अतिशयोक्ति हुने छैन ।

बालबालिकाको आनीबानी र उनीहरुको मनोविज्ञान बुझ्न र बुझाउन थुप्रै धनराशि खर्चेर अनुसन्धाता वा संघसंस्थाहरुले गहिरो अनुसन्धान गरेका छन् । तर यस पुस्तकका लेखकले घरभित्र आफ्नै छोरामाथि निरन्तर गरेका प्रयोगात्मक व्यवहार अरु गहन अनुसन्धानभन्दा कम लाग्दैन । पुस्तकका प्रमुख पात्र हार्दिक र उनको बाले गर्ने संवाद नितान्त यथार्थपरक छन्, पटक्कै नाटकीयता छैन । ती संवादबाट बालकले केही नयाँ कुरा सिकिरहेको हुन्छ भने त्योभन्दा धेरै अभिभावक स्वयंले पनि सिक्ने र बुझ्ने अवसर पाएको देखिन्छ । यही कुरा लेखकले अरु अभिभावकलाई बाँड्न चाहेका छन् । मनोविज्ञान बुझेर बालबालिकासाग व्यवहार गर्नुपर्छ भन्ने मूल सन्देश छ, पुस्तकमा ।

बालबालिकालाई सबै प्रकारका भौतिक सुविधा दिनु मात्रै ठूलो कुरो होइन । यस्तो सुविधाबाट बालबालिकाले तत्काल सुख, सुविधा र मनोरञ्जन प्राप्त गर्न सक्लान् तर तिनले बाल्यकालदेखि सिक्नैपर्ने कुरा छुट्छन् । त्यसैले सर्वप्रमुख कुरा बालबालिकालाई कसरी हुर्काउने, बढाउने अथवा कसरी उनीहरुको लालनपालन गर्ने भन्ने हो । यो बेला अभिभावकले गर्ने सानोभन्दा सानो गल्तीले पनि बालबालिकाको मनोसामाजिक विकासमा नकारात्मक असर पर्न सक्छ । अन्त्यमा त्यसले उनीहरुको जीवनलाई नै गलत मार्गमा धकेल्न सक्छ । त्यसैले अभिभावकत्व निकै गहन जिम्मेवारी हो । यो जिम्मेवारीमा अलिकति पनि नचुक्ने हो भने होसियारीपूर्वक अभिभावकीय भूमिका निर्वाह गर्नु जरुरी छ । असल अभिभावककै भूमिका निर्वाह गरी बालबालिकालाई सही किसिमले हुर्काउन–बढाउन यो पुस्तक मार्गदर्शक बन्न सक्छ । विभिन्न अनुसन्धान पद्धतिमा आधारित अनुसन्धानले दिने निचोडभन्दा लेखकको घरेलु अनुभव र अनुभूतिका निचोड अझ बढी व्यावहारिक लाग्छन् ।

पुस्तकका हार्दिक अरु लाखौँ हार्दिकहरुको प्रतिनिधि हुन् भने उनका बाबा अरु लाखौँ बाबाहरुका प्रतिनिधि । लाखौँ हार्दिकहरुको मनोसामाजिक विकास र उनीहरुको उचित सामाजिकीकरणका लागि लाखौँ बाबाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको प्रतिनिधित्व हार्दिकका बाले गरेका छन् । सबैभन्दा महफ्वपूर्ण कुरो, बालबालिकालाई बुझ्न सक्ने र सोहीअनुरुप व्यवहार गर्ने अभिभावकको आवश्यकता यो पुस्तकले औँल्याएको छ । मातापितापछिका दोस्रा अभिभावक शिक्षक/शिक्षिकाले पनि यो पुस्तक एक पटक पढ्नुपर्छ ।

यसैगरी बाल विकाससाग सरोकार राख्ने, बाल अधिकारका कुरा गर्ने अनि यस क्षेत्रमा आबद्ध जिम्मेवार नीतिनिर्माताले पनि पुस्तकभिक्रका हार्दिक र बाबीचका संवाद र व्यत्त धारणा अध्ययन गर्न आवश्यक छ ।

पुस्तक : स्कुल बेच्ने बालक  | लेखक  : दामोदर न्यौपाने  |  प्रकाशक : शिखा बुक्स | पृष्ठ : ३६८ |  मूल्य : ४५०

प्रकाशित: वैशाख २६, २०७६

ट्याग: पुस्तक