वात्स्यायनको अधूरो पोर्ट्रेट

- कुमार नगरकोटी

शिशिरको चिसो याम थियो । घाम उदाउन बाँकी थियो । फेवाताललाई घना कुहिरोले खर्लप्प निलेको थियो । यस्तो बेला एउटा बूढो चित्रकार नौका विहारमा निस्केको थियो । चित्रकारको नाम कुहिरोमा त होइन, तालको पानीमा कोरिएको थियो  : वात्स्यायन ।

आरुका फूलझैँ सेताम्मे फुलेका वात्स्यायन डुंगामा जलभ्रमण गर्दै थिए ।

यी मृदुभाषी चित्रकारका सेता केशहरु मलाई हिउँजस्ता लाग्छन् । तिनलाई म हिमकेश भन्न रुचाउँछु । मलाई लाग्छ, ती हिमकेश बुढ्यौलीमा हिमाद्री उमेरले मनुष्यलाई हस्तान्तरण गर्ने अस्तित्वका अनुपम उपहार हुन् ।

अ मेमेन्टो अफ लभ, यू सी !

एकताका म कल्पना गर्थें, बुढ्यौलीमा मेरो टाउकोमा पनि त्यस्तै हिमकेश होऊन् । तर के गर्नु, उमेरले छल गर्‍यो । जवानीमै चिन्डे भइगएँ ।

खैर ! हामी कुरा गर्दै थियौँ वात्स्यायनको नौका विहारको ।

त्यो बिहान डुंगा खियाउँदै उनी धेरै टाढा पुगे । मन एकतमासले उदास–उदास थियो । मुहार पनि मलिन–मलिन थियो । उनको काँधमा विश्राम गरिरहेको कागले भन्यो, “किन उदास हुनुहुन्छ ? के पीर पर्‍यो ?” वात्स्यायनले भने, “हेर न !  चारैतिर अन्धकार मात्र देख्छु । एउटा असल मनुष्यको मुहारचित्र कोरुँ भन्छु, तर त्यस्तो मुहार कहीँ कतै भेट्दिनँ । कुहिरोको कागजस्तो कता–कता अल्मलिएँ ।”

कागले भन्यो, “असल मनुष्य आफूभित्र खोज्नुस्, आफ्नो मुहारचित्र बनाउनुस् ।”

वात्स्यायन झल्याँस्स भए । कागले कति सुन्दर कुरा गरेको !

उनी त्यही दिन आफ्नो स्टुडियो पसे । सेल्फ पोर्ट्रेट बनाउन बसे । उनीसित इजल थियो । ब्रस थियो । क्यानभास थियो । तर दुःखको कुरा ! रङ थिएन । उनले कागसित बिन्ती बिसाए, “म आफ्नो मुहारचित्रलाई आशा, विश्वास र करुणाका रङले क्यानभासमा रंगाउन चाहन्छु । तर ती रङ मसित छैनन् । प्रिय क्रो ब्रो, मलाई ती रङ खोजेर ल्याइदेऊ ।”

काग भुर्र उडेर गयो ।

वात्स्यायन कुरी बसे । कैयौँ दिन बिते र कैयौँ रात । हप्ता र महिना पनि बिते । तर आशा, विश्वास र करुणाको रङ खोज्न गएको काग फर्केर आएन ।

♦♦♦

लेकसाइडको क्याफे–डे–वात्स्यायन शान्त थियो ।

कर्नरको एउटा टेबल ओगटी वात्स्यायन चुपचाप बसेका थिए । वेट्रेसले छाडिगएको आइस्ड क्यापुचिनो झन्झन् चिसिँदो थियो । उनी शून्यमा टोलाइबसेका थिए । यस्तैमा क्याफेको द्वार घचेडी –आउट् अफ् ब्लू– कवि तीर्थ श्रेष्ठ भित्र पसे ।

कविजी हिउँमा आफ्नो नाम लेखेर गत साँझ मात्रै पोखरा झरेका थिए । वात्स्यायनलाई त्यसरी चुपचाप शून्यमा टोलाइरहेको देखेर जिल खाए । मेचमा बस्दै उनले सोधे, “दाइ, मुहार किन यस्तो रङहीन ?”

भावुक हुँदै वात्स्यायनले भने, “म यो मुहारको पोर्ट्रेट बनाउन चाहन्थेँ । आशा, विश्वास र करुणाको रङले । तर हेर न तीर्थ Û आशा, विश्वास र करुणा कतै पाइएन । तिनलाई खोज्न गएको काग पनि फर्केर आएन । अब म कता

खोज्दै हिँडुँ ?”

“त्यही त दाइ, काग खोज्न त गाह्रै पो होला ।” तीर्थ श्रेष्ठले भने ।

“काग होइन तीर्थ । आशा, विश्वास र करुणा खोज्न कता पो जाऊँ भनेको ।” वात्स्यायनले भने ।

तीर्थ श्रेष्ठ सोचमग्न भए । केही सम्झेझैँ गरी भने, “तपाईं पागल बस्ती जानुस् दाइ । सरुभक्त भन्थे, पागल बस्तीमा मनसुनको बेला अद्भुत इन्द्रेणी लाग्छ । त्यो आशा, विश्वास र करुणा मात्र होइन, आस्था, विवेक, श्रद्धा र आत्मीयता गरी सात रङले बनेको छ । तपाईं पागल बस्ती नै जानुस् । इन्द्रेणीका सात रङ चोर्नुस् । आफ्नो पोर्ट्रेट सात रङले रंगाउनुस् । त्यो सेल्फ पोर्ट्रेट तपाईंको मास्टरपिस कृति हुनेछ ।”

कविजीको कुराले चित्रकारजीको मन छोयो । भनिन्छ, त्यही दिन तीर्थ श्रेष्ठलाई क्याफे–डे–वात्स्यायनमा छाडी चित्रकार पागल बस्तीतिर लागे ।

♦♦♦

वात्स्यायन अझै घर फर्केका छैनन् । उनी सरुभक्तको पागल बस्तीमा मनसुन कुरी बसेका होलान् । इन्द्रेणी झुल्किने दिनको प्रतीक्षा गर्दै होलान् ।

अब तपाईं कसो गर्नुस् भने, यसो गर्नुस्  :  वात्स्यायनको स्टुडियो जानुस् । इजलमा राखिएको रित्तो क्यानभासलाई हेर्नुस् । मलाई लाग्छ, तपार्ईंको मन आशा, विश्वास र करुणाको रंगले भरिएको छ ।

ब्रसलाई आफ्नो मनमा चोप्नुस् र रित्तो क्यानभासमा वात्स्यायन अर्थात् एक असल मनुष्यको मुहारचित्र बनाउनुस् । तीन स्ट्रोकमै वात्स्यायनको अधूरो पोर्ट्रेट पूरा हुनेछ ।

चियर्स ! !

प्रकाशित: वैशाख २६, २०७६